राष्ट्र बैंकले विदेशी मुद्रा सटही सीमा पाँच गुणासम्म बढायो

२० असोज, २०८३
सारांश
  • नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीको सीमा पाँच गुणासम्म बढाएको छ ।

काठमाडौं : नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीको सीमा पाँच गुणासम्म बढाएको छ ।

 

विदेशी विनिमय सञ्चिति बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि विदेशी मुद्रा सटहीमा सहजीकरण गरिएको हो ।

 

राष्ट्र बैंकले विदेशी विनिमय कारोबारसम्बन्धी एकीकृत परिपत्र संशोधन गर्दै विदेशमा उपचारका लागि वार्षिक ३० हजार अमेरिकी डलरसम्म सटही सुविधा दिने व्यवस्था गरेको छ ।

 

यसअघि यस्तो सीमा १५ हजार डलर थियो । नेपाली वायुसेवा कम्पनीले जहाजका इन्जिन तथा पार्टपुर्जा आयात गर्दा पाँच लाख अमेरिकी डलरसम्म अग्रिम भुक्तानी गर्न सक्ने भएका छन् । यसअघि यस्तो सीमा एक लाख डलर थियो । 

 

त्यस्तै दूरसञ्चार सेवा प्रदायकले विदेशी कम्पनीबाट लिने उपग्रह सेवाको भाडाबापत वार्षिक पाँच लाख अमेरिकी डलरसम्म भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ । यसअघि सीमा एक लाख डलर थियो ।

 

भारतबाट विभिन्न सेवा लिने नेपाली तथा विदेशी संघसंस्था र कम्पनीले प्रतिपटक ६० लाख भारतीय रुपैयाँसम्म भुक्तानी गर्न सक्ने भएका छन् । यसअघि यस्तो सीमा ४० लाख भारतीय रुपैयाँ थियो । राष्ट्र बैंकले चीनबाट हुने आयातको भुक्तानीमा पनि सहजीकरण गरेको छ ।

 

तातोपानी, रसुवागढी र मुस्ताङ नाकाबाट हुने आयातको भुक्तानी अब भन्सार जाँचपास हुनुअघि नै पूर्ण रूपमा पठाउन सकिने व्यवस्था गरिएको छ । यसअघि सामान पठाउनुअघि नै भुक्तानी गर्नुपर्ने व्यवस्था थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार