स्पेसएक्सको आइपिओ आउँदै, मस्क संसारकै पहिलो खर्बपति बन्न सक्ने
२०८३ जेठ ०८ शुक्रवार
- सूचीकरणपछि मस्कको कुल सम्पत्ति एक खर्ब अमेरिकी डलरभन्दा माथि पुग्न सक्ने बताइएको छ । फोर्ब्स अर्बपति सूचीअनुसार हाल मस्क ८०७ अर्ब अमेरिकी डलर सम्पत्तिसहित संसारकै सबैभन्दा धनी व्यक्ति हुन् ।
काठमाण्डौ, ०८ जेठ । एलोन मस्क चाँडै संसारकै पहिलो खर्बपति बन्ने सम्भावना बढेको छ । उनको रकेट तथा उपग्रह कम्पनी स्पेसएक्स सेयर बजारमा सूचीकृत हुने तयारीमा पुगेको छ । यो प्रक्रिया सफल भए वाल स्ट्रिट इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन बन्न सक्ने अनुमान गरिएको छ ।
सूचीकरणपछि मस्कको कुल सम्पत्ति एक खर्ब अमेरिकी डलरभन्दा माथि पुग्न सक्ने बताइएको छ । फोर्ब्स अर्बपति सूचीअनुसार हाल मस्क ८०७ अर्ब अमेरिकी डलर सम्पत्तिसहित संसारकै सबैभन्दा धनी व्यक्ति हुन् । कम्पनीले ‘एसपिसिएक्स’ संकेत चिह्नअन्तर्गत सूचीकृत हुने योजना सार्वजनिक गरेको छ । यससँगै कम्पनीको आर्थिक नेतृत्व र स्वामित्व संरचनासम्बन्धी जानकारी पहिलो पटक बाहिर आएको छ ।
स्पेसएक्सले आफ्नो मूल्यांकन १. २५ खर्ब अमेरिकी डलर गरेको छ । यस मूल्यांकनका आधारमा कम्पनीमा रहेको मस्कको बहुमत हिस्साको मूल्य ६०० अर्ब अमेरिकी डलरभन्दा बढी हुन सक्छ । अहिलेको सम्पत्तिसँग यो मूल्य जोडिँदा मस्कको कुल सम्पत्ति एक खर्ब डलर नाघ्न सक्ने अनुमान गरिएको हो ।
मस्क गत वर्ष ५०० अर्ब डलर सम्पत्ति पार गर्ने संसारकै पहिलो व्यक्ति बनेका थिए । उनी विधुतीय सवारी निर्माण कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत पनि हुन् । स्पेसएक्समा साधारण र विशेष श्रेणीका सेयरमार्फत मस्कसँग ८५. १ प्रतिशत मतदान अधिकार रहेको छ ।
प्रारम्भिक सार्वजनिक निष्कासनसम्बन्धी कागजातमार्फत कम्पनीको नेतृत्व संरचना पनि सार्वजनिक भएको छ । मस्क कम्पनीका अध्यक्ष हुन् भने ग्विन सटवेल अध्यक्ष तथा प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत छन् । अन्य सञ्चालकमा प्रमुख वित्तीय अधिकृत ब्रेट जोनसन, लगानीकर्ता र्यान्डी ग्लेन, स्टिभ जर्भिटसन, लुक नोजेक, इरा एहरेनप्रेइस, एन्टोनियो ग्रासियस तथा गुगलका अधिकारी डोनाल्ड ह्यारिसन रहेका छन् ।
मस्कले सन् २०१९ देखि वार्षिक ५४ हजार ८० अमेरिकी डलर निश्चित तलब लिँदै आएका छन् । तर कम्पनीले मस्कलाई ६ करोड ६६ लाखभन्दा बढी सेयर १५ किस्तामा दिन सकिने जनाएको छ । त्यसका लागि कम्पनीको मूल्यांकन ७. ५ खरब डलर पुग्नुपर्ने र कम्तीमा १० लाख मानिससहित मंगल ग्रहमा स्थायी मानव बस्ती सफलतापूर्वक स्थापना हुनुपर्ने शर्त राखिएको छ । यी दुवै शर्त पूरा भए र मस्क कम्पनीमा कार्यरत रहे मात्र ती सेयर प्रदान गरिने कम्पनीले जनाएको छ । यसबाहेक यस वर्ष कृत्रिम बौद्धिकता कम्पनी एक्सएआईसँगको एकीकरणपछि मस्कको पुरानो पारिश्रमिक व्यवस्था हटाएर ३० करोड २० लाख सेयर बराबरको नयाँ सुविधा घोषणा गरिएको छ । यो सुविधा भविष्यको मूल्यांकन लक्ष्य तथा वार्षिक १०० टेरावाट क्षमता भएका तथ्याङ्क केन्द्र सञ्चालनसँग जोडिएको छ ।
मस्कले सन् २००२ मा स्पेसएक्सलाई रकेट कम्पनीका रूपमा स्थापना गरेका थिए । कम्पनीले सन् २०२१ मा स्टारलिंक उपग्रह इन्टरनेट सेवा सुरु गर्दै दूरसञ्चार क्षेत्रमा विस्तार गरेको थियो । कम्पनीले २७७ पृष्ठको विवरणपत्रमा कृत्रिम बौद्धिकता, उपग्रह सञ्चार र अन्तरिक्ष अनुसन्धानलाई दीर्घकालीन लक्ष्यका रूपमा अघि सारेको छ । कम्पनीले जीवनलाई बहुग्रहीय बनाउने र ब्रह्माण्डको वास्तविक स्वरूप बुझ्ने आफ्नो उद्देश्य रहेको जनाएको छ ।
स्पेसएक्सले स्टारलिंक सञ्जालका लागि तीव्र रूपमा उपग्रह निर्माण तथा प्रक्षेपण जारी राख्ने बताएको छ । साथै सूर्यको ऊर्जाबाट सञ्चालन हुने सत्य खोज्ने कृत्रिम बौद्धिकता विकास गरी वैज्ञानिक खोजलाई अघि बढाउने, चन्द्रमामा आधार केन्द्र निर्माण गर्ने तथा अन्य ग्रहमा शहर बसाउने योजना पनि सार्वजनिक गरेको छ । कम्पनीले सम्भावित बजार अवसर २८.५ खर्ब अमेरिकी डलर रहेको जनाएको छ । यसमध्ये अन्तरिक्षसम्बन्धी सेवामा ३७० अर्ब डलर, स्टारलिंकमार्फत सञ्चार सेवामा १. ६ खरब डलर र कृत्रिम बौद्धिकतामा २६. ५ खरब डलरको अवसर रहेको कम्पनीको दाबी छ ।
कृत्रिम बौद्धिकता क्षेत्रअन्तर्गत अन्तरिक्षमा तथ्याङ्क केन्द्र सञ्चालनबाट २. ४ खर्ब डलर, उपभोक्ता सदस्यताबाट ७६० अर्ब डलर, डिजिटल विज्ञापनबाट ६०० अर्ब डलर तथा व्यावसायिक प्रयोगबाट २२. ७ खर्ब डलर आम्दानी हुन सक्ने अनुमान गरिएको छ । स्पेस एक्सप्लोरेसन टेक्नोलोजिज नामक कम्पनीले गत वर्ष १८. ६ अर्ब डलर आम्दानी गरेको थियो । तर कम्पनीलाई ४. ९ अर्ब डलर खुद घाटा भएको थियो ।
सिएनएनका अनुसार यस वर्षको पहिलो तीन महिनामै कम्पनीले ४. ७ अर्ब डलर बिक्री गरे पनि ४. ३ अर्ब डलर घाटा व्यहोरेको छ । कम्पनीसँग रकेट तथा अन्य उपकरणसहित १०२ अर्ब डलर बराबरको सम्पत्ति रहेको छ भने ६०. ५ अर्ब डलर ऋण रहेको बताइएको छ । कृत्रिम बौद्धिकता र उपग्रह सञ्चालन विस्तारका कारण कम्पनीको खर्च तीव्र रूपमा बढेको छ । गत वर्ष कम्पनीले २०. ७ अर्ब डलर खर्च गरेको थियो । त्यसमध्ये १२. ७ अर्ब डलर कृत्रिम बौद्धिकता पूर्वाधारमा खर्च गरिएको थियो ।
त्यस्तै, ४. २ अर्ब डलर स्टारलिंकमा तथा ३. ८ अर्ब डलर रकेट र अन्य अन्तरिक्ष परियोजनामा खर्च गरिएको थियो । यो खर्च सन् २०२४ को तुलनामा झण्डै दोब्बर हो । यस वर्षको पहिलो त्रैमासिकमै कम्पनीले १०. १ अर्ब डलर खर्च गरिसकेको छ । त्यसमध्ये ७.७ अर्ब डलर कृत्रिम बौद्धिकतासम्बन्धी परियोजनामा खर्च भएको जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण व्यवस्थित बनाउन निर्देशन
-
राष्ट्रपति पौडेलसँग युरोपेली संघका राजदूत लरेन्जोको बिदाइ भेट
-
जय नेपाल पार्टीले अघि सार्यो सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्रको एजेन्डा
-
इन्भेष्टमेन्ट मेगा बैंक प्रकरणमा बैंकिङ निर्णय र आपराधिक कार्यबीच भिन्नता छुट्याउन सिबिफिनको माग
-
रुसी आक्रमणमा किभमा १३ जनाको मृत्यु
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।