माओको भँगेराविरुद्धको युद्ध र प्रकृतिको प्रतिशोध

१७ आषाढ़, २०८३, बुधवार
सारांश
  • विभिन्न तथ्याङ्कअनुसार यस अभियानमा २ अर्ब भन्दा बढी भँगेरा र अन्य प्रजातिका चराहरू मारिएका थिए।

चीनमा कम्युनिस्ट शासन स्थापना भएको केही वर्षपछि अर्थात् सन् १९५८ मा एउटा यस्तो अभियान सुरु भयो, जसलाई मानव इतिहासकै सबैभन्दा ठूलो वातावरणीय र मानवीय विपत्तिका रुपमा मानिन्छ। यो कुनै आणविक दुर्घटना वा कुनै भयानक युद्ध थिएन, बरु एउटा तानाशाही शासकको सनकका कारण निम्तिएको विनाश थियो। तत्कालिन चिनियाँ शासक (राष्ट्रप्रमुख) माओ त्सेतुङको विचारधारा र प्रकृतिमाथि विजय पाउने अहंकारले चीनलाई कसरी इतिहासकै सबैभन्दा भयानक अनिकाल तर्फ धकेल्यो भन्ने कथा आधुनिक विश्वका लागि एउटा गम्भीर शिक्षा र चेतावनी दुवै हो।

 

सन् १९५८ मा माओ त्सेतुङले चीनलाई द्रुत रूपमा औद्योगिक र आधुनिक राष्ट्र बनाउने उद्देश्यका साथ 'द ग्रेट लिप फरवार्ड' (महान अग्रगामी छलाङ्ग) को घोषणा गरे। यसै अन्तर्गत निजी खेतीपातीमा प्रतिबन्ध लगाइयो र राज्य-नियन्त्रित सामूहिक कृषि प्रणाली लागू गरियो।

 

कृषि उत्पादन बढाउन र जनस्वास्थ्यमा सुधार ल्याउन माओले 'चार जीवहरू सफाया गर्ने अभियान' (Four Pests Campaign) सुरु गरे। यस अभियानको मुख्य निसानामा चार जीवहरू थिए: मुसा, झिंगा, लामखुट्टे र भँगेरा । अभियानको मूल नारा थियो— 'रेन दिङ सेङ थियान' अर्थात् "मानिसले प्रकृतिलाई जित्नुपर्छ।"

 

मुसा र लामखुट्टेले रोग फैलाउने भएकाले तिनीहरूलाई मार्नु केही हदसम्म तर्कसंगत देखिए पनि भँगेरालाई यस सूचीमा राख्नुको कारण वैज्ञानिक थिएन। सरकारी अनुमानअनुसार एउटा भँगेराले प्रतिवर्ष लगभग ४.५ किलोग्राम अन्न खान्थ्यो। माओको बुझाइ थियो— भँगेरा सिध्याएमा लाखौँ टन अन्न जोगिनेछ र देश समृद्ध बन्नेछ।

 

माओको आह्वानमा चीनका करोडौँ नागरिक, महिला र ५ वर्षमाथिका बालबालिकालाई भँगेराविरुद्धको युद्धमा परिचालन गरियो। प्रचारबाजी यति तीव्र थियो कि भँगेरा मार्नेहरूलाई क्रान्तिकारी नायक जसरी पुरस्कृत गरिन्थ्यो भने यसमा सहभागी नहुनेहरूलाई पुँजीवादी र देशद्रोहीको बिल्ला भिराइन्थ्यो।

 

भँगेराहरूलाई सिध्याउन एउटा अनौठो र क्रूर रणनीति पनि अपनाइयो— उनीहरूलाई आराम गर्न नदिने। देशभरका मानिसहरूले दिनरात तावा, ड्रम र भाँडाकुँडा ठटाएर चर्को आवाज निकाले। डराएका भँगेराहरू कतै बस्न पाएनन् र लगातार उड्दाउड्दै थकाइका कारण आकाशबाटै भुइँमा खसेर मर्न थाले। गुँडहरू भत्काइए, फुलहरू फुटाइए र गुलेली तथा बन्दुकले चराहरूलाई खसालियो। एक प्रख्यात घटनामा, बेइजिङमा होहल्लाबाट बच्न भँगेराको ठूलो बथान पोल्याण्डको दूतावासभित्र शरण लिन पुग्यो। चिनियाँहरूले दूतावासलाई बाहिरबाट घेरेर दुई दिनसम्म निरन्तर ड्रम बजाए, जसका कारण दूतावास परिसरभित्रै हजारौँ चराहरू थकित भएर मरे।

 

विभिन्न तथ्याङ्कअनुसार यस अभियानमा २ अर्ब भन्दा बढी भँगेरा र अन्य प्रजातिका चराहरू मारिएका थिए।

 

भँगेराहरू चिनिया आकाशबाट हराएको दुई वर्ष नपुग्दै प्रकृतिको भयानक प्रतिशोध सुरु भयो। चिनियाँ पक्षीविद् चेंग त्सो-हसिन जस्ता वैज्ञानिकहरूले भँगेराले अन्न मात्र नभई बाली नष्ट गर्ने कीराहरू पनि खान्छन् भनी दिएको चेतावनीलाई सरकारले पहिल्यै लत्याईसकेको थियो।

 

जब भँगेराहरू सखाप भए, तब तिनीहरूको मुख्य आहारा रहेका सलह र अन्य हानिकारक कीराहरूको संख्या अनियन्त्रित रूपमा बढ्यो। सन् १९६० मा चीनले इतिहासकै ठूलो खडेरीको पनि सामना गर्नुपर्‍यो। एकातिर पानीको अभाव र अर्कोतिर अर्बौँको संख्यामा रहेका भोका सलहका बथानहरूले देशभरका खेतबारीका बालीनाली रातारात सखाप पारे। यसरी प्रकृतिको सन्तुलन बिग्रँदा कृषि उत्पादन ठप्प भयो।

बालीनाली नष्ट भएपछि सन् १९५९ देखि १९६१ सम्म चीनमा इतिहासकै सबैभन्दा विनाशकारी अनिकाल पर्‍यो। चिनियाँ सरकारले आधिकारिक रूपमा १ करोड ५० लाख मानिस मरेको दाबी गरे पनि चिनियाँ पत्रकार याङ जिसेङको पुस्तक 'टम्बस्टोन' र अन्य स्वतन्त्र अनुसन्धानकर्ताहरूका अनुसार यस अनिकालमा ३ करोड ६० लाख देखि ४ करोड ५० लाख मानिसको ज्यान गएको थियो।

 

यो भोकमरी यति भयानक थियो कि मानिसहरूले बाँच्नका लागि रुखका बोक्रा, माटो र एकअर्काको हत्या गरेर मान्छेकै मासु खाएका हजारौँ घटनाहरू दस्ताबेजमा रेकर्ड भएका छन्।

 

विडम्बनाको कुरा, चीन सरकारसँग देशलाई खुवाउन पुग्ने अन्न भण्डार समेत सुरक्षित नभए पनि अन्तर्राष्ट्रिय प्रतिष्ठाका लागि खाद्यान्न निर्यात जारी राखियो र भोकमरीको यथार्थ लुकाउन प्रश्न उठाउनेहरूलाई जेल हालियो।

 

अन्ततः, सन् १९६० मा गल्ती महसुस गरी भँगेरालाई शत्रुको सूचीबाट हटाएर त्यसको ठाउँमा उडुसलाई राखियो र पारिस्थितिक सन्तुलन फर्काउन छिमेकी रुस (तत्कालीन सोभियत संघ) बाट हजारौँ भँगेराहरू आयात गरियो।

 

भँगेरा बिरुद्धको अभियान र चिनियाँ महा-अनिकालको इतिहासले संसारलाई सधैँ एउटै कुरा स्मरण गराउँछ— जब राजनीतिक विचारधाराले प्राकृतिक नियम र विज्ञानलाई कुल्चने प्रयास गर्छ, तब प्रकृतिले सधैँ जटिल र विनाशकारी परिणामहरू फर्काउने गर्दछ। 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप लेखहरु