क्रुज जहाजमा हान्ता भाइरसबाट संक्रमित १७ अमेरिकीलाई ४२ दिनको क्वारेन्टिनमा राखियो

२०८३ वैशाख २९ मङ्गलवार
सारांश
  • हान्ता भाइरसको सम्पर्कमा आएका १७ अमेरिकी यात्रुलाई अमेरिकाको नेब्रास्का मेडिकल सेन्टरमा ल्याएर निगरानीमा राखिएको छ ।

एजेन्सी, २९ वैशाख । हान्ता भाइरसको सम्पर्कमा आएका १७ अमेरिकी यात्रुलाई अमेरिकाको नेब्रास्का मेडिकल सेन्टरमा ल्याएर निगरानीमा राखिएको छ । उनीहरूलाई ४२ दिनसम्म क्वारेन्टिनमा राखेर स्वास्थ्य परीक्षण गरिने अमेरिकी स्वास्थ्य विभागले जनाएको छ ।

 

अमेरिकी स्वास्थ्य विभागका अनुसार ती सबै यात्रुलाई अमेरिकी सरकारको विशेष विमानमार्फत फर्काइएको हो । उनीहरू ‘एमभी होन्डियस’ नामक क्रुज जहाजबाट फर्किएका यात्रु हुन् । उक्त जहाज स्पेनको क्यानरी टापुमा रोकिएको बेला हान्ता भाइरसका घटना देखिएका थिए ।

 

यात्रुमध्ये एक जनामा हंता भाइरस संक्रमण पुष्टि भएको छ भने अर्का एक जनामा सामान्य लक्षण देखिएको बताइएको छ । सावधानीका रूपमा दुवैलाई विशेष सुरक्षा प्रणालीभित्र राखिएको छ । अब बाँकी यात्रुको पनि परीक्षण गरिनेछ । संक्रमण पुष्टि भए उपचार गरिनेछ भने स्वस्थ देखिएका व्यक्तिलाई घर पठाउन सकिने जनाइएको छ । यद्यपि उनीहरूको स्वास्थ्य निगरानी भने जारी रहनेछ ।

 

चिकित्सकका अनुसार हान्ता भाइरसका लक्षण देखिन एकदेखि आठ हप्तासम्म लाग्न सक्छ । संक्रमणपछि बिरामीमा उच्च ज्वरो, शरीर दुख्ने, कमजोरी, सास फेर्न गाह्रो हुने लगायत समस्या देखिन सक्छन् । अवस्था गम्भीर बने फोक्सोमा पानी जम्ने र ज्यानै जाने खतरा पनि रहने बताइएको छ ।

 

विश्व स्वास्थ्य संगठनका अनुसार हंता भाइरसबाट संक्रमितमध्ये ३५ देखि ४० प्रतिशत मानिसको ६ हप्ताभित्र मृत्यु हुने जोखिम हुन्छ । यो भाइरस मुख्यतः मुसा र गिलहरीजस्ता जनावरबाट सर्ने गर्छ । ती जनावरको दिसा, पिसाब र र्‍यालमार्फत भाइरस फैलिने बताइएको छ । दक्षिण कोरियाको “हंटन” नदीको नामबाट यस भाइरसको नाम राखिएको हो ।

 

विश्व स्वास्थ्य संगठनले “एन्डिज” नामक हंता भाइरसको विशेष प्रकार मानिसबाट मानिसमा पनि सर्न सक्ने जनाएको छ । संक्रमित व्यक्तिको र्‍याल, थुक, सँगै खाना खाने वा एउटै ओछ्यानमा सुत्दा संक्रमण फैलिन सक्ने बताइएको छ । बिरामीको स्याहार गर्ने व्यक्तिमा जोखिम बढी रहने चिकित्सकहरूको भनाइ छ ।

 

हान्ता भाइरसको पहिलो घटना सन् १९९३ मा अमेरिकामा देखिएको थियो । त्यतिबेला एक अमेरिकी दम्पतीको मृत्यु भएपछि गरिएको अनुसन्धानमा उनीहरूको घर आसपास मुसाका बासस्थान र भाइरसका संकेत फेला परेका थिए । अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थाका अनुसार विश्वभर हरेक वर्ष करिब एक लाख ५० हजार हंता भाइरसका घटना देखिन्छन् । तीमध्ये अधिकांश युरोप र एसियामा हुने गरेका छन् । आधाभन्दा बढी संक्रमण चीनमा हुने गरेको बताइएको छ ।

 

सन् २०१८ मा अर्जेन्टिनामा भएको एक जन्मदिन समारोहमा यो भाइरस ३४ जनामा फैलिएको थियो । त्यसमध्ये ११ जनाको मृत्यु भएको थियो । अमेरिकी अधिकारीहरूले हंता भाइरस सजिलै नफैलिने बताएका छन् । लक्षण देखिएको संक्रमित व्यक्तिसँग अत्यन्त नजिकको सम्पर्कमा रहे मात्रै संक्रमणको जोखिम हुने उनीहरूको भनाइ छ ।

 

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका कार्यवाहक निर्देशक जय भट्टाचार्यले संक्रमित व्यक्तिसँग नजिक रहेका मानिसको पहिचान गरेर जोखिमको स्तर निर्धारण गरिने बताएका छन् । संक्रमित व्यक्तिसँग नजिक सम्पर्क नभएका यात्रुलाई कम जोखिम समूहमा राखिने उनले जानकारी दिए ।

 

अधिकारीहरूका अनुसार यो भाइरस कोभिड–१९ जस्तो तीव्र गतिमा फैलिने प्रकृतिको होइन । अधिकांश अवस्थामा संक्रमित मुसाको दिसा, पिसाब वा र्‍यालको सम्पर्कबाट संक्रमण हुने गरेको छ । मानिसबाट मानिसमा सर्ने घटना भने निकै कम देखिएका छन् ।

 

हालसम्म हान्ता भाइरसको कुनै विशेष औषधि वा खोप उपलब्ध छैन । चिकित्सकहरूले बिरामीको लक्षणअनुसार उपचार गर्दै अवस्था जटिल हुन नदिने प्रयास गर्ने गरेका छन् । सास फेर्न समस्या भए अक्सिजन वा भेन्टिलेटरको सहायता दिइन्छ । शरीरमा पानी र रक्तचाप सन्तुलित राख्न औषधि तथा तरल पदार्थ प्रयोग गरिन्छ । चिकित्सकहरूले समयमै पहिचान र उपचार गर्न सके बिरामी बच्ने सम्भावना बढ्ने बताएका छन् । ज्वरो, कमजोरी वा सास फेर्न गाह्रो हुने लक्षण देखिए तुरुन्त अस्पताल जान आग्रह गरिएको छ ।

 

प्रारम्भिक परीक्षणपछि केही यात्रुलाई घर फर्कन अनुमति दिन सकिने स्वास्थ्य अधिकारीहरूले बताएका छन् । तर उनीहरूलाई सुरक्षित रूपमा पठाइने र त्यसपछि पनि स्थानीय स्वास्थ्य निकाय तथा रोग नियन्त्रण केन्द्रले निगरानी जारी राख्ने जनाइएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार भाइरसको सम्पर्कमा आएपछि ४२ दिनसम्म निगरानी आवश्यक हुन्छ । यस अवधिमा ज्वरो वा अन्य लक्षण देखिए तुरुन्त आफूलाई अलग राख्नुपर्नेछ ।

 

नेब्रास्का मेडिकल सेन्टरमा अमेरिकाको विशेष राष्ट्रिय क्वारेन्टिन इकाइ सञ्चालनमा छ । यो अमेरिकाको संघीय सहयोग प्राप्त एकमात्र क्वारेन्टिन सुविधा हो । यहाँका कोठामा विशेष नकारात्मक हावाचाप प्रणाली जडान गरिएको छ, जसले भाइरस हावामार्फत फैलिन नदिने बताइएको छ ।

 

अधिकारीहरूका अनुसार यात्रुलाई स्ट्रेचरमा ल्याइएको थिएन । उनीहरू आफैं विमानबाट ओर्लिएर सवारी साधनमार्फत क्वारेन्टिन कक्षसम्म पुगेका थिए ।  चिकित्सक माइकल वाडम्यानका अनुसार क्वारेन्टिन केन्द्रको व्यवस्था होटलजस्तै बनाइएको छ । यात्रुलाई कोठामै खाना उपलब्ध गराइनेछ, सामान्य व्यायाम गर्न पाइनेछ र दैनिक स्वास्थ्य परीक्षण गरिनेछ ।

 

यदि कुनै यात्रु गम्भीर बिरामी भए उनलाई अस्पतालको विशेष जैव सुरक्षा उपचार इकाइमा सारिनेछ, जहाँ खतरनाक संक्रामक रोगको उपचार गरिन्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार