लाखौँ लगानीकर्ता, खर्बौँको सम्पत्ति: साइबर हमलापछि नेप्से नै बन्द
५ असोज, २०८३, सोमवार
- नेपाल स्टक एक्सचेन्ज (नेप्से) को बजार पूँजीकरण हाल करिब ४५ खर्ब ५३ अर्ब रुपैयाँ रहेको अवस्थामा बजारका महत्वपूर्ण पूर्वाधारमा साइबर आक्रमण हुनु लगानीकर्ता र समग्र वित्तीय प्रणालीका लागि गम्भीर विषय हो।
लाखौँ लगानीकर्ताको विश्वास र खर्बौँ रुपैयाँको सम्पत्ति जोडिएको नेपालको सेयर बजारमा र्यान्समवेयर आक्रमणपछि सोमबार कारोबार नै बन्द भएको छ। यो घटना सामान्य प्राविधिक समस्या मात्रै नभई नेपालको वित्तीय प्रणालीको साइबर सुरक्षा र आपत्कालीन तयारीमाथि गम्भीर प्रश्न उठाउने घटनाका रूपमा देखिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को बजार पूँजीकरण हाल करिब ४५ खर्ब ५३ अर्ब रुपैयाँ रहेको अवस्थामा बजारका महत्वपूर्ण पूर्वाधारमा साइबर आक्रमण हुनु लगानीकर्ता र समग्र वित्तीय प्रणालीका लागि गम्भीर विषय हो।
आइतबार बिहान करिब ४ बजे डेटा हब प्रालिको डेटा सेन्टरमा र्यान्समवेयर आक्रमण देखिएपछि त्यहाँ सर्भर राखिएका ७२ वटा स्टक ब्रोकरका कारोबार प्रणाली प्रभावित भएका हुन्। डेटा सेन्टरमा समस्या आएपछि ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस), सीडीएससीसँग सम्बन्धित प्रणाली, भुक्तानी गेटवे तथा अन्य आपसमा जोडिएका सेवासमेत प्रभावित हुन सक्ने जानकारी ब्रोकरहरूको सिस्टम व्यवस्थापन गर्दै आएको वाइको प्रालिले दिएको छ।
सम्भावित थप क्षति रोक्न प्रभावित प्रणालीलाई अलग राखिएको जनाइएको छ। डेटा हब र नेप्सेबीच नेटवर्क कनेक्टिभिटी रहेकाले साइबर आक्रमणले कारोबार प्रणाली, डेटा सुरक्षा तथा सम्भावित डेटा चोरीको जोखिम निम्त्याउन सक्ने भन्दै कारोबार सञ्चालन नगर्न सुझाव दिइएको थियो।
त्यसपछि स्टक ब्रोकर्स एसोसिएसनले नेप्सेलाई कारोबार रोक्न आग्रह गरेको थियो। ब्रोकरहरूको आग्रहपछि नेप्सेले सोमबारको कारोबार स्थगित गरेको हो।
नेप्सेका अनुसार ७२ कारोबार सदस्य कम्पनीका सर्भर रहेको डेटा हबमा आएको समस्या समाधानका लागि प्रयास भइरहे पनि सोमबार बिहानसम्म पूर्ण रूपमा समाधान हुन सकेको थिएन। यस्तो अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको आफ्नै कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिम देखिएपछि बजार बन्द गरिएको हो।
तर, घटनाको सबैभन्दा महत्वपूर्ण प्रश्न अझै अनुत्तरित छ, सुरक्षा प्रणाली कमजोर थियो कि जिम्मेवार निकायको साइबर आक्रमण सामना गर्ने तयारी कमजोर थियो?
यति ठूलो वित्तीय प्रणालीमा निर्भर बजारमा एउटा निजी डेटा सेन्टरमा देखिएको साइबर घटनाले एकैपटक दर्जनौँ ब्रोकरको कारोबार रोक्न सक्ने अवस्था देखिनुले डेटा सेन्टरको जोखिम व्यवस्थापन, वैकल्पिक प्रणाली, ब्याकअप, डिजास्टर रिकभरी र साइबर सुरक्षा प्रोटोकलबारे गम्भीर समीक्षा आवश्यक देखाएको छ।
अहिलेसम्म आक्रमणबाट कति डेटा प्रभावित भयो, कुनै संवेदनशील विवरण चोरी भयो कि भएन र प्रणाली पूर्ण रूपमा कहिलेसम्म पुनर्स्थापित हुन्छ भन्ने स्पष्ट भइसकेको छैन।
भोलि सेयर बजार खुल्छ वा बन्द रहन्छ भन्नेबारे पनि नेप्सेले अहिलेसम्म स्पष्ट जानकारी दिएको छैन।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।