जेनजी आन्दोलनको उपलब्धि आखिर कसको हातमा पुग्यो ? शङ्कर पोखरेलले उठाए गम्भीर प्रश्न
१९ कार्तिक, २०८३
- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले जेनजी आन्दोलनको नेतृत्व, त्यसबाट प्राप्त उपलब्धिको स्वामित्व र वर्तमान सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन् ।
काठमाडौँ : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले जेनजी आन्दोलनको नेतृत्व, त्यसबाट प्राप्त उपलब्धिको स्वामित्व र वर्तमान सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन् ।
पोखरेलले जेनजी पुस्ताले स्थगित गरेको आन्दोलन त्यसपछि टीओबी समूहले कब्जा गरेको दाबी गर्दै आन्दोलनको वास्तविक नेतृत्व र त्यसपछिका राजनीतिक घटनाक्रमबारे निष्पक्ष समीक्षा हुनुपर्ने बताएका छन् । जेनजी आन्दोलनबाट प्राप्त उपलब्धि आखिर कसको हातमा पुग्यो भन्ने विषय स्पष्ट हुनुपर्ने उनको धारणा छ ।
आन्दोलनका क्रममा प्रयोग भएका रासायनिक पदार्थको स्रोत, प्रयोगको उद्देश्य तथा त्यसमा संलग्न पक्षबारे पनि उनले प्रश्न उठाएका छन् । जेनजी युवाको नाममा भएको आन्दोलनको राजनीतिक स्वामित्व कसले लियो भन्ने विषयमा तथ्यपरक अनुसन्धान आवश्यक रहेको पोखरेलको भनाइ छ ।
त्यस्तै, उनले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली र सरकारको लोकतान्त्रिक जवाफदेहितामाथि पनि प्रश्न गरेका छन् । लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै उनले सरकार र राजनीतिक दलबीच संवाद तथा सहकार्य आवश्यक रहेको बताएका छन् । प्रधानमन्त्रीको संवादहीनताप्रति समेत उनले असन्तुष्टि जनाएका छन् ।
इनाम सकोटाको मोबाइल फोन प्रधानमन्त्री कार्यालयमा रहेको र त्यससँग सम्बन्धित प्रमाण नष्ट गरिएको भन्ने चर्चाबारे पनि पोखरेलले प्रश्न उठाएका छन् । मोबाइल प्रधानमन्त्री कार्यालयसम्म कसरी पुग्यो, त्यसमा रहेका प्रमाणको अवस्था के छ र प्रमाण नष्ट भएको भए त्यसका लागि को जिम्मेवार छ भन्ने विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्ने उनको भनाइ छ ।
आन्दोलनको नाममा सत्ता प्राप्त गरे पनि लोकतान्त्रिक उत्तरदायित्वबाट उन्मुक्ति पाउन नसकिने पोखरेलको तर्क छ । सरकार जनताप्रति, प्रधानमन्त्री संसद्प्रति तथा राज्यका निकाय संविधान र कानुनप्रति जवाफदेही हुनुपर्ने उनले बताएका छन् ।
जेनजी आन्दोलनले उठाएका सुशासन, पारदर्शिता र जवाफदेहिताका मुद्दा वर्तमान अवस्थामा कति सम्बोधन भए भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको पोखरेलको धारणा छ । आन्दोलनको उपलब्धि कसको हातमा पुग्यो भन्ने प्रश्नको जवाफ आरोप–प्रत्यारोपबाट नभई निष्पक्ष छानबिन र तथ्यका आधारमा खोजिनुपर्ने उनको भनाइ छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।