५ रुपैयाँको १५ करोड थान सिक्का छाप्दै राष्ट्र बैंक

१३ मार्ग, २०८३
सारांश
  • नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका १५ करोड थान सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।

काठमाडौँ : नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका १५ करोड थान सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । 

 

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सिक्काको डिजाइन, टक्सार, आपूर्ति, ढुवानी तथा सम्बन्धित सेवा खरिदका लागि पूर्वयोग्यता प्राप्त कम्पनीसँग बोलपत्र माग गरेको हो ।

 

राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको सूचनाअनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियाबाट सिक्का छपाइको काम अघि बढाउन लागिएको हो । यसका लागि प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा राखी एउटै सिलबन्दी खामभित्र पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

 

बोलपत्र प्रक्रियामा यसअघि सन् २०२६ मार्च १२ मा ‘द राइजिङ नेपाल’मा प्रकाशित सूचनाअनुसार पूर्वयोग्यता प्राप्त कम्पनीले मात्र सहभागिता जनाउन पाउनेछन् । सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम कालोसूचीमा परेका कम्पनी तथा तिनका सञ्चालक वा लगानीकर्ताले नयाँ कम्पनीमार्फत पनि बोलपत्रमा भाग लिन नपाउने सूचनामा उल्लेख छ ।

 

बोलपत्र कागजात खरिद गर्न इच्छुक कम्पनीले आगामी डिसेम्बर २८ सम्म थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग वा बबरमहलस्थित टक्सार महाशाखामा निवेदन दिन सक्नेछन् । कागजातका लागि २० हजार रुपैयाँ, १३२ अमेरिकी डलर वा ११८ युरो शुल्क तोकिएको छ । इमेलमार्फत पनि कागजात प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

 


बोलपत्रसम्बन्धी पूर्वबैठक डिसेम्बर ११ मा मध्याह्न १२ बजे मुद्रा व्यवस्थापन विभागमा हुनेछ । बोलपत्र पेस गर्ने अन्तिम म्याद डिसेम्बर २९ को मध्याह्न १२ बजेसम्म तोकिएको छ । सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ ।

 

बोलपत्रको मान्य अवधि पेस गरेको मितिदेखि १२० दिन कायम हुनेछ । त्यसका लागि कम्तीमा १ लाख २७ हजार अमेरिकी डलर बराबरको बिड सेक्युरिटी पेस गर्नुपर्नेछ । उक्त सुरक्षणको मान्य अवधि सन् २०२७ मे २८ सम्म हुनुपर्ने सूचनामा उल्लेख छ । बोलपत्र स्वीकार वा अस्वीकार गर्ने अधिकार राष्ट्र बैंकमा सुरक्षित रहने पनि सूचनामा जनाइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार