राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निर्देशन

४ मार्ग, २०८३
सारांश
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व चुहावट नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्न भन्सार प्रशासनलाई निर्देशन दिनुभएको छ।

विराटनगर: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व चुहावट नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्न भन्सार प्रशासनलाई निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालय मातहतका कार्यालयहरूको स्थलगत निरीक्षणका लागि शुक्रबार मोरङको विराटनगर पुग्नुभएका उहाँले यस्तो निर्देशन दिनुभएको हो।

 

मोरङको रानीस्थित विराटनगर भन्सार कार्यालयको एकीकृत जाँच चौकी (आईसीपी) को स्थलगत अवलोकनपछि मन्त्री वाग्लेले राजस्व चुहावट रोक्न कडाइका साथ काम गर्न र निर्धारित लक्ष्यअनुसार राजस्व संकलनमा विशेष ध्यान दिन निर्देशन दिनुभयो।

 

राजस्व संकलनका लागि आवश्यक पूर्वाधार तथा अन्य सहयोग चाहिए मन्त्रालयसँग निर्धक्क माग गर्न आग्रह गर्दै उहाँले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्ने कार्यालयहरू निगरानीमा रहने चेतावनीसमेत दिनुभयो।

 

‘राजस्व चुहावट रोक्न सबै उपाय अपनाउनुहोस्। यसमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुहोस्। राजस्व संकलनको ऐतिहासिक राष्ट्रिय लक्ष्य पूरा गर्न कुनै कसर बाँकी नराख्नुहोस्,’ अर्थमन्त्री वाग्लेले भन्नुभयो। उहाँले राजस्व संकलनको लक्ष्य प्राप्तिका आधारमा भन्सार कार्यालय र तिनको नेतृत्वको कार्यसम्पादन मूल्यांकन गरिने स्पष्ट पार्नुभयो।

 

उहाँले सरकारको ‘मिसन १६ खर्ब’ राजस्व संकलन लक्ष्यलाई आत्मसात् गर्दै काम गर्न पनि निर्देशन दिनुभयो। भन्सारमा दस्तुर तथा थप दस्तुरसम्बन्धी अनावश्यक झन्झट सिर्जना भएको गुनासो आफूले सुन्न नपरोस् भन्दै मन्त्री वाग्लेले राजस्व छल्ने र ठगी गर्नेहरूलाई भन्सार क्षेत्रमा कुनै पनि हालतमा संरक्षण गर्न नहुने बताउनुभयो।

 

विराटनगर भन्सारको कामकारबाहीलाई छिटोछरितो बनाउन आवश्यक पूर्वाधार विकासका लागि कुनै माग भए स्पष्ट रूपमा प्रस्तुत गर्न पनि उहाँले निर्देशन दिनुभयो। व्यापार प्रवर्द्धन र राजस्व संकलनलाई सँगसँगै अघि बढाउँदै सरल, सहज र व्यवसायमैत्री वातावरण निर्माण गर्नु उत्तिकै महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो।

 

कार्यक्रममा राजस्व महाशाखा प्रमुखसमेत रहनुभएका निमित्त अर्थसचिव डा. सुमन दाहालले भन्सार बिन्दुमा लागू गरिएको अधिकतम खुद्रा मूल्य (एमआरपी) घोषणाको व्यवस्थालाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो।

 

उहाँले भन्सार क्षेत्रमा दुईवटा गेट निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्दै अनलाइन मूल्यांकन प्रणालीको प्रभावकारिताबारे थप छलफल गर्नुपर्ने बताउनुभयो।

 

सो अवसरमा विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक उमेश श्रेष्ठले कार्यालयको दैनिक कामकारबाही तथा कार्यसम्पादन अवस्थाबारे प्रस्तुति दिनुभएको थियो।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार