कौटिलीय अर्थशास्त्र, मनुस्मृति र महाभारत ग्रन्थका आधारमा कर राजस्वका आधारभूत मान्यता

२०८१ मंसिर २२ गते शनिवार
सारांश
  • नेपालमा लिच्छवीकालमा तीनवटा करबाट राजस्व प्राप्त गरेको उल्लेख पाइन्छ– भाग, भोग, र कर । पृथ्वीनारायण शाहको समयमा र राणाकालमा केही नयाँ कर लगाइएको उल्लेख छ । तथापि राजस्वले सार्वजनिक स्वरुप ग्रहण गरेको सुवर्णशम्शेरको बजेटबाट हो ।

करको सामान्य इतिहास
आधुनिक समयमा करलाई एक अनिवार्य अंशदानको रुपमा व्याख्या गरिन्छ । तर प्राचीन कालमा करको प्रकृति फरक देखिन्छ । प्राचीन संकृत ग्रन्थ एवं अभिलेखहरूको अध्ययनबाट स्पष्ट हुन्छ कि प्रारम्भमा राजकीय खर्च प्रजाको स्वैच्छिक योगदानबाट पूरा हुन्थ्यो । तर कर राजस्व शासकलाई स्वामीको रुपमा सेवकको रुपमा प्राप्त हुन्छ भन्ने कुरामा भने स्मृतिहरु एक मत छन् । 


शुक्रनीतिका अनुसार, 
स्वभागभृत्या दास्यत्वे प्रजानां च नृपः क्वतः ।
ब्रह्मणा स्वामिरुपस्तु पालनार्थं सर्वदा ।। शुक्रनीति १.१८८।।
ब्रह्माले स्वामी रुपमा राजाको निर्माण गरेका हुन् तर उसले कर संकलन गरेर पृथ्वीको रक्षा गर्ने भएकोले उसको कार्य सेवक जस्तो हुन्छ । 


नारद स्मृतिमा भनिएको छ– परम्परागत रुपमा राजाले प्राप्त गरेका राशि, जुन उर्वराशक्तिको फलस्वरुप प्राप्त कृषि उत्पादनको छैठौंं भागको रुपमा राजालाई प्रदान गरिन्छ, तथा जुन राजकीय आयको एक अंग हो, यो प्रजाको संरक्षणबापतको पारिश्रमिक हो ।

 

नेपालमा लिच्छवीकालमा तीनवटा करबाट राजस्व प्राप्त गरेको उल्लेख पाइन्छ– भाग, भोग, र कर । पृथ्वीनारायण शाहको समयमा र राणाकालमा केही नयाँ कर लगाइएको उल्लेख छ । तथापि राजस्वले सार्वजनिक स्वरुप ग्रहण गरेको सुवर्णशम्शेरको बजेटबाट हो । भ्यालु एडको रुपमा करमा एउटा संशोधन ल्याइएको थियो । यसले बिक्री कर आदि पुराना कर विस्थापन गर्ने भनिएको थियो । अहिले फेरि करको दर तथा स्वरुपमा संशोधन गरी स्थानीय सरकारलाई करका थप अधिकार प्रदान गरिएको छ ।  

 

करको दरमा सन्तुलन
जसको जति सामथ्र्य हुन्छ उसले राज्यलाई त्यति नै योगदान गर्नु पर्दछ भन्ने करारोपणको एक सिद्धान्त छ । तर प्राचीनकालमा विभिन्न स्रोतहरूबाट कर असुल गरिन्थ्यो । करभार कम राख्ने प्रयास गरिन्थ्यो । राज्यका कामहरू बढ्दै गए पछि कर भार बढ्दै गएको देखिन्छ । सुरुमा कृषि र वन्य उत्पादनको कार्यमा १० प्रतिशत कर थियो भने गाई र पशुहरूमा दुइ प्रतिशत र व्यापारिक वस्तुमा पाँच प्रतिशत कर तिर्नु पथ्र्यो । (गौतम स्मृति १०.२४–२७) 

 

कौटिल्यको समयमा आइपुग्दा कृषि कर १७ प्रतिशत निर्धारण गरिएको देखिन्छ ।

 

राजकीय कोषका लागि करारोपणका यी धर्मशास्त्रीय सिद्धान्तको महत्त्व के कुरामा छ भने यो स्मृतिद्वारा पूर्व निर्धारित रहेको छ । फलस्वरुप जुनसुकै राज्यव्यवस्था भए तापनि कुनै पनि शासकले कृषि वा वाणिज्यको क्षेत्रमा आफूखुशी तरीकाले कर असुल गर्न पाउंदैनथ्यो । करका दरहरू शासकको व्यक्तिगत नियन्त्रणमा थिएनन् । फलस्वरुप करारोपणको विषयलाई लिएर शासक र प्रजाहरूको बीचमा कुनै प्रकारको संघर्ष हुने संभावना हुंदैनथ्यो । करका दरको सम्बन्धमा विवाद भएकोले अमेरिका र बेलायतमा प्रजा र शासकबीच ठूलो संघर्ष भएको थियो । नो ट्याक्सेसन विदआउट रिप्रेजेन्टेशनको अमेरिकी आन्दोलन आर्थिक इतिहासको एक प्रसिद्ध घटना मानिन्छ ।

 

चन्द्रगुप्तलाई सेल्युकससँगको युद्धमा जब धेरै धनको आवश्यकता पर्यो अनि  कौटिल्य र चन्द्रगुप्तले मिलेर धन संकलनका केही नयाँ उपायहरू पत्ता लगाएका थिए । यस अन्तर्गत चन्द्रगुप्तले प्रणय अर्थात् प्रेमपूर्वक उपहारको रुपमा प्रजासँग धन संकलन गरे । जैन परम्पराको भनाई अनुसार कौटिल्यले राजकीय कोषमा आठ करोड कार्षापण पूरा गर्न धेरै प्रयास गरेका थिए ।

 

करका सामान्य सिद्धान्त
कौटिलीय अर्थशास्त्र र स्मृति ग्रन्थहरुमा त्यस बेलाका अर्थ चिन्तकहरुले करारोपणका निम्नलिखित आधार तय गरेको देखिन्छ– 
१. सन्तुलित करारोपण
सामान्य अवस्थामा कर संकलनद्वारा बढी आय प्राप्त गर्न राज्यले जनताको आय स्तरमा वृद्धिका प्रयास गर्नु एक मात्र उपाय मानिन्थ्यो । मनुस्मृतिमा कर नलिंदा राज्य संचालन गर्न नसकिने र अनावश्यक करारोपण गर्दा जनता चिढिने दुवै महत्त्वपूर्ण कुरामा ध्यान दिन शासक राजालाई आग्रह गरिएको छ । यसको अर्थ के हो भने मनु सन्तुलित करारोपणका पक्षमा थिए । केवल राजकीय कोष बढाउनका लागि गरिने करारोपणको उनले समर्थन गरेका छ्रैनन् । महाभारतकारका अनुसार, मानिसहरूको आर्थिक अवस्था हेरी उच्च र निम्न करारोपण गर्नु पर्छ । केवल त्यति मात्र कर लिनु पर्छ जसलाई तिर्न प्रजालाई कुनै अप्ठ्यारो नपरोस् । 

 

महाभारत स्पष्ट शब्दमा भनिएको छ– प्रजाको आम्दानी उच्च हुने भएमा मात्र कर लिनु पर्छ । (महाभारत, ८७. १५,१६) 


कर लिंदा सुरुमा अत्यन्त थोरै लिने र विस्तारै जनताको आयमा वृद्धि हुंदै जांदा उनीहरुले थाहा नपाउने गरी विस्तारै करभार बढाउंदै लैजानु पर्दछ भन्ने मान्यता प्राचीन अर्थशास्त्रकारहरूको छ । 

 

मनुस्मृतिमा भनिएको छ–  
यथाल्पाल्पमदन्त्याद्या वार्योकोवत्सषट्पदा ।
तथाल्पो ग्रहीतवयो राष्ट्रादाज्ञाब्दिकः करः ।। मनुस्मृति ७.१२९।।
जसरी जुका, बाच्छा, र भौंराले अलि अलि गरेर आफ्नो खाना प्राप्त गर्छन् त्यसै गरी राजाले प्रजासँग थोरै थोरै वार्षिक कर संकलन गर्नु पर्छ ।


यसै कुरालाई महाभारतमा पनि भनिएको छ–
अल्पेनाल्पेनदेयेन वर्धमानं प्रदापयेत् । 
ततो भूयस्ततो भूयः क्रमवृद्धिं समाचरेत् ।।
दमयन्निर्व दम्यानि शश्वद्भारं विवर्धयेत् ।।
मृदुपूर्वं प्रयत्नेन पाशानभ्यवहारयेत् ।। महाभारत अनुशासन पर्व ८८.७–८।।

विस्तारै आय बढ्दा कर बढाउनु पर्छ यसो भयो करदाताले प्रतिरोध गर्दैनन् । कर लगाउने र बढाउने तरिका यही हो ।

 

२. नाफामा कर
महाभारतको कर सम्बन्धी भनाईले न्यून आय वर्गलाई नगण्य कर वा कर मुक्तिको व्यवस्था गरिएको स्पष्ट हुन्छ । कर लिंदा जनतासँग संवेदनशील व्यवहार गर्न बिर्सनु हुंदैन भन्ने कुरा प्राचीन अर्थशास्त्रकारहरूले बारम्बार भनेका छन् । यसले कर अधिकारीहरूको व्यवहार नागरिकहरू प्रति कस्तो हुनपर्छ भन्ने कुरालाई ध्यान दिएको स्पष्ट हुन्छ । 

 

मनुस्मृतिमा भनिएको छ, राजाले शास्त्र अनुसार कर्मचारीहरूद्वारा वार्षिक कर संकलन गराओस् । तर उनीहरूसँग पितृवत् व्यवहार गरोस् । (मनुस्मृति, ७.८०) कर लिनुको उद्देश्य योगक्षेम अर्थात् कल्याणकारी राज्यको स्थापना हो भन्दै मनुले भनेका छन्, व्यापारीहरूको क्रय विक्रय, खाना खर्च, सुरक्षा खर्च यी सबै घटाएर प्राप्त नाफामा कर लिनु पर्छ ।

 

मनुका अनुसार–
क्रयविक्रयमध्वानं भक्त व सपरिव्ययम् । 
योगक्षेम च संप्रेक्ष्य वणिजो दापयेत्करान् ।। मनुस्मृति ७.१२७।। तथा महाभारत अनु. ८७.१३।।
 

३. राष्ट्रको रक्षा
महाभारतकारका अनुसार कर लिने अधिकार राज्यलाई त्यसबेला प्राप्त हुन्छ जब उसले प्रजालाई शान्ति सुरक्षाको प्रत्याभूति दिनसक्छ । (महाभारत, ६९.२५) जसले गाईको राम्रो सेवा गर्छ उसैलाई दुहेर दूध प्राप्त गर्ने अधिकार भए जस्तै राष्ट्रको उचित रक्षागर्नेले मात्र प्रजासँग कर प्रतिफल प्राप्त गर्न सक्छ । 


महाभारतमा बलिभागको रुपमा प्राप्त गर्ने करलाई राजाको पारिश्रमिकको रुपमा व्याख्या गर्दै भनिएको छ– 
बलिषष्ठेन शुल्केन दण्डेनाथापराधिनाम् ।
शास्त्रानीतेन लिप्तेथा वेतनेन धनागमम् ।। महाभारत अनुशासन पर्व ७१.१०।।
‘छैठौं भागको रुपमा बलि भाग प्राप्त गरेर, आयात निर्यात बापतको रकम, दण्ड, र अपराधीहरूको सामान जफत गरेर, जुन शास्त्र अनुसार शासकको पारिश्रमिक हुन आउंछ, त्यो र यीे सबै राशिहरू मिलाए पछि जे जति प्राप्त हुन्छ त्यो राजकीय आय हो ।

 

४. मालाकार सिद्धान्त 
महाभारत, मनुस्मृति र शुक्रनीतिमा करका लागि जुन कुराको प्रशंसा गरिएको छ त्यसलाई मालाकार सिद्धान्त भन्न सकिन्छ । यस अनुसार, जसरी माहुरीले फूलको रस प्राप्त गर्छ, जसरी दूध दिने गाईलाई प्रतिदिन सेवा गरे मात्र त्यसबाट दूध प्राप्त गर्न सकिन्छ, बिना सेवा थुनलाई निचोरिंदैन, त्यसै गरी उचित उपायले रक्षा गर्ने राजाले मात्र प्रजाबाट प्रतिफल प्राप्त गर्न सक्छ । राजा आफूले मालाकार (माली) जस्तै हुनुपर्दछ, आङ्गारिक (कोइला बनाउने) जस्तो होइन ।


मालाकरोपमो राजन् भव मा आङ्गारिकोपमाम् । महाभारत, अनुशासन पर्व ८७.२०, शुक्रनीति, ४.२.१११

 

५. गो–वत्स सिद्धान्त
जसरी आमा आफू तृप्त रहँदा मात्र छोराछोरीलाई तृप्त गराउन सक्षम हुन्छन् त्यसै गरी सुरक्षित रहेको पृथ्वीले दुधालु गाई र उब्जाउ भूमि समान अन्न र सुवर्ण निरन्तर प्रदान गरिरहन्छ । 

 

महाभारतमा भनिएको छ–
वत्सौपम्येन दोग्धव्यं राष्ट्रमक्षीण बुद्धिना ।
भृतो वत्सो जातबलः पीडां सहति भारत ।।
नकर्म कुरुते वत्सो भृंश दुग्धो युधिष्ठिर ।
राष्ट्रमप्यतिदुग्धं हि न कर्म कुरुते महत् ।। महाभारत अनुशासन पर्व ८७.२०⁄२१।।
तृप्त गाईबाट बढी दूध प्राप्त हुन्छ । उसका बाच्छाले बढी दूध खान पाउंछ । जुन बाच्छाले प्रशस्त दूध खान पाउंछ, उसैले बढी भारी बोक्न पनि सक्छ । ठीक त्यसै गरी गाई दुहेर बाच्छा तृप्त पारेर आफूले दूध लिए जस्तो करारोपण गर्नु पर्छ ।

 

५. अति कर निषेध
महाभारतमा अन्यायपूर्ण तरीकाले र प्रजालाई कष्ट हुने गरी कर संकलन नगर्नु भन्ने बडो स्पष्ट निर्देश छ ।  बढी तृष्णाको वशीभूत उच्च करारोपण प्रत्युत्पादक हुन्छ भनिएको छ । 

 

मनुले करका सम्बन्धमा निर्देश दिंदै भनेका छन्– 
योद्ररक्षन्बलिमादत्ते करं शुल्कं च पर्थिवः । 
प्रतिभाग च सः सद्यो नरक वजेत् ।। मनुस्मृति, ८३.७, महाभारत अनुशासन पर्व ७१.१५।।
जुन (शासक) ले प्रजाको रक्षा (शान्ति सुरक्षा) नगरी अन्नको छैठौं भाग, कर तथा शुल्क र दण्डको रुपमा भाग ग्रहण गर्छ उसले छिटै दुर्गति निम्त्याउंछ ।

 

निष्कर्ष
सूर्यले समुद्रको पानी सोसेर लिए जस्तै प्रजाले थाहा नपाउने गरी कर संकलन गर्नु पर्दछ । यसरी प्राप्त कर सूर्यले सोसेर एक थोपाको सहस्र थोपा बनाएर पृथ्वीलाई फर्काए जस्तै प्रजाबाट लिइएको धन प्रजाको हितमा नै खर्च गर्नु पर्दछ । (रघुवंश)

 

प्राचीनकालमा पनि सार्वजनिक खर्चको सिद्धान्तमा प्रजाको कल्याणलाई निर्देशक सिद्धान्त मानिएको छ । प्रजाले कर तिरे बापत उनीहरूलाई राज्यद्वारा सुरक्षा प्रत्याभूति सम्बन्धी कार्यलाई भने सर्वाधिक महत्व दिइएको छ । प्रजाले आफ्नो सुरक्षा गरीदिए बापत करको रुपमा पारिश्रमिक भुक्तानी गर्दथ्यो ।

 

यदि राज्यले प्रजालाई सम्पूर्ण रुपमा शान्ति सुरक्षा दिन असमर्थ हुन्थ्यो भने कर नतिर्नु प्रजाको अधिकार मानिन्थ्यो । यी सबै कुराको विश्लेषण गर्दा मनुस्मृति, कौटिलीय अर्थशास्त्र र महाभारतमा भनिएका सिद्धान्त आज पनि सान्दर्भिक छन् भन्न सकिन्छ ।

 

सन्दर्भ
बाबु राम ज्ञवाली, (वि.सं.२०७१, अर्थार्जनका केही पूर्वीय धारणाहरु, बुटवल टु डे, पुस  २५, २०७१ , बुटवल: मेडिया बुटवल ।   
कौटिल्यको अर्थशास्त्र (कौटिलीये अर्थशास्त्रे), (वि.सं.२०२४), केशवराज अर्याल (अनु.), सोमनाथ शर्मा (सम्पा.), काठमाडौं: नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
कौटिलीय अर्थशास्त्र, भो.१–३, (सन् २००६) आर पी काङ्ले (अनु.), बनारस: मोतीलाल बनारसी दास, सन् २००६ ।
कौटिलीय अर्थशास्त्रम्, (सन् २००९), वाचस्पति गैरोला (अनु.), वाराणसी: चौखम्बा विद्याभवन ।   
जायसवाल, के पी, (सन् १९७८),हिन्दु पोलिटी, (फिफ्थ एडिशन), बेंगलोर: द बेंगलोर प्रिन्टिंग एन्ड पब्लिशिंग कम्पनी लिमिटेड ।
ज्ञवाली, बाबुराम, (वि.सं. २०७७), बृहस्पति सूत्र अर्थात् बार्हस्पत्य राजार्थशास्त्र, तम्घास: किरण पुस्तकालय, गुल्मी ।
ज्ञवाली, बाबुराम, (वि.सं. २०७१), कौटिल्य र शुक्रको राजनैतिक अर्थशास्त्र, रुपन्देही: ज्ञानज्योति प्रकाशन । 
ज्ञवाली, बाबुराम, (वि.सं. २०७५), दस जना पूर्वीय आर्थिक चिन्तक, काठमाडौं: विद्यार्थी पुस्तक भण्डार । 
ज्ञवाली, बाबुराम, (सन् २०१२), रिभेन्यु जनरेशन इन कौटिलीय अर्थशास्त्र, मिर्मिरे द्वैमासिक पौष–माघ, २०६९, काठमाडौं ः नेपाल राष्ट्र बैंक (सम्पादक केदार आचार्य) । 
महाभारत खण्ड १–६, (वि.सं.२०६०), रामनारायण दत्त शास्त्री (अनु.), गोरखपुर: गीताप्रेस ।
शुक्रनीति सार, (वि.सं.२०६५), जगदीश्वरानन्द सरस्वती (अनु.), सोनीपत, हरियाणा: रामलाल कपूर ट्रष्ट । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप लेखहरु