ग्यास सिलिन्डरको तौल परिवर्तन गर्न उद्योगीले मागे दुई वर्ष

१९ कार्तिक, २०८३
सारांश
  • नेपाल आयल निगमले ग्यासको दोहोरो मूल्य प्रणाली लागू गर्ने तयारी गरिरहेका बेला नेपाल एलपी ग्यास उद्योग संघले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ ।

काठमाडौं : नेपाल आयल निगमले ग्यासको दोहोरो मूल्य प्रणाली लागू गर्ने तयारी गरिरहेका बेला नेपाल एलपी ग्यास उद्योग संघले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ ।

 

 संघले फरक तौलका सिलिन्डर तत्काल बजारमा ल्याउन नसकिने भन्दै तयारीका लागि कम्तीमा दुई वर्षको समय माग गरेको छ ।

 

निगमले व्यावसायिक प्रयोजनका लागि छुट्टै तौलका सिलिन्डर प्रयोगमा ल्याउने र कुल ग्यासको ३० प्रतिशत व्यावसायिक प्रयोजनका लागि छुट्याउने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमाथि १३ कात्तिकमा भएको छलफलपछि सात दिनको समय पाएका उद्योगीले बिहीबार तीनबुँदे लिखित जवाफ निगमलाई बुझाएका हुन् ।

 

संघले हाल बजारमा प्रचलनमा रहेका १४.२ किलो क्षमताकै सिलिन्डरलाई रङका आधारमा छुट्याउन प्रस्ताव गरेको छ । जसअनुसार घरायसी प्रयोजनका लागि रातो र व्यावसायिक प्रयोजनका लागि निलो सिलिन्डर प्रयोग गर्नुपर्ने संघको सुझाव छ ।

 

संघका अध्यक्ष दिवान चन्दले बजारमा रहेका सिलिन्डर तत्काल विस्थापित गर्दा उद्योगीलाई ठूलो आर्थिक भार पर्ने र व्यवस्थापनमा समेत समस्या हुने बताएका छन् । सरकारले फरक तौलका सिलिन्डर नै लागू गर्ने अडान लिए उद्योगहरूलाई तयारीका लागि कम्तीमा दुई वर्षको समय दिनुपर्ने उनको भनाइ छ ।

 

त्यस्तै, निगमले प्रस्ताव गरेको ३० प्रतिशत व्यावसायिक कोटाको सट्टा हाललाई १० प्रतिशत मात्र ग्यास व्यावसायिक प्रयोजनका लागि छुट्याउन संघले माग गरेको छ । बजारको अवस्था हेरेर भविष्यमा उक्त कोटा थपघट गर्न सकिने संघको धारणा छ ।

 

अनुदान प्रणालीका सम्बन्धमा संघले ग्यास परल मूल्यमै बिक्री गरी लक्षित वर्गलाई मात्र वाणिज्य बैंकमार्फत अनुदान उपलब्ध गराउनुपर्ने प्रस्ताव गरेको छ । यसो गर्दा अनुदान पाउनुपर्ने वर्गले प्रत्यक्ष लाभ लिन सक्ने संघको भनाइ छ ।

 

यसैगरी, संघले २० फागुन २०८१ मा निगम र संघबीच भएको सम्झौता कार्यान्वयन गर्न पनि ध्यानाकर्षण गराएको छ । तत्कालीन वाणिज्य तथा आपूर्ति सचिव एवं निगम सञ्चालक समिति अध्यक्ष गोविन्दबहादुर कार्कीको उपस्थितिमा भएको सहमतिको बुँदा नम्बर ३ अनुसार मुनाफालाई प्रतिशतमा कायम गर्ने व्यवस्था शीघ्र कार्यान्वयन गर्न उद्योगीले माग गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार