१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने

१३ मार्ग, २०८३
सारांश
  • काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको कीर्तिपुर नगरपालिका–६ स्थित १३२/११ केभी चोभार सबस्टेसन सञ्चालनमा आएको छ ।

काठमाडौं : काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको कीर्तिपुर नगरपालिका–६ स्थित १३२/११ केभी चोभार सबस्टेसन सञ्चालनमा आएको छ ।

 

चोभार सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर जडान गरिएका छन् । थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मातातीर्थ–चोभार खण्डबाट सबस्टेसनमा विद्युत् आपूर्ति दिइएको छ ।

 

सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत वितरण गर्न ११ केभीका नौवटा फिडर लाइनको व्यवस्था गरिएको छ । तीमध्ये तीनवटा फिडर ललितपुरको पुल्चोक क्षेत्रतर्फ र छवटा कीर्तिपुर तथा आसपासका क्षेत्रतर्फ विस्तार गरिएका छन् । फिडरहरूलाई क्रमशः चार्ज गरी स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति सुरु गरिएको छ ।

 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आइतबार सबस्टेसनको अनुगमन गरी ११ केभी फिडरहरू तत्काल चार्ज गरेर विद्युत् भार (लोड) स्थानान्तरणको काम अघि बढाउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

 

कार्यकारी निर्देशक श्रेष्ठले चोभार सबस्टेसन सञ्चालनमा आएपछि विशेषगरी कीर्तिपुर तथा आसपासका क्षेत्र र ललितपुरको पुल्चोक क्षेत्रमा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न सहयोग पुग्ने बताए ।

 

 उनले हिउँदयाममा काठमाडौं उपत्यकाको विद्युत् माग बढ्ने भएकाले मातातीर्थ–चोभार प्रसारण लाइन र चोभार सबस्टेसनले आपूर्ति व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विद्युत् भार स्थानान्तरणको काम तत्काल सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

 

चोभार सबस्टेसन सञ्चालनमा आएसँगै स्युचाटार, टेकु, पाटन र मातातीर्थ सबस्टेसनबाट आपूर्ति हुँदै आएको विद्युत् भारको केही हिस्सा चोभार सबस्टेसनमा स्थानान्तरण गरिनेछ । यसबाट विद्यमान सबस्टेसनहरूको भार व्यवस्थापनमा सहयोग पुग्नुका साथै काठमाडौं उपत्यकाको समग्र विद्युत् आपूर्ति प्रणाली थप भरपर्दो हुने अपेक्षा गरिएको छ ।

 

थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरका खोकना, बुङमती, हरिसिद्धि र लामाटार क्षेत्रमा प्रसारण लाइन निर्माणका लागि आवश्यक जग्गा प्राप्ति तथा अन्य अवरोधका कारण काम अघि बढाउन कठिनाइ भएपछि वैकल्पिक व्यवस्थाका रूपमा चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण गरिएको हो ।

 

चोभार सबस्टेसनदेखि पाटनसम्म करिब साढे चार किलोमिटर लामो १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणलाई पनि उच्च प्राथमिकताका साथ अघि बढाइएको छ । पाटनमा १३२ केभी सबस्टेसन निर्माणको कामसमेत भइरहेको छ । यी संरचना निर्माण सम्पन्न भएपछि काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली थप सुदृढ हुनेछ ।

 

चोभारको भूतखेलस्थित हिमाल सिमेन्टको स्वामित्वमा रहेको १२ रोपनी १२ आना जग्गा भाडामा लिएर सबस्टेसन निर्माण गरिएको हो ।

 

मन्त्रिपरिषद्को २०७८ माघ १७ गतेको बैठकले उक्त जग्गा सबस्टेसन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो । एसियाली विकास बैंक (एडीबी)को काठमाडौं उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजनाअन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋणमा चोभार सबस्टेसन निर्माण गरिएको हो ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार