आदिकवि भानुभक्त आचार्यको जन्ममितिको विवेचना

२९ आषाढ़, २०८३, सोमवार
सारांश
  • तनहुँ पुगेर अथवा काठमाण्डौँमा नै पनि रमानाथसँग भेटेर आवश्यक सबै कुरा सोधपुछ गरेर जीवनचरित्र लेख्ने अवसर जुटेको भए मोतीरामद्वारा लेखिएको जीवनचरित्रको स्वरूप धेरै नै पृथक् हुन्थ्यो होला। भानुभक्तका जीवनका घटनाका वर्णनहरू पनि यथार्थको निकै नजिक पुग्थे होलान्।

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य (१८७१–१९२५) ले आफ्ना कृतिद्वारा नेपालको भाषिक एकीकरणमा अतुलनीय योगदान दिएकाले उनलाई राष्ट्रिय विभूतिको स्थान दिइएको छ। सर्वप्रथम भानुभक्तको जीवनचरित्र लेख्ने मोतीराम भट्ट (१९२३–१९५३) स्वयं कवि थिए। उनले भानुभक्त आचार्यको कविताको महत्त्व र वैशिष्ट्य बुझेर भानुभक्तका कविता पाएसम्म छपाउनुका साथै भानुभक्तको जीवनचरित्र पनि लेखेका थिए। 


मोतीराम भट्ट भानुभक्तका जीवनीका तथ्यहरू खोज्न तनहुँ जान चाहेका थिए भन्ने उल्लेख पाइँदैन। उनी भानुजन्मस्थल पुगेर खोजी गरेर जीवनी लेख्ने स्थितिमा रहेनछन्। उनले काठमाण्डौँमा नै भानुभक्तसँग परिचित व्यक्तिहरूसँग सोधपुछ गर्दा जति पाइयो त्यही सामग्रीबाट भानुभक्तको जीवनचरित्र तयार गरेछन्। 


मोतीरामले भानुभक्तसम्बन्धी विविध सूचना र जानकारीहरू भानुभक्तका काञ्छाबाबु इन्द्रविलासका नाति रामदत्तबाट प्राप्त गरेका रहेछन्। कतिपय जानकारी चाहिँ काठमाडौँ निवासी पालपाका सु. धर्मदत्त ज्ञवालीबाट पाएका रहेछन्। मोतीरामको भानुभक्तका पुत्र रमानाथ आचार्यसँग भेट चाहिँ जीवनचरित्र लेखेर छपाइसकेपछि मात्र भएको रहेछ (कविवर मोतीराम भट्टको जीवनचरित्र, नरदेवशर्मा पाण्डे, १९९५, पृ.८०-८१)। मोतीरामका स्रोतव्यक्ति रामदत्तको जन्म वि.सं. १९१५ भदौमा भएकाले (आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र, तृ.सं. २०८२, पृ.२५४) उमेर कमै हुनाले उनलाई पनि प्रत्यक्ष रूपमा भानुभक्तसम्बन्धी पर्याप्त जानकारी मिल्ने अवसर प्राप्त नभएको बुझिन्छ ।

 

भानुभक्तको जीवनचरित्र लेख्ता मोतीरामले एउटा महत्त्वपूर्ण सिद्धान्त लिएर काम गरेका रहेछन्। उनले भानु-भक्तका जीवनका घटनासँग सम्बद्ध पद्यहरू पाएसम्म सङ्कलन गरेर तिनलाई नै आधार मानेर जीवन¬चरित्र लेख्ने विचार गरेको देखिन्छ। यो महत्त्वपूर्ण कुरा हो। यसो गर्दा पनि धेरै घटनासँग सम्बद्ध पद्य त पाइने तर घटनाविवरण नपाइने स्थिति पनि भएछ। नपाइएका अथवा थोरै मात्रामा मात्र पाइएका घटनाविवरण पूर्ण गर्न मोतीरामले कल्पनाको पनि सहारा लिएछन्। भानुभक्तकै फुटकर पद्यले भानुका जीवनका कैयौँ घटनालाई सुरक्षित रूपमा राखिदिएकाले तिनका आधारमा मोतीरामले जीवनचरित्र लेख्ने विचार गरेछन्। यसरी मोतीरामले भानुभक्तीय फुटकर पद्यमा नै जीवनचरित्र लेख्ने आधार पाए र लेख्ने आँट पनि गर्न सके भन्ने देखिन्छ। यो कुरा महत्त्वपूर्ण छ। तर यस तथ्यमा विचारकहरूको ध्यान गएको पाइएन।

 

तनहुँ पुगेर अथवा काठमाण्डौँमा नै पनि रमानाथसँग भेटेर आवश्यक सबै कुरा सोधपुछ गरेर जीवनचरित्र लेख्ने अवसर जुटेको भए मोतीरामद्वारा लेखिएको जीवनचरित्रको स्वरूप धेरै नै पृथक् हुन्थ्यो होला। भानुभक्तका जीवनका  घटनाका वर्णनहरू पनि यथार्थको निकै नजिक पुग्थे होलान्। कारणवश रमानाथसँग जीवनचरित्र नलेख्दै भेट भएनछ। त्यसैले रमानाथबाट मोतीरामले भानुभक्तका जीवनका घटना¬हरूका सम्बन्धमा बुझ्न पाएनछन्। यस्तै कारणहरूले मोतीरामको जीवनीमा भानुभक्तको जन्मसंवत्‌मा नै पनि अन्तर पर्न गएको रहेछ।

 

भानुभक्तको जन्ममिति विक्रमसंवत्‌मा
मोतीराम भट्टले भानुभक्त आचार्यको जन्ममिति दिएका छैनन्, जन्मवर्ष मात्र लेखेका छन्। उनी लेख्छन्- “ई धनञ्जय आचार्य जी का एक अपूर्व रत्न जस्ता छोरा जन्मे। .... इन्को जन्म वर्ष विक्रमीय सम्बत् १८६९ हो।” (कवि भानुभक्ताचार्य को जीवनचरित्र, मोतीराम भट्ट, वि.सं. १९४८, पृ.८)।

 

यो लेखाइ अनुमानका आधारमा आएको हो भन्ने कुरा महिना, पक्ष र तिथि अथवा महिना र गतेको उल्लेख गर्न नसकेकाबाट स्पष्टै बुझ्न सकिने कुरा छ। तर यस विषयमा कलम चलाउनेहरूले यस कुराको आकलन गर्न नसकेको पाइएको छ। यस विषयमा मोतीरामको स्रोत पक्का होला वा पक्का हो भनेर पनि कसैकसैले भनेको पाइनुले  उनीहरूको अबुझपना स्पष्ट पारेको छ। मोतीरामलाई यथार्थ जन्मवर्ष, महिना, पक्ष र तिथि (तथा गते) रामदत्तले भन्न नसकेको कुराको प्रमाण मोतीरामकै लेखाइ हो भन्ने यस लेखकको ठम्याइ छ। रामदत्तले भन्न नसकेकाले मोतीरामलाई थाहा हुन सकेन। धर्मदत्त ज्ञवालीसँग चाहिँ जन्मदिन सोध्न मोतीरामले नै मेसो पाएनछन् अथवा मोतीरामले सोधे पनि ज्ञवालीलाई कण्ठ नभएकाले भन्न सकेनछन् भन्ने देखिन्छ। घरमा नै रहेको भएपनि जन्मकुण्डलीसम्बद्ध कविता भएको कागजको चाहिँ त्यतिखेर धर्मदत्त ज्ञवालीलाई सम्झना नै भएनछ अथवा सम्झना भएर खोजे पनि घरमा कतै थन्किएकाले त्यतिखेर पाइएनछ भन्ने देखिन्छ। यीमध्ये एउटा कुरा भएको हुनुपर्छ। तर यतातिर भानुभक्तको जन्मवर्षमा विचार गर्नेहरूले ध्यान दिन सकेको पाइँदैन। मोतीरामले (अथवा रामदत्तले) भनेका आनुमानिक वर्षले पनि वास्तविकतासँग सामीप्य भने राखेको छ। मोतीरामले सम्भावित वर्ष जुन लेखे त्यससँग वास्तविक जन्ममितिको सबा वर्ष मात्र फरक परेको मान्न सकिन्छ (१८६९ अन्ततिरबाट गणना गर्ने हो भने वास्तविक जन्ममिति १८७१ असार २९ सम्म सबा एक वर्षको मात्र अन्तर रहन्छ)। यसबाट मोतीरामको प्रयास निकै नजिक पुगेको भन्ने देखिन्छ। यो पनि महत्त्वपूर्ण कुरा हो। यसरी मोतीरामको प्रयासको उचित मूल्याङ्कन गर्न तटस्थ विचारकले सक्छन्।

भानुभक्तका जन्मकुण्डलीसम्बद्ध पद्य
धर्मदत्त ज्ञवालीका नाति रङ्गनाथशर्माले आफ्ना घरमा पाएर भानुभक्तको जन्मकुण्डलीको पद्य भानुभक्तकी नातिनी रमानाथकी छोरी विष्णुमाया [अधिकारी] (वि.सं.१९३८–२०२८) लाई उपलब्ध गराएछन्। उनैद्वारा यी पद्य सर्वप्रथम भानुभक्तमणिमाला पुस्तकमा (वि.सं. १९९८)  छापिएका थिए। यसरी रङ्गनाथ र विष्णुमायाका कारण त्यो महत्त्वपूर्ण पद्य प्रकाशित हुन सक्यो। रङ्गनाथले भानुभक्तको जन्मकुण्डलीका पद्य भनेर प्रकाशित गरेका पद्यहरू विविध पक्षबाट विचार गर्दा प्रामाणिक ठहर्छन्। यी पद्यमा कुनै शङ्का गर्ने ठाउँ देखिँदैन। समालोचक वासुदेव त्रिपाठीले ठानेजस्तो यो पद्य अभानुभक्तीय र अज्यौतिषीय शैलीको पनि देखिँदैन। विषयगत आवश्यकताले संस्कृतशब्द राखि-एको मात्र देखिन्छ। 

patro
पद्यहरू यस प्रकार छन्-
ति शालीवाहन्‌का समय षडत्रिंशत् (१७३६) भइकन 
अनी आषाढ् मास्‌को दिन पनि उनन्तिस् गइकन ।
घटी एक्‌तिस्‌माँहाँ विघटि पनि बत्तिस् परिकन
नवांशक् कण्ठीरव् धनुष परि जो बेस लगन।।१।।
मिथुन्‌मा सूर्यै छन् जिवनिलय मीन्‌का विधु अनी
महीसुत् बुध् राहू शशिसदनका ई तिन पनी ।
गुरू भाग्यस्थान्‌का रविभवनमा गैकन बस्या
भृगूजी ता आफ्नै सदन वृषमा गैकन पस्या।।२।।
मकर्‌मा सौरी छन् ध्वजसहितका स्वग्ग्रिहि याँहाँ
बतायाका क्रम्‌ले ग्रहहरु बस्या कुण्डलिमाँहाँ।।३।।
यहाँ  छत्तिस भन्न षडत्रिंशत् भनिएको छ। विघटि= पला, कण्ठीरव्= सिंह, जिव¬निलय= बृहस्पतिको घर (धनु र मीन राशि), विधु= चन्द्रमा, महीसुत्= मङ्गल, शशिसदन= चन्द्रमाको घर (कर्कट राशि), भाग्यस्थान= नवौँ स्थान, रविभवन= सूर्यको घर (सिंह राशि), भृगुजी= शुक्र, सौरि= शनि, ध्वज= केतु, स्वग्ग्रिहि= आफ्नै घरमा बसेका जस्ता शब्दार्थ नबुझी कविता बुझिँदैन। यहाँ कवि संस्कृतमा षट्त्रिंशत् भन्न पर्नेमा वृत्त (छन्द) मिलाउन एक अक्षर बढाएर षडत्रिंशत् भन्न पनि कत्ति पनि हिचकिचाएका छैनन्। यो भानुभक्तकै विशेषता हो। आवश्यकताअनुसार नेपाली र संस्कृत शब्दलाई मिलाएर राख्नुका साथै वृत्तका अनुरोधले संस्कृत-शब्दलाई पनि नेपालीकरण समेत गरेर जटिल विषयलाई पनि सरल रूपमा पद्यमय शैलीमा भन्न सक्ने योग्यता सहज कवि भानुभक्तमा नै देखिन्छ। यस्ता कविता लेख्ने शैली भएको व्यक्ति त्यतिखेर अरू कोही पनि भएको देखिँदैन।

 

त्यस पद्यमा बताइएको तिथि-मिति पनि परीक्षणबाट सही ठहर्छ। माथिका पद्यमा १७३६ शाके (वि.सं. १८७१) असार महिनाको २९ गतेका दिन भानुभक्तको जन्म ३१ घडी ३२ पला जाँदा भएको भनिएको छ। त्यस दिन अमान्त मानले श्रावण कृष्‍ण अष्टमी र पूर्णिमान्त मानले आषाढ कृष्‍ण अष्टमी परेको थियो। तनहुँ चुँदीमा त्यस दिन सूर्योदय ५ बजेर १७ मिनेटमा भएको बुझिन्छ। अतः त्यस दिन ३१ घडी ३२ पला जाँदा अपराह्णको ५:३० बजेको हुन्छ। यो अहिले प्रचलित सरकारी समयअनुसारको समय हो। नेपालको सरकारले २०४२ वैशाख १ गते प्रचलित विश्वसमय (ग्रीन्‌व़िच्‌को समय) सँग ५ घण्टा ४० मिनेट मानिइ¬आएको अन्तरलाई फेरेर ५ घण्टा ४५ मिनेट अन्तर हुने बनाएको थियो । यसरी नेपाली समयलाई ५ मिनेट छिटो बनाउने गरी परिवर्तन गर्नुभन्दा अगाडिको नेपालको प्रचलित समयअनुसार चाहिँ सूर्योदयको र जन्मको बजेमा यहाँ दिइएको समय भन्दा ५ मिनेट पछिको समय (बजे) पर्न आउँछ। भानुभक्तको जन्म भएका समयमा रेवती नक्षत्रको चौथो पाउ प्रारम्भ भैसक्ने हुँदा अवकहडचक्रको ‘देदोचाचि रेवती’ अनुसारको नाम ‘चि’ अक्षरबाट उठ्छ। परम्परामा भानुभक्तको चि अक्षरबाट उठेकै चिनाको नाम चिरञ्जीवी प्रयोग भइआएको बुझिन्छ। भानुका वंशज रमानाथ, दुर्गाभक्त इत्यादिले पहिलेदेखि नै प्रयोग गर्दै आइरहेको नामको अक्षरसँग धर्मदत्त ज्ञवालीका नातिले घरमा भेटेर दिएको चिनाको श्लोकले भनेको वर्ष, महिना पक्ष, तिथि र नक्षत्र अनुसारको नक्षत्रनामाक्षर मिलेको पाइनु भानुको जन्ममिति त्यही भएको कुराको प्रबल प्रमाण हो। रङ्गनाथले झुक्किएर रेवतीको पहिलो पाउ ठानी नक्षत्रनाम देवीभक्त भन्न पुगेका भए पनि नक्षत्र र नक्षत्रनामका विषयमा जान्ने मानिसले सो वर्षको पात्रो हेरेमा श्लोकले भनेका दिन र समयमा जन्मने व्यक्तिको नाउँ प्रचलित अवकहड-चक्र-अनुसार ‘चि’ बाट उठ्छ भन्ने कुरा स्पष्टसँग भन्न सक्तछ। राष्ट्रिय अभिलेखालयमा सङ्गृहीत १८७१को हस्तलिखित पात्रोमा अगिल्लो दिन असार २८ गते शनिवार ४२ घडी (राति ९:४२ बजे) देखि त्यस दिन २९ गते आइतवार ४१ घडी (राति ९:४१ बजे) सम्म (जम्मा ६० घडी / २४ घण्टा सम्म) रेवती नक्षत्रमा चन्द्रमा रहने कुरा उल्लिखित छ (हेर्नुहोस् सँगैको पात्रोको चित्र)। अतः असार २९ गते २७ घडी बितेपछि (३:४२ बजे) रेवती नक्षत्रको चौथो पाउ प्रारम्भ हुन्छ। भानुभक्तको जन्म ३१ घडी ३२ पला जाँदा (५:३० बजे) भएकाले त्यतिखेर पात्रोको गणनाअनुसार रेवती नक्षत्रको चौथो पाउ मानिएको कुरा स्पष्ट हुन्छ। नक्षत्र र नक्षत्रनामको कुरा बुझेपछि यो कुरा स्पष्ट हुन्छ। रेवती नक्षत्रका देवता पूषा भएकाले वैदिक-नक्षत्र¬देवता¬अनुसारको नाउँ चाहिँ पूषदत्त, पूषजुष्ट, पूषत्रात इत्यादिमध्ये कुनै हुन्छ (द्र.- वैदिक तिथिपत्र २०८३-२०८७, स्वाद्ध्यायशाला, पृ. ९६-९८)। वैदिक कालगणनामा यो भानुजन्ममिति कलिसंवत् ४८७९ (युधिष्ठिरसंवत् ४९१५) दक्षिणायन, वर्षा ऋतु, नभाः महिनाको कृष्‍णपक्षको अष्टमीमा पर्छ ।

 

आदिकवि भानुभक्तको जन्मकुण्डलीसम्बद्ध यस कवितालाई हेर्दा यो कविता केवल जन्म कहिले भएको र जन्मकुण्डलीमा ग्रहहरू कहाँकहाँ बसेका छन् भन्ने जिज्ञासाको मात्र समाधान गर्न बनाइएको देखिन्छ। चिनामा हुने सबै कुरा पद्यमा भन्न यी पद्य रचिएको देखिँदैन। त्यसैले यसमा कसको छोरा इत्यादि सामान्य चिनामा लेखिने गरेका अन्य कुरा नआएका हुन् भन्ने बुझिन आउँछ। अतः यी पद्यलाई अज्यौतिषीय भन्न पनि मिल्दैन। पद्यहरूमा बताइएका कुराले सच्चा जीवनचरित्रका लेखकले कविताको उत्पत्तिका सन्दर्भमा देखाउनुभएको विवरण (आदिकवि भानुभक्त आचार्यको सच्चा जीवचरित्र, पण्डित कविराज नरनाथ आचार्य, तृ.सं. २०८२, पृ.६६, ९४) नै प्रामाणिक भएको कुराको पनि पुष्टि हुन्छ। 

 

स्वतन्त्र रूपमा चिनाका कुरा पद्यमा भन्न पद्य बनाएको भए त चिनाका सबैजसा कुरा आउन पर्ने भन्न मिल्थ्यो। ती कुरा यी पद्यमा देखिँदैनन्। यिनमा मूलतः धर्मदत्त ज्ञवालीले सोधेका कुण्डलीमा कुन कुन भावमा कुन कुन ग्रह बसेका छन्? भन्ने प्रश्नको उत्तर दिँदा आवश्यक परेका कुरा मात्र भन्न खोजिएको हो भन्ने देखिन्छ। यस कुरालाई “बतायाका क्रम्‌ले ग्रहहरु बस्या कुण्डलिमाँहाँ” यस अन्तिम पाउको निष्कर्षात्मक भनाइले स्पष्ट गरेको छ भन्ने यस लेखकको विचार छ ।

 

क्रैस्ताब्द अनुसार भानुभक्तको जन्ममिति
विक्रमसंवत् अनुसारको यस भानुजन्म-मितिलाई क्रैस्त मितिमा परिवर्तन गर्दा सन् १८१४ जुलाई १० तारिख हुन्छ। तर धेरैले अन्यथा भनेको पाइन्छ। विकिपिडियामा पनि जुलाई १३ तारिख भनिएको पाइन्छ। त्यो कुरा त्रुटिपूर्ण छ। आजभोलि असार २९ गते जुलाई १३–१४ तारिखमा पर्छ तापनि त्यस वर्ष १८७१ असार २९ गते आइतवार ग्रेगोरियन पात्रो अनुसार सन् १८१४ जुलाई १० तारिख परेको थियो। यो कुरा भानुभक्तकृत भाषारामायणको लोकानुकूल सुलभ संस्करणमा प्रकाशित पनि छ (सम्पादक शिवराज आचार्य कौण्डिन्न्यायन, साङ्ग्रिला प्रकाशन, वि.सं.२०७३)।


यस्तो हुनमा कारण चाहिँ अयनचलन (Precession of the Equinoxes) र गणनाको भेद हो। नेपालमा प्रचलित सौर गणना सूर्यको नक्षत्रमा प्रवेश हुने समयमा आधारित नाक्षत्र (निरयण) वर्ष (Sidereal Year) का आधारमा चलेको छ भने ग्रेगोरियन क्यालेण्डर ऋतुअनुसार गनिने आर्तव (सायन) वर्ष (Tropical Year) अनुसार चलेको छ। नाक्षत्र वर्ष (निरयण वर्ष) ३६५ दिन ६ घण्टा ९ मिनेट १० सेकेण्ड जतिको छ भने आर्तव (सायन) वर्ष ३६५ दिन ५ घण्टा ४८ मिनेट ४५ सेकेण्ड जतिको छ। अतः ती दुईमा प्रतिवर्ष २० मिनेट २५ सेकेण्ड जतिको अन्तर पर्छ। अहिले नेपाल-भारतमा चलेका पुरानो पद्धतिका पात्रोमा सूर्यसिद्धान्त इत्यादिको अनुसरण गरी नाक्षत्र वर्षको मान वास्तविकभन्दा अलिकति बढी (३ मिनेट २५ सेकेण्ड जति बढी) लिने गरिएकाले नाक्षत्र वर्ष र आर्तव वर्षमा प्रतिवर्ष २४ मिनेटको (१ घडीको) फरक पर्छ। त्यस गणितअनुसार ६० वर्षमा नै १ दिनको अन्तर परेको देखिन आउँछ। अतः वास्तवमा ७० वर्षजति पुग्दा १ दिनको अन्तर पर्ने भएपनि अहिले प्रचलित पात्रोमा ६० वर्षमा नै एक दिनको अन्तर देखिन आउने भएको छ। यसरी २०० वर्षमा ३ दिन जतिको फरक आउँछ। अतः भानुभक्त जन्मिँदा जुलाई १० तारि-खमा परेको असार २९ गते आजभोलि जुलाई १३ तारिखमा पर्ने गरेको हो र कुनै वर्ष जुलाई १४ तारिखमा पनि पर्छ। केही वर्षपछि असार २९ गते जुलाई १५ मा पनि पर्ने हुन थाल्छ। समय बित्दै जाँदा  जुलाई १६,  जुलाई १७ इत्यादि पछाडि पछाडिका तारिखमा पुग्दै जान्छ। नाक्षत्र (निरयण) सौर वर्षको र आर्तव (सायन) सौर वर्षको अन्तरले गर्दा यसो हुने गरेको हो।  

 

पुरानो जुलियन क्यालेण्डरलाई वास्तविक आर्तव सौर वर्षको मान (लम्बाइ) भन्दा अलिकति बढी (११ मिनेट १५ सेकेण्ड जति बढी) मान लिएर गणना गर्ने गरिएकाले त्यसवेलासम्म १० दिन बढी हुन गएको भनी ग्रेगोरीले सुधार गर्दा ४ अक्टोबर सन् १५८२ बिहीवारको भोलिपल्ट एकैचोटि १५ अक्टोबर सन् १५८२ शुक्रवार मानिएको थियो (अर्थात् वि.सं. १६३९ कात्तिक ४ गते बिहीवार अक्टोबर ४ तारिख र कात्तिक ५ गते शुक्रवार अक्टोबर १५ तारिख मानिएको थियो)। बिचका १० तारिखहरू हटाइएका थिए। साथै आर्तव वर्षको मान केही कम भएकाले अधिकवर्ष (Leap Year) मान्ने पद्धतिमा केही परिवर्तन गरी जुलियन क्यालेण्डरमा ४०० वर्षमा १०० अधिकवर्ष मान्ने गरेकोभन्दा कम ४०० वर्षमा ९७ मात्र अधिकवर्ष मान्ने नियम निकालिएको थियो। त्यसपछि यसलाई ग्रेगोरियन क्यालेण्डर भन्न थालियो। यसरी जुलियन क्यालेण्डर¬भन्दा ग्रेगोरियन क्यालेण्डर प्रारम्भमा १० दिनले अगाडि थियो भने अधिकवर्षको भिन्नताले पछिपछि अन्तरदिन बढ्दै गयो। विभिन्न देशहरूले तत्कालै पुरानो जुलियन क्यालेण्डर छाडेर नयाँ ग्रेगोरियन क्यालेण्डर चलाउन नचाहेको बताइञ्‍छ। नयाँ क्यालेण्डरलाई स्पेन, फ्रान्स, इटाली, पोल्याण्‍ड इत्यादि केही देशहरूले त्यसै वर्ष स्वीकार गरेका थिए भने सन् १७०० मा डेनमार्क, १७५२ मा ब्रिटेन, १८७५ मा इजिप्ट, १९१२ मा अल्बानिया, १९२३ मा ग्रीस, १९२६ मा टर्की र सन् २०१६ मा साउदी अरेबियाले स्वीकार गरेका थिए। १० दिन हटाएर सुधार नगरिएको पुरानो जुलियन पात्रोअनुसार भने भानुभक्तको जन्ममिति सन् १८१४ को जून २८ तारिखमा पर्छ।

 

उपसंहार
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्म १८७१ असार २९ गते आइतवार कृष्णपक्ष अष्टमीका दिन भएको कुरा प्रामाणिक ठहर्छ। त्यस दिन उनको जन्म ३१ घडी ३२ पला जाँदा (५:३० बजे) भएको कुरा भानुभक्तकै कवितामा आएको छ। त्यस वेलाको पात्रोको गणनाअनुसार त्यस समयमा रेवती नक्षत्रको चौथो पाउ मानिएको कुरा स्पष्ट हुन्छ। ग्रेगोरियन पात्रोअनुसार चाहिँ भानुभक्तको जन्ममिति सन् १८१४ को जुलाई १० तारिख हो। 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप लेखहरु