ऋग्वेद, महाभारत र बामियानको बुद्ध मुर्ति: अफगानिस्तानको हराएको एक प्राचीन इतिहास

३ भाद्र, २०८३, बुधवार
सारांश
  • इतिहासमा सन् १२२१ मा चेङ्गेज खानले बामियानमा आक्रमण गरी सम्पूर्ण बस्ती सखाप पार्दा र १७ औं शताब्दीमा मुगल सम्राट औरङ्गजेबले तोप हानेर क्षति पुर्‍याउने प्रयास गर्दा पनि यी मूर्तिहरू जोगिएका थिए।

कुनै समय कला, संस्कृति, सभ्यता र बौद्ध दर्शनको केन्द्रका रूपमा परिचित अफगानिस्तान आज आफ्नै गौरवशाली इतिहाससँग विच्छेदको अवस्थामा पुगेको छ। हजारौँ वर्ष पुरानो सांस्कृतिक विरासत, आफ्ना पूर्वजका सभ्यता र ऐतिहासिक धरोहरलाई संरक्षण गर्नुको सट्टा त्यसैलाई ‘काफिर’ र ‘शैतानको विरासत’को संज्ञा दिँदै नष्ट गर्ने प्रवृत्तिले अफगानिस्तानको मौलिक पहिचानमा गम्भीर क्षति पुर्‍याएको छ। 

 

अफगानिस्तान आज आफ्नै इतिहासका अवशेषमाथि उभिएको खण्डहरजस्तो भएको छ। यही सांस्कृतिक विनाशको सबैभन्दा पीडादायी उदाहरणमध्ये एक हो, बामियानका हजारौँ वर्ष पुराना बुद्ध मूर्तिको ध्वंश।

 

सन् २००१ मार्चमा अफगानिस्तानको तालिबान सरकारले बामियानका प्रसिद्ध बुद्ध मूर्तिहरू ध्वस्त पारेको घटना विश्व इतिहासकै एउटा दुखद सांस्कृतिक विनाश मानिन्छ।

 

इस्लामिक तालिबानी सत्ताका तत्कालिन सर्वोच्च नेता मुल्लाह मोहम्मद ओमारले २६ फेब्रुअरी २००१ मा अफगानिस्तानका सबै गैर-इस्लामिक मूर्तिहरू नष्ट गर्ने फरमान जारी गरेपछि बामियानका विशाल बुद्ध मूर्तिहरू भत्काउन सैन्य अभियान नै चलाइएको थियो। सुरुमा तालिबान सैनिकहरूले मूर्तिहरूमा तोप, ट्याङ्कका गोला, रकेट र एन्टी-एयरक्राफ्ट बन्दुकहरू प्रहार गरे। तर ती मूर्तिहरू भीरको चट्टान खोपेरै बनाइएका हुनाले साधारण गोलाबारुदले खासै असर गर्न सकेन। त्यसपछि उनीहरूले एन्टि-ट्याङ्क माइन र डाइनामाइट ल्याएर डोरीको सहारामा भीरबाट तल झर्दै मूर्तिहरूका विभिन्‍न भाग र पछाडिका चट्टानमा प्वाल पारे। ती प्वालहरूमा बारुद भरेर हप्तौंसम्म निरन्तर विष्फोट गराइयो र करिब दुई हप्ताभन्दा बढी समयको निरन्तर प्रयासपछि १४ मार्चमा १४०० वर्षभन्दा पुराना दुवै विशाल मूर्तिहरूलाई पूर्ण रूपमा ध्वस्त पारियो।

 

बामियान उपत्यकामा मुख्य दुईवटा उभिएका बुद्धका मूर्तिहरू थिए, जसलाई आधुनिक रेडियोकार्बन डेटिङ परीक्षण अनुसार ईसापूर्व छैटौँ शताब्दीतिर निर्माण गरिएको पुष्टि हुन्छ। सानो बुद्ध (पूर्वी बुद्ध/शाह मामा) करिब ३८ मिटर (१२५ फिट) र ठूलो बुद्ध (पश्चिमी बुद्ध/सल्साल) करिब ५५ मिटर (१८० फिट) अग्ला थिए। विनाश हुँदाका बखत यी मूर्तिहरू करिब १,४०० देखि १,५०० वर्ष पुराना भइसकेका थिए र विश्वकै सबैभन्दा अग्ला उभिएका बुद्ध मूर्तिहरूका रूपमा प्रसिद्ध थिए। तालिबानले यी मूर्तिहरू नष्ट गर्नुका पछाडि मुख्य रूपमा उनीहरूको कट्टरपन्थी वहाबी/देवबन्दी विचारधारा जिम्मेवार थियो, जस अनुसार जुनसुकै हिन्दु तथा बौद्ध भगवानको मूर्ति निर्माण र पूजा गर्नु इस्लाम विरोधी मानिन्छ।

 

त्यतिबेला भगवान बुद्धको उक्त विशाल मुर्ति नभत्काउन नेपाल, भारत, श्रीलङ्का, युनेस्को जस्ता देश र संस्थाहरूका साथसाथै साउदी अरेबिया तथा इजिप्ट जस्ता इस्लामिक देशहरूले समेत यो कार्य रोक्न अपिल गरे पनि इस्लामिक तालिबान सरकारले कसैको कुरा सुनेन। अन्तत तालिवानी कट्टरपन्थी इस्लामिक सत्ताले १४०० वर्ष पुरानो बुद्ध मूर्तिहरूलाई भत्काएरै छाड्यो। 

 

यी मूर्तिहरूसँग जोडिएका धेरै रोचक इतिहास र तथ्यहरू छन्। अनुसन्धानकर्ताहरूका अनुसार सुरुमा यी मूर्तिहरू सादा ढुङ्गाका मात्र थिएनन्; तिनमा गुलाबी, नीलो, पहेंलो र सेतो रङ लगाइएको थियो भने अनुहारमा काठको मकुन्डो र सुनको जलप हालिएको थियो। यी मूर्तिहरूमा युनानी (ग्रीक) र भारतीय कलाको अद्भुत मिश्रण देखिन्थ्यो, जहाँ बुद्धले लगाएको वस्त्रको शैली ग्रीक पोशाक 'टोगा' बाट प्रभावित थियो।

 

इतिहासमा सन् १२२१ मा चेङ्गेज खानले बामियानमा आक्रमण गरी सम्पूर्ण बस्ती सखाप पार्दा र १७ औं शताब्दीमा मुगल सम्राट औरङ्गजेबले तोप हानेर क्षति पुर्‍याउने प्रयास गर्दा पनि यी मूर्तिहरू जोगिएका थिए।

 

तालिवानले भत्काएर ध्वस्त भैसकेपछि सन् २०१५ मा एक चिनियाँ दम्पतीले १,२०,००० अमेरिकी डलर खर्चेर 3D प्रोजेक्टर प्रविधि प्रयोग गरी खाली गहिरो चट्टानको खोपिल्टोमा ५५ मिटर अग्लो बुद्धको प्रकाशमय 3D होलोग्राम आकृति प्रदर्शन गरेर विश्वको ध्यान खिचेका थिए।

 

ऐतिहासिक रूपमा, सम्राट अशोकको समय (ईसापूर्व तेस्रो शताब्दी) र पछि कुषाण साम्राज्यको समयमा अफगानिस्तान बौद्ध धर्मको ठूलो केन्द्र बनेको थियो। ईस्वी संवत् दोस्रो शताब्दीदेखि करिब सातौं शताब्दीसम्म बामियान र समग्र अफगानिस्तानमा बौद्ध धर्म नै मुख्य र बहुसंख्यक धर्मको रूपमा रहेको थियो। यो क्षेत्र ऐतिहासिक रेशम मार्गमा पर्ने भएकाले चीन, भारत र मध्य एशियाका हजारौं भिक्षुहरू यहाँ तीर्थयात्रा र अध्ययनका लागि आउने गर्थे। तर सातौं शताब्दी पछि अफगानिस्तानबाट बौद्ध धर्म हराउँदै जानु रातारात भएको घटना नभई शताब्दीऔं लामो राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको परिणाम थियो।

 

सातौं शताब्दीको मध्यतिर (सन् ६५२) अरब मुस्लिमहरूले यस क्षेत्रमा आक्रमण सुरु गरेपछि विस्तारै काबुल र बामियान क्षेत्रमा इस्लामिक शासन फैलियो। नयाँ शासकहरू आएपछि बौद्ध गुम्बा र विहारहरूले पाउने राजकीय संरक्षण र आर्थिक सहयोग बन्द भयो भने रेशम मार्गको व्यापार कम हुँदै जाँदा भिक्षुहरूको आवतजावत पनि घट्दै गयो। 

 

नवौं र दसौं शताब्दीमा मुस्लिम शासक गज्नवी र घोरी राजवंशको समयमा बहुसंख्यक स्थानीय मानिसहरूले व्यापार, सुरक्षा र सामाजिक अवसरका लागि विस्तारै इस्लाम मत स्वीकार गर्न बाध्य हुँदै गए। बाँकी रहेका बौद्ध धर्मावलम्बीहरू छिमेकी हिमाली क्षेत्रहरू (जस्तै लद्दाख र तिब्बत) तर्फ विस्थापित भए भने केही मुस्लिम समुदायमा घुलमिल भए। एघारौँ शताब्दीसम्म आइपुग्दा अफगानिस्तान इस्लामिक बहुसंख्यक देश बनिसकेको थियो भने आज त्यहाँ शतप्रतिशत जनसङ्ख्या मुस्लिम मतालम्बी छन् भने रैथाने हिन्दु र बौद्ध धर्मावलम्बीहरू बाँकी छैनन्।

 

करिब दुई शताब्दि अगाडीसम्म अफगानिस्तानमा अत्यन्त थोरै संख्यामा भए पनि हिन्दुहरू थिए। १८औँ शताब्दीमा अफगानिस्तानका प्रधानमन्त्री (दिवान) बनेका नन्दराम टिकु त्यसको एउटा प्रत्यक्ष उदाहरण हुन्, यद्यपि उनि काश्मिरका थिए। नन्द राम टिकुको राजनीतिक कौशलता देखेर तत्कालिन राजा जमन शाह दुरानिले उनलाई प्रधानमन्त्री बनाएका थिए।  तर १ वर्षमै उनि सत्ताच्युत गराईए।

 

निरन्तरको धार्मिक आक्रमण, उत्पिडन, राजनीतिक अस्थिरता, र अस्तित्वप्रतिको उपेक्षाका कारण विगत २०० वर्षमा त्यहाँका बचेखुचेका हिन्दुहरूको संख्या निरन्तर घट्दै गयो। आज स्थिति यस्तो छ कि जहाँ विगतमा लाखौँ हिन्दु, बौद्ध र सिखहरू बस्थे, त्यहाँ अहिले १०० जना पनि हिन्दु र बौद्धहरू बाँकी छैनन्। एउटा जीवन्त इतिहास, सभ्यता र संस्कृति आज अफगानिस्तानबाट लगभग मेटिइसकेको छ, जसले विश्वका अन्य सांस्कृतिक र धार्मिक समुदायहरूका लागि आफ्नो अस्तित्व, पहिचान र सम्पदा संरक्षणको गम्भीर पाठ खडा गरिदिएको छ।

 

प्राचीन हिन्दू महाकाव्य महाभारतमा वर्णित गान्धार राज्य आधुनिक अफगानिस्तानमै पर्दथ्यो, जसको नामबाट ‘कान्दाहार’ शहर बन्यो। महारानी गान्धारी र शकुनि यहीँका राजा सुबलका सन्तान थिए। यसरी पौराणिक कालमा अफगानिस्तान महाभारतको घटनाक्रमसँग प्रत्यक्ष जोडिएको थियो। विश्वकै प्राचीन ग्रन्थ ऋग्वेदका पवित्र नदीहरू अफगानिस्तानसँग जोडिएका छन्।

 

ऋग्वेदको उल्लेख भएको ‘कुभा’ नदि आजको काबुल नदी हो भने ‘क्रुमु’ चाहिं कुर्रम नदी हो। वैदिक कालमा यी नदी किनारमा ऋषिमुनिहरूले यज्ञ र साधना गर्ने गर्दथे। प्राचीन महाजनपदमध्येको कम्बोज राज्य उत्तर-पूर्वी अफगानिस्तानमा अवस्थित थियो। कम्बोजका योद्धाहरू उत्कृष्ट घोडा सवार र युद्धकौशलका लागि प्रसिद्ध थिए। महाभारतको युद्धमा कम्बोजका राजा सुदक्षिणले कौरव पक्षबाट भाग लिएका थिए।

 

इस्लामको आगमनभन्दा अघि काबुल उपत्यकामा सूर्यदेव र भगवान् शिवको उपासना व्यापक थियो। त्यहाँ भेटिएका प्राचीन मूर्ति र भग्नावशेषहरूले कुनै समय अफगानिस्तान वैदिक र हिन्दू सांस्कृतिक जगमा आधारित रहेको पुष्टि गर्छन्। तर अब ति इतिहासका गौरव र पुर्वाजका धरोहर प्रति गर्व गर्ने पुस्ता आज अफगानिस्तानमा बाँकी छैन।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप लेखहरु