सुनचाँदीका सिक्का खरिद गर्न ग्राहकको भीड

१९ कार्तिक, २०८३
सारांश
  • तिहार नजिकिएसँगै नेपाल राष्ट्र बैंकबाट सुनचाँदीका सिक्का खरिद गर्ने उपभोक्ताको भीड लागेको छ । बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा सिक्का किन्न चाहनेहरूको बिहानैदेखि लामो लाइन लागेको हो ।

 काठमाडौं : तिहार नजिकिएसँगै नेपाल राष्ट्र बैंकबाट सुनचाँदीका सिक्का खरिद गर्ने उपभोक्ताको भीड लागेको छ । बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा सिक्का किन्न चाहनेहरूको बिहानैदेखि लामो लाइन लागेको हो ।

 

राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुन तथा चाँदीका सिक्का बिक्री सुरु गरेको छ । सिक्का बिक्री आज र भोलि गरी दुई दिनसम्म सञ्चालन हुनेछ ।

 

तिहारमा सुनचाँदीका सिक्का तथा धातु खरिद गरी लक्ष्मीका रूपमा पूजा गर्दा शुभ हुने धार्मिक विश्वासका कारण उपभोक्ताको आकर्षण बढेको हो । राष्ट्र बैंकबाट बिक्री हुने सिक्काको शुद्धतामा विश्वास गर्ने भएकाले पनि सर्वसाधारण खरिदका लागि पुग्ने गरेका छन् ।

 

गत वर्ष सुनको अभाव देखाउँदै राष्ट्र बैंकले चाँदीका सिक्का मात्रै बिक्री गरेको थियो । तर यस वर्ष वाणिज्य बैंकबाट ३५ किलो सुन खरिद गरी सुनका असर्फीसमेत बिक्रीमा राखिएको छ ।

 

राष्ट्र बैंकका अनुसार एक व्यक्तिले २.५ ग्राम तौलको एउटा सुनको असर्फी र १० ग्राम तौलका बढीमा तीनवटासम्म चाँदीका सिक्का खरिद गर्न सक्नेछन् ।

 

सुनचाँदीको मूल्यमा वृद्धि

 

यस वर्ष सुनचाँदीका सिक्का खरिद गर्दा उपभोक्ताले बढ्दो मूल्यको सामना गर्नुपर्ने भएको छ । आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेर २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेको छ ।

 

त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले सोही दिनको बजार मूल्यका आधारमा सिक्काको मूल्य निर्धारण गर्ने र त्यसमा उत्पादन खर्चसमेत जोडेर बिक्री गर्ने जनाएको छ ।

 

सिक्का खरिद गर्न चाहनेले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य परिचयपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ । खरिदकर्ताले नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार