मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, शुक्रबारदेखि चार्ज गरिने

२० असोज, २०८३
सारांश
  • प्राधिकरणले आगामी हिउँदयाममा काठमाडौं उपत्यकामा बढ्ने विद्युत् माग व्यवस्थापन गर्न गत असोज ८ गते मातातीर्थ–चोभार प्रसारण लाइनलाई १५ दिनभित्र चार्ज गर्ने निर्णय गरेको थियो।

काठमाडौँ: काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्त्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मातातीर्थ–चोभार खण्डको निर्माण सम्पन्न भएको छ।

 

काठमाडौंको मातातीर्थ सबस्टेसनदेखि चोभार सबस्टेसनसम्मको करिब ६ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन शुक्रबारदेखि चार्ज गरिने भएको छ। लाइन चार्ज भएपछि मातातीर्थ–चोभार खण्ड राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध भई नियमित रूपमा विद्युत् प्रवाह हुनेछ।

 

प्राधिकरणले आगामी हिउँदयाममा काठमाडौं उपत्यकामा बढ्ने विद्युत् माग व्यवस्थापन गर्न गत असोज ८ गते मातातीर्थ–चोभार प्रसारण लाइनलाई १५ दिनभित्र चार्ज गर्ने निर्णय गरेको थियो। लाइन चार्ज गर्न आवश्यक पूर्वाधारअन्तर्गत चोभार सबस्टेसनमा दुई वटा वे निर्माण गरिएका छन्।

 

काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई पर्याप्त, सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले काठमाडौं, ललितपुर र भक्तपुरलाई समेट्ने १३२ केभी प्रसारण लाइनको रिङ संरचना निर्माण गर्न थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन आयोजना सुरु गरिएको थियो।

 

आयोजनाअन्तर्गत ललितपुरको खोकना, बुंगमती, हरिसिद्धी र लामाटार क्षेत्रमा स्थानीय अवरोधका कारण प्रसारण लाइन निर्माण प्रभावित भएपछि वैकल्पिक रूपमा चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण अघि बढाइएको हो।

 

चोभार सबस्टेसनमा स्थानीय विद्युत् आपूर्तिका लागि ११ केभीका नौ वटा फिडर रहेका छन्। उक्त सबस्टेसनबाट कीर्तिपुर, फर्पिङ, पुल्चोक, एकान्तकुनालगायतका क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ। सबस्टेसन सञ्चालनमा आएपछि ती क्षेत्रमा भोल्टेज सुधार हुनुका साथै विद्युत् आपूर्ति प्रणाली थप भरपर्दो र गुणस्तरीय हुने अपेक्षा गरिएको छ।

 

मुख्यतः त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रमा रहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् मातातीर्थ सबस्टेसनमार्फत काठमाडौं उपत्यकामा आपूर्ति हुँदै आएको छ। मातातीर्थ सबस्टेसनदेखि चोभारसम्म १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएपछि उपत्यकाको विद्युत् आपूर्ति प्रणालीमा थप वैकल्पिक मार्ग उपलब्ध हुनेछ।

 

चोभार सबस्टेसनदेखि चक्रपथ हुँदै ललितपुरको लगनखेल (पाटन) सबस्टेसनसम्म करिब साढे ४ किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणाधीन छ। यसका लागि पाटन सबस्टेसनलाई समेत स्तरोन्नति गरी १३२ केभी स्तरमा सञ्चालन गर्ने काम अगाडि बढाइएको छ।

 

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा आर्थिक वर्ष २०५५/५६ देखि थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजना सुरु गरिएको थियो। आयोजनाअन्तर्गत काठमाडौं र भक्तपुरतर्फको प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ। काठमाडौं खण्डअन्तर्गत निर्माण सम्पन्न भएको चोभारसम्मको लाइन अब चार्ज गर्न लागिएको हो।

 

ललितपुरतर्फ भने खोकना, बुंगमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गरेपछि उक्त खण्डको काम अघि बढ्न सकेको छैन। यसका कारण काठमाडौं उपत्यकाको १३२ केभी प्रसारण प्रणालीलाई पूर्ण रिङ संरचनामा सञ्चालन गर्ने कार्य प्रभावित हुँदै आएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार