तिथिपर्व-निर्णय-पद्धतिमा वैदिक मान्यताको प्रयोग र विवाद रहित निर्णय

६ भाद्र, २०८३, शनिवार
सारांश
  • यस वैदिक सिद्धान्तलाई प्राचीन कालदेखि आजसम्म पनि काठमाण्डौँ उपत्यकाका राजोपाध्याय तथा गुभाजुहरूले प्रयोग गरि नै राखेको पाइञ्छ। उनीहरू दसैँको नवरात्रमा सप्तमीदेखि दशमीसम्मका कृत्य र तिहारका कृत्य पनि टुट-बढ नगरी प्रतिदिन क्रमशः गर्दछन्। यसरी राजोपाध्याय तथा गुभाजुहरूले वैदिक अहोरात्रात्मक सिद्धान्तलाई व्यवहारबाटै जोगाएर ल्याइराखेका छन् ।

हाम्रो कालगणना सौर र चान्द्रमानमा आधारित छ। अधिकांश चाडपर्वहरू तिथिका आधारमा मनाइन्छन्। विभिन्न समयमा तिनको निर्णय गर्ने आवश्यकता पर्छ । प्राचीन कालमा औँसी र पूर्णिमालाई पर्व भनिन्थ्यो र तिनको निर्णय विशेष नियमअनुसार गरिन्थ्यो । पछि खण्‍डतिथि (स्फुटतिथि) को प्रचलन सुरु भयो। यस लेखमा तिथिनिर्णयसम्बद्ध विविध पक्षको विचार गरिएको छ ।

 

अहोरात्रात्मक वैदिक तिथि 
वैदिक परम्पराको अध्ययन गर्दा अति प्राचीन कालदेखि नै अहोरात्रभरि (एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म) एउटै तिथि मानी कर्म गर्ने सिद्धान्त मानिँदै आएको देखिन्छ ।  वेदका वचनहरूको विचार गर्दा यो कुरा बुझ्न सकिन्छ (माध्यन्दिनीय-वाजसनेयि-शुक्लयजुर्वेदसंहिता २२।२८, २७।४५ तैत्तिरीयसंहिता ७।१।१५, मा.वा.शतपथब्राह्मण १२।८।३।१४)। वेदाङ्गहरूमा, स्मृतिहरूमा र अन्य ग्रन्थमा पनि यो कुरा पाइन्छ (आपस्तम्बश्रौतसूत्र १२।४।१०, पारस्करगृह्यसूत्र १।४।५, गोभिलगृह्यसूत्र १।५।४, काठकगृह्यसूत्र ३१।२, जैमिनीयधर्ममीमांसासूत्र ६।८।२३-२५, मनुस्मृति ४।९६, याज्ञवल्क्यस्मृति २।६, महाभारत ११।२१।१३, १४।६४।१२, कौटलीय अर्थाशास्त्र २।२० इत्यादि)। लोकव्यवहारमा पनि कायस्थहरूले बनाउने मितिपत्रमा (पात्रोमा) सुदि (शुक्लपक्षका दिन) बदि (कृष्‍णपक्षका दिन) भनेर अहोरात्रात्मक तिथिको गणना गर्ने प्रचलन पछिसम्म पनि रहेको इतिहास छ ।

 

खण्‍डतिथि (स्फुटतिथि) पद्धतिको प्रारम्भ
प्राचीन कालमा धार्मिक अनुष्ठानमा अहोरात्रात्मक तिथिको प्रयोग हुन्थ्यो । वेदाङ्गज्योतिषको आलोचना गर्दै ब्रह्मगुप्तले आजभन्दा १४०० वर्षजति अघि वि.सं. ६८५ मा वेदाङ्गज्योतिषकारहरूमा स्फुटतिथिको ज्ञान थिएन भनेर दोष लगाएको पाइञ्छ (ब्राह्मस्फुटसिद्धान्त ११।२) । चन्द्रमा नदेखिने औँसी (कुहू अमावास्या) का दिन सूर्य र चन्द्रमाको कोणीय अन्तर ० अथवा ३६० अंश (डिग्री) हुन आउँछ । पछिल्लो समयमा (मध्यकालमा) ३६० लाई ३० ले भाग गर्दा १२ हुन्छ, अतः सबै तिथिलाई १२-१२ को भाग लगाएर सूर्य र चन्द्रमाको अन्तर १२ अंश(डिग्री) हुन लाग्ने समयलाई एक तिथि मान्ने भनेर तिथिको परिभाषा बनाइएको देखिञ्छ । यस्तो तिथिलाई खण्डतिथि अथवा स्फुटतिथि पनि भन्दछन् । सूर्य र चन्द्रमाको अन्तर १२ अंश (डिग्री) हुन पनि चन्द्रमा पृथ्वीबाट टाढा पुगेका वेला चन्द्रमाको गति मन्द हुनाले धेरै समय लाग्छ र त्यति वेलाको खण्‍डतिथि लामो हुन्छ ।  चन्द्रमा पृथ्वीको नजिक पुगेका वेला गति छिटो हुने हुनाले थोरै समय लाग्छ र त्यति वेलाको खण्‍डतिथि छोटो हुन्छ । तर यस प्रकारको तिथिको आरम्भ र समाप्तिका समयका आधारमा चाड-पर्व मनाउन मिल्दैन ।

तिथिअनुसार र व्रतदिनको निर्धारण
आगामी पूर्णिमाको उदाहरण हेरौँ। २०८३।५।११ गते बिहान ८:१४ मा सूर्य र चन्द्रमाको कोणीय अन्तर १६८ अंश (डिग्री) हुञ्छ । भोलिपल्ट २०८३।५।१२ गते ९:२३ मा  सूर्य र चन्द्रमाको कोणीय अन्तर १८० अंश (डिग्री) हुञ्छ (वैदिक तिथिपत्र २०८३-२०८७, पृ.२५) । त्यस अवस्थामा यस परिभाषा अनुसारको पूर्णिमा तिथि लाग्यो भनेर ११ गते प्रातःकालको ८:१४ बजेबाट पूर्णिमाव्रत बस्न थाल्न र १२ गते सङ्गवकालको ९:२३ बजे पूर्णिमा सकियो भनेर व्रत समाप्त गर्न मिल्दैन । ११ गते सूर्योदयदेखि नै व्रत बस्नुपर्ने हुन्छ, जतिखेर यस परिभाषा अनुसार पूर्णिमा तिथि लागेकै हुँदैन । व्यवहारमा जसरी पनि सूर्योदयबाट नै प्रारम्भ गरेर एक अहोरात्र पूरैलाई नै तिथिका रूपमा लिनुपर्छ । ‘१२ अंश(डिग्री)व़ाला तिथि’ले काम दिँदैन । कुनै वर्ष दसैँका दिन बिहान सूर्योदयपछि मध्याह्नसम्म दशमी तिथि रहेर एकादशी लागेको रहेछ भने त्यस दिन अपराह्ण टिका लगाउनेले खण्‍डतिथिगणनाले एकाशीका समयभित्र टिका लाइरहेका हुन्छन्। अगिल्लो दिन नै दशमी धेरै भएको भनी अगिल्लो दिन टिका लगाउनेले मध्याह्नसम्म खण्‍डतिथिगणनाले नवमीका समयमा टिका लगाइरहेका हुन्छन् । 

 

यसरी जसले पनि जाने पनि नजाने पनि व्यवहारमा ‘अहोरात्रात्मक अवधिलाई पक्रेर कर्म गर्नुपर्छ’ भन्ने वैदिक सिद्धान्तलाई नै मानिरहेकै हुन्छ र मान्नै पर्छ पनि। प्रयोगात्मक रूपमा यस्तो अवस्था हुने तथ्यतिर ब्रह्मगुप्तको ध्यानै नगएको पनि हुन सक्छ। दुई तिथिको श्राद्ध एकै दिन पर्न सक्ने र कुनै दिनमा खण्‍डतिथिगणनाबाट आएको तिथिकालले गर्दा श्राद्ध नै गर्न नमिल्ने अवस्था आउने जस्ता कुरा पनि स्फुटतिथिको गणना र अनुसरणले ल्याएका कुरा हुन् ।

 

काठमाण्‍डौँ, ललितपुर र भक्तपुरको वर्तमान अभ्यास
स्फुटतिथिको घटबढ परेका समयमा नेपालमा काठमाण्‍डौँ, ललितपुर र भक्तपुरमा तिहार पर्वका त्रयोदशीदेखि द्वितीयासम्मका अनुष्ठानका दिनहरू फरक पर्ने गरेको वारंवार देखिन्छ। कसैले परम्परागत अहोरात्रात्मक तिथि लिने र कसैले चाहिँ खण्‍डतिथिको अनुसरण गर्ने गर्नाले यस्तो स्थिति आएको पाइन्छ। अहोरात्रलाई आधार बनाएर प्रतिदिन एउटा-एउटा कर्म गर्नुपर्छ भन्ने लिच्छविकाल वा त्योभन्दा अगाडिदेखि नै नेपालमा चलेर आइरहेको परम्परा समात्दा पनि पछिल्लो दिनबाट क्रमशः कर्म गर्ने अथवा अगिल्लो दिनबाटै क्रमशः कर्म गर्ने भन्ने विषयमा काठमाण्‍डौँको र भक्तपुरको फरक-फरक धारणा देखिन्छ। यस्ता मतभेदको समाधान पनि वैदिक अहोरात्रात्मक तिथिगणनापद्धतिको प्रयोग भएको वैदिक तिथिपत्र (२०८३-२०८७) बाट पाउन सकिन्छ ।  धेरै दिनका अनुष्ठानमा तिथि टुटेको भनेर अनुष्ठान खप्टेर गर्न र तिथि बढेको भनेर एक दिन खाली गरेर अनुष्ठान गर्न उचित हुँदैन । 

 

यस वैदिक सिद्धान्तलाई प्राचीन कालदेखि आजसम्म पनि काठमाण्डौँ उपत्यकाका राजोपाध्याय तथा गुभाजुहरूले प्रयोग गरि नै राखेको पाइञ्छ। उनीहरू दसैँको नवरात्रमा सप्तमीदेखि दशमीसम्मका कृत्य र तिहारका कृत्य पनि टुट-बढ नगरी प्रतिदिन क्रमशः गर्दछन्। यसरी राजोपाध्याय तथा गुभाजुहरूले वैदिक अहोरात्रात्मक सिद्धान्तलाई व्यवहारबाटै जोगाएर ल्याइराखेका छन् । वैदिक परिभाषाअनुसार एक दिन पूरैमा एक तिथि मान्ने पद्धति व्यावहारिक पनि छ । यही पद्धति तिथिको प्राचीन वैदिक सनातन परिभाषा पनि हो ।

 

अहोरात्रको पूर्वार्धरूप दिनको (सूर्योदयदेखि सूर्यास्तसम्मको अवधिको) समयविभाजन अनुसार दिनलाई पाँच बराबर भाग लगाई  प्रातःकाल, सङ्गवकाल, मध्याह्नकाल, अपराह्णकाल र सन्ध्याकालका कृत्य गर्नुपर्ने हुन्छ। त्यसैले १२ अंशव़ाला तिथिको परिभाषा दैनिक व्यवहारमा असजिलो पार्ने खालको छ र प्राचीन वैदिक सनातन पनि नभएको देखिन्छ । यो कुरा धेरै वर्षको अनुसन्धानबाट ठहराएर स्वाद्ध्यायशालाले अहोरात्रात्मक वैदिक-तिथिको प्रचार गर्न थालेको हो (वैदिकमन्त्रसङ्ग्रहः, वि.सं. २०५२, पृ. १३४) ।

 

तिथिवृद्धि हुँदा अहोरात्र मिलाउने प्रयास
खण्डतिथि अथवा स्फुटतिथिका आधारमा कुनै पनि अनुष्ठानको दिनको निर्धारण गर्दा तिथि अलीकति बढ्यो भनेर बढ्नेबित्तिकै अनुष्ठानलाई एक दिन बढाएर गर्नु उपयुक्त नहुने मानेर त्यस कुरालाई धर्मशास्त्र-निबन्धग्रन्थमा विभिन्न प्रकारले बताइएको पाइन्छ । स्फुटतिथिको गणना गर्न थालिएपछि कति समयसम्म पुगेको तिथि भएपछि मात्र त्यो तिथि अनुष्ठानका निम्ति ग्राह्य हुञ्छ भन्ने विषयमा विचार चल्न थालेको देखिञ्छ। यस सम्बन्धमा धेरैथरी मतहरू पाइञ्छन् । कसैले तिथिले सूर्योदय काट्नेबित्तिकै उदयमा भएको तिथि भनेर त्यही तिथि मानेर दिनभर कर्म गर्नुपर्ने कुरा गरेको पाइञ्छ– यां तिथिं समनुप्राप्य उदयं याति भास्करः। सा तिथिः सकला ज्ञेया दानाध्ययनकर्मसु । (निर्णयसिन्धुमा उद्धृत वचन, निर्णयसागर, पृ. १४)

यस सम्बन्धमा कतै दुई मुहूर्त (चार घडी) पनि नपुगेको तिथि ग्राह्य हुँदैन, त्योभन्दा बढी भएपछि मात्र ग्राह्य हुञ्छ भनेको देखिञ्छ । जस्तै– द्विमुहूर्ताऽपि कर्तव्या या तिथिर्वृद्धिगामिनी। (दक्षवचन भनी निर्णयसिन्धुमा उद्धृत, निर्णयसागर, पृ. १३) । कतै तिन मुहूर्त (छ घडी) नपुगेको तिथि ग्राह्य हुँदैन, त्योभन्दा पनि बढी चाहिन्छ भनिएको देखिञ्छ । जस्तै– सा तिथिस्तद्दिने प्रोक्ता त्रिमुहूर्तैव या भवेत् । (स्कन्दपुराणवचन भनी निर्णयसिन्धुमा उद्धृत, निर्णयसागर, पृ. १३) । कुनै सन्दर्भमा मध्याह्नसम्म पुगेको तिथि मात्र ग्राह्य हुने कुरा पनि भनिएको पाइन्छ– मध्याह्नव्यापिनी ग्राह्या एकभक्ते सदा तिथिः । (पद्मपुराणवचन भनेर निर्णयसिन्धुमा दिइएको वचन, पृ. १४)। गहिरिएर विचार गर्दा तिथि वृद्धि भएर अर्को दिनमा पुगेका सन्दर्भमा यस्ता विभिन्न पक्षहरू ल्याइएका देखिन्छन्। अहोरात्रात्मक तिथिको  सिद्धान्त अनुसार पक्षको अन्तमा नपुगी बिचबिचमा तिथि नटुटाउने सिद्धान्त हुँदा तिथिक्षयका अवस्थामा भने यी कुनै पनि मत प्रयोग हुन्थेनन्, जति थोरै समयको तिथि भए पनि अहोरात्रकै प्रबलता मानेर ती दिन ग्राह्य मानिन्थे भन्ने देखिन्छ ।

 

वेदाङ्गज्योतिषको पर्वनिर्णयपद्धति
वेदाङ्गज्योतिषमा मध्यम गणना देखाएर पर्वतिथिका निर्णयका सन्दर्भमा ‘द्यु हेयं पर्व चेत् पादे पादस्त्रिंशत्तु सैकिका’ (पर्वकाल अहोरात्रको एक चौथाइ भागभित्र अर्थात् मध्याह्नभित्र परेमा एक दिन छाड्नू अथवा चतुर्दशी टुटाउनू) भनिएको छ (श्लो. १२) । 


अन्य ग्रन्थमा ‘पूर्वाह्ण अथवा मध्याह्नमा पर्व सकिएमा त्यसभन्दा अगिल्लो दिनलाई पर्वदिन (अमावास्या वा पूर्णिमा) मान्ने, त्यस दिनलाई चाहिँ प्रतिपदा मान्ने गरी अनुष्ठान गर्ने’ कुरा छ । जस्तै— पूर्वाह्णे वाऽथ मध्याह्ने यदि पर्व समाप्यते । उपोष्य तत्र पूर्वेद्युस्तदहर्याग इष्यते ॥ (लौगाक्षिवचन, सभाष्‍यगोभिलगृह्यसूत्र, पृ. १४६) । यसरी औँसीको निर्णय गरी अन्य तिथि अहोरात्रात्मक मान्ने वैदिक परम्परा रहेको देखिन्छ।  

 

तिथिविषयको एक विचार
अहोरात्रको पूर्वार्ध अर्थात् दिनभरिका कुनै समयमा सकिएको रात्रिकालसम्म चाहिँ नपुगेको तिथि पनि ग्राह्य नहुने भन्ने मत पनि देखिञ्छ । यसअनुसार अहोरात्रभरमा (३० मुहूर्तमा/२४ घण्टामा) अगाडि वा पछाडि जता भए पनि एकातिर अभीष्ट तिथिको अंश बढी हुने हुँदा तिथिको आधिक्य हुन्छ भन्ने आशय राखिएको पनि कतै पाइञ्छ । पैतामहसिद्धान्तको चौथो श्लोकको ‘प्रागर्धे पर्व यदा तदोत्तराऽतोन्यथा तिथिः पूर्वा’ यस वचनको पर्वपरिभाषा (पञ्‍चसिद्धान्तिका, पृ.३१) लाई अलिकति परिवर्तन गरेर तिथिको ग्राह्यताको परिभाषा बनाउने हो भने यो कुरा आउँछ भन्ने पनि भनाइ पाइन्छ । यसो गर्दा जुन अहोरात्रमा जुन तिथिको भाग बढी रहेको हुन्छ त्यही तिथिको कर्मको अनुष्ठान हुन्छ भन्ने दृष्टिकोण राखिएको पाइन्छ ।

 

माथिका सन्दर्भहरूबाट अर्वाचीन कालमा पनि सकेसम्म धार्मिक अनुष्ठानमा तिथि टुटेको भनेर अनुष्ठान खप्टेर गर्न र तिथि बढेको भनेर एक दिन खाली गरेर अनुष्ठान गर्न उचित नमानी सकेसम्म त्यस्तो नहोस् भन्ने आशयले अलीअली घटेको र  बढेको कुराबाट अनुष्ठानक्रममा भिन्नता वा खलबली नल्याउने मूलतः अहोरात्रात्मक तिथिकै मान्यताअनुरूप क्रमबद्ध रूपमा (बिचमा खाली नगरी) अनुष्ठान गर्नुपर्ने भन्ने धारणा रहँदै आएको देखिञ्छ ।

 

तिथिपर्वका सम्बन्धमा समयसमयमा विभिन्न प्रकारका विवादहरू आइरहेका देखिन्छन्। वास्तवमा वैदिक परम्पराका अनुयायीहरूले अहोरात्रात्मक तिथिसँग मिल्ने गरी पर्वदिन निर्धारण गर्ने परिपाटी बसाल्नु उपयुक्त हुन्छ ।

 

उपाकर्मका निम्ति विशेष नियम
प्रचलित पात्रोअनुसारका उपाकर्म (जनैपूर्णिमा) का सन्दर्भमा पनि समयसमयमा विवाद उत्पन्न भएको पाइन्छ। औदयिक पूर्णिमा ग्राह्म नहुने अगिल्लो दिन औदयिक (उदयकालको) चतुर्दशी भएकै दिन पूर्णिमा लागेकाले ग्राह्य हुने भन्ने सिद्धान्तबाट यो कुरा आउँछ। अहोरात्रात्मक रूपमा गणना गरी पूर्णिमा लिँदा गत अमावास्याबाट (२०८३ साउन २७ बाट) गन्दा पञ्‍चदशीत्व पनि अगिल्लो दिन आगामी भदौ ११ गते रहन्छ।


नेपालमा नै पृथ्वीनारायण शाहका समयमा बनेको र पृथ्वीनारायण शाहकृत भनेर प्रसिद्ध व्रतरत्नमाला नामको ग्रन्थमा यस्तो लेखिएको छ—
योपाकृतौ तिथिषु भूततिथेर्विनिन्दा
सा पूर्णिमास्तुतिकृते विबुधैः प्रदिष्टा ।
नन्दातिथेरिह कृता तु नितान्तनिन्दा
सा पूर्णिमोदय उपाकरणस्य निन्दा ।।—व्रतरत्नमाला, वि.सं. २०२६, श्लोक १४०, पृ. १०८ ।
यस श्लोकमा भनिएको छ— उपाकरणका निम्ति चतुर्दशीको निन्दा गरिएको पूर्णिमाको स्तुति गर्न हो, चतुर्दशीको उदय भएका दिन उपाकर्म गर्न हुन्न भन्न होइन। प्रतिपदा तिथिको नितान्त निन्दा गरिएको चाहिँ उदयमा पूर्णिमा रहेको र पछि प्रतिपदा लागेको दिन उपाकर्म गर्न नहुने भन्नका निम्ति हो । जयमङ्गल सूरिले व्रतरत्नमालाको दिव्यप्रभा नामको व्याख्यामा यस्तै व्याख्या गरेका छन् । उनले “उपाकरणकर्मविषये भूततिथेश्चतुर्दश्या या स्मर्यमाणा विनिन्दा  विशिष्टा गर्हणा सा पूर्णमास्तुतिकृते उपाकरणकर्मणि पौर्णमासी तिथिः प्रशस्तेति प्रतिपादयितुं विद्वद्भिः प्रदिष्टा उपदिष्टा। न तु चतुर्दश्या उदये उपाकर्म न कार्यमिति प्रतिपादयितुं प्रदिष्टा। ‘न हि निन्दा निन्दितुं प्रस्तूयते अपि तु विधेयं स्तोतुम्’ इति न्यायात्। भनी मीमांसान्यायको (द्र. जैमिनीयधर्ममीमांसासूत्र १।४।२६)  उल्लेख पनि गरेर सूर्योदयमा खण्‍डतिथि चतुर्दशी भए पनि त्यसै दिन उपाकर्म गर्नुपर्ने कुरा बताएका छन् । यो ग्रन्थ नेपाल एकीकरणका कार्यमा व्यापृत भएर जीवन बिताएका पृथ्वीनारायण शाहका नामको भएकाले पृथ्वीनारायण शाहकै अनुरोधमा त्यति वेलाका उपलब्ध भएसम्मका विशिष्ट विद्वान्‌द्वारा बनाइएको हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ। उपाकर्मका कालमा विषयमा यस्तो निष्‍कर्ष  त्यति वेला पनि मान्य रहेको कुरा मूलको र व्याख्याको लेखाइबाट स्पष्ट हुन्छ ।

 

उपाकर्मको गृह्यसूत्रोक्त काल
यज्ञोपवीताभिमन्त्रण (जनै मन्त्रने काम) उपाकर्मकै दिन गर्ने पक्षमा त्यसको समय गत वर्ष एक महिना र यस वर्ष दुई महिना अगिको पूर्णिमामा उपाकर्मकाल परेकाले त्यतिखेर नै रहेको थियो । यस सन्दर्भमा गौणकाल पनि वर्षा ऋतुको दोस्रो महिनासम्म रहने भन्ने छ। पञ्‍चाङ्गहरूमा चाडपर्वका निम्ति आर्तव (ऋतुअनुसारको) गणनालाई आधार मानेर गर्नुपर्ने मिलान नभएकाले यस्तो अवस्था आएको हो । गृह्यसूत्रहरूमा “ओषधिहरूको प्रादुर्भाव भएपछि अर्थात् वर्षा ऋतु लागी पानी परेर घाँसपात उम्रेपछि उपाकर्म गर्नू” भनेर निर्देश गरिएकाले उपाकर्म वर्षा ऋतुसँग सम्बद्ध पर्व हो भन्ने कुरा स्पष्ट रूपमा बुझिन्छ (अथातोध्यायोपाकर्म ओषधीनां प्रादुर्भावे श्रवणेन श्रावण्यां पौर्णमास्यां श्रावणस्य पञ्चमीं हस्तेन वा—पारस्करगृह्यसूत्र २।१०।१-२)। अतः शुक्लयजुर्वेदीहरूले वर्षा ऋतु लागेपछिको पहिलो पूर्णिमामा उपाकर्म गर्नुपर्ने कुरा स्पष्ट हुन्छ। जसका आफ्ना वेदका शाखासँग सम्बद्ध गृह्यसूत्रमा वर्षा ऋतुको दोस्रो पूर्णिमामा उपाकर्म गर्नू भन्ने विशेष विधान छन् तिनले वर्षा ऋतु लागेपछिको दोस्रो पूर्णिमामा उपाकर्म गर्नुपर्ने कुरा पनि बुझिन आउँछ। वर्षा ऋतुको पहिलो पूर्णिमा पहिले श्रावणपूर्णिमा थियो भने ४ हजार वर्ष बितेर आउँदा अयन-चलनले गर्दा (नक्षत्रका अपेक्षा अयनारम्भ हुने बिन्दु प्रतिवर्ष ५० कला जति वर-वर सर्ने गरेकाले) अचेल धेरै नै अघि सरिसकेको छ। अतः प्रचलित पञ्चाङ्गले निर्देश गरेको श्रावणी पूर्णिमाभन्दा एक अथवा दुइ महिना अघि नै उपाकर्म (जनैपूर्णिमा) मान्नुपर्ने वर्षा ऋतुको समय आइसकेको हुञ्‍छ।

 

नवरात्र, तिहार इत्यादिको व्यवस्था
शरद् ऋतुमा नौ दिन लगाएर दुर्गापूजा गरिने हुनाले त्यस पर्वलाई  शारद नवरात्र भनिएको हो । प्राचीन कालमा शारद नवरात्रका कृत्य नौ दिन लगाएर नै गर्ने प्रचलन भएको बुझिन्छ। वर्तमान कालमा पनि फुलपाती, महाष्टमी, महानवमी र विजयादशमी क्रमशः ४ दिनमा गर्ने, तिथि घटेको भनेर ३ दिनमा पनि नगर्ने बढेको भनेर ५ दिन लगाएर पनि नगर्ने काठमाडौँ उपत्यकाको प्रचलन छ। ती चार दिनका कृत्यमा कुनै पनि २ दिनको कृत्य  खप्टेर (दुइ दिनको कृत्य एकै दिन गर्ने गरी) अनुष्ठान गर्न सम्भव नै हुँदैन भन्ने पूजकहरूको भनाइ छ। यस विषयमा विशेष गरी गुभाजुहरूको परम्परा प्रबल रूपमा रहेको देखिन्छ। यो परम्परा धेरै हदसम्म वैदिक तिथिगणनापद्धतिसँग मिल्ने देखिञ्‍छ। 


वैदिक तिथि गणनाको सिद्धान्तको प्रयोगको राम्ररी विचार गर्दा तिहारमा औँसीको निर्णय गरी औँसीको झन अगिल्लो दिन धन्वन्तरिजयन्ती, औँसीको अगिल्लो दिन नरकचतुर्दशीकृत्य, अमावास्या (औँसी) का दिन लक्ष्‍मीपूजा, औँसीको भोलिपल्ट गोवर्धनपूजा र ह्मपूजा तथा औँसीको पर्सिपल्ट भाइटीका गर्ने गर्नुपर्छ भन्ने निष्‍कर्ष निस्केको छ।

 

निष्‍कर्ष
माथिको विवेचनाबाट अहोरात्रात्मक तिथिको सैद्धान्तिक र व्यावहारिक दुबै प्रकारको महत्त्व स्पष्ट हुन्छ। त्यसैले स्वाद्ध्यायशालाबाट २०६७ देखि प्रकाशित हुँदै आएका वैदिक-तिथिपत्रमा अहोरात्रात्मक तिथिलाई मुख्य स्थान दिइएको छ। साथै अर्वाचीन स्पष्टतिथि अथवा खण्डतिथिलाई लौकिक तिथि भनेर दिइने गरेको छ । यसको उपयोगबाट हाम्रा चाडपर्वको निर्णय गर्नेगर्नु उपयुक्त देखिन्छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप लेखहरु