नेपाल अङ्ग्रेजको निगाहले बाँचेको होइन, आफ्नै सामर्थ्यले टिकेको हो
२०८२ पुष १७ विहीवार
- बजार अनुगमनमा पनि उत्तिकै बलियो थियो। पशुपति र अन्य अभिलेखहरूमा उल्लेख भएअनुसार, हरेक ६–६ महिनामा व्यापारीहरूको ढक–तराजु जाँच गरिन्थ्यो ताकि उपभोक्ता ठगिन नपरोस्।
पछिल्लो समय नेपालको इतिहास, विशेषगरी नेपाल–अङ्ग्रेज युद्ध र त्यसपछिको भू-राजनीतिक अवस्थाबारे कतिपय भ्रामक धारणाहरू व्याप्त छन्। कतिपय विद्वानहरूले नेपाल अङ्ग्रेजको निगाहमा बाँचेको वा यहाँबाट कुनै आर्थिक लाभ नहुने देखेर अङ्ग्रेजले यो भूभाग छाडिदिएको तर्कहरू गर्ने गर्छन्। तर, ऐतिहासिक तथ्यहरूलाई केलाउँदा यस्तो सोचमा एक रति पनि सत्यता देखिँदैन। यो नितान्त ‘अराष्ट्रवादी’ चिन्तन हो।
अङ्ग्रेजले नेपाल कब्जा गर्न नचाहेको होइन, तर नेपालीहरूको बहादुरी र यहाँको भौगोलिक जटिलताले उनीहरूलाई रोकेको हो। यदि नेपाल आर्थिक रूपमा विपन्न र महत्वहीन हुँदो हो त कर्कप्याट्रिक र ह्यामिल्टन जस्ता मिसनहरू पठाएर यहाँको खनिज, बाटोघाटो, उब्जनी हुने फाँट र प्राकृतिक स्रोतसाधनको मिहिन अध्ययन किन गरिन्थ्यो? कर्कप्याट्रिकको किताब त वास्तवमा एक ‘जासुसी रिपोर्ट’ जस्तो छ, जसमा नेपालको हरहिसाब उतारिएको छ। उनीहरूले तराईको काठ ओसार्न र यहाँका स्रोतसाधन दोहन गर्नकै लागि रेलको लिग बिछ्याउने योजना समेत बनाएका थिए। त्यसैले नेपाल गरिब भएर जोगिएको हो भन्ने भाष्य गलत छ।
नेपालको प्राचीन र मध्यकालीन अर्थतन्त्रलाई अहिलेको आँखाले हेर्न मिल्दैन। त्यतिबेलाको नेपाल, विशेषतः काठमाडौँ उपत्यका र आसपासको क्षेत्र उत्तर–दक्षिण व्यापारको मुख्य ‘ट्रान्जिट’ थियो। तिब्बत र भारतबीचको व्यापार नेपालको बाटो हुँदै हुन्थ्यो। दक्षिण भारतका महाराजाहरूको भण्डारमा नेपालबाट निकासी भएका राडीपाखी, कस्तुरी, चमर र जडीबुटीहरू पुग्थे। लिच्छविकालदेखि नै रसुवागढी नाकामा भन्सार र चेकपोस्ट (गुल्म) हरूको व्यवस्था थियो। ‘सार्थवाह’ भनिने अन्तर्राष्ट्रिय व्यापारीहरूले ठूलो परिमाणमा व्यापार गर्थे। सिंह सार्थवाह र गुहमित्र सार्थवाह जस्ता व्यापारीहरूले कमाएको सम्पत्ति र उनीहरूले स्थापना गरेका मूर्ति तथा गुठीहरूका अभिलेखले त्यतिबेलाको व्यापारिक हैसियत प्रस्ट पार्छन्। रोचक त के छ भने तत्कालिन समयमा नेपालका राजाको निधारमा हिलो लाग्यो भने पनि त्यसलाई हिलो मानिदैन थियो, त्यो त कस्तुरीको बिना हो भनेर भारत तिर नेपालको समृद्धिको बारेमा कविताहरूमा उल्लेख गरिएको पाईएको छ। यसैबाट नेपालको समृद्धिको बारेमा थाहा हुन्छ। त्यो समय दक्षिण भारतमा घरमा पालिएका सुगाले पनि 'नेपालका चमर ल्याउ', 'कस्तुरीको बिना ल्याऊ' भनेर भन्छन भन्ने लोकोक्ति नै प्रचलित थियो।
नेपालले तिब्बतका लागि मुद्रा टक्सार गर्ने र चाँदीमा अन्य धातु मिसाएर (चास्नी) मुद्रा बनाई त्यसबाट लाभ लिने कौशलको विकास मल्लकालसम्म आइपुग्दा चरमोत्कर्षमा पुगेको थियो।
बजार अनुगमनमा पनि उत्तिकै बलियो थियो। पशुपति र अन्य अभिलेखहरूमा उल्लेख भएअनुसार, हरेक ६–६ महिनामा व्यापारीहरूको ढक–तराजु जाँच गरिन्थ्यो ताकि उपभोक्ता ठगिन नपरोस्।
राज्यले कर प्रणालीलाई पनि व्यवस्थित गरेको थियो। ‘द्रङ्ग’ भनिने व्यापारिक सहरहरू विकास भएका थिए। जस्तो लेले, साँखु, खोपासी, थानकोट जस्ता बस्तीहरू व्यापारिक मार्गका गुल्म र भन्सार केन्द्रका रूपमा क्रियाशील थिए। त्यतिबेलाको अर्थतन्त्रमा वस्तु विनिमय मात्र होइन, विकसित मौद्रिक प्रणाली पनि थियो। लिच्छविकालमै ‘पण’ र ‘पुराण’ (रुपैयाँ र पैसा) को व्यवस्था थियो र ती मुद्राहरूको विनिमय दर तोकिएको थियो। यसले तत्कालीन नेपालको अर्थतन्त्र निकै उन्नत र व्यवस्थित थियो भन्ने पुष्टि गर्छ।
कला र वास्तुकलाको क्षेत्रमा पनि राज्यको लगानी र प्रोत्साहन उच्च थियो। आज हामीले देख्ने उत्कृष्ट मूर्तिहरू र वास्तुकला त्यतिबेलाका कालिगढहरूको उच्च सम्मान र राज्यको संरक्षणविना सम्भव थिएन। राज्यले ठूला निर्माण कार्यमा जनतालाई सहभागी गराउँथ्यो। जस्तो कि, बुढानीलकण्ठको मूर्ति वा कैलाशकूट भवन बनाउनका लागि ठूला ढुङ्गाहरू ओसार्न खोपासी वा यङ्गालहिटीका बासिन्दाहरूलाई गुठी र कर छुटको सुविधा दिइएको अभिलेख पाइन्छ। अझ रोचक कुरा त, ढुङ्गा तान्ने काममा सघाएबापत गाउँलेहरूलाई राजा–महाराजाले लगाउने गहना (केयूर, नूपुर) लगाउन पाउने विशेषाधिकार दिइएको थियो।
नेपालको गुठी व्यवस्थालाई केवल धर्मसँग मात्र जोडेर हेर्नु अर्को भूल हुन्छ। यो त तत्कालीन समयको ‘सिभिल सोसाइटी’ अवधारणाको उत्कृष्ट नमूना थियो। मानिस मर्दा लास उठाउनेदेखि, पानी खुवाउने, बाटो बनाउने, कुलो मर्मत गर्ने र जात्रा चलाउने काम राज्यले नभई समुदाय आफैँले गुठीमार्फत गर्थ्यो। यो एक आत्मनिर्भर र सामाजिक सहकारी प्रणाली थियो, जसलाई आधुनिक युरो–केन्द्रित बुझाइले ओझेलमा पारेको छ।
अंशुवर्मा जस्ता शासकले जनतालाई ऋणदासबाट मुक्त गराउने लोककल्याणकारी काम गरेका थिए, जसले राज्य जनताप्रति उत्तरदायी थियो भन्ने देखाउँछ।
अन्त्यमा, नेपालको एकीकरण अभियानलाई ‘विस्तारवाद’ भन्नु ऐतिहासिक अन्याय हुन्छ। पृथ्वीनारायण शाहले गोर्खा राज्यको विस्तार मात्र गरेका थिएनन्, उनले त छरिएर रहेका स–साना राज्यहरूलाई एकीकरण गरी एउटा बलियो शक्ति निर्माण गरेका हुन्। उनले जितेका राज्यको सम्पत्ति लुटेर गोर्खा लगेनन्, बरु काठमाडौँलाई राजधानी बनाएर यहाँको संस्कृति, धर्म र परम्परालाई अंगीकार गरे। नेपालको इतिहास गरिबी र अभावको कथा होइन; यो सम्पन्नता, कौशल, आत्मनिर्भर अर्थतन्त्र र स्वाभिमानको गाथा हो। हामीले आफ्नो इतिहासलाई विदेशीको चस्माले नभई यहाँका शिलापत्र, अभिलेख र प्रमाणहरूको आधारमा बुझ्नु आवश्यक छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।