- जुद्धशमशेरले श्री ५ त्रिभुवनपट्टि फर्केर के कस्तो सजाय गर्ने सरकार भनि सोधे। श्री ५ त्रिभुवनले 'कंसिडर' गर्नुपर्छ भने। तर जुद्धशमशेरले कंसिडर गर्ने ठाउँ छैन ? कहाँ कंसिडर गर्ने ? कसरी कंसिडर गर्ने ? भनि रिसले त्यहीं घुम्न थाले।
शहिद भन्ने बित्तिकै हाम्रो दिमागमा राणा शासन बिरुद्ध शंघर्ष गरेर जीवन आहुति दिएका चार शहिदको स्मरण हुन्छ। माघ महिनाको कठ्याङ्ग्रिने चिसो मौसममा ३ चरणमा मृत्यु दण्ड दिईएको थियो।
राणा शासनको अन्त्य गर्नका लागि जंगबहादुरकै शासनकालदेखि छिटफुट गतिबिधि नभएको होइन। त्यस कालखण्डमा सत्ता राणाहरूको हातबाट आफ्नो हातमा फर्काउन राजाहरूले समेत बलबुताले भ्याएसम्म प्रयास गरेको देखिन्छ। तर राणा प्रधानमन्त्री जुद्ध शमशेरको पालामा आईपुग्दा भारतमा उग्र बन्दै गईरहेको ब्रिटिस उपनिवेश बिरुद्धको आन्दोलनले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई प्रत्यक्ष प्रभाव पारिरहेको थियो।
भारतमा अध्ययन तथा विभिन्न पेशामा संलग्न रहेका प्रवासी नेपालीहरूले नेपालमा प्रजातन्त्र स्थापना गर्ने सपना देखिरहेका थिए। राणाहरूको दवादवामा आफ्नो राजपाठको भूमिका खोज्नुपर्ने अवस्थामा पुगेका राजा त्रिभुवन प्रजातन्त्र प्रति आकर्षित हुन पुगे।
राणा शासन उन्मुलन गरी देशमा प्रजातन्त्र स्थापना गर्न स्वयम् राजा त्रिभुवन नेपाल प्रजापरिषदको सदस्य बनेका थिए। राजा त्रिभुवन प्रजापरिषदको सदस्य कुनै मामुली तवरले भएका थिएनन, रगतले हस्ताक्षर गरी अंग्रेजीमा 'टेक मि कंसिडर एज अ मेम्बेर अफ प्रजापरिषद' लेखेर सदस्य भएका थिए।
बिस्तारै राजा त्रिभुवन र प्रजापरिषदका नेताहरू बिचको साठगाठको भेद खुल्दै गयो। राणाहरूले एक पछि अर्को प्रमाणहरू फेला पार्दै गए। केहि नेताहरूले डर र प्रभावमा यसको भेद खोल्न पुगे।
त्यतिबेला संगठन गर्नु, मानिसहरू भेला भएर राजनैतिक छलफल गर्न समेत बर्जित थियो। यस्ता क्रियाकलाप गैरकानुनी मानिन्थ्यो । राणाहरूको दमनमा पिल्सिएका राजा त्रिभुवनले आफ्नो जिम मास्टर धर्मभक्त माथेमा मार्फत प्रजापरिषदसँग सम्पर्क बढाएका थिए। अन्त्यमा तिनै धर्मभक्त माथेमाले राजा पनि आफ्नो दलको सदस्य भएको पोल खोलिदिए । उनले राजालाई मुछेपछी राणाहरू यस घटनामा नरम हुन सक्लान भन्ने आंकलन गरेका हुन सक्छन ।
राजा युवाहरूलाई भडकाउन लागिपरेको बुझेपछि राणा सरकारले उनि प्रति हदैसम्मको कारबाहिहरू अगाडि बढाउने प्रयास गरेको देखिन्छ। राजा त्रिभुवनलाई दुई पटक राणा सरकारको अदालत र जाचबुझ समितिमा पेश गरिएको थियो। केवल राजा त्रिभुवनलाई मात्रै होइन, उनका छोराहरू र अधिराजकुमारहरुलाई समेत अपमानजनक तवरले उपस्थित गराईएको थियो। विस १९९७ माघ २८ गतेको पहिलो अदालती उपस्थिति गराउदा कतिसम्म गरिएको थियो भने श्री ५ त्रिभुवन, माहिला र कान्छा अधिराजकुमारहरूलाई होचो स्थानमा राखी युवराजधिराज महेन्द्रलाई उनीहरूको ठिक माथि उच्चासनमा राखेर श्री ५ त्रिभुवनलाई बयान लिईएको थियो।
धर्मभक्त माथेमाबाट नेपाल प्रजापरिषद र श्री ५ त्रिभुवन बिचको सम्बन्ध बारे कुरा खुले पनि प्रष्ट प्रमाण थिएन। तर जब राजा त्रिभुवनले रगतले हस्ताक्षर गरिएको पत्र फेला पारे तव राणाहरूले पुन: दोश्रो पटक अदालत (पुतली बगैंचा)मा राजालाई बयानका लागि उपस्थित गराईयो ।
त्यस घटनाका सम्बन्धमा गणेशमान सिंह भन्छन "हामीहरू सबैलाई बाहिर उभ्याएका थिए। भित्र को को थिए देखिदैनथ्यो। एकै छिनपछि श्री ५ त्रिभुवनले "यो दिनदिनै गरिबका छोराहरूलाई किन दुख दिईरहेको ? यदि तिमीहरूलाई मैले नै गरेको हुन् भन्ने लाग्छ भने मलाई नै सजाय गर। उनीहरूलाई किन सजाय दिन्छौं, भनेर खुब जागेको हामीले सुन्यौं।"
राजा त्रिभुवन र प्रजापरिषद बिचको सम्बन्ध प्रष्टिएपछि जाचबुझ समितिले राजदरबारको खानतलासी गर्ने निर्णय गर्यो । तलासीको क्रममा अनेकौं वंश परम्परादेखि रहेको बहुमुल्य जवाहरातहरू प्रधानमन्त्री जुद्धशमशेर र उनका नाति नरशमशेरले हात पारे। त्यसपछि राणा सरकारले राजालाई दरबारमै नजरबन्द गर्र्यो।
राजा यसरी प्रजातान्त्रिक नेताहरू र राजनैतिक समुहसँग आबद्ध भएको कुराले राणाहरू क्रुद्ध बनेका थिए। चन्द्रशमशेरका छोराहरूले उनलाई राजगद्धिबाट हटाई गोरखा धपाउनेतर्फ़ विचार गर्न थालेका थिए । यसका लागि एकपल्टन सैनिक पठाई गोरखा दरबार सफा सुग्घरसमर गर्न लगाईएको थियो । यसमा चन्द्रशमशेरका छोरा केशरशमशेरले बिरोध गरेपछी यो योजना सफल हुन सकेन। तर बबरशमशेर श्री ५ त्रिभुवनलाई पनि विशेष अदालतद्वारा कडा सजाय सुनाउने प्रयासमा लागे।
उनको भनाईमा "गरिबका छोराहरूलाई मात्र सजाय दिने होइन । श्री ५ बाट पनि उचित सजाय पाउनुपर्छ" भन्ने थियो। तर प्रधानमन्त्री जुद्धशमशेर भने अङ्ग्रेजहरूको सहयोग नपाउने स्थिति देखि श्री ५ लाई कडा नीति अपनाउने र सजाय दिने पक्षमा थिएनन । श्री ५ त्रिभुवन र अधिराजकुमारहरू उपर राणा सरकारले जुन कठोर निर्णय गर्न खोजेका थिए त्यसबाट छुटकारा त भयो तर उनीहरूलाई सजाय दिन भने छोडेनन। राजदरवार नै जेल सरह थियो ।
जाचबुझ समिति र विशेष अदालतबाट टंकप्रसाद आचार्य, दशरथ छन्द, धर्मभक्त माथेमा, रामहरि शर्मा, गंगालाल श्रेष्ठ, चन्द्रमान सैंजू, गोबिन्द उपाध्याय, चुडाप्रसाद उपाध्याय, गणेशमान सिंह, पुष्करनाथ उप्रेदी, बलबहादुर पाण्डे, हरिकृष्ण श्रेष्ठ र मुकुन्दप्रसाद रिमाललाई मुख्य रूपमा दोषी सावित गरियो। तर सजाय कस्तो दिने भन्ने सम्बन्धमा चन्द्रशमशेरका छोराहरू, जुद्धशमशेर र उनका छोराहरूका बिच मतैक्य हुन सकेन।
प्रजापरिषदका सदस्यहरूमा ब्राम्हण जातिलाई पहिले जातिच्युत गर्ने र पछि उनीहरू लगायत सबैलाई मार्ने विचार चन्द्रशमशेरका छोराहरूको थियो । यदि यसो गर्न नसकिएमा सबैलाई विषाक्त खानेकुरा खुवाई उनिहारूलई मार्ने योजना बनाएका थिए। प्रधानमन्त्री जुद्धशमशेरले पनि आफ्ना विचारले सजाय तोक्न सकेनन। तर उनलाई चन्द्रशमशेरका छोराहरूको दवाव थियो। यसकारण चन्द्रशमशेरका छोराहरूको सबैलाई मार्ने विचार
विपरित जुद्धशमशेरले ४ जना सदस्यहरूलाई मात्रै हत्या गर्ने विचार गरे।
यस सम्बन्धमा उनले अन्तराष्ट्रिय जगतमा त्यस्ता अपराधिहरूलाई गरिने सजाय र त्यसको प्रतिकुल असरबारे बुझ्ने विचार गरे। तर त्यतिखेर अंग्रेज राजदुत नेपालमा नभएकोले उनीसँग टेलिफोनमा कुरा गर्न प्रधानमन्त्रिका हजुरिया जनरल बहादुरशमशेर बिरगंजको मुरली दरबारमा गएर बस्ने र त्यहींबाट कुरा गर्ने निर्णय भयो।
यस समन्धमा केशवराज पिडालि लेख्छन - "मंसिरको अन्त्यतिरको कुरा हो। हजुरिया जनरल बहादुरशमशेराका खरदार मोहन दासले हजुरिया जनरलका लागि मुरली दरबारमा बेग्लै टेलिफोनको लाईन राख्ने आदेश दिए। मैले त्यो कार्य समयमा पुरा गरे। २ दिनपछि बहादुरशमशेर मुरली दरबारमा आएर बसे। उनले मलाई बोलाएर भने '२-३ दिनपछि हाम्रो ब्रिटिश राजदुतका बिचमा कुराकानी हुने भएको छ। मोतिहारिबाट तिम्रो कार्यालयमा ५ घन्टी आएपछि तिमीले मुरली दरबारमा कनेक्सन मिलाईदिनु र रिसिभर राख्नु। हाम्रो बिचको कुरा नसुन्नु र यस बिषयमा चर्चा पनि कसैसित नगर्नु' भनि हिडे।"
निश्चित दिन र समयमा घण्टि बज्यो। आवाजले हजुरिया जनरल कहाँ कनेक्सन दिन भन्यो, दिए र टेलिफोन राखे। मन मानेन र दराजबाट यताका आवाज चाहिं नजाने तर उताको आवाज सुन्ने यन्त्र झिंके र जोडी सुन्न थाले। बहादुरशमशेर ब्रिटिस राजदुतसँग भनिरहेका थिए "शुक्रराज शास्त्री, र धर्मभक्तलाई फासी दिने, दशरथ चन्द र गंगालाललाई गोलि ठोक्ने र अरुलाई कैद गर्ने र सबैको सर्वस्व हरण गर्ने।"
"यसमा ब्रिटिश राजदुतले यस रक्तपतबाट हुने सम्भावित परिणामले राणाहरूलाई कुनै खतरा छैन भने नेपाल सरकारको यस तजबिजमा ब्रिटिश सरकारको कुनै असहमति नभएको कुरा बताए। " हजुरिया जनरलले यस काण्डबाट नेपाल सरकारलाई कुनै असर नपरी स्थिति नियन्त्रणमा आउने कुरा बताए। ब्रिटिश राजदुतले स्वीकृति दिए।"
यसरी ब्रिटिश राजदुतबाट स्वीकृति मिलेपछि रणासरकार मृत्युदण्डको सजाय सुनाउने तरखरमा लाग्यो। विस १९९७ माघ ६ गते (१९४१ जनावरी १६) का दिन बिहान १०-१ बजे नेपाल प्रजापरिषदका सबै सदस्यहरूलाई नेल सिक्री र हतकडिका साथ पार्शवर्ती सैनिकको घेरामा राखी सिंहदरबार फुटबल चौरलगियो। उनीहरूलाई पश्चिमापट्टि फर्काएर उभ्याईएको थियो। शुक्रराज शास्त्री सदर जेलमा भएकोले उनलाई पनि हतकडी, नेल र सिक्रीमा सिंहदरबार ल्याईयो।
केहि समयपछि श्री ५ त्रिभुवन, युवराजाधिराज र अधिराजकुमार हिमालय वीरबिक्रम पनि राणा सरकारले त्यहाँ उपस्थित गराए। उनीहरू त्यहाँ आउनासाथ नरशमशेरले श्री ५ त्रिभुवनको छातीमा पेस्तोल राखी बस्ने ठाउँतिर लागे। युवराजाधिराज श्री ५ महेन्द्रलाई बहादुर शमशेराले आफुतर्फ ताने। अधिराजकुमार हिमालय शमशेर त्रिभुवनको पछिपछि लागे। केहि पछि जुद्ध शमशेर पनि आईपुगे र राजालाई सलाम गरेजस्तो गरे। त्यस समय ईन्द्रबहादुर कार्कीले जुद्धशमशेरलई एउटा कागजको मुठ्ठा दिए। जुद्धशमशेरले "तपाईहरूलई किन बोलाएको थाहा छ ? हिन्दुस्थानको निज जातका सोसलिस्टहरूको ईसारामा हाम्रो गाथागाद्धि ताकिरहेका देशद्रोहीहरूलाई के कस्तो दण्ड दिनुपर्ला भनि राय लिन बोलाएको हुँ। भनि बोले। जुद्धशमशेरले त्रिभुवनार्फ़ हेरेर यिनीहरू को हुन थाहा छ ? यिनीहरू हाम्रो चिहान खन्न आएका रक्तपात मण्डली हुन। रक्तपात मण्डली भनेको के हो भने श्री ५ ले कुनै न कुनै बहाना बनाएर हामी सबैलाई बोलाएर यहुदिहरूलाई जस्तै एकै ठाउँमा राखेर करेन्ट पास गरेर खरानी पारे जस्तै पार्ने षडयन्त्र।"
यसरी जुद्धशमशेर बोलिरहेकै बेलामा शुक्रराज शास्त्रीले "एक्लै बोलिरहनु उचित भएन यति धेरै भाईभारदारहरूको बिचमा एकै बोलिरहन सुहाएन" भनि बिचमा कुरा काटे, त्यो सुन्नासाथ रिसाएर "तलाई नै मार्नुपर्छ" भनेपछि शुक्रराजले पनि "म मर्न तयार छु तर ईन्साफ चाहिन्छ, को देशद्रोही हो भन्ने कुरा हामीहरूलाई बताउने मौका दिनु पर्दछ। अनि यो सभामा उपस्थित भाईभरदारहरूले फैसला गरुन कि देशद्रोही हो हो ? शुक्रराज शास्त्रीको यस भनाइले जुद्धशमशेर रिसले चुर भई यता र उता गर्न थाले। सिपाहीहरूले पछाडिबाट चुप लाग, चुप लाग भनिरहेका थिए।
त्यसपछि जुद्धशमशेरले शुक्रराज शास्त्री र मुरली पण्डितद्वारा गरिएका अपराधबारे प्रष्ट पार्दै भाषण गरे। उनले शुक्रराज र मुरली पण्डितलाई आठ ओटा अपराध गरेको आरोप लगाएका थिए । शुक्रराजलाई 'महात्मा गान्धी, जवाहरलाल नेहरू सित भेट गरी नेपाल सम्बन्धि कल्पित कुरा गरी नेपालको बिरोधमा कार्य गरेको आरोप र बदना गराउन नेपाल सम्बन्धि भए नभएका कुराहरू 'जनता' पत्रिकामा प्रकाशित गरेको आरोप पनि लगाईएको थियो।
त्यसपछि अभियुक्तहरूलाई के कस्तो सजाय दिने भनेर राय सल्लाह लिन थालियो। त्यहाँ उपस्थित भारदारहरू मध्ये माहिला गुरूज्यु हेमराज र पण्डित सोमनाथले मनुस्मृति र याज्ञवल्क्य स्मृतिमा उल्लेख गरिएको श्लोकहरूको आडमा राजद्रोहिहरूलाई चाहे त्यो ब्राम्हण नै किन नहोस्, मृत्युदण्ड दिन सकिन्छ भन्ने तर्कहरू पेस गरे। काजी रत्नामानले प्रशासनिक कार्यालयको तर्फबाट राजकाजसम्बन्धी ऐन ३६ न सुनाई उनीहरूलाई के कस्तो सजाय दिने हो प्राईममिनिस्टारको ताजबिजले नै गर्नु भनि उल्लेख भएको कुरा प्रष्ट गरे ।
सैनिकहरूको तर्फबाट क यज्ञविक्रम (धमला) ले भाचाखुसी बन्द भएकोले हेपेका हुन, सरकार तरबार बक्सियोस म आफै नै सबैलाई काटिदिन्छु भने।
प्रतापजंग मृत्युदण्ड हुनुपर्छ भनि उफ्रीउफ्री कराउन थाले। माहिला गुरूज्युले धर्मशास्त्रको आडमा अभियुक्तहरूलाई ज्यान सजाय दिनुपर्छ भने। त्यसप्रकार धर्मशास्त्रको आडमा अभियुक्तहरूलाई ज्यान दिनुपर्छ भन्ने माग गरेको सुनेर शुक्रराज शास्त्रीले पनि प्रजाहरूलाई शोषित दलिल पारी आफ्नो स्वार्थपूर्ति गर्न खोज्ने शासकलाई पनि धर्मशास्त्रमा सजाय तोकिएको छ, उदृत गर्न पाउँ भन्दा, जुद्धशमशेरले फेरी उनलाई जथाभावी गालीका अपशब्द बोलि 'यी सबको नाईके तै होस् भने। शुक्रराज शास्त्रीले त्यसरी प्रतिबाद गर्दा उनको पछाडि गएर सुर्यबहादुरले चुप लाग्न दवाब दिए।
त्यसपछि जुद्धशमशेरले श्री ५ त्रिभुवनपट्टि फर्केर के कस्तो सजाय गर्ने सरकार भनि सोधे। श्री ५ त्रिभुवनले 'कंसिडर' गर्नुपर्छ भने। तर जुद्धशमशेरले कंसिडर गर्ने ठाउँ छैन ? कहाँ कंसिडर गर्ने ? कसरी कंसिडर गर्ने ? भनि रिसले त्यहीं घुम्न थाले। श्री ५ त्रिभुवनले सजाय आधुनिक र उदार हुनुपर्छ भनि अझ अंग्रेजीमा 'पनिस्मेन्ट मोर्डनाईज' हुनुपर्छ भनि प्रष्ट गरे। तर श्री ५ त्रिभुवनद्वारा व्यक्त विचारप्रति त्यहाँ कोहि पनि आकर्षित थिएनन। सजायको प्रकृतिका बारेमा जुद्धशमशेरले त्यहाँ सोधेतापनी दिने सजायको निर्णय राणा भाईभतिजाहरूको बैठकले अगाडि नै गरिसकेको थियो। यो कुरा अंग्रेज राजदुतसँगको टेलिफोन वार्ताबाट पनि प्रष्ट हुन्छ।
अलि अबेर त्यहाँ उपस्थित भएका अधिराजकुमार बसुन्धरा बिरबिक्रम शाह रिसाई उफ्रेर 'के नाप्छस त गर' भनेर कराउन थाले। श्री ५ बसुन्धरा त्यसरी उफ्रेको र रिसाएको देखेर त्यहाँ उपस्थित गरिएको पार्शवदलका सैनिकहरू आपसमा कुरा गर्न थाले, किनभने उक्त पार्शवदलको क्याप्टेन पनि ठकुरी नै थिए। त्यसैले केहि हुनसक्ने सम्भावना देखि पार्शवदलका सैनिकहरू फलोअप गरेर नागार्जुन लिएर गए। त्यसपछि रामदलका सैनिकहरूलाई त्यहाँ ल्याई सबै अभियुक्तहरूलाई सैनिक स्कुलमा फिर्ता लगियो। श्री ५ त्रिभुवन आफ्ना अधिराजकुमार सहित त्यहाँबाट अप्रत्याशित ढंगले उठी राजदरबार तर्फ फर्के। युवराजाधिराज पछि पछि लागे।
राणासरकारले श्री ५ कै उपस्थितिमा सजाय सुनाउने विचार गरेको कुरा यस घटनाबाट प्रष्ट हुन्छ। तर त्यतिबेला अभियुक्तहरूलाई सजाय सुनाईएन।
तर जुद्धशमशेर सजाय सुनाउने बेला उपस्थित भएनन्। (कसै कसैले सोहि दिन माघ ६ गते र कसै कसैले ७ गते उल्लेख गरेका छन्)
सजाय सुनाउने बेलामा सिंहदरबार अगाडि पोखरीको छेउमै रहेको चौरमा जाँचबुझ समिति र विशेष अदालतका पदाधिकारीहरू बसेका थिए। काजी रत्नमानको हातमा सजाय तोकिएको कागजको मुठ्ठा थियो। पद्मशमशेरले आफ्नो हातले दुवै कान थुनी सजाय सुनाउने इशारा आँखाले गरे। तर रत्नमानले सजाय सुनाउने आँट भने गर्न सकेनन। किनभने त्यहाँ उपस्थित गराईएका अभियुक्तहरूमा उनकै नाति गणेशमान सिंह पनि थिए। राणा सरकारका कट्टर समर्थक र बफादार कर्मचारी भएता पनि वात्सल्यप्रेमले भित्र भित्रै विह्वल भएर नै उनले सजाय सुनाउने आँट नगरेको अनुमान गर्न सकिन्छ। उनले आलटाल गरेको देखी मोहनशमशेरले महेन्द्र बहादुर महतलाई सजाय सुनाउने आदेश दिए।
महेन्द्रबहादुर महतले "श्री ५ महाराजाधिराज सरकारबाट श्री ५ मौसुफका विश्वासप्रिय प्राईममिनिस्टरको गाथगद्धी ताकेको अभियोगमा साविती प्रमाण भएकाहरूलाई यस प्रकार सजाय तोकिएको छ।........"
यहाँनेर राणा सरकारको तर्फबाट सुनाईएको यो सजाय कसरी श्री ५ महाराजाधिराजको तर्फबाट सुनाइएको जस्तो भयो ? आफु खुसी खड्ग निसान छाप लगाई आदेश, उर्दी, कानुन र सजाय दिईरहेका राणा सरकारले खालि नेपाल प्रजापरिषद काण्डमा मात्र किन श्री ५ को तर्फबाट सजाय सुनाईयो ? यो गम्भीर प्रश्न उठन सक्दछ।
वास्तवमा राणा सरकार ति अभियुक्तहरूलाई आफ्नो मनसायबमोजिम कठोर सजाय दिन त्यतिखेर हच्केको थियो भन्ने कुरालाई माथिको घटनाले प्रष्ट गर्दछ। प्रधानमन्त्री जुद्धशमशेर स्वयम् सजाय सुनाउने बेलामा अनुपस्थित थिए। श्री ५ महाराजाधिराजको तर्फबाट सजाय सुनाउदा आफु दोषमुक्त हुने र इतिहासमा आफूप्रति लाग्ने कलंकबाट टाउको बचाउने कुरा राणा सरकारले सम्झ्यो। सजाय राणा सरकारले नै दिएको भएता पनि राणा सरकारको तर्फबाट सुनाउदा र त्यसलाई श्री ५ को तर्फबाट सुनाउदा त्यतिखेर भिन्दाभिन्दै प्रभाव पर्न जान्थ्यो। राजाको स्थिति बुझेको राणा सरकारले आफ्नो अवस्था कमजोर हुन नदिन श्री ५ को तर्फबाट सजाय दिइएको जस्तो गराएको थियो।
यद्यपि बिहान फुटबल चौरमा भएको ईजलासबाट आफु राजदरबार फर्केपछि राणा प्रधानमन्त्रिले राणा सरकारको सो फैसलामा आफ्नो लालमोहरको लागि ल्याउदा 'श्री ५ त्रिभुवनले तिम्रा भाईछोराहरूलाई बिर्ता दिन, जन्मदै जनरलको पद दिन र मुलुकको तमाम शासन आफ्ना मुखको भरले चलाउन मेरो स्वीकृतिको जरुरत परेन भने यो कुरामा मेरो स्वीकृतिको जरुरतै के छ र ? तिम्रो खुसीले जसो मन लाग्छ गर' भनी भने।
श्री ५ त्रिभुवन त्यतिखेर राणा सरकारको अगाडी एक्लो र असहाय नै थिए। श्री ५ त्रिभुवनको त्यस प्रकारको भनाई र विचार भएता पनि सम्भवत: ३०-३५ जनाको हितलाई हेरेर आफ्नो जिद्धिमा पूर्णरुपले अडिग रहंदा भोलि अरु कैयौं नेपालीहरूलाई उद्धार गर्ने मौका पनि हातबाट छुटन सक्दछ भन्ने विचार त्यतिखेर उनले गरेको हुन सक्दछ ? किनभने अङ्ग्रेज समर्थक राणा शासक त्यतिखेरसम्म अङ्ग्रेजहरूको सहायता र मद्दतबाट जे पनि गर्न र गराउन सक्थे। त्यसैले राणा सरकारले गरेको यस फैसलामा मौन भएर स्वीकृति दिनु परेको थियो।
यस सम्बन्धमा स्वयम् श्री ५ त्रिभुवनको निम्नलिखित भनाईले पनि प्रष्ट गर्दछ।
" शहिद धर्मभक्त, शुक्रराज, गंगालाल, दशरथ चन्दहरू माथि उस बखतको परिस्थिति तथा मेरो ईच्छा विपरित लालमोहर प्रयोग गरिएकोले उनीहरूले मृत्युदण्ड पाएका हुन्। तपाईहरूमा भ्रम नहोस्।
श्रोत: नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा परिषदको भूमिका (लेखक: डा राजेश गौतम)
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बालेनसहित थप ९ जनालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
-
सरकारी जग्गा निजी व्यक्तिको नाममा गर्ने मालपोतका नासुसहित तीन जनाविरुद्ध मुद्धा
-
राष्ट्रिय सभामा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन (पूर्ण पाठ)
-
मन्त्री छोडेर चुनाव लड्न जानु बेइमानी होइन- प्रधानमन्त्री कार्की
-
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न ७ जना पक्राउ
धेरै पढिएको
-
बदलिदो विश्व परिस्थतिमा नेपालले कस्तो परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ?
-
गुगल सर्च अब 'पर्सनलाइज' हुने, निजी कुराको पनि दिने छ जवाफ
-
यी हुन् विश्वका सबैभन्दा बढी ट्राफिक जाम हुने पाँच शहर
-
चर्चित निर्वाचन क्षेत्र: झापा–५ को चुनावी गणित, ओलीको गढमा बालेनको चुनौती
-
विनम्र भन्दा रुखो प्रश्न सोध्दा एआईले दियो सहि जवाफ !
विशेष
'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास
लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।