क्रुज जहाजमा हान्ता भाइरसबाट संक्रमित १७ अमेरिकीलाई ४२ दिनको क्वारेन्टिनमा राखियो

२०८३ वैशाख २९ मङ्गलवार
सारांश
  • हान्ता भाइरसको सम्पर्कमा आएका १७ अमेरिकी यात्रुलाई अमेरिकाको नेब्रास्का मेडिकल सेन्टरमा ल्याएर निगरानीमा राखिएको छ ।

एजेन्सी, २९ वैशाख । हान्ता भाइरसको सम्पर्कमा आएका १७ अमेरिकी यात्रुलाई अमेरिकाको नेब्रास्का मेडिकल सेन्टरमा ल्याएर निगरानीमा राखिएको छ । उनीहरूलाई ४२ दिनसम्म क्वारेन्टिनमा राखेर स्वास्थ्य परीक्षण गरिने अमेरिकी स्वास्थ्य विभागले जनाएको छ ।

 

अमेरिकी स्वास्थ्य विभागका अनुसार ती सबै यात्रुलाई अमेरिकी सरकारको विशेष विमानमार्फत फर्काइएको हो । उनीहरू ‘एमभी होन्डियस’ नामक क्रुज जहाजबाट फर्किएका यात्रु हुन् । उक्त जहाज स्पेनको क्यानरी टापुमा रोकिएको बेला हान्ता भाइरसका घटना देखिएका थिए ।

 

यात्रुमध्ये एक जनामा हंता भाइरस संक्रमण पुष्टि भएको छ भने अर्का एक जनामा सामान्य लक्षण देखिएको बताइएको छ । सावधानीका रूपमा दुवैलाई विशेष सुरक्षा प्रणालीभित्र राखिएको छ । अब बाँकी यात्रुको पनि परीक्षण गरिनेछ । संक्रमण पुष्टि भए उपचार गरिनेछ भने स्वस्थ देखिएका व्यक्तिलाई घर पठाउन सकिने जनाइएको छ । यद्यपि उनीहरूको स्वास्थ्य निगरानी भने जारी रहनेछ ।

 

चिकित्सकका अनुसार हान्ता भाइरसका लक्षण देखिन एकदेखि आठ हप्तासम्म लाग्न सक्छ । संक्रमणपछि बिरामीमा उच्च ज्वरो, शरीर दुख्ने, कमजोरी, सास फेर्न गाह्रो हुने लगायत समस्या देखिन सक्छन् । अवस्था गम्भीर बने फोक्सोमा पानी जम्ने र ज्यानै जाने खतरा पनि रहने बताइएको छ ।

 

विश्व स्वास्थ्य संगठनका अनुसार हंता भाइरसबाट संक्रमितमध्ये ३५ देखि ४० प्रतिशत मानिसको ६ हप्ताभित्र मृत्यु हुने जोखिम हुन्छ । यो भाइरस मुख्यतः मुसा र गिलहरीजस्ता जनावरबाट सर्ने गर्छ । ती जनावरको दिसा, पिसाब र र्‍यालमार्फत भाइरस फैलिने बताइएको छ । दक्षिण कोरियाको “हंटन” नदीको नामबाट यस भाइरसको नाम राखिएको हो ।

 

विश्व स्वास्थ्य संगठनले “एन्डिज” नामक हंता भाइरसको विशेष प्रकार मानिसबाट मानिसमा पनि सर्न सक्ने जनाएको छ । संक्रमित व्यक्तिको र्‍याल, थुक, सँगै खाना खाने वा एउटै ओछ्यानमा सुत्दा संक्रमण फैलिन सक्ने बताइएको छ । बिरामीको स्याहार गर्ने व्यक्तिमा जोखिम बढी रहने चिकित्सकहरूको भनाइ छ ।

 

हान्ता भाइरसको पहिलो घटना सन् १९९३ मा अमेरिकामा देखिएको थियो । त्यतिबेला एक अमेरिकी दम्पतीको मृत्यु भएपछि गरिएको अनुसन्धानमा उनीहरूको घर आसपास मुसाका बासस्थान र भाइरसका संकेत फेला परेका थिए । अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थाका अनुसार विश्वभर हरेक वर्ष करिब एक लाख ५० हजार हंता भाइरसका घटना देखिन्छन् । तीमध्ये अधिकांश युरोप र एसियामा हुने गरेका छन् । आधाभन्दा बढी संक्रमण चीनमा हुने गरेको बताइएको छ ।

 

सन् २०१८ मा अर्जेन्टिनामा भएको एक जन्मदिन समारोहमा यो भाइरस ३४ जनामा फैलिएको थियो । त्यसमध्ये ११ जनाको मृत्यु भएको थियो । अमेरिकी अधिकारीहरूले हंता भाइरस सजिलै नफैलिने बताएका छन् । लक्षण देखिएको संक्रमित व्यक्तिसँग अत्यन्त नजिकको सम्पर्कमा रहे मात्रै संक्रमणको जोखिम हुने उनीहरूको भनाइ छ ।

 

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका कार्यवाहक निर्देशक जय भट्टाचार्यले संक्रमित व्यक्तिसँग नजिक रहेका मानिसको पहिचान गरेर जोखिमको स्तर निर्धारण गरिने बताएका छन् । संक्रमित व्यक्तिसँग नजिक सम्पर्क नभएका यात्रुलाई कम जोखिम समूहमा राखिने उनले जानकारी दिए ।

 

अधिकारीहरूका अनुसार यो भाइरस कोभिड–१९ जस्तो तीव्र गतिमा फैलिने प्रकृतिको होइन । अधिकांश अवस्थामा संक्रमित मुसाको दिसा, पिसाब वा र्‍यालको सम्पर्कबाट संक्रमण हुने गरेको छ । मानिसबाट मानिसमा सर्ने घटना भने निकै कम देखिएका छन् ।

 

हालसम्म हान्ता भाइरसको कुनै विशेष औषधि वा खोप उपलब्ध छैन । चिकित्सकहरूले बिरामीको लक्षणअनुसार उपचार गर्दै अवस्था जटिल हुन नदिने प्रयास गर्ने गरेका छन् । सास फेर्न समस्या भए अक्सिजन वा भेन्टिलेटरको सहायता दिइन्छ । शरीरमा पानी र रक्तचाप सन्तुलित राख्न औषधि तथा तरल पदार्थ प्रयोग गरिन्छ । चिकित्सकहरूले समयमै पहिचान र उपचार गर्न सके बिरामी बच्ने सम्भावना बढ्ने बताएका छन् । ज्वरो, कमजोरी वा सास फेर्न गाह्रो हुने लक्षण देखिए तुरुन्त अस्पताल जान आग्रह गरिएको छ ।

 

प्रारम्भिक परीक्षणपछि केही यात्रुलाई घर फर्कन अनुमति दिन सकिने स्वास्थ्य अधिकारीहरूले बताएका छन् । तर उनीहरूलाई सुरक्षित रूपमा पठाइने र त्यसपछि पनि स्थानीय स्वास्थ्य निकाय तथा रोग नियन्त्रण केन्द्रले निगरानी जारी राख्ने जनाइएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार भाइरसको सम्पर्कमा आएपछि ४२ दिनसम्म निगरानी आवश्यक हुन्छ । यस अवधिमा ज्वरो वा अन्य लक्षण देखिए तुरुन्त आफूलाई अलग राख्नुपर्नेछ ।

 

नेब्रास्का मेडिकल सेन्टरमा अमेरिकाको विशेष राष्ट्रिय क्वारेन्टिन इकाइ सञ्चालनमा छ । यो अमेरिकाको संघीय सहयोग प्राप्त एकमात्र क्वारेन्टिन सुविधा हो । यहाँका कोठामा विशेष नकारात्मक हावाचाप प्रणाली जडान गरिएको छ, जसले भाइरस हावामार्फत फैलिन नदिने बताइएको छ ।

 

अधिकारीहरूका अनुसार यात्रुलाई स्ट्रेचरमा ल्याइएको थिएन । उनीहरू आफैं विमानबाट ओर्लिएर सवारी साधनमार्फत क्वारेन्टिन कक्षसम्म पुगेका थिए ।  चिकित्सक माइकल वाडम्यानका अनुसार क्वारेन्टिन केन्द्रको व्यवस्था होटलजस्तै बनाइएको छ । यात्रुलाई कोठामै खाना उपलब्ध गराइनेछ, सामान्य व्यायाम गर्न पाइनेछ र दैनिक स्वास्थ्य परीक्षण गरिनेछ ।

 

यदि कुनै यात्रु गम्भीर बिरामी भए उनलाई अस्पतालको विशेष जैव सुरक्षा उपचार इकाइमा सारिनेछ, जहाँ खतरनाक संक्रामक रोगको उपचार गरिन्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार