आपूर्ति शृङ्खला सुरक्षाका लागि रणनीतिक भण्डारण र राष्ट्रिय तयारी आवश्यक : राम चन्द्र खत्री
५ मार्ग, २०८३
- खत्रीले नेपालले दक्षिण वा उत्तरतर्फको आपूर्ति अवरुद्ध भएमा त्यसको सामना कसरी गर्ने भन्ने विषयमा स्पष्ट रणनीति बनाउनुपर्ने बताए।
काठमाडौं: नेपालले भूराजनीतिक संकट, आपूर्ति अवरोध र आर्थिक अस्थिरताको सम्भावनालाई ध्यानमा राख्दै अत्यावश्यक वस्तुको रणनीतिक भण्डारण, राष्ट्रिय सुरक्षा मार्गदर्शन र संकट व्यवस्थापनको पूर्वतयारी गर्नुपर्ने नेपाली सेनाका पूर्व सहचारी रामचन्द्र खत्रीले बताएका छन्।
बिन्दु पोस्टले शुक्रवार आयोजना गरेको नीति संवाद कार्यक्रममा ‘आपूर्ति शृङ्खला सुरक्षा र सैन्य कूटनीति’ विषयमा धारणा राख्दै सहायक रथी (अवकाशप्राप्त) खत्रीले नेपालको भौगोलिक अवस्थिति र बाह्य आपूर्तिमा निर्भरताका कारण संकटको समयमा आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने बताए।
भारतका लागि नेपाली सैनिक सहचारीका रूपमा तीन वर्ष काम गर्दा प्राप्त अनुभव सुनाउँदै उनले पेट्रोलियम पदार्थ, रसायन, विस्फोटक पदार्थ, औषधि, सुरक्षा उपकरण र पूर्वाधार निर्माणका सामग्री आयातमा विभिन्न प्रक्रिया तथा प्रमाणीकरणका कारण ढिलाइ हुने गरेको उल्लेख गरे। यस्ता वस्तुको आयातमा हुने अवरोधले विकास निर्माणदेखि राष्ट्रिय सुरक्षा र आर्थिक गतिविधिसम्म असर पार्न सक्ने उनको भनाइ थियो।
खत्रीले नेपालले दक्षिण वा उत्तरतर्फको आपूर्ति अवरुद्ध भएमा त्यसको सामना कसरी गर्ने भन्ने विषयमा स्पष्ट रणनीति बनाउनुपर्ने बताए। विगतमा नाकाबन्दी तथा आपूर्ति संकटका अनुभवबाट पाठ सिक्दै सम्भावित जोखिमको पूर्वआकलन, वैकल्पिक आपूर्ति मार्ग र संकटका बेला विभिन्न निकायबीच समन्वय गर्ने संयन्त्र विकास गर्नुपर्नेमा उनले जोड दिए।
उनका अनुसार मध्यपहाडी लोकमार्गका उपयुक्त स्थानमा प्रदेशगत रूपमा रणनीतिक भण्डारण केन्द्र स्थापना गर्ने अवधारणामा सरकारले ध्यान दिनुपर्छ। त्यस्ता भण्डारणमा अत्यावश्यक औषधि, मेडिकल उपकरण, आधारभूत उपभोग्य सामग्री तथा संकटका बेला आवश्यक पर्ने वस्तु सुरक्षित राख्ने योजना बनाउन सकिने उनले बताए। शान्तिकालमै यस्तो प्रणालीको तयारी र व्यवस्थापन गर्न सके संकटका बेला सहज हुने उनको धारणा थियो।
आपूर्ति संकट वा गम्भीर आर्थिक अव्यवस्थाको अवस्थामा राज्यका विभिन्न निकाय कसरी परिचालित हुने भन्ने स्पष्ट राष्ट्रिय रणनीतिक मार्गदर्शन आवश्यक रहेको खत्रीले बताए। संविधानको धारा २६७ लगायतका संवैधानिक व्यवस्थालाई संकट व्यवस्थापन र राष्ट्रिय तयारीसँग जोडेर थप स्पष्ट रणनीति बनाउनुपर्ने उनको सुझाव थियो।
उनले संकटका बेला आपूर्ति वितरण, राशनिङ, प्राथमिकता निर्धारण र स्रोत परिचालनका लागि सम्बन्धित मन्त्रालय, सुरक्षा निकाय तथा अन्य जिम्मेवार संस्थाबीच समन्वय आवश्यक रहेको बताए। यसका लागि वास्तविक संकटको परिदृश्यमा आधारित संयुक्त पूर्वअभ्यास (टेबलटप एक्सरसाइज) नियमित सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।
उच्चस्तरीय कूटनीतिक भ्रमण तथा द्विपक्षीय वार्तामा पनि राष्ट्रिय सुरक्षा र आपूर्ति शृङ्खलासम्बन्धी विज्ञहरूको सहभागिता महत्त्वपूर्ण हुने खत्रीले उल्लेख गरे। आर्थिक तथा कूटनीतिक विषयसँग जोडिएका निर्णयहरूमा सुरक्षा दृष्टिकोणलाई समेत समेट्नुपर्ने उनले बताए।
आपूर्ति शृङ्खला सुरक्षा केवल व्यापार वा आर्थिक विषय नभई राष्ट्रिय सुरक्षा, पूर्वाधार विकास र नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सरकारले दीर्घकालीन तयारी र समग्र राष्ट्रिय दृष्टिकोणबाट यसलाई सम्बोधन गर्नुपर्ने खत्रीको निष्कर्ष थियो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।