आइटी क्षेत्रको ‘ब्रेन ड्रेन’ रोक्न नीतिगत सुधार, आईपी संरक्षण र डिजिटल सहकार्य आवश्यक: दमन पाण्डे
५ मार्ग, २०८३
- संवादका क्रममा पाण्डेले बसाइँसराइ (माइग्रेसन) र ब्रेन ड्रेनलाई दुई फरक दृष्टिकोणबाट विश्लेषण गरे। अवसर र आर्थिक उन्नतिको खोजीमा अमेरिका र युरोपका नागरिकहरूसमेत अन्य देश जाने गरेको उल्लेख गर्दै उनले बसाइँसराइलाई सधैँ नकारात्मक रूपमा मात्र हेर्न नहुने तर्क राखे।
बिन्दु पोष्टद्वारा शुक्रबार आयोजित नीतिगत संवाद (पोलिसी डायलग) कार्यक्रममा बोल्दै सूरी टेक्नोलोजी (Soory Technology) का प्रमुख प्रविधि अधिकृत (सीटीओ) दमन पाण्डेले नेपालको सूचना प्रविधि (आइटी) क्षेत्रमा देखिएको ‘ब्रेन ड्रेन’ (बौद्धिक पलायन) को समस्या दिनप्रतिदिन जटिल बन्दै गएको बताएका छन्। विगत ६–७ वर्षदेखि आइटी क्षेत्रमा कार्यरत रहेका उनले जनशक्ति पलायन रोक्न केवल प्राविधिक पक्ष मात्र नभई नीतिगत सुधार, बौद्धिक सम्पत्तिको संरक्षण, बजार प्रवर्द्धन र अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको औँल्याएका हुन्।
संवादका क्रममा पाण्डेले बसाइँसराइ (माइग्रेसन) र ब्रेन ड्रेनलाई दुई फरक दृष्टिकोणबाट विश्लेषण गरे। अवसर र आर्थिक उन्नतिको खोजीमा अमेरिका र युरोपका नागरिकहरूसमेत अन्य देश जाने गरेको उल्लेख गर्दै उनले बसाइँसराइलाई सधैँ नकारात्मक रूपमा मात्र हेर्न नहुने तर्क राखे। भारतीय मूलका अमेरिकी नागरिकहरूले स्वदेशमा प्रविधि र अवसर भित्र्याएको उदाहरण दिँदै उनले भने, “तर नेपालको सन्दर्भमा एक पटक बाहिर गएपछि दक्ष जनशक्ति नफर्कने प्रवृत्तिले गर्दा यो गम्भीर समस्याका रूपमा देखा परेको छ।”
सीटीओका अनुसार आइटी कम्पनीहरूलाई प्राविधिक जनशक्ति (डेभलपर) भन्दा पनि मार्केटिङ, सेल्स र परियोजना (प्रोजेक्ट) भित्र्याउन सक्ने ‘नन-आइटी’ दक्ष जनशक्तिको पलायनले झन् ठुलो संकट निम्त्याएको छ। नेपालमा प्रविधि र सफ्टवेयर निर्माण गर्न सक्ने जनशक्ति पर्याप्त रहे पनि अन्तर्राष्ट्रिय बजारमा नेगोसिएसन गरी काम भित्र्याउने दक्ष व्यक्तिहरूको अभाव रहेको उनले बताए।
आफ्नो अनुभव सुनाउँदै पाण्डेले भने, “नेपाल र विदेशबाट समेत प्रोजेक्ट ल्याउने हाम्रो एक जना दक्ष सहकर्मीले बाहिरबाट अझ राम्रो गर्न सकिन्छ भन्दै विदेश पलायन हुने निर्णय गर्दा नेपालमा रहेका करिब ४०० देखि ५०० जना जनशक्ति बेरोजगार हुनुपरेको अवस्था छ।”
नेपालको निजी र कर्पोरेट क्षेत्रको कार्यशैलीका कारण पनि आइटी पेशाकर्मीहरू निरुत्साहित भएर विदेशिन बाध्य भएको उनको भनाइ थियो। कुनै युवा वा स्टार्टअपले मिहिनेतका साथ प्रडक्ट तयार पारेर कर्पोरेट संस्थालाई प्रस्ताव (पिच) गर्दा भोलिपल्टै उक्त आइडिया कपी गरी थर्ड पार्टी वा आफ्नै माध्यमबाट लाइभ गरिदिने प्रवृत्ति विद्यमान रहेको उनले गुनासो गरे। नेपालमा बौद्धिक सम्पत्ति (आईपी) संरक्षणको प्रभावकारी व्यवस्था र ठुलो बजारमा पहुँच नहुँदा आविष्कारकर्ताहरू पलायन हुन बाध्य भएको उनको विश्लेषण छ।
ब्रेन ड्रेन रोक्न सरकारको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले सरकारको वर्तमान सफ्टवेयर खरिद नीतिप्रति असन्तुष्टि व्यक्त गरे। स्वदेशी आइटी कम्पनीलाई प्रोत्साहन गर्नुको साटो सरकारले बाहिरबाटै सफ्टवेयर खरिद गर्दा स्वदेशमा निर्मित राम्रा सफ्टवेयरहरू खेर गइरहेको उनले बताए। “कम्पनीले राम्रो आम्दानी (रेभिन्यु) गर्न सके मात्र कर्मचारीलाई आकर्षक तलब र सुविधा (इन्सेन्टिभ) दिएर टिकाउन सक्छ,” उनले भने, “सरकार आफैँले सफ्टवेयर कम्पनी खोल्ने जस्ता कदमले निजी क्षेत्र कसरी फस्टाउन सक्छ भन्ने प्रश्न खडा भएको छ।”
नेपालमा डेभलपरहरूले ३ वर्षदेखि ६–७ वर्षसम्म पनि एउटै प्रकृतिको काम गरिरहनुपर्ने र नयाँ प्रविधि सिक्ने अवसर नपाउँदा पलायन बढेको सीटीओले बताए। आकर्षक पारिश्रमिकसँगै नयाँ प्रोजेक्ट र सिकाइको वातावरण सिर्जना गर्न सके जनशक्ति टिकाउन सकिने उनको धारणा छ।
आफ्नो कम्पनीले हालै भारतीय कम्पनीसँगको सहकार्यमा नेपालमै सम्पन्न गरेको एक प्रोजेक्टको उदाहरण दिँदै उनले भने, “भारतीय डेभलपरहरूले वर्षौँ लगाएर हासिल गरेको विशेषज्ञता (एक्सपर्टिज) हामीले सहकार्यमार्फत नेपाली टिममा करिब ६ महिनामै विकास गर्न सफल भयौँ। नयाँ कुरा सिक्न पाउँदा अहिले हाम्रो कार्यालयको वातावरण नै अत्यन्त सकारात्मक र ऊर्जाशील बनेको छ।”
साइबर सुरक्षाका क्षेत्रका दक्ष जनशक्तिसमेत बाहिरिइरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले यसलाई रोक्न सरकारले विशेष कार्ययोजना ल्याउनुपर्ने सुझाव दिए। आजको युगमा ‘डिजिटल कनेक्टिभिटी’ अनिवार्य आवश्यकता भइसकेको बताउँदै उनले भारतलगायतका छिमेकी मुलुकसँग द्विपक्षीय सम्बन्ध विस्तार गरी ज्ञान, सूचना र प्रविधिको नवीनतम ट्रेन्ड आदानप्रदान गर्न सके नेपाली डेभलपरहरूको क्षमता अभिवृद्धि भई ब्रेन ड्रेन न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गरे।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।