ल्याटिन अमेरिकामा दक्षिणपन्थी लहर: कास्ट्रोको विरासतदेखि मिलेई र बुकेलेसम्मको यात्रा

२०८२ फाल्गुण ०९ शनिवार
सारांश
  • सर्वेक्षणहरूले पनि यस्तै प्रवृत्ति देखाउँछन् । 'लाटिनोबारोमेट्रो' को रिपोर्ट अनुसार, ल्याटिन अमेरिकीहरूले आफूलाई दक्षिणपन्थी भनेर पहिचान गर्ने दर दुई दशकदेखि उच्च बिन्दुमा छ ।

सन् १९५९ मा फिडेल क्यास्ट्रो आफ्ना दाह्रीयुक्त विद्रोही समूह सहित हभानामा प्रवेश गर्दा ल्याटिन अमेरिकाको राजनीतिक भूगोल नै फेरिएको थियो । आफ्नो प्रतीकात्मक सैनिक पोशाक, सिगार र अमेरिका विरुद्धका कडा-कडा भाषणहरूका माध्यमबाट क्यास्ट्रोले दशकौंसम्म उक्त क्षेत्रकै सबैभन्दा शक्तिशाली र प्रभावशाली नेताको रूपमा शासन गरे । उनले केवल क्युबामा मात्र शासन गरेनन्, आफ्नो क्रान्तिकारी विचारधारालाई सम्पूर्ण विश्वमा निर्यात पनि गरे । तर, उनको मृत्युको केही वर्षपछि मात्र, ल्याटिन अमेरिकाले एक अभूतपूर्व परिवर्तन देख्यो । आज यी सबै परिवर्तनहरुबाट सम्भवतः 'कमाण्डर' क्यास्ट्रो आफ्नो चिहानमा पनि अशान्त भैरहेका होलान् ! किनकि आज उनकै जस्तै विश्वव्यापी प्रतिष्ठा र प्रभाव बनाएका दुई नेताहरू विचारधारात्मक रूपमा दक्षिणपन्थीबाट उदाएका छन् । 

 

आर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेई र एल साल्भाडोरका नायिब बुकेले नयाँ युगका प्रतीक हुन् । मिलेई आफूले आफूलाई "एनार्को-पुँजीवादी" भन्छन्, सरकारको खर्च र नियमहरू काट्न आरी चलाउँछन् भने बुकेले, एक 'मिलेनियल' नेता, गिरोह र अपराध विरुद्ध कठोर कारबाही गर्छन् । क्यास्ट्रोको "सधैं विजयको लागि अगाडी बढौँ" भन्ने नारालाई पछि पारेर मिलेईको "स्वतन्त्रता अमर रहोस् !" भन्ने नारा अहिले अमेरिकी क्याम्पसदेखि इजरायलसम्म गुञ्जिरहेको छ । दुवै नेताहरूले आफ्नो देशको सानो आकारलाई धेरै ठूलो प्रभावमा परिणत गरेका छन् । मिलेई डोनाल्ड ट्रम्पका "मनपर्ने राष्ट्रपति" बनेका छन् र ट्रम्पले अर्जेन्टिनालाई दिएको २० अर्ब डलरको बेलआउट प्याकेज उनको आर्थिक मोडेलको प्रमाण बनेको छ। यस्तै, बुकेलेको गिरोहमाथि कारवाहीले उनलाई टिकटकमा ११ मिलियन फलोअर्स भएका सबैभन्दा लोकप्रिय विश्व नेताको रुपमा परिणत गरेको छ।

 

यो केवल दुई व्यक्तिको कथा होइन, यो ल्याटिन अमेरिकाको एक ठूलो क्षेत्रीय बदलावको संकेत हो । इतिहासमा यस्ता विभिन्न चरणहरू आएका छन्—सन् १९६० को दशकका तानाशाहीहरू, १९८० को दशकको लोकतान्त्रीकरण, १९९० को दशकको वासिङटन सहमति, र २००० को दशकको वामपन्थी 'गुलाबी लहर'।

 

अहिले, यो क्षेत्र पुनः एउटै सुरमा चलिरहेको छ, तर यो पटक दक्षिणपन्थी दिशातर्फ । २०२५ मा इक्वेडोरको डेनियल नोबोआ र अर्जेन्टिनाको मध्यावधि निर्वाचनमा मिलेईको पार्टीको ठूलो जित, बोलिभियामा समाजवादी शासनको अन्त्य, र ब्राजिल-कोलम्बिया-पेरू-कोस्टारिकामा दक्षिणपन्थी उम्मेदवारहरूको बढ्दो लोकप्रियताले यो तथ्यलाई पुष्टि गर्दछ । यो एक पुस्तामा हुने एक अवसर हो, जसले यस क्षेत्रको आर्थिक नीति, सुरक्षा व्यवस्था र अन्तर्राष्ट्रिय सम्बन्धलाई मौलिक रूपमा परिवर्तन गर्न सक्छ ।

 

सर्वेक्षणहरूले पनि यस्तै प्रवृत्ति देखाउँछन् । 'लाटिनोबारोमेट्रो' को रिपोर्ट अनुसार, ल्याटिन अमेरिकीहरूले आफूलाई दक्षिणपन्थी भनेर पहिचान गर्ने दर दुई दशकदेखि उच्च बिन्दुमा छ । यो परिवर्तनका पछाडि धेरै कारणहरू छन् । सबैभन्दा प्रमुख कारण हो—अपराध र हिंसाप्रति जनताको बढ्दो क्रोध । संयुक्त राष्ट्रसंघका अनुसार, ल्याटिन अमेरिकामा कोकेनको उत्पादन पछिल्लो एक दशकमा तीन गुणा बढेको छ, जसले अपराधी गिरोहहरुलाई अभूतपूर्व सम्पत्ति र हिंसाको शक्ति प्रदान गरेको छ । चिली र कोस्टारिका जस्ता पहिले शान्त राष्ट्रहरू अहिले कार्टेल युद्धको शिकार बनेका छन् । 

 

यस्तो परिस्थितिमा बुकेलेले एल साल्भाडोरको आम हत्या दरलाई ९० प्रतिशतले घटाएर सुरक्षित राष्ट्र बनाउन सफल भएकोले उनको पदचापलाई अनुकरण गर्ने माग बढेको छ ।

 

अपराधको साथसाथै, आर्थिक र सामाजिक कारकहरूले पनि दक्षिणपन्थीहरूलाई बल दिएका छन् । भेनेजुएला र क्युबाको आर्थिक पतनले समाजवादी नीतिहरूप्रति जनतामा वितृष्णा पैदा गराएको छ । यस्तै, इभाञ्जेलिकल ख्रिस्टियन रिलिजनको बढ्दो प्रभावले गर्भपतन र परिवार जस्ता सांस्कृतिक मुद्दाहरूलाई मुल मुद्दा बनाएको छ, जुन कन्जर्भेटिभ नेताहरूको लागि असल विषय हो । यसैगरी, हाइटी, भेनेजुएला र निकारागुआ आदि देशहरुबाट पलायनवादीहरुको प्रवेशका कारणले स्थानीयहरूमा देखिएको असन्तोषले पनि केही देशहरूमा दक्षिणपन्थीहरूलाई सशक्त बनाएको छ ।

 

आधुनिक ल्याटिन अमेरिकी कन्जर्भेटिभहरू पनि पहिलेका जस्ता छैनन् । शीत युद्धकालीन तानाशाहीहरूसँगको सम्बन्धले गर्दा उनीहरू लामो समयसम्म बोझिएका थिए । तर अहिले, क्युबा र निकारागुआ र केहि अघिसम्म भेनेजुएला जस्ता अधिनायकवादी शासन वामपन्थी भएकाले गर्दा, दक्षिणपन्थीहरूप्रतिको विश्वास तथा भरोसा बढेर गएको छ । आधुनिक कन्जर्भेटिभहरूले बजार-मैत्री अर्थतन्त्रमात्र होइन, गरिबहरूको कल्याणका लागि सामाजिक खर्च पनि बढाएका छन् । ब्राजिलका बोल्सोनारोले गरिबलाई दिइने भत्ता बढाए भने अर्जेन्टिनाका मिलेईले अर्थिक सुधारका क्रममा सामाजिक कार्यक्रमहरूलाई नगद हस्तान्तरण दोब्बर गरेर जनविद्रोह रोके । यसले उनीहरूलाई 'अभिजात' हुने आरोपबाट मुक्ति गरिदिएर अपराध र आर्थिक विकास जस्ता आफ्नो बलका मुद्दाहरूमा ध्यान केन्द्रित गर्न मद्दत गरेको छ ।

 

कोकेनको भौगोलिक बजार पनि बदलिसकेको छ । अमेरिका र युरोप मात्र होइन, अफ्रिका, एसिया र ल्याटिन अमेरिका आफैंमा पनि यसको उपभोग बढेको छ । यसले तस्करी मार्ग र गतिविधिहरूलाई थप हिंस्रक बनाएको छ । इक्वेडोरको टेलिभिजन स्टेसनमा गिरोहले धरौटी राखेको घटना वा चिलीमा बढ्दो हिंसाले यो क्षेत्रको असुरक्षालाई प्रष्ट पारेको छ । यसैले, बुकेलेले जस्तो संविधानको केही अधिकारहरू निलम्बन गरी गिरोहलाई नियन्त्रण गर्ने ढङ्गको समर्थन चिली जस्तो बलियो प्रजातान्त्रिक संस्थाहरु भएको देशका ८० प्रतिशत उत्तरदाताहरुले अपराधसँग लड्न केही नागरिक स्वतन्त्रताहरू निलम्बन गर्ने "अपवादको अवस्था" लाई समर्थन गर्ने कुरामा सहमति जनाएका छन् । यसले देखाउँछ कि मानिसहरू सुरक्षालाई पूर्ण स्वतन्त्रताभन्दा माथि राख्छन् ।

 

यद्यपि वामपन्थी पूर्ण रूपमा समाप्त भएको छैन । ल्याटिन अमेरिकामा चलिरहेको दक्षिणपन्थी लहरले भविष्यमा निर्णायक प्रभावहरू पार्न सक्छन् ! पछिल्लो दशकमा 'गुलाबी लहर'ले यस्तै क्षेत्रीय सहकार्यलाई बल मिलेको थियो, यो पटक दक्षिणपन्थीहरूले पनि व्यापार, लगानी र सुरक्षामा समन्वय बढाउन सक्छन् । अर्जेन्टिनामा साम अल्टम्यानको २५ अर्ब डलरको लगानी यो आशाको प्रमाण हो । वित्तीय बजारहरूले पनि यो बदलावलाई उत्साहका साथ स्वागत गरेका छन्, किनकि यसले आर्थिक सुधार र व्यापार-मैत्री वातावरण ल्याउन सक्नेछ ।

 

भू-राजनीतिक रूपमा पनि यो बदलाव महत्त्वपूर्ण छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा, अमेरिका र ल्याटिन अमेरिकाको सम्बन्ध नयाँ उचाइमा पुगेको छ । 

 

ट्रम्पले मिलेईलाई विशाल राहत प्याकेज प्रदान गरेर आफ्नो समर्थन देखाएका छन्, जसलाई विश्लेषकहरूले "आर्थिक मोनरो डक्ट्रिन" को रूपमा व्याख्या गरेका छन् । 

 

यसको मुख्य उद्देश्य चीनको बढ्दो प्रभावलाई रोक्नु हो । अमेरिकाले चीनको लगानीबाट टाढा रहन र संयुक्त राज्य अमेरिकासँग मिलेर हिँड्न ल्याटिन अमेरिकी देशहरूमा दबाब बढाउँदै आएको छ ।

 

यदि दक्षिणपन्थी नेताहरू यो गति कायम राख्न सफल भए, ल्याटिन अमेरिकाको भविष्य फरक हुनेछ । यो क्षेत्रमा लिथियम, तेल र ग्यास जस्ता स्रोतहरूको व्यावसायिक माइनिङ गर्ने र विदेशी लगानी आकर्षित गर्ने गति छिटो हुनेछ । पर्यावरण संरक्षण र जलवायु परिवर्तन जस्ता विषयहरू राजनीतिक मुद्दा नबन्न सक्छन् ! विशेषगरी ब्राजिलको अमेजनलाई खेतीयोग्य जमिन बनाउने मामिलामा । साथसाथै, अनधिकृत आप्रवास रोक्न कडा नीतिहरू अपनाइने र गर्भपतन विरोधी कानूनहरू लागू हुने सम्भावना छ । यो रूपान्तरण फिडेल क्यास्ट्रोको सोच भन्दा उँचो हुनेछ, तर यो निश्चित रूपमा एक नाटकीय परिवर्तन हुनेछ । यो परिवर्तनले अपराधबाट मुक्त, आर्थिक रूपमा समृद्ध, र संयुक्त राज्य अमेरिका तथा पश्चिमा संसारसँग घनिष्ठ सम्बन्ध राख्ने एक नयाँ ल्याटिन अमेरिकाको सिर्जना गर्नेछ, जहाँका नागरिकहरूले राम्रो जीवनको खोजीमा विदेश जानुको सट्टा आफ्नै देशमा बस्ने सपना साकार हुनेछ ।

 

वामपन्थी चिन्तनले आक्रान्त नेपाली समाजमा अहिलेसम्म कुनै पनि राजनीतिक दलले आफूलाई खुलस्त रूपमा 'दक्षिणपन्थी' घोषणा गर्ने आँट गर्न सकेका छैनन् । आसन्न निर्वाचनको संघारमा उभिएको नेपालले तत्कालै स्पष्ट दक्षिणपन्थी विकल्प प्राप्त गर्न नसक्ला, तर सस्तो लोकप्रियता र तुष्टीकरणको सहारामा 'भोट बैंक' को राजनीति गर्ने वामपन्थी दलहरूबाट यो देशले चाँडै मुक्ति पाउनेछ भन्ने आशा गर्न सकिन्छ ।

 

- फरेन अफेयर्समा ब्रायन विन्टरको प्रकाशित लेखको भावानुवाद
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध

मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।

थप लेखहरु