कस्तो भयो विश्वकै शक्तिशाली 'स्टारशिप' रकेटको १२औँ परीक्षण ?

२०८३ जेठ ०९ शनिवार
सारांश
  • एलन मस्कको कम्पनी स्पेसएक्सले निर्माण गरेको यो रकेट ‘स्टारशिप’ र ‘सुपर हेभी बूस्टर’ मिलेर बनेको हो, जसको कुल उचाइ ४०३ फिट छ ।

काठमाण्डौ, ०९ जेठ । विश्वकै सबैभन्दा शक्तिशाली मानिने ‘स्टारशिप’ रकेटको नयाँ तथा ठूलो संस्करण (भी–३) को पहिलो परीक्षण सफलतासँगै केही प्राविधिक चुनौतीहरू देखिएको छ ।

 

टेक्सासको दक्षिणी भागमा रहेको स्टारबेस प्रक्षेपण केन्द्रबाट उडान भरेपछि रकेटको इन्जिनमा समस्या देखिएको थियो । जसका कारण रकेट नियन्त्रण गुमाउने जोखिमसमेत उत्पन्न भएको थियो । तर करिब एक घण्टापछि स्टारशिप अन्तरिक्ष यान हिन्द महासागरमा सुरक्षित अवतरण गर्न सफल भयो । यो परीक्षण स्टारशिप शृंखलाको १२औँ परीक्षण हो भने भी–३ संस्करणको पहिलो परीक्षण थियो । नेपाली समयअनुसार यो प्रक्षेपण शनिबार बिहान गरिएको हो ।

 

एलन मस्कको कम्पनी स्पेसएक्सले निर्माण गरेको यो रकेट ‘स्टारशिप’ र ‘सुपर हेभी बूस्टर’ मिलेर बनेको हो, जसको कुल उचाइ ४०३ फिट छ । यो पूर्ण रूपमा पुनः प्रयोग गर्न मिल्ने रकेट हो । परीक्षणका क्रममा ‘सुपर हेभी बूस्टर’ आफ्नो नियन्त्रित अवतरण प्रक्रिया पूरा गर्न असफल भयो । बूस्ट–ब्याक बर्न प्रक्रिया अधुरो रहेपछि बूस्टर पानीमा नियन्त्रित रूपमा अवतरण हुन सकेन ।

 

मुख्य स्टारशिप अलग भएपछि पनि अर्को समस्या देखियो । यसको ६ मध्ये ५ मात्र इन्जिन सुरु हुन सके, जसका कारण यो पूर्ण रूपमा निर्धारित कक्षीय मार्गमा पुग्न सकेन । यद्यपि यसको उडान सुरक्षित सीमाभित्र रहेकाले यो सब–अर्बिटल उडान पूरा गर्न सफल भयो । तर इन्जिन पुनः परीक्षण गर्ने अर्को चरण भने पूरा हुन सकेन । यो परीक्षणको मुख्य उद्देश्य रकेटलाई प्रक्षेपण, अलग हुने प्रक्रिया, इन्जिन पुनः सञ्चालन र समुद्रमा तोकिएको स्थानमा सुरक्षित अवतरणसम्मको सम्पूर्ण प्रणाली परीक्षण गर्नु थियो ।

 

यसअघि स्टारशिपको ११औँ परीक्षण २०२५ अक्टोबर १४ मा गरिएको थियो, जसमा सुपर हेभी बूस्टर अमेरिकाको खाडी क्षेत्रमा पानीमा अवतरण भएको थियो भने स्टारशिप हिन्द महासागरमा अवतरण भएको थियो । १०औँ परीक्षण २०२५ अगस्ट २७ मा सफल भएको थियो, जसमा स्टारलिङ्क सिमुलेटर उपग्रहहरू अन्तरिक्षमा छोड्ने र इन्जिन सञ्चालनजस्ता सबै लक्ष्य पूरा भएका थिए ।

 

त्यसअघि २०२५ जुन २९ मा हुने भनिएको परीक्षण स्थिर परीक्षणका क्रममा भएको विस्फोटका कारण असफल भएको थियो । उक्त घटनामा रकेटको माथिल्लो भागमा अचानक विस्फोट भई सम्पूर्ण संरचना आगोमा जलेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार