ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

२०८३ भाद्र २७ शनिवार
सारांश
  • ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

काठमाण्डौ, २७ भाद्र । ब्रिक्स विश्वका प्रमुख उदीयमान अर्थतन्त्र तथा विकासशील राष्ट्रहरूको समूह हो । यसको १८औँ शिखर सम्मेलन आज र भोली भारतको नयाँदिल्लीमा हुँदैछ । सम्मेलनमा चीनका राष्ट्रपति सी जीनपीङ, रुसी राष्ट्रपति भ्लादमिर पुटिन पनि सहभागी हुने भएका छन् ।

 

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

 

हाल ब्रिक्समा रुस, चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स गरी ११ पूर्ण सदस्य छन् । इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स सन् २०२४ देखि तथा इन्डोनेसिया सन् २०२५ देखि पूर्ण सदस्य बनेका हुन् ।

 

यस समूहमा बेलारुस, बोलिभिया, काजाकिस्तान, क्युबा, मलेसिया, नाइजेरिया, थाइल्यान्ड, युगान्डा, उज्बेकिस्तान र भियतनाम साझेदार राष्ट्रका रूपमा रहेका छन् । ब्रिक्सको विस्तारसँगै करिब ३० अन्य देशले पनि समूहमा सहभागी हुन इच्छा देखाएका छन् ।

 

ब्रिक्सको पहिलो औपचारिक शिखर बैठक सन् २००९ मा रुसको येकातेरिनबर्गमा भएको थियो । त्यसपछि हरेक वर्ष सदस्य राष्ट्रमध्ये एकले शिखर सम्मेलन आयोजना गर्दै आएका छन्। यस वर्ष भारतले सम्मेलन आयोजना गरिरहेको छ ।

 

ब्रिक्स राष्ट्रहरूको संयुक्त जनसंख्या विश्वको करिब आधा रहेको र विश्व अर्थतन्त्र तथा व्यापारमा पनि उनीहरूको ठूलो हिस्सा रहेको बताइन्छ । आर्थिक सहकार्य यसको मुख्य उद्देश्य भए पनि सदस्य राष्ट्रबीच राजनीतिक तथा सीमा विवादसमेत रहेका छन्। भारत र चीनबीचको सीमा विवाद यसको प्रमुख उदाहरण हो ।

 

ब्रिक्सले आर्थिक तथा राजनीतिक रूपमा पश्चिमी शक्तिको प्रभावलाई सन्तुलन गर्ने उद्देश्यसहित विकासशील राष्ट्रहरूबीच सहकार्य बढाउने प्रयास गर्दै आएको छ । समूहको मुख्यालय चीनको सांघाईमा रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार