अष्टावक्र गीता र आधुनिक विज्ञान: श्लोकहरूमा प्राचीन ज्ञान र आधुनिक खोजको विस्तृत संगम || भाग २ ||
१४ बैसाख, २०८२, आइतवार
- क्वान्टम इन्ट्याङ्गलमेन्ट दुई वा बढी क्वान्टम कणहरू (जस्तै फोटोन वा इलेक्ट्रोन) एउटा परिघटना हो जस्ले तिनीहरु जतिसुकै टाढा भएपनी तिनीहरु विचको अ न्तरसम्बन्धित एउटा एकीकृत क्वान्टम अवस्था साझा गर्छन्।
(अन्त:करणस्य स्वतन्त्रताया:)
राजा जनक र ऋषि अष्टावक्रबीच भएको त्यो अद्वितीय संवाद, जुन कालजयी ग्रन्थ 'अष्टावक्र गीता' मा संग्रहित छ, यही आध्यात्मिक इतिहासले सम्पन्न नेपाल भूमिमा घटित भएको थियो। यस संवादले हामीलाई वास्तविकतालाई हेर्ने हाम्रो दृष्टिकोणमाथि नै प्रश्न उठाउन बाध्य पार्छ। यो प्राचीन नेपाली परिवेश, वैदिक ज्ञान र कथाहरूले भरिपूर्ण, हाम्रो यस चिन्तनको लागि एउटा सान्दर्भिक र शक्तिशाली सुरुवात बिन्दु प्रदान गर्दछ। जसरी राजा जनकले अष्टावक्रको बाङ्गो शरीरभन्दा पर हेरेर उनको भित्र लुकेको गहन ज्ञानलाई खोजे, त्यसरी नै यस भूमिबाट जन्मेका शिक्षाहरूले हामीलाई बाहिरी रूप र दिखावाको आधारमा मूल्याङ्कन गर्ने हाम्रो आधुनिक बानीमाथि पनि प्रश्न गर्न प्रेरित गरिरहेको छ। राजा जनक द्वारा राखिएको तीन प्रश्नहरुः ज्ञान कसरी प्राप्त हुन्छ?, मुक्ति कसरी मिल्छ? ,वैराग्य कसरी प्राप्त हुन्छ? बाट ग्रन्थको प्रारम्भ हुन्छ।

हजारौं वर्ष पुरानो भए तापनि, ऋषि अष्टावक्र र राजा जनक बीचको संवाद, अष्टावक्र गीता, आज पनि आत्म-अन्वेषण (self-exploration) र चेतना (consciousness) को अध्ययनमा उत्तिकै सान्दर्भिक छ। यो ग्रन्थ अद्वैत वेदान्तको सार हो, जसले वास्तविकता (reality) को प्रकृति, 'म' (the 'I') को भ्रम, र परम मुक्तिको मार्गलाई उजागर गर्दछ। आश्चर्यजनक रूपमा, यसका गहन दार्शनिक अन्तरदृष्टिहरू आधुनिक विज्ञानका विभिन्न शाखाहरू क्वान्टम भौतिकशास्त्र (Quantum Physics), ब्रह्माण्ड विज्ञान (Cosmology), न्युरोसाइन्स (Neuroscience), र संज्ञानात्मक मनोविज्ञान (Cognitive Psychology) का नवीनतम खोजहरूसँग प्रतिध्वनित हुन्छन्। विज्ञान वस्तुगत प्रमाण (objective evidence) मा आधारित छ भने गीता अनुभवात्मक ज्ञान (experiential knowledge) मा छ। तर दुवैले यथार्थको गहिरो तहलाई बुझ्ने प्रयास गर्छन्। अघिल्लो लेखमा, अष्टावक्र गीता बाह्य मूल्याङ्कन र आन्तरिक ज्ञानको युद्ध र यसका केही प्रसंग (कथा) एवंम महत्व प्रस्तुत गरिएको थियो। यस लेखमा, अष्टावक्र गिताको प्रमुख श्लोकहरू प्रस्तुत गर्दै, तिनलाई आधुनिक वैज्ञानिक अवधारणाहरूसँग विस्तृत रूपमा जोड्ने प्रयास गरिएको छ।
१. चेतनाको प्रधानता र क्वान्टम मापन समस्या (Primacy of Consciousness & Quantum Measurement Problem)
अष्टावक्र गीता श्लोक (१.३):
न पृथ्वी न जलं नाग्निर्न वायुर्द्यौर्न वा भवान् ।
एषां साक्षिणमात्मानं चिद्रूपं विद्धि मुक्तये ॥
अर्थ: तिमी न पृथ्वी हौ, न जल, न अग्नि, न वायु, न आकाश नै। मुक्तिका लागि आफूलाई यी सबैको साक्षी (witness), चैतन्य (pure consciousness) स्वरूप आत्मा भनेर चिन।
वैज्ञानिक अवधारणा (विस्तृत):
हामीलाई वरपर देखिने हरेक वस्तु ढुंगा, पानी, हावा वा हाम्रो शरीर यी सबै पदार्थहरूले बनेका हुन्। पदार्थ भनेको स्थान ओगट्ने र तौल भएको कुनै पनि वस्तु हो। विज्ञान भनेको यस्ता वस्तुहरू र प्रकृति कसरी काम गर्छ भन्ने कुरा अध्ययन गर्ने विधा हो, जसले प्रमाण र प्रयोगको आधारमा सत्य पत्ता लगाउने प्रयास गर्छ। जब विज्ञानले वस्तुको भित्री संरचना बुझ्न खोज्छ, त्यसले अणु (atom) र अणुभन्दा साना कणहरू जस्तै इलेक्ट्रोन, प्रोटोन र न्यूट्रोन सम्म पुग्छ, जसलाई सूक्ष्म कण (subatomic particles) भनिन्छ। तर यी कणहरूको व्यवहारलाई बुझ्न पारम्परिक भौतिकशास्त्रको सीमा पुग्दैन। यही सीमाले विज्ञानमा एउटा नयाँ शाखाको रुपमा क्वान्टम भौतिकशास्त्र (Quantum Physics) को जन्म गरायो, जसले अत्यन्त साना कणहरूको रहस्यमय संसारको अध्ययन गर्छ।
जब हामी सूक्ष्म तहमा झर्छौं, कणहरू (जस्तै इलेक्ट्रोन, प्रोटोन) ठोस वस्तुझैं देखिंदैनन्। ती एक प्रकारको सम्भावनाको तरंग जस्तै गरि एकैपटक धेरै ठाउँ र अवस्था (superposition) मा फैलिएका हुन्छन्। तर जब हामी उनीहरूलाई मापन गर्छौं, त्यो तरंग एकदमै छिटो सङ्कुचित (collapse) भएर कणले एक मात्र निश्चित स्थान वा अवस्था लिन्छ। यसै “तरंग सङ्कुचन” र “मापन” बीचको रहस्यलाई विज्ञानले मापन समस्या मानेको छ। सामान्यतया, हाम्रो आँखाले संसारलाई स्थिर र ठोस देख्छ, तर क्वान्टम तहमा त्यस्तो नभएर, प्रत्येक मापनले मात्र कणलाई एक रूप दिएको हुन्छ।
हामीले बाहिरी संसारलाई स्थिर र निश्चित रूपमा हेर्छौं, तर जब त्यही वस्तुको कणहरूको स्तरमा पुग्छ, ती कणहरू अत्यन्तै चलायमान र अनिश्चित देखिन्छन्।
अब प्रश्न उठ्छ; यदि वस्तुको गहिरो तहमा सबै कुरा तरंगजस्तै अनिश्चित र चलायमान छ भने, हाम्रो आँखाले किन त्यो संसार (वस्तु) लाई स्थिर, स्पष्ट र निश्चित देख्छ ? कतै हामी यस्तो संसार त देखिरहेका छौं, जुन चेतनाको आँखा परेपछि मात्र आकार लिन्छ ? वा, कतै हामी दुई यथार्थको बिचमा उभिएका त छैनौं ? हाम्रो चेतनाले बनाएको संसार एउटा , र अर्को चेतनाबाट टाढा रहेको तरंगहरूको मात्र अस्तित्व बोकेको वास्तविकता संसार ? के सत्य वास्तवमै स्वतन्त्र छ, या केवल तब मात्रै जन्मिन्छ जब हामी त्यसलाई हेर्छौं ?
अत: यो 'अवलोकन (observation)' वा 'मापन (measurement)' के हो? के यसमा चेतनाको भूमिका अनिवार्य छ ? यो प्रश्न विज्ञानको एउटा गहिरो रहस्य छ। जुन आजसम्म पूर्ण रूपमा समाधान भएको छैन। केही भौतिकशास्त्री र दार्शनिकहरूले (जस्तै जोन भोन न्यूम्यान र युजीन विग्नर) चेतनालाई तरंग कोल्याप्समा एक महत्त्वपूर्ण भूमिका खेल्ने तत्वको रूपमा प्रस्ताव गरेका छन्, यद्यपि यो विषय आलोचकहरूले चेतनालाई समावेश गर्दा यो पूर्ण रूपमा भौतिक शास्त्रबाट बाहिर जाने metaphysical व्याख्या हुन्छ । यसमा वैज्ञानिक समुदायमा कुनै एकमत छैन। हालसम्म, चेतनाले तरंग कार्यको पतन गराउँछ भन्ने विचार वैज्ञानिक समुदायमा व्यापक रूपमा स्वीकार गरिएको छैन। यद्यपि, यो विषयमा अनुसन्धान र बहस जारी छ, र भविष्यमा नयाँ खोजहरूले हामीलाई थप स्पष्टता दिन सक्छन् ।
सम्बन्ध: अष्टावक्र गीता भौतिक जगत् (पञ्चमहाभूत) लाई द्वितीयक र चेतना (साक्षी) लाई प्राथमिक र आधारभूत यथार्थ मान्दछ। यो क्वान्टम भौतिकशास्त्रको मापन समस्याले उठाएको दार्शनिक प्रश्नसँग मिल्दोजुल्दो छ, जहाँ चेतना वा अवलोकन प्रक्रियाले भौतिक वास्तविकताको प्रकटीकरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना देखिन्छ। गीता भन्छ चेतना नै त्यो 'क्षेत्र' हो जसमा सम्पूर्ण भौतिक अनुभव घटित हुन्छ।
वैचारिक अवधारणा (Conceptual Parallel - Out-of-the-Box Thinking):
बाहिरबाट सोच्ने सिद्धान्त "Out-of-the-Box Thinking" को सिद्धान्तले परम्परागत सोचाइ, मान्यता र सीमाहरूभन्दा बाहिर गएर समस्याहरूको समाधान खोज्नु वा नवीन विचारहरू उत्पन्न गर्नुलाई जनाउँछ। यसले स्थापित ढाँचा (established patterns) लाई तोडेर फरक दृष्टिकोण अपनाउन प्रोत्साहित गर्छ। यदि हामीले आफूलाई केवल प्रचलित धारणाहरू वा 'बक्स' भित्र सीमित राख्यौं भने, हामी उही पुरानै समस्याको चक्रमा अड्किरहन्छौं र वास्तविक नवीनता (innovation) वा गहिरो समझ प्राप्त गर्न सक्दैनौं।
यसै सन्दर्भमा अल्बर्ट आइन्स्टाइनको प्रसिद्ध भनाइ छ:
"We cannot solve our problems with the same level of thinking that created them." अर्थात्, "हामी हाम्रा समस्याहरूलाई त्यही सोचाइको स्तरबाट समाधान गर्न सक्दैनौं जसले तिनीहरूलाई सिर्जना गरेको हुन्छ।"
यो भनाइले पनि पुरानो सोचको 'बक्स' बाट बाहिर निस्कनुपर्ने आवश्यकतालाई जोड दिन्छ।
साक्षी भावको भूमिका: अष्टावक्र गीताको श्लोक १.३ ले स्पष्ट रूपमा आत्मा भौतिक तत्वहरू (पृथ्वी, जल, आदि) अर्थात् शरीर र इन्द्रियहरूको अनुभवभन्दा पर छ। जब व्यक्तिले आफूलाई केवल यो भौतिक शरीर वा सीमित पहिचानसँगको तादात्म्य (identification) ('म यो शरीर हुँ') सँग मात्र जोड्छ, ऊ बन्धनमा पर्दछ। जस्ले परम्परागत सोचाइको 'बक्स' भित्र सीमित रहँदा नवीन समाधानहरूबाट वञ्चित हुन्छ।
श्लोकले आत्मालाई यी सबै तत्वहरूको 'साक्षी' भनेको छ। यो 'साक्षी भाव' (witness consciousness) विचार, भावना, शारीरिक संवेदना, र बाह्य घटनाहरूलाई बिना कुनै आसक्ति वा निर्णय अवलोकन गर्ने अवस्था नै आफूलाई शरीर वा सीमित विचारहरूभन्दा पर रहेको अनुभव गर्ने कुञ्जी हो। ध्यान र माइन्डफुलनेसको अभ्यासले यही साक्षी भाव विकास गर्न मद्दत गर्छ, जसले मस्तिष्कलाई शान्त र कम प्रतिक्रियाशील बनाउँछ।
यसरी, अष्टावक्रको शिक्षा (आफूलाई शरीरभन्दा परको साक्षी आत्माको रूपमा चिन्नु) र 'Out-of-the-Box Thinking' (परम्परागत सोचभन्दा पर जानु) दुवैले सीमितताहरूबाट मुक्तितर्फ सङ्केत गर्दछन्। साक्षी भाव त्यो मानसिक अवस्था हो जसले दुवै प्रकारको अतिक्रमणलाई आध्यात्मिक रूपमा सीमित पहिचानबाट मुक्ति र बौद्धिक रूपमा सीमित सोचबाट नवीनता सम्भव बनाउँछ । आइन्स्टाइनको भनाइ जस्तै, समस्या (बन्धन वा सीमित सोच) सिर्जना गर्ने स्तर (शरीर-भाव वा परम्परागत सोच) भन्दा माथि उठेर (साक्षी भाव वा नवीन सोच) मात्र समाधान (मुक्ति वा नवीनता) सम्भव छ।
२. न्युरोप्लास्टिसिटी र ज्ञानद्वारा रूपान्तरण (Neuroplasticity & Transformation through Knowledge)
अष्टावक्र गीता श्लोक (१.४):
यदि देहं पृथक् कृत्य चिति विश्राम्य तिष्ठसि ।
अधुनैव सुखी शान्तो बन्धमुक्तो भविष्यसि ॥
अर्थ: यदि तिमी शरीरबाट आफूलाई अलग (separate) गरेर चेतनामा विश्राम (rest) गरी स्थित हुन सक्छौ भने, तिमी अहिले नै (immediately) सुखी (happy), शान्त (peaceful) र बन्धनमुक्त (liberated) हुनेछौ।
वैज्ञानिक अवधारणा (विस्तृत):
न्युरोप्लास्टिसिटी (Neuroplasticity) मस्तिष्कको जीवनभर परिवर्तन हुने क्षमता हो। जब हामी नयाँ कुरा सिक्दछौं, अनुभव गर्दैछौं, वा कुनै प्रकारको अभ्यास गर्दैछौं, मस्तिष्कमा नयाँ स्नायु मार्गहरू (neural pathways) बन्ने, पुराना मार्गहरू बलियो वा कमजोर हुने (synaptic pruning), र मस्तिष्कको कार्यात्मक संरचना (functional reorganization) परिवर्तन हुने प्रक्रिया घटित हुन्छ।
ध्यान (meditation), संज्ञानात्मक थेरापी (cognitive therapy), र सचेत अभ्यास (conscious practice) जस्ता गतिविधिहरूले मस्तिष्कको संरचना र कार्यमा मापनयोग्य परिवर्तन ल्याउन सक्छन्, जसले भावनात्मक नियमन (emotional regulation), ध्यान क्षमता (attention capacity), र तनाव प्रतिक्रिया (stress response) लाई सुधार गर्न मद्दत पुर्याउँछ।
मानसिक स्वास्थ्य अधिवक्ता, लेखिका, र सचेतनामा आधारित चिकित्साको विशेषज्ञ जेसिका क्यासिटी (Jessica Cassity) लेख्छिन्:
“With meditation, your brain is effectively being rewired: As your feelings and thoughts morph toward a more pleasant outlook, your brain is also transforming, making this way of thought more of a default… The more your brain changes from meditation, the more you react to everyday life with that same sense of calm, compassion, and awareness.” ध्यानसँगै तपाईंको मस्तिष्क नयाँ ढंगले संरचित हुँदै जान्छ: जब तपाईंको भावना र विचार सकारात्मकतातर्फ मोडिन्छन्, मस्तिष्क पनि त्यसैअनुसार परिवर्तन हुँदै जान्छ, जसले यो सोच्ने तरिका तपाईंको सामान्य स्वभाव नै बनाइदिन्छ… ध्यानले तपाईंको मस्तिष्कलाई जति बढी रूपान्तरण गर्छ, तपाईंले दैनिक जीवनमा उति नै शान्ति, करुणा र सजगतासँग प्रतिक्रिया दिन थाल्नुहुन्छ।
सम्बन्ध:
अष्टावक्र गीता श्लोकले सही ज्ञान ('चिति विश्राम्य' - चेतनामा स्थित हुनु, शरीरबाट आफूलाई अलग देख्नु) मानसिक र भावनात्मक रूपान्तरणको प्रारम्भ मान्दछ। ('अधुनैव सुखी शान्तो')। न्युरोप्लास्टिसिटी यसको जैविक आधार प्रदान गर्दछ। अष्टावक्र गीता जस्तो दृष्टिकोणमा परिवर्तन (cognitive shift) मस्तिष्कलाई पुनः प्रशिक्षित गर्न सक्छ, जसले पुराना नकारात्मक ढाँचाहरू (जस्तै, तनाव, आसक्ति, र दुःख) कमजोर पार्न र शान्ति र अनासक्तिको अवस्थालाई बलियो बनाउन मद्दत गर्दछ।
३. अहंकार विघटन र डिफल्ट मोड नेटवर्क (Ego Dissolution & Default Mode Network)
अष्टावक्र गीता श्लोक (१.६):
धर्माधर्मौ सुखं दुःखं मानसानि न ते विभो ।
न कर्तासि न भोक्तासि मुक्त एवऽसि सर्वदा ॥
अर्थ: हे विभो! धर्म-अधर्म (righteousness-unrighteousness), सुख-दुःख (pleasure-pain) मनका हुन्, तिम्रा (आत्माका) होइनन्। तिमी न कर्ता (doer) हौ, न भोक्ता (experiencer) हौ, तिमी त सधैं मुक्त (free) नै छौ।
वैज्ञानिक अवधारणा (विस्तृत):

न्युरोसाइन्समा, 'डिफल्ट मोड नेटवर्क' (Default Mode Network - DMN) मस्तिष्कका विभिन्न क्षेत्रहरूको एक सञ्जाल हो, जुन हामी बाहिरी कार्यमा केन्द्रित नहुँदा, आराम गर्दा, वा आत्म-चिन्तन (self-reflection) गर्दा सक्रिय हुन्छ। यसलाई 'स्व' (self) र 'अहंकार' (ego) को भावना जस्तो मानिन्छ।
अध्ययनहरूले देखाएका छन्, गहिरो ध्यान (deep meditation), माइन्डफुलनेस अभ्यास (mindfulness practice), वा साइकेडेलिक पदार्थ (psychedelic substances) जस्ता अभ्यासहरूले DMN को गतिविधि घटाउँछन्, जसले अहंकारको भावना र आत्म-केन्द्रित सोच (self-centered thinking) लाई न्यून बनाउँछ।
सम्बन्ध:
अष्टावक्र गीता श्लोकले 'म कर्ता हुँ', 'म भोक्ता हुँ', 'म यो शरीर/मन हुँ' भन्ने अहंकारको भावना मात्र देखाउँछ र यसलाई बन्धनको मुख्य कारण मान्दछ। गीताले आत्मालाई 'साक्षी' मात्र भन्न चाहन्छ। न्युरोसाइन्सले DMN को गतिविधि र अहंकारको भावना बीचको सम्बन्ध देखाएको छ र ध्यान अभ्यासहरूले यस गतिविधिलाई घटाउन सक्छ भन्ने पुष्टि गरेको छ। यसले अहंकारबाट मुक्ति प्राप्त गर्नका लागि मस्तिष्कमा भएको आत्म-केन्द्रित सोचको ढाँचा परिवर्तन गर्न आवश्यक पर्ने कुरा पुष्टि गर्दछ।
४. संज्ञानात्मक त्रुटि र दुःखको स्रोत (Cognitive Errors & The Source of Suffering)
अष्टावक्र गीता श्लोक (१.७):
द्रष्टारमेकं सर्वस्य मुक्तप्रायोऽसि सर्वदा ।
अयमेव हि ते बन्धो यद्द्रष्टारं पश्यसीतरम् ॥
अर्थ: तिमी सबैका एक मात्र द्रष्टा (seer/witness) हौ र सधैं प्रायः मुक्त नै छौ। तिम्रो बन्धन (bondage) यही मात्र हो कि तिमी द्रष्टालाई (आफूलाई) अरू (the other - शरीर, मन आदि) देख्दछौ।
वैज्ञानिक अवधारणा (विस्तृत):
संज्ञानात्मक मनोविज्ञान (Cognitive Psychology) र संज्ञानात्मक व्यवहार थेरापी (Cognitive Behavioral Therapy - CBT) अनुसार, हाम्रो भावनात्मक दुःख (emotional suffering) र व्यवहारिक समस्याहरूको मुख्य कारण बाहिरी घटनाहरू नभई ती घटनाहरूलाई हामीले दिने अर्थ (meaning) र हाम्रो सोचाइको तरिका (way of thinking) हो। 'संज्ञानात्मक त्रुटिहरू' (Cognitive Distortions) – जस्तै, अति सामान्यीकरण (overgeneralization), कालो-सेतो सोच (black-and-white thinking), भावनात्मक तर्क (emotional reasoning), निजीकरण (personalization) – ले वास्तविकतालाई विकृत (distort) गर्छ र नकारात्मक भावनाहरू (चिन्ता, उदासी, रिस) उत्पन्न गर्छ। CBT ले यी त्रुटिपूर्ण सोच ढाँचाहरूलाई पहिचान गर्न र चुनौती दिन सिकाउँछ।
सम्बन्ध:
अष्टावक्र गीता श्लोकले दुःखको मूल कारण अज्ञान (ignorance) र गलत पहिचान (misidentification - 'द्रष्टारं पश्यसीतरम्' – साक्षीलाई शरीर/मन देख्नु) लाई मान्दछ, जुन एउटा आधारभूत संज्ञानात्मक त्रुटि (fundamental cognitive error) हो। यो CBT को दृष्टिकोणसँग मिल्छ, जहाँ मानसिक पीडालाई विकृत सोच र विश्वासहरू (distorted thoughts and beliefs) सँग जोडिन्छ। गीताले यो मूल त्रुटि सच्याउन (आत्मज्ञान) जोड दिन्छ, जसले गर्दा सबै दुःखको निवारण हुन्छ।
५. कर्तापनको भ्रम र स्वतन्त्र इच्छा (Illusion of Doership & Free Will)
अष्टावक्र गीता श्लोक (१.८):
अहं कर्तेत्यहंमानमहाकृष्णाऽहिदंशितः ।
नाहं कर्तेति विश्वासामृतं पीत्वा सुखी भव ॥
अर्थ: 'म कर्ता हुँ' (I am the doer) भन्ने अहंकार (ego) रूपी महाकाल सर्पले डसिएको छस्। कर्तापन (doership) को भ्रमबारे गहिरो सत्य उद्घाटित गरिएको छ। श्लोकले भन्छ– "म कर्ता हुँ" भन्ने अहंकारले मान्छे दुःख र बन्धनमा पर्छ। यो अहंकार ‘महाकाल सर्प’ जस्तै हो, जसले चेतनालाई डस्छ। तर जब मानिसले "म कर्ता होइन" भन्ने साँचो बुझाइलाई आत्मसात् गर्छ, त्यही बुझाइ अमृतजस्तो बन्न पुग्छ र मनमा शान्ति ल्याउँछ।
वैज्ञानिक अवधारणा (विस्तृत):
न्युरोसाइन्समा स्वतन्त्र इच्छा (Free Will) को प्रश्न एक प्रमुख बहसको विषय हो। बेन्जामिन लिबेट (Benjamin Libet) को प्रसिद्ध प्रयोगले देखाएको, कुनै कार्य गर्ने सचेत निर्णय (conscious decision) लिनुभन्दा केही सय मिलिसेकेन्ड अघि नै मस्तिष्कमा अचेतन गतिविधि (unconscious brain activity - 'रेडिनेस पोटेन्सियल' (Readiness Potential)) मस्तिष्कले त्यस कार्यको तयारी सुरु गरिसकेको हुन्छ। अर्थात्, हाम्रो "स्वतन्त्र इच्छा" भन्ने अनुभूति वास्तवमा पछिको व्याख्या मात्रै हुन सक्छ।
सम्बन्ध:
जब हामी यी दुवै पक्षलाई आध्यात्मिक शिक्षाले कर्तापनको भ्रम हटाउने र विज्ञानले स्वतन्त्र इच्छाको सीमितता देखाउने कुरा शान्त मनले बुझ्न थाल्छौं, तब हामीभित्र एक प्रकारको स्वीकृति र समर्पणको भाव पलाउन थाल्छ। त्यो बोधले हामीलाई साक्षी भावमा बस्न सिकाउँछ। जसले जीवनका चलिरहेका घटनाहरुलाई नियन्त्रण र तिनिहरु सँग पूर्णरूपमा तादात्म्य गर्न प्रयास छोडेर तिनलाई बिना आग्रह वा बिना प्रतिरोधको रूपमा शान्त अवलोकन गर्छौं, तिनिहरु यही साक्षी भावबाट जीवनमा एउटा विशुद्ध शान्ति र स्वतन्त्रताको अनुभूति जन्मिन्छ जस्ले बन्धनको अन्त्य र साँचो आनन्दको सुरुवात हुन्छ।
६. क्वान्टम इन्ट्याङ्गलमेन्ट र सर्वव्यापी एकता (Quantum Entanglement & Universal Connectedness)
गीता सार श्लोक :
तत्त्वं चिदात्मा त्वं साक्षी निर्विकारो निराकृतिः ।
एको मुक्तश्चिदेकस्त्वमकर्ता निर्विकल्पकः ॥
अर्थ:तिमी तत्त्व (r eality) हौ, चित्-आत्मा (consciousness-self) हौ, साक्षी (witness) हौ, निर्विकार (unchanging), निराकार (formless) हौ। तिमी एक (one), मुक्त (free), केवल चेतना (pure consciousness), अकर्ता (non-doer), र निर्विकल्प (beyond thought/concepts) हौ। (यसले आत्माको एकता र अभेद्यता दर्शाउँछ)।
वैज्ञानिक अवधारणा (विस्तृत):

क्वान्टम इन्ट्याङ्गलमेन्ट (Quantum Entanglement) दुई वा बढी क्वान्टम कणहरू (जस्तै फोटोन वा इलेक्ट्रोन) एउटा परिघटना हो जस्ले तिनीहरु जतिसुकै टाढा भएपनी तिनीहरु विचको अ न्तरसम्बन्धित एउटा एकीकृत क्वान्टम अवस्था (unified quantum state) साझा गर्छन्। यदि एउटा कणको गुण (जस्तै, स्पिन) मापन गरियो भने, अर्को कणको सम्बन्धित गुण तत्कालै निश्चित हुन्छ, प्रकाशको गतिभन्दा छिटो सूचना आदानप्रदान भएको जस्तो देखिन्छ (यद्यपि यसबाट प्रकाशभन्दा छिटो सञ्चार (communication) गर्न सकिँदैन)। आइन्स्टाइनले यसलाई 'स्पूकी एक्सन एट अ डिस्टेन्स' (spooky action at a distance) भनेका थिए। यसले ब्रह्माण्डमा गहिरो, गैर-स्थानीय (non-local) सम्बन्धहरू रहेको देखाउँछ, जहाँ कणहरू अलग-अलग देखिन सक्छन् तर तिनीहरू अन्तर्निहित रूपमा जोडिएका हुन्छन्।
सम्बन्ध:
गीताको अद्वैत दर्शनले सम्पूर्ण अस्तित्वलाई एउटै अन्तर्निहित यथार्थ (ब्रह्म/आत्मा) को अभिव्यक्तिको रूपमा हेर्दछ, जहाँ सबै कुरा आधारभूत रूपमा जोडिएको र एकै छ ('एको मुक्तश्चिदेकस्त्वम्')। इन्ट्याङ्गलमेन्टले भौतिक स्तरमा यस्तै गहिरो, अविभाज्य अन्तरसम्बन्ध (inseparable interconnectedness) को सम्भावनालाई वैज्ञानिक रूपमा देखाउँछ, जुन गीताको 'एकता' को आध्यात्मिक अवधारणासँग दार्शनिक रूपमा प्रतिध्वनित हुन्छ।
७. होलोग्राफिक सिद्धान्त र जगत्को प्रक्षेपण (Holographic Principle & Projection of the Universe)
अष्टावक्र गीता श्लोक (२. २):
यथा प्रकाशयाम्येको देहमेनं तथा जगत् ।
अतो मम जगत्सर्वमथवा न च किंचन ॥
अर्थ: जसरी म (चेतना) यो शरीरलाई प्रकाशित(illuminate/know) गर्छु, त्यसैले यो जगत् पनि मैले प्रकाशित(जान्दछु) गर्छु। त्यसैले, यो सम्पूर्ण जगत् कि त मेरो स्वरूप हो, अथवा (वास्तवमा) केही पनि होइन (भ्रम मात्र)हो।
वैज्ञानिक अवधारणा (विस्तृत):

होलोग्राफिक सिद्धान्त (Holographic Principle) स्ट्रिङ सिद्धान्त (String Theory) र क्वान्टम गुरुत्वाकर्षण (Quantum Gravity) जस्तो जटिल विज्ञान बाट प्रेरित एउटा प्रख्यात सैद्धान्तिक अवधारणा हो। सामान्यतय, हामीले अनुभव गर्ने संसारलाई त्रि-आयामिक (3D) संसार भनिन्छ। यसको अर्थ—हाम्रो वरिपरि भएका सबै वस्तुहरूसँग लम्बाइ, चौडाइ र गहिराइ हुन्छ। जस्तै घर, रुख, मान्छे, टेबुल आदिका तीनवटै आयाम हुन्छन्। अब २D (द्वि-आयामिक) को कुरा गरौं—२D वस्तुहरूमा लम्बाइ र चौडाइ मात्र हुन्छ, गहिराइ हुँदैन। उदाहरणका लागि, कागजको पाना, मोबाइलको स्क्रिन, किताबमा बनाइएका चित्रहरू आदि २D हुन्छन्।
अब एकदमै रोचक कुरा, होलोग्रामको। होलोग्राम भनेको यस्तो चित्र हो जुन २D सतह (जस्तै प्लास्टिकको प्लेट) मा हुन्छ, तर हेर्दा त्यो ३D जस्तो देखिन्छ। अर्थात सिधा सतह (पाना) मा भएको चित्रले पनि गहिराइ भएको देखिन्छ। यसले कुनै निश्चित क्षेत्र (volume) भित्रको सम्पूर्ण जानकारी त्यस क्षेत्रको सिमाना (boundary) मा कम आयाम (lower dimension) को सतह हो, पूर्ण रूपमा वर्णन गर्न सकिन्छ। यसको अर्थ, हाम्रो त्रि-आयामिक (3D) ब्रह्माण्डको वास्तविकता एउटा टाढाको द्वि-आयामिक (2D) सतहमा 'कोड' (encoded) गरिएको हुन सक्छ, जसरी एउटा द्वि-आयामिक होलोग्राफिक प्लेटले त्रि-आयामिक छवि बनाउँछ। यो सिद्धान्त अझै परिकल्पनाकै चरणमा छ, तर ब्ल्याक होल थर्मोडाइनामिक्स (Black Hole Thermodynamics) जस्ता क्षेत्रमा यसले महत्त्वपूर्ण अन्तरदृष्टि प्रदान गरेको छ।
सम्बन्ध:
गीताले जगत्लाई चेतना (आत्मा) माथि 'अध्यारोपित' (superimposed) वा 'प्रक्षेपित' (projected) मान्दछ, जसको आफ्नै स्वतन्त्र सत्ता छैन, बरु यो चेतनाकै अभिव्यक्ति वा भ्रम हो ('न च किंचन') । यो होलोग्राफिक सिद्धान्तको 'वास्तविकता एउटा तल्लो-आयामिक सतहबाट प्रक्षेपित हुन सक्छ' भन्ने विचारसँग दार्शनिक रूपमा मिल्दोजुल्दो छ। दुवैले हामीले अनुभव गर्ने 'ठोस' (solid) वास्तविकताको प्रकृतिमाथि प्रश्न उठाउँछन् र यसलाई एउटा गहिरो, अन्तर्निहित स्रोत (गीताको लागि चेतना, होलोग्राफिक सिद्धान्तको लागि सीमा सतहको जानकारी) को अभिव्यक्तिको रूपमा हेर्छन्।
८. माया/भ्रम र संज्ञानात्मक पूर्वाग्रह (Maya/Illusion & Cognitive Biases)
अष्टावक्र गीता श्लोक (३-३):
विश्वं स्फुरति यत्रेदं तरङ्गा इव सागरे ।
सोऽहमस्मीति विज्ञाय किं दीन इव धावसि ॥
अर्थ: जहाँ यो विश्व समुद्रमा तरंगहरू जस्तै स्फुरित हुन्छ (appears like waves in the ocean), 'त्यो म हुँ' (That I am - त्यो आधारभूत चेतना म हुँ) भनी जानेर पनि, किन दीन (miserable) जस्तै दौडिरहन्छौ?
वैज्ञानिक अवधारणा (विस्तृत):
संज्ञानात्मक मनोविज्ञानमा, 'संज्ञानात्मक पूर्वाग्रह' (Cognitive Biases) भन्नाले हाम्रो सोचाइमा हुने व्यवस्थित त्रुटिहरू (systematic errors in thinking) लाई जनाउँछ, जसले गर्दा हामी तर्कसंगत (rational) निर्णय लिन वा वास्तविकतालाई सही रूपमा बुझ्न सक्दैनौं। यस्ता सयौं पूर्वाग्रहहरू पहिचान गरिएका छन्, जस्तै: पुष्टिकरण पूर्वाग्रह (Confirmation Bias - आफ्नो विश्वासलाई समर्थन गर्ने जानकारी खोज्ने प्रवृत्ति), एंकरिङ पूर्वाग्रह (Anchoring Bias - प्रारम्भिक जानकारीमा बढी निर्भर हुने), उपलब्धता हेउरिस्टिक (Availability Heuristic - सजिलै सम्झनामा आउने कुरालाई बढी महत्त्व दिने)। यी पूर्वाग्रहहरूले हाम्रो निर्णय, विश्वास, र संसारप्रतिको धारणालाई अवचेतन (subconsciously) रूपमा प्रभावित गर्छन्।
सम्बन्ध:
गीताको 'माया' (Maya) को अवधारणा केवल संसार 'अविद्यमान' (non-existent) छ भन्नु मात्र होइन, बरु यो यथार्थको गलत बोध (misperception) वा भ्रमपूर्ण प्रस्तुति (illusory appearance) हो ('तरङ्गा इव सागरे' - तरंगहरू सत्य हुन् तर समुद्रबाट भिन्न होइनन्, तर हामी तिनलाई छुट्टै देख्छौं)। यो संज्ञानात्मक पूर्वाग्रहको अवधारणासँग मिल्दोजुल्दो छ, जहाँ हाम्रो मनले वास्तविकतालाई फिल्टर (filters) र विकृत (distorts) गर्छ। गीता अनुसार, सबैभन्दा ठूलो 'माया' वा पूर्वाग्रह भनेको आत्मा (चेतना) लाई शरीर, मन, वा संसारका वस्तुहरूसँग पहिचान गर्नु हो। आत्मज्ञानले यो मूल संज्ञानात्मक त्रुटिलाई सच्याउँछ।
अन्त्यमा: यसरी, विज्ञान वस्तुगत प्रमाण (objective evidence) मा आधारित छ भने गीता अनुभवात्मक ज्ञान (experiential knowledge) मा छ। तर दुवैले यथार्थको गहिरो तहलाई बुझ्ने प्रयास गर्छन्।
यो पनि पढ्नुहोस् -
अष्टावक्र गीता: बाह्य मूल्याङ्कन र आन्तरिक ज्ञानको युद्ध || भाग १||
स्रोत:
१) अष्टावक्र गिता
२) अद्वैत वेदान्त (शंकराचार्य)
३) अष्टावक्र माहागीता ; रजनिस ओशो
४) सन्त गाथा ; स्वामी आनन्द अरुण
५) ज्ञान योग ; स्वामी विवेकानन्द
६) माया तथा लिला (Manifestation and Dynamism); अरुण कुमार सुवेदी
७) ध्यान र मस्तिष्कको पुनर्संरचना (Neuroplasticity)
८) The surprising role of the DMN in naturalistic perception
९) संज्ञानात्मक व्यवहार थेरापी (Cognitive Behavioral Therapy - CBT
१०) होलोग्राफी सिद्धान्त (Holography Principle) – ब्रिटानिका
११) इन्टरनेट
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कांग्रेस नेता ढकालद्वारा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको एजेन्डा निर्वाचन घोषणापत्रमा समेट्न लिखित प्रस्ताव
-
मकवानपुर–१ मा अनुभवी र नयाँ अनुहारबीच रोचक चुनावी भिडन्त
-
ललितपुरमा एमाले र माओवादीका पूर्ववडा अध्यक्ष कांग्रेसमा प्रवेश
-
काँग्रेसमै फर्किंइन् रास्वपा जुम्ला उपसभापति तारा शाही
-
सुन तोलाको १३ हजार ४ सयले घट्यो
धेरै पढिएको
-
बदलिदो विश्व परिस्थतिमा नेपालले कस्तो परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ?
-
गुगल सर्च अब 'पर्सनलाइज' हुने, निजी कुराको पनि दिने छ जवाफ
-
यी हुन् विश्वका सबैभन्दा बढी ट्राफिक जाम हुने पाँच शहर
-
चर्चित निर्वाचन क्षेत्र: झापा–५ को चुनावी गणित, ओलीको गढमा बालेनको चुनौती
-
विनम्र भन्दा रुखो प्रश्न सोध्दा एआईले दियो सहि जवाफ !
विशेष
'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास
लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।