विज्ञहरू भन्छन् - नेपालको परराष्ट्र तथा विकास नीतिमा भावनाभन्दा तर्क र सहकार्यको आवश्यकता

२०८३ वैशाख २६ शनिवार
सारांश
  • विज्ञहरूको विचारका आधारमा भन्न सकिन्छ कि नेपालले परराष्ट्र नीति निर्माण तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो हित प्रस्तुत गर्दा केवल भावनात्मक नभई अधिक तर्कसंगत र वस्तुनिष्ठ हुनुपर्छ ।

बालेन नेतृत्वको सरकारले पदभार सम्हालेको डेढ महिना पूरा गरेको छ । यस अवधिमा अमेरिकी कूटनीतिज्ञहरूको दुईवटा महत्वपूर्ण भ्रमण सम्पन्न भएका छन् । साथै जर्मनीका एक उच्चस्तरीय कूटनीतिज्ञको पनि भ्रमण भएको छ । चीन र भारतले पनि यस अवस्थालाई नजिकबाट अवलोकन गरिरहेका छन् । यस सन्दर्भमा, बिन्दुपोष्टले बालेन नेतृत्वको सरकारको प्रारम्भिक विदेश नीति एवं अन्तर्राष्ट्रिय साझेदार संगको गतिविधिहरूबारे विज्ञहरूको धारणा लिएको छ ।

 

१. विजय कान्त कर्ण, पूर्व राजदुत

 

मेरो विचारमा, अमेरिकाबाट नेपालमा भएका यी भ्रमणहरू प्रारम्भिक तथा केही हदसम्म नियमित प्रकृतिका हुन्, जसमा सर्जियो गोर र पल कपुर जस्ता कूटनीतिज्ञहरू सहभागी छन् । हाम्रो प्रधानमन्त्रीले यी दुवै कूटनीतिज्ञसँग भेट गरेका भए, नेपालले अन्तर्राष्ट्रिय राजनीतिमा आफ्नो सीमित कूटनीतिक स्थानलाई विस्तार गर्न केही सहयोग पुग्न सक्थ्यो । तर नगरे पनि केही बिग्रिन्छ जस्तो मलाई लाग्दैन । गोअर अमेरिकी राष्ट्रपति ट्रम्पको किचन क्याबिनेट सँग नजिक मानिने र दक्षिण तथा मध्य एशियाको विशेष दुत एवं भारतका लागि राजदुत समेत भएकाले, उहाँसँगको भेटले ट्रम्पसम्म प्रम बालेनको प्रत्यक्ष सन्देश पुऱ्याउन सक्ने सम्भावना पनि थियो । यद्यपि, प्रोटोकल परिवर्तन गर्ने सक्ने प्रत्येक देशको आफ्नै विषय हो, र अनौपचारिक रूपमा भनिन्छ कि प्रधानमन्त्री बालेनले मन्त्रीस्तरका अधिकारीहरूसँग मात्र भेट्न चाहनुहुन्छ । तर अर्थ मन्त्री, परराष्ट्र मन्त्री लगायत अन्य मन्त्रीहरुले यहाँ स्थित राजदूतहरू र त्यहाँबाट आएका कूटनीतिज्ञहरूसँग भेट गरिराख्नुभएको छ । 

 

परराष्ट्र मन्त्रीले मौरिससमा भएको इन्डियन ओसन सम्मेलनमा उत्कृष्ट रूपमा नेपालका आफ्ना परराष्ट्र नीति र नयाँ सरकारका प्राथमिकताहरूको व्याख्या गर्नुभयो । त्यस सन्दर्भमा उहाँले समुद्री सुरक्षा र जलवायु परिवर्तनका विषयहरू सशक्त रूपमा उठाउनुभयो । साथै उहाँले आफ्नो भाषणमा हिन्दू पौराणिक कथाको सन्दर्भ दिँदै समुद्र मन्थन उल्लेख गर्नुभयो, जसमा हिमाल र समुद्रलाई प्रतीकात्मक रूपमा जोडेर प्रस्तुत गर्नुभयो । त्यो उत्कृष्ट थियो । साथै, काठमाडौँस्थित राजदूतहरूसँगको समूहगत भेटमा प्रधानमन्त्रीले आफ्नो सरकारले अघिल्ला सरकारहरूद्वारा गरिएका सबै सम्झौता र समझदारीहरूलाई निरन्तरता दिने सन्देश दिनुभएको थियो । विदेशी कूटनीतिज्ञहरूका लागि यस्तो निरन्तरताको सन्देश अत्यन्त महत्वपूर्ण हुन्छ, किनकि उनीहरू अघिल्ला सम्झौताहरूको कार्यान्वयन नेपाल जस्तो देशमा के हुने हो भन्ने दुविधामा हुन्छन् ।

 

नेपालको प्रधानमन्त्री बालेनको भारत भ्रमणको चर्चा चलिरहेको छ । भारतका प्रधानमन्त्रीले निम्तो दिनुभएको छ, जुन सैद्धान्तिक ढंगले स्वीकार पनि गर्नुभएको छ । केही दशकदेखि चीनले नेपालमा आफ्नो विदेश नीति अघि बढाउने क्रममा नेपाली कम्युनिस्ट दलहरूलाई सबैभन्दा महत्वपूर्ण साधनका रूपमा प्रयोग गर्दै आएको थियो । लामो समयसम्म यही माध्यम सबैभन्दा प्रभावकारी र बलियो रहेको थियो । तर हालैको निर्वाचनपछि कम्युनिस्ट दलहरूको प्रभाव उल्लेखनीय रूपमा घटेसँगै चीनका लागि परिस्थिति केही कठिन बनेको छ । यही कारणले गर्दा चीन अहिले बढी सशंकित देखिन्छ । यसका बाबजुद, समग्र रूपमा बालेन नेतृत्वको सरकारको विदेश नीति कार्यान्वयन भने सकारात्मक दिशातर्फ उन्मुख देखिन्छ ।

 

२. बालकृष्ण शर्मा सिलवाल, अन्तर्राष्ट्रिय विकास परामर्शदाता

 

बालेन नेतृत्वको सरकारलाई केवल डेढ महिनाको अवधिमा पूर्ण रूपमा विश्लेषण गर्न गाह्रो छ । तर, मेरो बुझाइअनुसार सरकार सही दिशामा अघि बढिरहेको देखिन्छ । भनिन्छ नि, “बिहानले दिन देखाउँछ” भनेझैँ । अन्तर्राष्ट्रिय विकास साझेदारहरू जस्तै एशियाली विकास बैंक र विश्व बैंक ले यस चरणमा पहिले सहमति भएका कार्यक्रमहरूलाई निरन्तरता दिइरहेका छन् र साथै थप सहयोगका सम्भावनाबारे सरकारसँग नियमित रूपमा संवाद गरिरहेका छन् । सूक्ष्म रूपमा हेर्दा, बालेन सरकारले सीप विकास मा लगानी गर्न विशेष चासो देखाएको देखिन्छ । यसअन्तर्गत विद्यार्थीहरूलाई आंशिक (पार्ट–टाइम) रोजगारी का लागि आवश्यक सीप विकास, तथा विदेशबाट फर्केका नेपालीहरूलाई पुनःएकीकरण गर्न आवश्यक कार्यक्रमहरूमा अन्तर्राष्ट्रिय साझेदारहरूले पनि रुचि देखाइरहेका छन् । फिन्ल्याण्ड, युके, युरोपेली संघ जस्ता साझेदारहरूले यसतर्फ रुचि देखाइसकेका छन् । 

 

हामीलाई थाहा छ, अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएड) हाल सक्रिय छैन । तर, मेरो विचारमा नेपालमा अनुदान भने अन्य माध्यममार्फत आउँदै रहनेछ । यद्यपि, यी प्रारम्भिक संकेतहरूभन्दा बाहिर, विकास साझेदारहरू र हामीजस्ता विकास पेशाकर्मीहरूले सरकारको विस्तृत नीति तथा कार्यक्रमहरू सार्वजनिक भएपछि मात्र स्पष्ट मूल्यांकन गर्न सक्षम हुनेछौं ।  

 

३. केशवप्रसाद पौडेल, वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक

 

मेरो विचारमा अमेरिकाबाट भएका यी दुई भ्रमणहरू नेपालमा केही हदसम्म ‘लो–प्रोफाइल’ बने, किनकि प्रधानमन्त्री बालेनले उनीहरूसँग भेट गर्नुभएन ।  हाम्रो परम्पराअनुसार यस्ता शक्तिशाली देशका कूटनीतिज्ञहरूसँग भेट गर्ने अभ्यास रहिआएको छ । त्यसैले केवल परराष्ट्रमन्त्री र अर्थमन्त्रीको तहमा मात्र हुने भेटघाटले कूटनीतिक प्रभावकारिता त्यति धेरै बढ्दैन भन्ने मेरो बुझाइ छ ।


एक हिसाबले हेर्दा, प्रधानमन्त्री बालेनले कुनै एकपक्षीय वा चयनात्मक भेट नगरी तटस्थता कायम गर्न खोजेको देखिन्छ । तर यस सन्दर्भमा, विशेषगरी भारतको प्रसङ्गमा, हामी अझ बढी व्यावहारिक हुनुपर्छ । किनकि भारतीय परराष्ट्र सचिवले प्रधानमन्त्रीसँगको समय व्यवस्थापन समस्याका कारण आफ्नो भ्रमण रद्द गरेको भन्ने कुरा आएको छ । मेरो विचारमा भारतसँग हाम्रो विविध प्रकारका हितहरू जोडिएको हुँदा, यस सम्बन्धमा पर्याप्त समय दिइनु आवश्यक हुन्छ ।

 

लिपुलेक मुद्दा, जहाँ नेपालले हालै भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएको छ, त्यो पनि धेरै हदसम्म मिडिया–केन्द्रित प्रस्तुति जस्तो देखिन्छ । यस्ता मुद्दाहरूमा हामीले सतही प्रस्तुतिभन्दा बढी वास्तविक र सार्थक विषयवस्तुमा ध्यान दिनु आवश्यक छ ।


म निश्चित रूपमा भन्न सक्दिनँ, तर मैले सुनेअनुसार प्रधानमन्त्री बालेन केवल मन्त्रीस्तरका अधिकारीहरूसँग मात्र भेट्न इच्छुक छन् र भारतीय राजदूतसँग समेत भेट नगरेको भन्ने चर्चा छ । एकातर्फ यसलाई राष्ट्रवादी दृष्टिकोणको रूपमा हेर्न सकिन्छ, तर अर्कोतर्फ, कूटनीतिक दृष्टिले यो सधैं धेरै फलदायी नहुन पनि सक्छ । अर्थात् भन्नुपर्दा हामीले प्रोटोकलमा कसलाई भेट्ने वा नभेट्ने भन्दा पनि कन्टेन्टमा राष्ट्रवादी हुनुपर्छ । हामीले भारतबाट इन्धन देखि हरेक प्रकारका वस्तुहरु आयात गरिरहेका छौ । त्यसैले भारतको प्रतिनिधिलाई भेट्दिन भन्नु त्यति बुद्धिमानी हुँदैन । यस्तो प्रकारको क्रियाकलाप पहिला केपी ओलीले पनि गरेका हुन् । आखिर नेपालले के पायो त ?

 

४. डा. डिबी सुनार, नेता तथा नीति अनुसन्धान प्रतिष्ठान सदस्य, नेपाली काँग्रेस

 

अमेरिका नेपालसँग विशेषगरी रणनीतिक क्षेत्रमा साझेदारी गर्न अत्यन्त इच्छुक देखिन्छ । नेपालमा करिब दुई–तिहाइ बहुमतसहित नयाँ सरकार गठन भएपछि, र नेपालको भूराजनीतिक अवस्थालाई ध्यानमा राख्दै, अमेरिकाले व्यापार, प्रविधि लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने रुचि देखाएको छ । यसबीच भारत र चीन भने ‘पर्ख र हेर’  को रणनीतिमा देखिन्छन् ।

 

भारतको सन्दर्भमा, कालापानी मुद्दाले केही तनाव सिर्जना गरेको छ र यसले प्रम बालेनको भारत भ्रमणमा ढिलाइ हुन सक्ने संकेत देखिन्छ । भारतले भने कालापानीमाथिको आफ्नो दाबी ऐतिहासिक प्रमाणमा आधारित रहेको बताउँदै आएको छ ।

 

अन्त्यमा, 

विज्ञहरूको विचारका आधारमा भन्न सकिन्छ कि नेपालले परराष्ट्र नीति निर्माण तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो हित प्रस्तुत गर्दा केवल भावनात्मक नभई अधिक तर्कसंगत र वस्तुनिष्ठ हुनुपर्छ । साथै, नेपालले आफ्नो विकास आवश्यकताहरू पूरा गर्न सहुलियतपूर्ण ऋण र अनुदानका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग सहकार्य गर्नुपर्छ । हामीलाई सहयोग र समन्वय आवश्यक छ । अलग–अलग रूपमा काम गर्ने (साइलोमा काम गर्ने) होइन, सहकार्यमा आधारित दृष्टिकोण अपनाउनुपर्छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप लेखहरु