क्यासेटदेखि क्लाउडसम्म: हाम्रो पुस्ताले देखेको परिवर्तन

२०८३ असोज १३ मङ्गलवार
सारांश
  • समय कहिल्यै रोकिँदैन र प्रविधिको रफ्तार पनि थामिने छैन । भोलिका पुस्ताले आजको स्मार्टफोन र ए.आई. लाई पनि कुनै सङ्ग्रहालयको वस्तुजस्तै इतिहास मान्नेछन् । तर परिवर्तनको आँधी जतिसुकै तीव्र भए पनि मानवीय संवेदना, आपसी जिम्मेवारी, विवेक र आत्मियताको महत्त्व भने युगौँयुगसम्म अजम्बरी रहनेछ ।

समयको वेग पनि कति अनौठो ! कहिलेकाहीँ आफ्नै विगततिर फर्केर हेर्दा लाग्छ—हामीले त एउटै जुनीमा दुई फरक दुनियाँ पो बिताएछौँ । एउटा समय यस्तो थियो, जहाँ खबर पाउन रेडियोको साउती कुर्नुपर्थ्यो, मनपर्ने धुन सुन्न क्यासेटको रिल घुमाउनुपर्थ्यो, परदेशी आफन्तको हालखबर पाउन हप्ता-महिना लगाएर हुलाकीको बाटो हेर्नुपर्थ्यो अनि टेलिफोन गर्न चौबाटोको पसलमा लाइन बस्नुपर्थ्यो । अर्को दुनियाँ आजको छ—जहाँ हत्केलाभरिको एउटा नीलो स्क्रिनभित्रै सिङ्गो संसार अटाएको छ ।

 

मेरो उमेर अहिल्यै ३९ टेकिसक्यो । आजको नवपुस्ताभन्दा हाम्रो बाल्यकाल र किशोरावस्था निकै पृथक थियो । हामीले प्रविधिविहीन अभावको युग पनि देख्यौँ र बिस्तारै भित्रिँदै गरेको डिजिटल जमानालाई पछ्याउँदै, सिक्दै र आफूलाई बदल्दै यहाँसम्म आयौँ । हाम्रा बाल्यकालका रमाइला साधन भनेकै रेडियो र टेलिभिजन थिए । घरमा 'ब्ल्याक एण्ड व्हाइट' टिभी हुनु नै ठूलो सानको विषय हुन्थ्यो । अहिल्यै युट्युब खोलेर जे मन लाग्यो त्यही हेर्न पाउने सुविधा कहाँ हुनु ! निश्चित समयमा आउने कार्यक्रमका लागि दिनभरि व्यग्र पर्खाइ हुन्थ्यो । मनपरेको गीत सुन्न क्यासेट किनेर ल्याउनुपर्थ्यो अनि त्यो धुन दोहोर्‍याएर सुन्न पुनः ‘रिवाइन्ड’ गर्नुपर्थ्यो । कहिलेकाहीँ क्यासेटभित्रको रिल अल्झिएर गुजुल्टो पर्दा कलमको टुप्पाले बिस्तारै घुमाएर मिलाएका यादहरू अझै पनि ताजै छन् । आज आफ्ना छोराहरूलाई यी अनुभव सुनाउँदा दन्त्य कथा झैँ ठानेर पत्याउनै मुश्किल मान्छन् ।

 

हामीले चिट्ठीपत्रको त्यो मखमली युग पनि भोगेका छौँ । समुद्रपारि हुनुभएका पापाको चिट्ठी आउँदा घरैभरि एउटा अर्कै उत्साह र खुसीको बास हुन्थ्यो । हुलाकीले दिएको त्यो सादा कागजको पत्रभित्र आफ्नै मान्छेको स्पर्श र स्नेह गुजुल्टेको आभास हुन्थ्यो । एउटा चिट्ठी आउन महिनौँ लाग्थ्यो, तर त्यो व्यग्र पर्खाइभित्र आफ्नै प्रकारको मिठास र आत्मीयता थियो ।

 

त्यसपछि मोबाइल युगको आँधी आयो । शुरुआतमा 'ब्ल्याक एण्ड व्हाइट' स्क्रिन भएको ‘नोकिया’ सेट हातमा पर्नु पनि ठूलो अहोभाग्य मानिन्थ्यो । फोन र म्यासेजबाहेक केही नहुने त्यो बट्टा मोबाइल बिस्तारै ‘स्मार्टफोन’ बन्यो । इन्टरनेटको सञ्जाल फैलियो, फेसबुक, युट्युब, म्यासेन्जर, टिकटक र इन्स्टाग्राम हुँदै आज हामी ए.आई. (कृत्रिम बुद्धिमत्ता) को अकल्पनीय युगसम्म आइपुगेका छौँ ।

 

हामीले यो रूपान्तरण केवल परबाट हेरेनौँ, आफैँले भोगेका छौँ । हाम्रो पुस्ताको सबभन्दा ठूलो विशेषता नै यही हो—हामीसँग प्रविधिशून्य अतीतको सादगी पनि छ र प्रविधिमय वर्तमानको आधुनिकता पनि छ । तर आजको नयाँ पुस्ता अर्कै परिवेशमा हुर्कँदै छ । उनीहरूका लागि स्मार्टफोन र इन्टरनेट कुनै नौलो चमत्कार होइनन् । आजका बालबालिकाले तोते बोली फुटाउनुअघि नै मोबाइलको स्क्रिनमा औँला चलाउन थाल्छन् । ज्ञान र सूचनाका लागि पुस्तकालय धाउनुपर्दैन, गुगलमै उत्तर भेटिन्छ । भिडियो हेर्न टिभीको समय कुर्नु पर्दैन न त गीत सुन्न क्यासेट नै चाहिन्छ ।

 

हामीले धेरै कुरा अभाव र पर्खाइबाट सिक्यौँ । कुनै जानकारी चाहिए मान्छेहरूसँग सोध्नुपर्थ्यो वा किताब पल्टाउनुपर्थ्यो । साथीभाइ भेट्न उनीहरूकै आँगन वा चौतारासम्म पुग्नुपर्थ्यो । साँझ परेपछि टोलका सङ्गीहरू जम्मा भएर धुलो उडाउँदै खेल्ने खेल, आत्मीय गफगाफ र प्रत्यक्ष भेटघाट नै हाम्रो सामाजिक जीवनको प्राण थियो ।

 

आजको पुस्तासँग असीमित विकल्पहरू छन्, तर साथसाथै गम्भीर चुनौतीहरू पनि । उनीहरूको पखेटा ठूलो छ, अवसर र सूचनाको भण्डार छ, तर ध्यान भङ्ग हुने र बाटो बिराउने जोखिम पनि उत्तिकै छ । सामाजिक सञ्जालले टाढाका मानिसलाई नजिक त ल्यायो, तर बिस्तारै आफ्नै वरपरका रगतका नाताहरूसँग भने दूरी बढाउँदै लगेको भान हुन्छ ।

 

हाम्रो पुस्ताले प्रविधि चलाउन सिक्यो, तर आजको पुस्ता प्रविधिसँगै हुर्कियो । त्यसैले उनीहरूको सोच्ने, सिक्ने र अभिव्यक्ति दिने शैली फरक हुनु स्वाभाविकै हो । हिजो हामीले शिक्षक, अभिभावक र पुस्तकबाट ज्ञान पायौँ, आज उनीहरू युट्युब, अनलाइन कोर्ष र ए.आई. मार्फत संसार चियाउँछन् । ज्ञानका दायरा फराकिला भएका छन्, तर प्रविधि जतिसुकै आधुनिक भए पनि मानिसका मौलिक भावना र आधारभूत आवश्यकताहरू कहिल्यै परिवर्तन भएका छैनन् । मानिसलाई माया, परिवारको न्यानोपन, साथीको साथ, सम्मान र जीवनको उद्देश्य सधैँ चाहिन्छ । त्यसैले पुस्तान्तरको यो फरकलाई केवल “हाम्रो पालामा यस्तो थियो” भनेर अवमूल्यन गर्नु उपयुक्त हुँदैन ।

 

वास्तवमा हाम्रो पुस्ता एउटा बलियो पुल हो—जसले पुरानो र नयाँ संसारलाई जोडेको छ । हामीले क्यासेटको रिल पनि बजायौँ र आज ‘क्लाउड स्टोरेज’ मा डाटा सुरक्षित गरिरहेका छौँ । हामीले हस्तलिखित चिट्ठी पनि पठायौँ र आज एकै सेकेन्डमा च्याट म्यासेज पनि गरिरहेका छौँ । हामी परिवर्तनका साक्षी मात्र होइनौँ, यस महायात्राका साझेदार पनि हौँ । क्यासेटदेखि क्लाउडसम्मको यो यात्रा केवल मेसिन वा प्रविधिको विकास मात्र होइन, यो त हाम्रा सोच, सम्बन्ध, जीवनशैली र समग्र समाजको रूपान्तरणको गाथा हो ।

 

विगतलाई फर्केर हेर्दा लाग्छ—हामीले धेरै कुरा गुमाएका पनि छौँ र धेरै कुरा पाएका पनि छौँ । हिजोको त्यो धैर्य, सादगी र प्रत्यक्ष भेटघाटको आत्मीयताको छुट्टै मूल्य थियो भने आजको डिजिटल युगले दिएको सुविधा, ज्ञान र अवसरको आफ्नै गरिमा छ । कुरा कुन पुस्ता सही वा गलत भन्ने होइन, मुख्य कुरा त प्रविधिले दिएको यो शक्तिलाई कसरी विवेकपूर्ण ढङ्गले मानव हितमा प्रयोग गर्ने भन्ने हो ।

 

समय कहिल्यै रोकिँदैन र प्रविधिको रफ्तार पनि थामिने छैन । भोलिका पुस्ताले आजको स्मार्टफोन र ए.आई. लाई पनि कुनै सङ्ग्रहालयको वस्तुजस्तै इतिहास मान्नेछन् । तर परिवर्तनको आँधी जतिसुकै तीव्र भए पनि मानवीय संवेदना, आपसी जिम्मेवारी, विवेक र आत्मियताको महत्त्व भने युगौँयुगसम्म अजम्बरी रहनेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप लेखहरु