नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

१२ मार्ग, २०८३
सारांश
  • भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

प्रधानमन्त्रीको हालैको भारत भ्रमणपछि नेपालको आर्थिक तथा व्यापारिक वृत्तमा एउटा विषयको निकै चर्चा छ, भारतले नेपाललाई थप दुईवटा समुद्री बन्दरगाह (पारादीप र कान्डला) को पहुँच दिएको विषय। भारत भ्रमणबाट फर्किएपछि ‘१९ वटा उपलब्धि’ हासिल भएको गन्ती सुनाइयो र नयाँ बन्दरगाहले नेपालको व्यापारिक लागत घटाउने दाबी पनि गरियो।

 

आयातकर्ता र निर्यातकर्ताका लागि छनोटको सुबिधा बढ्नु आफैँमा नराम्रो होइन। तर, लजिस्टिक्स र अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा लामो समय काम गरेको अनुभवका आधारमा हेर्दा मलाई लाग्छ, हामी फेरि पनि गहिराइमा गएर अध्ययन र लेखाजोखा नै नगरी ‘सङ्ख्या’ र ‘घोषणा’ मै रमाइरहेका छौँ।

 

नेपालको व्यापार र समग्र अर्थतन्त्रको मुख्य समस्या बन्दरगाहको कमी हुँदै होइन; हाम्रो वास्तविक समस्या त उच्च लजिस्टिक लागत (ढुवानी खर्च), लामो समय र प्रक्रियागत झन्झट हो।

 

सबैभन्दा पहिले त बुझ्नुपर्ने कुरा के हो भने पारादीप र कान्डला हाम्रा लागि ‘वैकल्पिक’ होइनन्, ‘अतिरिक्त’ बन्दरगाह मात्र हुन्। यिनलाई सञ्चालनमा ल्याउन गर्नुपर्ने गृहकार्य अझै बाँकी छ। दूरी, समय र लागतको तुलनात्मक हिसाबकिताब नगरी यी पोर्टले तत्कालै चमत्कार गर्छन् भन्नु व्यावहारिक हुँदैन।

 

भूगोल र दूरीको हिसाब हेरौँ। गुजरातको पश्चिम तटमा रहेको कान्डला बन्दरगाह विराटनगरबाट २,२०० किलोमिटर, वीरगञ्जबाट १,८०० किलोमिटर र भैरहवाबाट १,६५० किलोमिटर टाढा छ। यसको वास्तविक फाइदा पश्चिम नेपालको दोधारा चाँदनीका लागि मात्र देखिन्छ, जहाँबाट यो १,३५० किलोमिटरको दूरीमा पर्छ। खानेतेल (सोयाबिन, पाम आयल), खाडी मुलुकबाट आउने रासायनिक मल, काठ र युरोपबाट आउने ठूला प्रोजेक्ट कार्गोका लागि कान्डला उपयुक्त हुन सक्छ। तर त्यसका लागि ‘फुल र‍्याक’ रेल कनेक्टिभिटी अनिवार्य हुन्छ, जुन हामीसँग अहिले छैन।

 

त्यस्तै, उडिसाको पूर्व तटमा रहेको पारादीप बन्दरगाह विराटनगरबाट ९५० किलोमिटर, वीरगञ्जबाट १,१००, भैरहवाबाट १,३०० र दोधारा चाँदनीबाट १,६५० किलोमिटर पर छ। कोइला, क्लिङ्कर, जिप्सम, लाइमस्टोन जस्ता 'ड्राइ बल्क' र स्टिल कोइलका लागि विराटनगर र वीरगञ्जलाई पारादीपले सघाउन त सक्छ, तर त्यहाँ पनि रेल कनेक्टिभिटीकै आवश्यकता पर्छ।

 

साना तथा मझौला उद्यमी, गार्मेन्ट, कार्पेट र दैनिक उपभोग्य वस्तुको व्यापारका लागि त अहिले चलिरहेका कलकत्ता, हल्दिया र विशाखापट्टनम नै सहज र किफायती छन्। यदि सरकारले पारादीप र कान्डला ल्याएर पश्चिमका उद्योगीलाई यति प्रतिशत ढुवानी खर्च घट्छ, अब त्यहाँ यति उद्योग खुल्छन् र रोजगारी बढ्छ भन्ने ठोस हिसाबकिताब देखाउन सकेको भए त्यसको अर्थ अर्कै हुन्थ्यो। अहिले त केवल छनोटको सुबिधा (अप्सनहरू) बढेको मात्र हो, लागत घट्ने ग्यारेन्टी भइसकेको छैन।

 

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

 

त्यसैले भारतसँग हामीले नयाँ बन्दरगाह माग्नुभन्दा पनि विद्यमान पोर्टहरूको प्रक्रियागत सुधार, गति र अवरोध हटाउने विषयमा बलियो वार्ता गर्नुपर्थ्यो। रेलको भिडभाड (कन्जेसन) कहाँ छ? कुन ठाउँमा बाइपास बनाइदिनुपर्छ? हाम्रो सामानका लागि ‘डेडिकेटेड’ रेल रुट वा समयसीमा कसरी तोक्ने? यस्ता कुरामा ध्यान जानुपर्थ्यो।

 

हाम्रो आयात लागत अस्थिर हुनु अर्को ठूलो समस्या हो। एउटै कन्टेनरको लागत कहिले २,५०० डलर पर्छ त कहिले ३,७०० देखि ४,२०० डलरसम्म पुग्छ। सिपिङ कम्पनीहरूले सेवा शुल्क र डिटेन्सन चार्ज मनपरी लिन्छन्। अर्कोतिर, कलकत्ता पोर्टभित्र मात्रै ७४ वटा विभिन्न एजेन्सीहरू छन्, जसमध्ये कुनै एक ठाउँमा सानो त्रुटि हुँदा वा बैंकिङ शुल्क कटिएर ५० पैसा वा १०० रुपैयाँ कम पुग्दा पनि हाम्रो माल रोकिन्छ र अनावश्यक डिटेन्सन तिर्नुपर्छ। रेल र कन्टेनरको भाडा नेपालभित्रैबाट भुक्तानी गर्न सक्ने सरल व्यवस्था मिलाउन सके मात्र पनि व्यवसायीको ठूलो टाउको दुखाइ कम हुन्थ्यो।

 

हामी बाहिर नयाँ-नयाँ पोर्ट खोज्दै हिँड्छौँ, तर आफूसँग भएका संरचना र अधिकारको उपयोग गर्न चुकिरहेका छौँ। भारत सरकारले कलकत्ता र हल्दियामा नेपाललाई उपलब्ध गराएको ठाउँ र गोदामहरू अहिले झाडी उम्रेर, यार्ड बिग्रिएर बिजोग अवस्थामा छन्। हल्दियामै नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको कार्यालय छ। यदि हामीले आफ्नै संस्थालाई बलियो बनाएर, नेपालले आफ्नै रेलवे र‍्याक किनी भारतको इन्जिन भाडामा लिएर सामान वा रासायनिक मल ढुवानी गर्न सकेको भए, अहिले भनिएजस्तो पारादीप वा कान्डला धाइरहनै पर्दैनथ्यो कि !

 

उल्टै अहिले अनुगमनकारी भूमिकामा रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिलाई व्यापारिक संस्थामा गाभ्ने काम भएको छ। यता बनारस हुँदै कालुघाटसम्म प्रयोग गर्ने भनिएको र परीक्षणसमेत भइसकेको आन्तरिक जलमार्गलाई सहज बनाउने विषय त यो भ्रमणमा चर्चामा समेत आएन।

 

अर्को विडम्बना देशभित्रै पनि छ। विश्व बैंक र एडीबी जस्ता दातृ निकायको सहयोगमा बनेका सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकीहरू निजी क्षेत्रलाई लिजमा दिँदा सरकारले उच्च बोलकबोल (१०० करोड मूल्याङ्कन भएकोमा २०० करोड हाल्ने) लाई दिन्छ। त्यो अतिरिक्त भार त फेरि नेपाली व्यापारी र आम उपभोक्ताकै टाउकोमा थपिन्छ। एकातिर व्यवसायीका छाता संगठनले सर्टिफिकेट अफ ओरिजिन बापत लिने ०.१२ प्रतिशत शुल्कलाई महँगो देख्ने सरकार, अर्कोतिर आफ्नै पूर्वाधार लिजमा दिएर व्यापार लागत बढाइरहेको छ।

 

हामीकहाँ अध्ययनबिना नै सम्झौता गर्ने पुरानो रोग छ। विगतमा चीनसँग पारवहन सम्झौता त गर्‍यौँ, तर एउटा जबरजस्तीको परीक्षणबाहेक तेस्रो मुलुकको व्यापार खै त? बीबीआईएनमा हाम्रै जोडबलमा गयौँ, पछि काम नलाग्ने देखियो। सार्क अघि बढेन, अहिले बिमस्टेक भनिँदै छ। भारतको बाटो सहज नबनाई क्षेत्रीय वा विश्व बजारमा हाम्रो पहुँच सम्भव नै छैन।

 

निर्यातको पाटो त झन् दयनीय छ। भारतले आफ्ना घरेलु उद्योग जोगाउन गैर-भन्सार अवरोध र बीआईएस  सर्टिफिकेसनको हतियार चलाउनु स्वाभाविक बजार रणनीति हो। दार्जिलिङको चिया बेच्ने बेला हुँदा नेपालको चिया रोक्नु उसको व्यापारिक स्वार्थ हो। तर त्यसलाई चिर्न नेपालले के गर्‍यो? सन् २०११ मै पहिचान गरिएका मान्यताप्राप्त ल्याबहरू आजसम्म बन्न सकेनन्। कृषि मन्त्रालयको अकर्मण्यताले गर्दा हाम्रा अदुवा, अलैँची, बेसार, चिया र सिमेन्टले बारम्बार अवरोध झेलिरहेका छन्। बल्लतल्ल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले केही पहल थालेको छ।

 

सरकारले व्यापार कूटनीतिमा पनि संरचनागत गल्ती गरिरहेको छ। व्यापार र पारवहनको नेतृत्व वाणिज्य मन्त्रालयले गर्नुपर्नेमा परराष्ट्र मन्त्रालय हाबी हुने, अर्थ र परराष्ट्रले अरू मन्त्रालयलाई नटेर्ने र भन्सारको अटोमेसन भए पनि आसपासका निकाय र एजेन्सीहरू प्रविधिमैत्री नहुने समस्या ज्यूँका त्यूँ छन्।

 

हामी सधैँ कृषि, पर्यटन र जलविद्युतलाई समृद्धिको आधार भन्छौँ। तर मेरो स्पष्ट मान्यता छ, नेपालको समग्र आर्थिक प्रगतिको मेरुदण्ड पारवहन नै हो। जबसम्म पारवहन सस्तो, छिटो र पूर्वानुमानयोग्य हुँदैन, तबसम्म न जलविद्युतका उपकरण सस्तोमा आउँछन्, न पूर्वाधार बन्छ, न उद्योग प्रतिस्पर्धी हुन्छन्, न त पर्यटन नै फस्टाउँछ। म सन् २००८ देखि यही विषय उठाइरहेको छु, तर आज पनि अवस्था उस्तै छ।

 

अर्कोतर्फ, आज बजारमा पैसा थुप्रिएको छ, ब्याजदर ४–५ प्रतिशतमा झरेको छ, तर पनि निजी क्षेत्रमा लगानी गर्ने आत्मविश्वास छैन। जनताको क्रयशक्ति घटेको छ। सरकार आफैँ व्यापार वा उद्योग चलाउन खोजेर हुँदैन; सरकारको काम त बजार नियमन, नीतिगत सहजता र लगानीमैत्री वातावरण बनाउने हो। कर्मचारीतन्त्रलाई पारदर्शी, जवाफदेही र जोखिम मोल्न सक्ने नबनाएसम्म न स्वदेशी लगानी बढ्छ, न विदेशी लगानी भित्रिन्छ।

 

निर्यात बढाउन हामीले अनुदानको लोभ देखाएर मात्र पुग्दैन; बजार पहिचान, गुणस्तर र ब्रान्डिङमा जानुपर्छ। "सस्तो भए मात्र बिक्छ" भन्ने सोच त्यागेर हामीले कफी किलोमा होइन, तोलामा र उच्च मूल्यमा बेच्ने आँट गर्नुपर्छ।

 

नेपालको सार्वभौमसत्ता र अधिकार आफ्नो ठाउँमा छ, तर भौगोलिक र आर्थिक यथार्थले भन्छ, भारतको असल साझेदारी र सरल पारवहन बिना नेपालको अर्थतन्त्रले फड्को मार्न सक्दैन। अबको आवश्यकता ‘चाइना कार्ड’ खेल्ने वा भ्रमणमा बन्दरगाहको सङ्ख्या गन्ने होइन; बरु भारतलाई सुरक्षा र अवैध व्यापार नियन्त्रणमा डिजिटल प्रविधिमार्फत पूर्ण विश्वस्त पार्दै, नेपालकै सिमाना सुरक्षा योगदानको समेत कूटनीतिक मूल्य स्थापित गरेर सस्तो, छिटो र झन्झटमुक्त पारवहन प्रणाली निर्माण गर्नु हो।

 

जबसम्म हामी ‘बन्दरगाहको गन्ती’ बाट माथि उठेर ‘लजिस्टिक लागत घटाउने’ र ‘आफ्नै संस्था बलियो बनाउने’ ठोस गृहकार्य गर्दैनौँ, तबसम्म यस्ता सम्झौताहरू कागज र भाषणमै सीमित भइरहनेछन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप लेखहरु