चाडपर्वको दिन-निर्धारणको सिद्धान्त र तिहार पर्वको सांस्कृतिक महत्त्व
१६ कार्तिक, २०८३
- वैदिक सनातन परम्पराको संरक्षण गर्नु भनेको प्राचीन ग्रन्थहरूको नाम लिनु मात्र होइन । तिनमा उल्लिखित सिद्धान्तको अध्ययन, परीक्षण र यथार्थ व्याख्या गर्नु पनि हो । यही दृष्टिकोणबाट वैदिक तिथिपत्र धार्मिक आस्था र प्रत्यक्ष हुने वैज्ञानिक कालगणनाबिच संवाद स्थापित गर्ने माध्यम बन्छ ।
१. विषयप्रवेश
हाम्रा वार्षिक चाडपर्वहरू परम्परागत उत्सवका साथै मनोरञ्जन, सामाजिक भेटघाट का दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छन् । यिनमा आधिदैविक, आधिभौतिक र आध्यात्मिक गरी धर्मका सबै पक्ष पनि अन्तर्निहित हुन्छन् । यी हाम्रो सनातन संस्कृति, धार्मिक आस्था, मानव र प्रकृतिको सम्बन्ध तथा आयुर्वेदशास्त्रले बताएको ऋतुचर्याका समेत जीवन्त अभिव्यक्ति हुन् । दसैँ र तिहार विशिष्ट पर्वका रूपमा धेरै दिन लगाएर नेपालभरि नै मनाइने पर्व हुन् । हाम्रा चाडपर्वहरूको निर्धारणमा सूर्यको गति अनुसारका ऋतुको र चान्द्र तिथिको विशेष महत्त्व छ । त्यसैले चाडपर्वको शास्त्रनिर्धारित वास्तविक समय ठम्याउन तिनको आधारभूत कालगणनापद्धतिलाई बुझ्न आवश्यक छ ।
हाम्रा परम्परागत चाडपर्वहरू सौरसापेक्ष चान्द्रमानमा आधारित छन् । यसको अर्थ चाडपर्वको निर्धारणमा सौरमान र चान्द्रमानको समन्वयबाट निर्धारित ऋतु र तिथि दुवैको भूमिका रहन्छ । ऋतु र तिथिको समन्वयबाट चाडपर्वको समय निर्धारण हुने भएकाले र अयनचलनका कारण ऋतुहरू वर-वर सर्ने गरेकाले पर्वको समय पनि अगाडि सर्दै आउँछ । यस विषयमा वेदाङ्गज्योतिषको अध्ययन विशेष उपयोगी हुन्छ । त्यहाँ दिनमान बढ्न थाल्दा उत्तरायण लाग्छ दिनमान घट्न थाल्दा दक्षिणायन लाग्छ भनिएको छ—
घर्मवृद्धिरपां प्रस्थः क्षपाह्रास उदग्गतौ ।
दक्षिणेतौ विपर्यासः षण्मुहूर्त्ययनेन तु ।।—वेदाङ्गज्योतिष, श्लो. ८ ।
वेदाङ्गज्योतिषले वैदिक कर्म र यज्ञका साथै पौराणिक चाड-पर्वहरूको कालनिर्धारणका निम्ति पनि आवश्यक आधारभूत ज्ञान प्रदान गर्दछ । यसका आलोकमा प्रचलित चाडपर्वको समय, तिथिको अवस्था र ऋतुसँगको सम्बन्धको अध्ययन गर्नु उचित र आवश्यक पनि हुन्छ ।
यही सन्दर्भमा तिहारलाई दिनको घटबढ नगरी मनाउने परम्परा र वैदिक तिथिपत्रमा उल्लिखित तिथिक्रममाथि विचार गर्नु सान्दर्भिक हुन्छ ।
२. वेदाङ्गज्योतिष र चाडपर्वको कालगणना
वेदाङ्गज्योतिष अतिमान्य महास्मृतिरूप छवटा वेदाङ्गमध्येको एक हो। वेदको अध्ययन, वैदिक कर्मको अनुष्ठान र यज्ञको उचित समय निर्धारणमा वेदाङ्गज्योतिषको महत्त्वपूर्ण स्थान छ। कालको ज्ञान विना वैदिक कर्मको समय निर्धारण गर्न सकिँदैन। त्यसैले वैदिक परम्परामा ज्योतिषलाई भविष्यकथनादिसँग सम्बद्ध विषयका रूपमा हेरिएको छैन । यो वेदाङ्ग वैदिक कर्मको कालविधानसँग अभिन्न रूपमा सम्बद्ध छ।
वेद र वेदाङ्गज्योतिषको अध्ययन गर्दा वैदिक कालगणना-प्रणाली बुझिन्छ । व्याकरणजस्ता कालगणनासँग सोझै सम्बन्ध नराख्ने वेदाङ्गमा पनि वैदिक कालगणना बुझ्न सहयोगी सामग्रीहरू पाइन्छन् । वेदाङ्गज्योतिषलाई बुझ्न पाँचवर्षे युग, वर्ष, अयन, महिना, पक्ष, तिथि र नक्षत्रका विषयमा जान्नुपर्छ । त्यहाँ प्रयोग गरिएका मध्यममानहरू र खगोलीय अवलोकनबाट प्राप्त हुने प्रत्यक्ष मानका बिच सामञ्जस्य ल्याएर कालनिर्णय गर्नुपर्छ ।
वैदिक सनातन कालगणनामा सूर्य र चन्द्रमाको गतिका आधारमा विभिन्न कालमानको समन्वय गरिन्छ । सौरमानले ऋतु र सौरवर्षको सम्बन्ध स्थापित गर्छ र अहोरात्रको निर्धारण गर्छ भने चान्द्रमानले पक्ष र चान्द्रमासको निर्धारण गर्छ । यी दुवैको समन्वयबाट पर्वहरूको समय निर्धारण गरिन्छ ।
त्यसैले चाडपर्वको निर्धारण गर्दा तीनवटा विषयमा विशेष ध्यान दिनुपर्छ—पहिलो, पर्वको धार्मिक तथा शास्त्रीय विधान । दोस्रो, पर्वसँग सम्बन्धित अहोरात्रात्मक तिथिको वास्तविक अवस्था । तेस्रो, ऋतुचक्रसँग त्यसको सम्बन्ध । यी तीन पक्षको समुचित समन्वयबाट मात्र पर्वको कालगत आधार स्पष्ट हुन्छ ।
३. सौरसापेक्ष चान्द्रमान र ऋतुको महत्त्व
हाम्रा धार्मिक पर्वहरूमा तिथिको महत्त्व सर्वविदित छ । चान्द्र महिना ३० अहोरात्रभन्दा अलिकति सानो हुन्छ । त्यसैले गर्दा चान्द्रमासमा प्रायः २ महिनामा १ दिन कम हुन्छ । चान्द्र २ महिनामा ५९ दिन हुन्छन्, सावनमानका (एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एक सावन दिन मानिने गणनामा) २ महिनामा ६० दिन हुन्छन् र सौर एक ऋतु (सौर २ महिना) मा ६१ दिन हुन्छन् भन्ने आधारमा कालनिर्धारण गरिन्छ । चान्द्रमान र सौरमानको अन्तर ऋतुमा २ दिन वर्षमा ११ दिनभन्दा केही बढी र साडे दुई वर्ष जतिमा १ महिना हुन्छ । अर्कोतर्फ, सौरमानको सम्बन्ध ऋतु र अयनसँग हुन्छ । सूर्यको वार्षिक गतिचक्रका आधारमा ऋतुपरिवर्तन हुन्छ । चान्द्र वर्षको अवधि र सौर वर्षको अवधि बराबर नहुने भएकाले चान्द्रमानलाई ऋतुचक्रसँग समन्वय गर्नुपर्ने हुन्छ । त्यसका निम्ति साडे २ अथवा ३ वर्षमा एउटा अधिकमास राखेर सौर र चान्द्र गणनाको समन्वय गरिन्छ । यही समन्वयले चाडपर्वलाई सम्बद्ध ऋतुसँग सँधैँ जोडिराख्छ ।
अयनचलनले गर्दा ऋतु प्रत्येक ७१ वर्ष जतिमा एक दिन वर सर्छ । यसले नक्षत्रबद्ध चान्द्र महिना र ऋतुबिचको सम्बन्धलाई क्रमशः टाढा पार्दै (बिगार्दै) लगिरहेको हुन्छ । अहिले ऋतु २४ दिन वर सरिसकेको छ । त्यसैले चाड-पर्वको समय र तिथि प्रायः एक महिना अगाडि नै पर्ने स्थिति आएको छ । यसो भन्नुको अर्थ नेपालमा आजभन्दा १५०० वर्ष अगाडि लिच्छवि-कालमा आश्विनशुक्लप्रतिपदा जस्तो समय (ऋतु) मा पर्थ्यो र नवरात्र मनाइन्थ्यो, कार्तिक औँसी जस्तो समयमा पर्थ्यो र तिहार पर्व मनाइन्थ्यो ठीक त्यस्तै समय (ऋतु) आजभोलि एक महिना अगाडि नै आइसकेको हुन्छ । अहिले मनाइने पर्वहरू धेरै जसो वर्षमा (चल्तीको पात्रोको अधिकमास परेको वर्ष र त्यसपछिको अर्को वर्षमा) एक महिना पछाडि परेर ढीलो मनाइने अवस्था आइसकेको छ । यसरी आजभोलि प्रायःजसो वर्षमा निर्धारितभन्दा एक महिना विलम्बित कालमा अनुकल्पात्मक रूपमा चाडपर्व मनाइने अवस्था देखिन्छ ।
४. वेदाङ्गज्योतिषमा तिथि र पक्षको अवस्था
वेदमा तिथिलाई अहोरात्र भनिएको उल्लेख हेर्दा (अहोरात्रेभ्यः स्वाहाऽर्धमासेभ्यः स्वाहा ।— शुक्लयजुर्वेद २२।२८) र वेदाङ्गज्योतिषमा उल्लिखित तिथिगणनापद्धतिको अध्ययन गर्दा पक्षमा तिथिहरूको निरन्तरता मान्नुपर्ने हुन्छ ।
वैदिक तिथिपत्रमा कृष्णपक्ष चतुर्दशीको तिथि टुटेको अवस्थालाई विशेष अवस्थाका रूपमा औँल्याइन्छ । महिनाको समाप्ति औँसीमा हुनेहुँदा औँसीको दिनको निर्धारणमा विशेष ध्यान दिनुपर्छ । औँसीमा गर्नुपर्ने भनी शास्त्रले निर्देश गरेका सबै कर्म औँसीकै दिन गर्नुपर्छ। अनि त्यसभन्दा अगाडिका त्रयोदशी-चतुर्दशीका कृत्य औँसीभन्दा अगाडिका दिनमा र प्रतिपदा-द्वितीयाका कृत्य पछाडिका दिनमा निर्धारित हुन्छन् ।
५. तिहारका विभिन्न दिनको क्रमबद्ध अनुष्ठानको काठमाडौँको परम्परा
तिहार नेपाली समाजको महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यसलाई दीपावली, भाइटीका र अरू पनि नामले चिनिन्छ । यो पर्व यमदीपदान, कागतिहार, कुकुरतिहार, गाईतिहार, लक्ष्मीपूजा, गोरुतिहार (हलितिहार) तथा यम-यमुनापूजासहित भाइटीकाका रूपमा मनाउने परम्परा छ । भाइटीकाले दाजु-भाइ र दिदी-बैनीबिचको आत्मीय सम्बन्धलाई अभिव्यक्त गर्छ । दीपप्रज्वलन, घरआँगनको सरसफाइ, देउसी-भैलो र सामूहिक उत्सव यसका विशेष पक्ष हुन् ।
तिहारको सर्वाङ्गीण धार्मिक महत्त्व छ । यसले कुटुम्ब (परिवार), समाज, प्रकृति र जीवजन्तुप्रतिको हाम्रो सम्बन्धलाई पनि सुदृढ बनाउँछ । पर्वदिनहरूले मानिस र अन्य प्राणीबिचको सहअस्तित्वको भावना व्यक्त गर्छन् । लक्ष्मीपूजाले समृद्धि, स्वच्छता र आर्थिक जीवनको महत्त्वलाई स्मरण गराउँछ र आध्यात्मिक उन्नतिको मार्गदर्शन गर्छ ।
काठमाडौँ उपत्यकामा यस पर्वका लक्ष्मीपूजा, ह्मपूजा र भाइटीकाका तीन दिन लगातार मनाउने परम्परा विशेष रूपमा प्रचलित छ । यस पर्वक्रमले दुई पर्वका कर्म नमिसाई र कुनै दिन खाली पनि नगरी प्रत्येक दिनको विशिष्ट धार्मिक तथा सांस्कृतिक पहिचानलाई क्रमशः उजागर गरी सुरक्षित राख्छ । लक्ष्मीपूजाभन्दा अगाडि कागतिहार र कुकुर तिहार मनाइन्छन् । तिहार मनाउँदा तीन दिन अथवा पाँचै दिनको क्रम र तिनको परम्परागत महत्त्वलाई ध्यान दिनु आवश्यक छ ।
विक्रमसंवत् २०८३ तुलामास (कात्तिक) | |||||
दिन (गते) | २० | २१ | २२ | २३ | २४ |
पर्वकृत्य | धन्वन्तरिजयन्ती, कागतिहार | नरकचतुर्दशी, | लक्ष्मीपूजा | गोवर्धनपूजा, ह्मपूजा | भाइटीका |
त्रिरात्रपर्व (तिहार) अविच्छिन्न रूपमा क्रमबद्ध रूपमा हुञ्छ। कृत्यहरू क्रमबद्ध रूपमा बिचमा खाली नगरी गर्ने वैदिक सिद्धान्त सभ्यताको केन्द्र काठमाण्डौँ उपत्यकामा परम्परागत रूपमा अनादि कालदेखि लिच्छविकाल-मल्लकाल हुँदै आजसम्म पनि आइराखेको छ। यस वर्ष वि.सं. २०८३ मा भाइटीका २४ गते मङ्गलवार (नोवेम्बर १० तारिखमा) हुने भन्ने वेदाङ्गज्योतिषको पद्धतिसँग मिल्ने पक्ष पनि भारतमा चर्चित छ । साथै नेपालमा प्रचलित पञ्चाङ्गहरूमा र भारतका पनि कतिपय पञ्चाङ्गमा २५ गते बुधवार (११ ता.) हुने भन्ने पक्ष पाइन्छ । यी मध्ये २५ गते (११ ता.) मान्ने पक्षमा बिचमा खाली ('सुलं') हुन जाञ्छ। यसमा मीमांसा-दर्शन (वेदोपाङ्ग धर्ममीमांसाशास्त्र) को प्रयोग-प्राशुभाव-बोधक विधिलाई ‘प्रयोगविधि’ मान्ने सिद्धान्तको पनि विरोध पर्छ । २२ गते (८ ता.) लक्ष्मीपूजा सर्वसम्मत भएपछि सबै दिन क्रमबद्ध रूपमा मनाउनेले २० गते (६ ता.) धन्वन्तरिजयन्ती तथा कागतिहार र २१ गते (७ ता.) नरकचतुर्दशी तथा कुकुरतिहार मान्नुपर्ने देखिञ्छ। यो कुरा पाँचवर्षे वैदिक तिथिपत्रमा प्रकाशित छ (पृ. २७-२८)। यस विषयको मर्म जान्न खगोल पनि बुझ्नुपर्छ र वेदको अहोरात्रात्मक-तिथि-सिद्धान्त पनि बुझ्नुपर्छ। साथै आजभोलि पनि गणितागत तिथिको समाप्तिको समयका आधारमा मात्र पर्व नमनाएर एउटा अहोरात्रलाई नै पक्रेर पर्व मनाउने गरिन्छ भन्ने कुरामा पनि सूक्ष्म रूपमा दृष्टि पुर्याउनुपर्छ ।
६. दसैँ र तिहारमा लगातार पर्व मनाउने पद्धति
दसैँमा नौ दिन अथवा सप्तमीदेखिका चार दिनका पर्व बिचमा टुट-बढ नगरी लगातार मनाउनुपर्ने नेपालको प्राचीन कालदेखिको मान्यता छ । तिहारका सम्बन्धमा पनि यस्तै मान्यता छ । वैदिक तिथिपत्रले आगामी तिहारको पर्वक्रमलाई २०८३ कात्तिक २० गते कागतिहार, २१ गते कुकुरतिहार, २२ गते लक्ष्मीपूजा, २३ गते ह्मपूजा र २४ गते भाइटीका गरी क्रमशः मनाउनुपर्ने गरी निर्धारण गरेको छ (वैदिकतिथिपत्र २०८३-२०८७, स्वाद्ध्यायशाला, पृ. २७-२८) । यसको मुख्य आधार वैदिक अहोरात्रात्मक तिथिपद्धतिअनुसार तिथिको क्रमलाई व्यवस्थित रूपमा ग्रहण गर्नु र प्रत्येक दिनको विशिष्ट सांस्कृतिक पर्वको विशेषतालाई निरन्तरता दिनु हो । कृष्णपक्षमा एक दिन कम भएका अवस्थामा पनि प्रचलित मितिको यान्त्रिक अनुसरण गर्नुको सट्टा अनुष्ठानका दिनहरूको क्रम मिलाउनुपर्ने गहिरो दृष्टिकोण यसमा निहित छ । काठमाण्डौँ उपत्यकाका कतिपय स्थानीय विज्ञहरूले पनि यही पर्वदिनक्रम अनुसार तिहार पर्व मनाउने निर्णय गरेको समाचार पनि आएको छ ।
पाँच दिन लगातार पर्व मनाउनु सांस्कृतिक दृष्टिले र अनुष्ठानक्रमका दृष्टिले पनि महत्त्वपूर्ण छ । कुन दिन कुन पर्व मनाउने भन्ने निर्णय सम्बन्धित तिथिको वास्तविक अवस्था, प्राचीन कालदेखि चलिआएको परम्परा र पर्वविशेषको शास्त्रीय विधानका आधारमा गर्नुपर्छ । वैदिक तिथिपत्रले प्रस्तुत गरेको कात्तिक २० देखि २४ गतेसम्मको क्रमलाई स्वीकार गर्दा त्यसमा उल्लिखित तिथिहरूको खगोलीय गणना र पर्वहरूको परम्परागत निर्धारण बिच सामीप्य हुन्छ ।
आगामी वि.सं. २०८५ मा नवीन सूर्यसिद्धान्तको गणनाअनुसार एकै वर्ष कार्तिक र चैत्रमा गरी दुई वटा अधिकमास र एउटा क्षयमास पर्ने भन्ने छ । त्यसअनुसार कार्तिक-कृष्णपक्षका त्रयोदशीदेखिका कृत्य धन्वन्तरिजयन्ती, नरकचतुर्दशी र लक्ष्मीपूजा मनाएपछि १ महिना बिचमा खाली छाडी अर्को महिनामा मात्र गोवर्धनपूजा र भाइटीका गर्ने भन्ने पक्ष चर्चामा आएको छ। तर त्यस्तो नमिल्दो कुरा वेदाङ्गज्योतिषको गणनापद्धतिमा र नेपालको पुरानो परम्परामा पनि पाइँदैन । वेदाङ्गज्योतिषमा र लिच्छविकाल तथा मल्लकालको सोरौँ शताब्दीसम्म पनि नेपालमा मानिँदै आएको अधिकमास-गणना-पद्धतिअनुसार आषाढ र पौषमा मात्र अधिकमास पर्ने क्षयमास चाहिँ मानिँदै नमानिने हुँदा त्यस्तो स्थिति कहिले पनि पर्दैन । यसै कारण वैदिक सिद्धान्त र तदनुसारको परम्परामा दसैँ, तिहार इत्यादि पर्वका बिचमा खाली नगरी लगातार चाड मनाउने कुरामा कुनै अवरोध आउँदैन।
७. वैदिक तिथिपत्रको आवश्यकता
आजभोलि नेपाल-भारतका विभिन्न पात्रोमा पर्वका मितिहरू उल्लेख गरिन्छन् । कतिपय अवस्थामा खण्डतिथिको अवधि, सूर्योदयकाल र स्थानीय समय मिलाउन खोज्दा अनुष्ठान खप्टने वा बिचमा एक दिन खाली रहने अवस्था हुन्छ । यस्तो अवस्थामा वैदिक तिथिपत्र बढी उपयोगी हुन्छ र त्यसले स्पष्ट दिशानिर्देश गर्छ । किनभने यसले वैदिक कालगणनाका सिद्धान्तबाट यस्ता समस्याको समाधान गर्छ । त्यसैले पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गर्ने पञ्चाङ्गहरूमा पनि वैदिक महिनाका नामहरू र तिनको आरम्भदिन लेख्ने तथा एउटा नयाँ स्तम्भमा अहोरात्रात्मक वैदिक तिथि राख्ने व्यवस्था गर्नुपर्छ । नेपालको प्राचीन परम्पराअनुसारको चाडपर्वनिर्णयमा त्यसैको आधार लिनुपर्छ।
वैदिक सनातन परम्पराको संरक्षण गर्नु भनेको प्राचीन ग्रन्थहरूको नाम लिनु मात्र होइन । तिनमा उल्लिखित सिद्धान्तको अध्ययन, परीक्षण र यथार्थ व्याख्या गर्नु पनि हो । यही दृष्टिकोणबाट वैदिक तिथिपत्र धार्मिक आस्था र प्रत्यक्ष हुने वैज्ञानिक कालगणनाबिच संवाद स्थापित गर्ने माध्यम बन्छ ।
८. उपसंहार
हाम्रा चाडपर्वको आधार ऋतु र तिथिको समन्वयमा निहित छ । सौरमानले ऋतुचक्रसँग सम्बन्ध स्थापित गर्छ र दिनको क्रमनिर्धारण गर्छ भने चान्द्रमानले तिथि र पक्षको निर्धारणमा भूमिका खेल्छ । यी दुवै पक्षलाई समुचित रूपमा विचार नगरी पर्वको समय निर्धारण गर्न सकिँदैन ।
वेदाङ्गज्योतिषबाट वैदिक कालगणना कसरी गरिन्थ्यो र वैदिक कर्मको समय कसरी निर्धारण गरिन्थ्यो भन्ने कुरा बुझ्न सकिन्छ । आकाशमा चन्द्रमा हेरेर कर्म गर्ने निर्देश शास्त्रमा पाइन्छ । आधुनिक खगोलीय गणनाबाट पर्वकालसमाप्ति (औँसीको समाप्ति) को वास्तविक समय अथवा कुन दिन सूर्योदयभन्दा पहिले पूर्वको आकाशमा चन्द्रमा नदेखिने अवस्था हुन्छ भन्ने कुरा अवगत हुने हुँदा त्यसको सहयोग लिन सकिन्छ ।
तिहार हाम्रा धार्मिक, सांस्कृतिक र कौटुम्बिक (पारिवारिक) सम्बन्धलाई सुदृढ बनाउने नेपालभरि विशेष उल्लासका साथ मनाइने पर्व हो । तीन दिन अथवा पाँचै दिन लगातार तिहार पर्व मनाउने परम्पराले यस पर्वको समयनिर्धारणको विशिष्टतालाई अभिव्यक्त गर्छ । वेदाङ्गज्योतिषको अध्ययन, प्रमाणमा आधारित अहोरात्रात्मक तिथिगणना र परम्पराको विवेकपूर्ण संरक्षणबाट नै हाम्रा चाडपर्वको वास्तविक कालगत महत्त्वलाई स्पष्ट पार्न सकिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सर्वोच्चको फुल कोर्टको आग्रह- न्यायाधीश जोडेर सार्वजनिक भएका विषयमा पूर्वाग्रहरहित छानबिन होस्
-
फ्रिज चोरेर भाग्न खोज्दा गेटमै फसे, बिहान प्रहरीले गर्यो उद्धार
-
६१औँ जन्मदिन मनाउँदै बलिउड अभिनेता शाहरुख खान
-
तिहारका लागि ६४ करोडभन्दा बढीका झिलिमिली बत्ती भित्रिए, मूल्य बढ्ने
-
सर्वोच्चका न्यायाधीशहरू छलफलमै व्यस्त,
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।