चीनको कोइला खानी विस्फोटमा कम्तीमा ९० जनाको मृत्यु

९ जेठ, २०८३, शनिवार
सारांश
  • घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ । राष्ट्रपति जिनपिङले सबै सरकारी निकाय र क्षेत्रलाई यस घटनाबाट पाठ सिक्न, कार्यस्थल सुरक्षामा विशेष ध्यान दिन र यस्ता ठूला दुर्घटना रोक्न जोखिमको गम्भीर मूल्यांकन गर्न निर्देशन दिएका छन् ।

काठमाडौँ: चीनको शान्सी प्रान्तस्थित एक कोइला खानीमा भएको भीषण विस्फोटमा कम्तीमा ९० जनाको मृत्यु भएको छ । यो घटना पछिल्लो एक दशकयताकै चीनको सबैभन्दा ठूलो कोइला खानी दुर्घटना मानिएको छ ।

 

सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार विस्फोट शुक्रबार किनयुआन काउन्टीमा भएको हो । उक्त क्षेत्र राजधानी बेइजिङबाट करिब ५२० किलोमिटर दक्षिणपश्चिममा पर्छ ।

 

दुर्घटनाअघि खानीभित्र कार्बन मोनोअक्साइड ग्यासको मात्रा बढेको चेतावनी जारी गरिएको थियो । त्यसको केही समयपछि शक्तिशाली विस्फोट भएको बताइएको छ । विस्फोट हुँदा खानीभित्र २४७ मजदुर काम गरिरहेका थिए । अझै कति मजदुर भित्र फसेका छन् भन्ने स्पष्ट हुन सकेको छैन । राहत तथा उद्धार कार्य जारी रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।

 

दुर्घटनापछि सुरुमा सरकारी सञ्चारमाध्यमले ८ जनाको मृत्यु भएको र २०० भन्दा बढी मजदुरलाई सुरक्षित निकालिएको जानकारी दिएका थिए । तर केही समयपछि मृतक संख्या अचानक बढेर ८२ पुगेको र पछि ९० पुगेको बताइएको छ । संख्या कसरी यति छिट्टै बढ्यो भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन ।

 

चिनियाँ राष्ट्रपति सी जिनपिङले दुर्घटनापछि उद्धार टोलीलाई बेपत्ता मजदुरको खोजीमा सबै प्रयास गर्न निर्देशन दिएका छन् । उनले घटनाका जिम्मेवार व्यक्तिलाई कारबाही गरिने पनि बताएका छन् । प्रारम्भिक अनुसन्धानमा खानीभित्र कार्बन मोनोअक्साइड ग्यासको मात्रा अत्यधिक बढेकाले विस्फोट भएको आशंका गरिएको छ ।

 

घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ । राष्ट्रपति जिनपिङले सबै सरकारी निकाय र क्षेत्रलाई यस घटनाबाट पाठ सिक्न, कार्यस्थल सुरक्षामा विशेष ध्यान दिन र यस्ता ठूला दुर्घटना रोक्न जोखिमको गम्भीर मूल्यांकन गर्न निर्देशन दिएका छन् ।

 

यसैबीच चीनका प्रधानमन्त्री ली छ्याङले पनि बेपत्ता मजदुरको खोजी तीव्र बनाउन र घटनाको कारण छिटो अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न आग्रह गरेका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार उपप्रधानमन्त्री झाङ गुओछिङ र स्थानीय प्रशासनका वरिष्ठ अधिकारीहरू पनि घटनास्थल पुगेका छन् । उनीहरूले उद्धार अभियानको अनुगमन गरिरहेका छन् ।

 

चीनमा पछिल्ला वर्षहरूमा खानी सुरक्षासम्बन्धी नियम कडा बनाइए पनि यस्ता दुर्घटना दोहोरिँदै आएका छन् । उत्पादन बढाउने दबाब र सुरक्षामा हुने लापरवाहीलाई यसको मुख्य कारण मानिएको छ । यसअघि सन् २०२३ फेब्रुअरीमा इनर मङ्गोलियास्थित एक खुला खानीमा पहिरो जाँदा ५३ मजदुरको मृत्यु भएको थियो । 

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार