अब मोबाइलमै कर्मकाण्ड : एआई प्रविधिबाट वैदिक विधि र पञ्चाङ्ग सेवा

२९ भाद्र, २०८३, सोमवार
सारांश
  • स्वामी केशवानन्द गिरिले तयार गरेको नेपाली, संस्कृत, अङ्ग्रेजी र हिन्दी भाषाको शब्दकोश पनि एपमा राखिनेछ । नेपालभरका धार्मिक तीर्थस्थल, गुरुकुल तथा गौशालाको जानकारी एक वर्षभित्र समावेश गर्ने लक्ष्य राखिएको छ ।

काठमाडौं: वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने नित्य, नैमित्तिक र काम्य कर्मका विधि अब मोबाइल एपबाटै हेर्न र प्रयोग गर्न सकिने भएको छ । वैदिक अनुसन्धान गुठी (वाग्) ले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरी कर्मकाण्ड विधि, पञ्चाङ्ग तथा धर्मशास्त्रसम्बन्धी जानकारी समेटिएको ‘वाग् । कर्मकाण्ड । नेपाली पात्रो’ नामक मोबाइल एप सार्वजनिक गरेको हो ।

 

धर्म र संस्कृतिको संरक्षण तथा आम मानिसलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले तयार गरिएको एपबाट गुरु–पुरोहित र यजमानले कर्मकाण्डका विधि, पूजा सामग्री, सङ्कल्प र शास्त्रीय जानकारी प्राप्त गर्न सक्नेछन् ।

 

वाग्का अध्यक्ष डा. स्वामी केशवानन्द गिरिको नेतृत्वमा ४० जनाको टोलीले दुई वर्षसम्म गरेको अध्ययन, अनुसन्धान र विकासपछि एप तयार भएको हो । दाताहरूको सहयोगमा करिब ७० लाख रुपैयाँ लागतमा यो काम सम्पन्न भएको गुठीले जनाएको छ ।

 

वास्तविक समय र स्थानअनुसार एआईबाट सङ्कल्प
एपको प्रमुख विशेषतामध्ये वास्तविक समय र स्थानका आधारमा सङ्कल्प तयार हुनु रहेको स्वामी केशवानन्द गिरिले बताए । प्रयोगकर्ताले आफ्नो समय र स्थान राखेपछि एआईले कर्मकाण्डमा आवश्यक पर्ने सङ्कल्पका विषयवस्तु मोबाइलको स्क्रिनमा उपलब्ध गराउनेछ ।

 

यसबाट गुरु–पुरोहितले सङ्कल्प वाचन गरी कर्म गराउन सक्नेछन् । नेपालका करिब सात हजार नदी तथा नालाका नाम एपमा समावेश गरिएको र नेपालका तीर्थस्थलको विवरण राख्ने काम अन्तिम चरणमा पुगेको गिरिले जानकारी दिए । विश्वका प्रमुख नदी तथा अन्य स्थानको विवरण पनि थप्ने काम भइरहेको छ ।

 

उनका अनुसार इन्टरनेट उपलब्ध भएको अवस्थामा विश्वको जुनसुकै स्थानबाट प्रयोगकर्ताले वास्तविक समय र स्थानका आधारमा सङ्कल्प तयार गर्न सक्नेछन् । यसले शुद्ध कर्म गराउने गुरु–पुरोहितको अभाव भएका स्थानमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

चार भाषामा कर्मकाण्ड विधि
एपमा वेदका मूल मन्त्र संस्कृत भाषामै राखिएका छन् भने कर्मकाण्डका विधि नेपाली, संस्कृत, अङ्ग्रेजी र हिन्दी भाषामा उपलब्ध गराइएको छ । यसबाट नेपालबाहिर रहेका हिन्दू धर्मावलम्बीले समेत आफ्नो आवश्यकता अनुसार विधि अध्ययन र प्रयोग गर्न सक्नेछन् ।

 

कुन कर्मका लागि कति पूजा सामग्री आवश्यक पर्छ, यजमानले के–के गर्नुपर्छ र कुन विषय निषेध गरिएको छ भन्ने जानकारी पनि एपमा समावेश गरिएको छ । कर्म गराउने ब्राह्मण तथा कर्म गर्ने यजमानको कर्तव्य र जिम्मेवारीबारे पनि जानकारी दिइएको छ ।

 

पूजा सामग्रीको मात्रासहितको विवरण, गोत्र तथा प्रवरको सूची, चान्द्रमासअनुसारका तिथि र दिशा पहिचान गर्न कम्पासको सुविधा एपमा राखिएको छ । विभिन्न तिथि तथा मितिलाई एक प्रणालीबाट अर्को प्रणालीमा परिवर्तन गर्ने सुविधा पनि उपलब्ध छ ।

 

पञ्चाङ्ग, मुहूर्त र राशिफलसमेत
एपमा सूर्य सिद्धान्त र दृग्गणना दुवै आधारमा गणना गरिएको पञ्चाङ्ग राखिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोमा समावेश मुहूर्त तथा साइत पनि एपमा उपलब्ध गराइएको गुठीले जनाएको छ ।

 

प्रयोगकर्ताले दैनिक, मासिक र वार्षिक राशिफल हेर्न सक्नेछन् । मुहूर्त तथा साइतलाई पछिसम्म हेर्न मिल्ने गरी राखिएको छ । एपमा कुण्डली निर्माण र ज्योतिषसम्बन्धी एआई फलादेशको सुविधा पनि समावेश गरिएको छ ।

 

मोबाइलमा डाउनलोड गरेपछि एप अफलाइनमा समेत प्रयोग गर्न सकिन्छ । तर अफलाइन अवस्थामा वास्तविक समय र स्थानका आधारमा तयार हुने सङ्कल्प भने उपलब्ध नहुने जनाइएको छ ।

 

धर्मशास्त्रका ग्रन्थ र एआई प्रविधिको प्रयोग
स्वामी केशवानन्द गिरिका अनुसार धर्मशास्त्र र ज्योतिषसहितको यस्तो कर्मकाण्ड सफ्टवेयर नेपालमा मात्र नभई विश्वमै पहिलो भएको दाबी गरिएको छ । भारतमा समेत यस प्रकारको सफ्टवेयर निर्माण नभएको उनको भनाइ छ ।

 

एआई मोडललाई तालिम दिन वाग्ले अमेरिकाबाट करिब १० लाख रुपैयाँ मूल्य पर्ने अत्याधुनिक कम्प्युटर नेपाल ल्याएको उनले बताए । वाग् अमेरिका शाखाका अध्यक्ष तुलसीराम सुवेदीले पनि यस कार्यमा सहयोग गरेका छन् ।

 

एपमा विवाह र व्रतबन्धका विधि तयार भइसकेका छन् । विभिन्न देवीदेवताका स्तोत्र समावेश गर्ने काम भइरहेको छ । रामायण, महाभारतलगायत पूर्वीय दर्शनका ग्रन्थ नेपालीमा अनुवाद गरी एपमा राख्ने योजना पनि गुठीले अघि सारेको छ ।

 

स्वामी केशवानन्द गिरिले तयार गरेको नेपाली, संस्कृत, अङ्ग्रेजी र हिन्दी भाषाको शब्दकोश पनि एपमा राखिनेछ । नेपालभरका धार्मिक तीर्थस्थल, गुरुकुल तथा गौशालाको जानकारी एक वर्षभित्र समावेश गर्ने लक्ष्य राखिएको छ ।

 

गुरु–पुरोहितलाई तालिम र अनलाइन परीक्षा
वाग्ले देशका विभिन्न भागमा कर्मकाण्ड गराउने गुरु–पुरोहितलाई एपको प्रयोगसम्बन्धी प्रशिक्षण दिने योजना बनाएको छ । कर्म गराउन सक्ने गुरु–पुरोहितको अनलाइन परीक्षा लिएर उनीहरूको योग्यता र विवरण एपमै राखिने गिरिले बताए ।

 

यसबाट यजमानले आफ्नो स्थानअनुसार योग्य गुरु–पुरोहित छनोट गर्न सहज हुने अपेक्षा गरिएको छ । यसका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग सहकार्य गर्न सकिने उनको भनाइ छ ।

एपको सुरुवाती संस्करण भएकाले प्रयोगकर्ताको सुझाव र आवश्यकताअनुसार सुधार गर्दै जाने गुठीले जनाएको छ । विदेशमा रहेका नेपालीलाई धर्म र आस्थासँग जोड्न तथा नयाँ पुस्तालाई वैदिक संस्कृतितर्फ आकर्षित गर्न एप उपयोगी हुने विश्वास गरिएको छ ।

 

गुरुकुल र गौशालालाई सहयोग गर्ने व्यवस्था
एपमा गुरुकुल, गौशाला तथा तीर्थस्थलको जानकारी राखेर कर्मकाण्डबाट प्राप्त दक्षिणाको केही हिस्सा सम्बन्धित संस्थालाई सहयोग गर्न सकिने व्यवस्था विकास गरिएको छ ।

 

गुरु–पुरोहितले चाहेमा दक्षिणाको १० प्रतिशत रकम नजिकको गौशाला, गुरुकुल वा तीर्थस्थललाई अनलाइनमार्फत दिन सक्ने सुविधा राखिएको गिरिले बताए । यसबाट वैदिक शिक्षा, धार्मिक संस्था तथा संस्कृतिको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

अमेरिकामा समेत कर्मकाण्ड गराउँदै आएका वाग् अमेरिका शाखाका अध्यक्ष तुलसीराम सुवेदीले आफ्नो पुस्तामा आइपुग्दा कर्मकाण्ड गराउने गुरु–पुरोहितको सङ्ख्या अघिल्लो पुस्ताको तुलनामा करिब ५० प्रतिशतले घटेको बताए । नेपाली तथा हिन्दू धर्मावलम्बीको बाक्लो बसोबास रहेका अमेरिकाका भर्जिनिया, न्यूयोर्क र क्यालिफोर्नियाजस्ता स्थानमा एप उपयोगी हुने उनको भनाइ छ ।

 

दुई दशकदेखि गुरु–पुरोहितका रूपमा काम गर्दै आएका कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीका ४३ वर्षीय विदुर सापकोटाले पनि एपबाट पुस्तक बोक्नुपर्ने झन्झट हट्ने र सङ्कल्प तथा वाक्य शुद्ध रूपमा उपलब्ध हुने भएकाले कर्म गराउन सहयोग पुग्ने बताए ।

 

वाग्ले अहिले एप निःशुल्क डाउनलोड गरी प्रयोग गर्न सकिने जनाएको छ । यसबाट वैदिक ज्ञानको संरक्षण, पुस्तान्तरण र विश्वव्यापी प्रचारमा योगदान पुग्ने गुठीको विश्वास छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार