अहम्‌को वृत्तमा कृष्ण: राहु-केतुको रुपक देखी चेतनाको यात्रासम्म

१९ भाद्र, २०८३, शुक्रवार
सारांश
  • कृष्णलाई बाहिर खोज्दा हामी एउटा रूप, प्रतिमा वा कथा भेट्न खोज्छौँ । तर आफूभित्र खोज्दा त्यही कृष्णलाई चेतना, प्रेम, करुणा, सत्य, विवेक र आत्मबोधका रूपमा अनुभूति गर्न थाल्छौँ ।

आज श्रीकृष्ण जन्माष्टमी । एकातिर हामी भगवान् श्रीकृष्णको जन्मोत्सव मनाइरहेका छौँ, अर्कोतिर समाजमा घटिरहेका केही घटनाले हामीलाई एउटा असहज तर अत्यन्त महत्वपूर्ण प्रश्नतर्फ फर्काइरहेका छन्: मानिसलाई वास्तवमा कसले चलाइरहेको छ ? हामी भन्छौँ, मानिसलाई मस्तिष्कले नियन्त्रण गर्छ । मस्तिष्कले विचार गर्छ, भावना जन्माउँछ, इच्छा पैदा गर्छ, निर्णय लिन्छ र व्यवहारलाई दिशा दिन्छ । तर त्यसो भए अर्को प्रश्न उठ्छ । मस्तिष्कलाई नियन्त्रण गर्ने को हो ? यदि मस्तिष्कलाई नियन्त्रण गर्न अर्को मस्तिष्क चाहिन्छ भने, त्यसलाई नियन्त्रण गर्ने फेरि अर्को मस्तिष्क आवश्यक पर्ला । त्यसो भए यो श्रृंखला कहाँ पुगेर रोकिन्छ ? सायद यही प्रश्नको उत्तर खोज्दै जाँदा हामी अहम्, चेतना र द्रष्टा (Witness) को गहिरो अवधारणासम्म पुग्छौँ ।

 

आज समाजमा देखिएका केही घटना र समाजको सञ्जालिय मनोदशाले यो प्रश्नलाई अझ पीडादायी बनाइदिन्छन् । एउटा उदाहरणको रुपमा गत साउन ३१ गते आइतवार देखि हराइरहेकी जितपुर सिमरा उपमहानगरपालिका-१ दसधुरीकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको खबरले मन स्तब्ध बनायो । घटनामा १६ वर्षीय किशोर संलग्न भएको खुलेपछि मनमा अर्को प्रश्न उठ्यो: एक किशोरको चेतना कुन यात्राबाट यति भयावह अपराधसम्म पुग्यो ? हामीले निर्माण गरिरहेको परिवार, समाज, शिक्षा, मनोरञ्जन र डिजिटल वातावरणले नयाँ पुस्ताको मस्तिष्क र चेतनालाई कस्तो आकार दिइरहेको छ ? यो प्रश्न अपराधीलाई निर्दोष ठहराउने वा जिम्मेवारीबाट उन्मुक्ति दिने होइन; अपराधको जिम्मेवारी अपराध गर्ने व्यक्तिकै हुन्छ । तर एउटा सभ्य समाजले अपराधपछि केवल दोषी खोजेर मात्र आफ्नो दायित्व पूरा गर्दैन, उसले आफ्नै सामाजिक चेतना तर्फ पनि फर्केर हेर्नुपर्छ । हामीले आफ्ना बालबालिकालाई संसारसङ्ग जोड्न त सिकाइरहेका छौँ, तर आफ्नै मन, इच्छा, आवेग र सीमालाई बुझ्न पनि सिकाइरहेका छौँ कि छैनौँ  ? अनुभूतीको केन्द्र के बनाउँदै छौं र के परिणाम सृजना भएको छ ।

 

अहम् भनेको के हो ?  सम्पूर्ण अनुभूतिको केन्द्र:

 

अहम् भनेको केवल अहंकार वा घमण्ड होइन; यो सबैभन्दा पहिले “म” भन्ने अनुभूति हो, म छु, म देख्दैछु, म सोच्दैछु, म अनुभव गर्दैछु भन्ने आन्तरिक बोध । हामीले संसारलाई जसरी देख्छौँ, बुझ्छौँ र त्यसप्रति प्रतिक्रिया दिन्छौँ, त्यसको केन्द्रमा यही “म” को अनुभूति हुन्छ । एउटै घटना दुई व्यक्तिले फरक तरिकाले अनुभव गर्नुको कारण पनि उनीहरूको अनुभव, विचार, संस्कार, इच्छा र चेतनाको अवस्था फरक हुनु हो । अर्थात् हामीले देखेको संसार केवल बाहिरी वस्तुहरूको संसार मात्र होइन, हाम्रो अहम्‌ र चेतनाले निर्माण गरेको अनुभूतिको संसार पनि हो । यहीँबाट भगवान्, संसार र स्वयंको सम्बन्धको प्रश्न उठ्छ । यदि भगवान्‌को खोज गर्ने व्यक्ति नै अनुभवको केन्द्र हो भने, भगवान्‌लाई केवल बाहिर खोजेर मात्र पुग्छ कि आफ्नो अस्तित्वभित्र पनि खोज्नुपर्छ ? कृष्णदर्शनले यही प्रश्नलाई अझ गहिरो बनाउँछ: बाहिर देखिने संसार र त्यसलाई देख्ने “म” बीचको सम्बन्धलाई बुझ्नु नै आत्मबोधको सुरुवात हुन सक्छ ।


अहम्‌को वृत्त , बाहिर र भित्रको यात्रा:

 

अहम्‌लाई एउटा वृत्तको केन्द्र मान्ने हो भने, मानव जीवनको यात्रा मूलतः बाहिरतर्फको विस्तार र भित्रतर्फको फर्काइबीच निरन्तर चलिरहेको देखिन्छ । अहम्‌बाट बाहिरी संसारतर्फ जाने क्रममा हामी नयाँ मानिस, विचार, वस्तु, सूचना र अनुभवसँग जोडिन्छौँ, जसलाई Exposure (बाह्य सम्पर्क/अनावरण) भन्न सकिन्छ । त्यसबाट प्राप्त हुने अनुभूति Experience (अनुभव) बन्छ; अनुभवपछि त्यसलाई आफूभित्र फर्केर हेर्ने प्रक्रिया Reflection (आत्मचिन्तन) हो, र अन्ततः त्यही आत्मचिन्तनबाट आफू, आफ्ना विचार, इच्छा र प्रतिक्रियालाई स्पष्ट रूपमा देख्न सक्ने अवस्था Awareness (चेतनबोध) मा पुगिन्छ ।

 

यसरी मानिस बाहिरी संसारलाई अनुभव गर्दै अन्ततः आफ्नै भित्री चेतनातर्फ फर्किन्छ । यसको केन्द्रमा रहेको अहम् केवल "म" भन्ने पहिचान होइन, बाहिरी संसार र भित्री चेतनाबीचको यात्रालाई अनुभव गर्ने आधार पनि हो । हाम्रो दर्शन, मार्ग, शास्त्र वा सिद्धान्तलाई केवल भावावेश वा अन्धश्रद्धाबाट हेर्नुभन्दा केही क्षण वस्तुगत (Objective) भएर हेर्ने हो भने, त्यसमा रहेका कथा, प्रतीक, पात्र र घटनाहरूले मानिसको जीवन, मनोविज्ञान र चेतनासँग जोडिएको गहिरो सन्देश दिन्छन् । धार्मिक कथालाई केवल बाह्य घटनाका रूपमा होइन, त्यसले मानिसभित्रको कुन अवस्था, प्रवृत्ति वा चेतनालाई संकेत गर्छ भनेर हेर्दा त्यसको अर्को आयाम खुल्छ । त्यस्तै ज्योतिष लाई पनि केवल भविष्य बताउने माध्यमका रूपमा होइन, मानव मन, व्यवहार, प्रवृत्ति र बाह्य आन्तरिक जीवनबीचका ढाँचाहरू (Pattern) लाई प्रतीकात्मक रूपमा पढ्ने एउटा रूपरेखा (Framework) का रूपमा हेर्न सकिन्छ । यस दृष्टिले हेर्दा राहु–केतु, कृष्ण र कालिय नागजस्ता प्रतीकहरू केवल ज्योतिष वा पुराणका विषय रहँदैनन्; ती आजको मानिसको जीवन र चेतनालाई बुझ्ने एउटा रोचक माध्यम वा रुपक बन्न पुग्छन् ।


क) राहु-अहम्‌को बाहिरी विस्तार (Exposure):
अहम्‌को वृत्तमा राहुलाई बाहिरी संसारतर्फ फैलिने बाह्य सम्पर्क को प्रतीकका रूपमा बुझ्न सकिन्छ । यसले मानिसभित्रको इच्छा, महत्वाकांक्षा, जिज्ञासा र नयाँ अनुभवको खोजलाई प्रतिनिधित्व गर्छ। “म अझै के पाउन सक्छु?”, “म अझै के जान्न सक्छु?” र “म अझै कहाँ पुग्न सक्छु?” भन्ने मानसिकता राहुको विस्तारमुखी प्रवृत्तिसङ्ग जोडिन्छ ।


आजको समयमा इन्टरनेट, सामाजिक सञ्जाल, उपकरण, सूचना र प्रविधि ले मानिसलाई संसारसङ्ग अभूतपूर्व रूपमा जोडेको छ । यसले राहुको बाहिरी विस्तारलाई झनै तीव्र बनाएको देखिन्छ । यसको सकारात्मक पक्षमा विस्तार, पहुँच, नवीनता, सम्बन्ध, अवसर र व्यापक प्रभाव आउँछन् । तर यही बाह्य सम्पर्क चेतनाविहीन रूपमा बढ्दै जाँदा तुलना, लोभ, असन्तोष, छुट्ने डर (FOMO), बेचैनी (Anxiety) र निराशा (Frustration) पनि जन्मिन सक्छ ।

 

त्यसैले राहुलाई केवल नकारात्मक रूपमा बुझ्नु उचित हुँदैन । राहु विस्तारको शक्ति हो; त्यसलाई दिशा दिने चेतना भए त्यही विस्तार अवसर बन्छ, तर चेतना हराए त्यही विस्तार असन्तोषको कारण बन्न सक्छ ।

 

ख) केतु- अहम्‌को भित्री यात्रा (Detachment):
अहम्‌को वृत्तमा केतुलाई बाहिरी संसारबाट भाग्ने वा सबै कुरा त्याग्ने प्रतीकका रूपमा मात्र होइन, आफूभित्र फर्किने चेतनाको यात्रा का रूपमा बुझ्न सकिन्छ । जब मानिस बाहिरी आकर्षण, सूचना, उपलब्धि र अनुभवको निरन्तर खोजबाट केही क्षण दूरी बनाउँछ, तब उसले आफ्नै मन, विचार र भावनालाई नियाल्ने अवसर पाउँछ ।

 

यहीँ मौनता, आत्मनिरीक्षण (Introspection) र अन्तरबोध (Inner Sense) को भूमिका शुरु हुन्छ । केतुले एउटा गहिरो प्रश्न जन्माउँछ “मैले खोजिरहेको कुरा वास्तवमै बाहिर छ कि भित्र ?” त्यसैले केतुको विरक्ति (Detachment) संसारप्रतिको पूर्ण त्याग होइन; बरु संसारमा रहेर पनि त्यसको आकर्षणले आफ्नो चेतनालाई नियन्त्रण गर्न नदिने, आफ्ना विचार र इच्छालाई केही दूरीबाट हेर्न सक्ने क्षमता हो । यस अर्थमा केतु बाहिरी संसारबाट भाग्ने बाटो होइन, बाहिरी अनुभवबाट भित्री बोधतर्फ फर्किने यात्रा हो ।

 

ग) आजको समाजमा राहु-केतुको अक्ष:
आजको समाजलाई यही राहु–केतुको मनोवैज्ञानिक अक्षबाट हेर्दा एउटा रोचक चित्र देखिन्छ । इन्टरनेट, सामाजिक सञ्जाल, उपकरण, सूचना र निरन्तर बाह्य सम्पर्कले मानिसको संसार असाधारण रूपमा विस्तार गरिदिएको छ । हामी केही सेकेन्डमै संसारको अर्को कुनामा पुग्न सक्छौँ, अरूको जीवन देख्न सक्छौँ, नयाँ कुरा सिक्न सक्छौँ र अनगिन्ती सम्भावनासँग जोडिन सक्छौँ । यो राहुको सकारात्मक पक्ष विस्तार, पहुँच, नवीनता र व्यापक प्रभाव को आधुनिक रूपजस्तो देखिन्छ ।

 

तर बाह्य सम्पर्क जब चेतनाको नियन्त्रणबिना निरन्तर बढिरहन्छ, तब सूचना बढे पनि आत्मबोध त्यही अनुपातमा बढ्छ भन्ने हुँदैन । संसारसँगको सम्पर्क बढ्दै जाँदा कहिलेकाहीँ आफैँसँगको सम्पर्क कमजोर हुन सक्छ । मानिस संसारका बारेमा धेरै जान्न सक्छ, तर आफूभित्र के भइरहेको छ भन्ने कुरा नबुझ्न सक्छ । यहीँबाट तुलना, छुट्ने डर, बेचैनी, निराशा र असन्तुष्टि जन्मिन सक्छन् ।

 

घ) निष्कर्ष, एउटै वृत्तका दुई विपरीत दिशा:
अहम्‌को वृत्तमा राहु र केतुलाई एउटै चेतनाका दुई विपरीत दिशाका रूपमा हेर्न सकिन्छ । राहुले संसारसँग जोडिन सिकाउँछ भने केतुले त्यही संसारसँगको सम्बन्धलाई भित्रबाट हेर्न सिकाउँछ । ज्योतिषमा राहु-केतुलाई छायाँग्रह (Shadow Planets) मानिन्छ । तिनको आफ्नै भौतिक ग्रहजस्तो स्वरूप हुँदैन । यसलाई अझ सरल रूपमा बुझ्दा, यी दुईलाई बाहिरी वस्तुभन्दा बढी प्रतीकात्मक 'सफ्टवेयर' जस्तो पनि हेर्न सकिन्छ । मानिसको भित्री प्रवृत्ति, चाहना, अनुभव र चेतनाको ढाँचा बुझाउने एउटा संकेतका रूपमा ।

 

त्यसैले राहु–केतुको सन्तुलन भनेको बाहिरी संसार त्याग्नु होइन; बाहिरी अनुभव र भित्री चेतना बीच सामञ्जस्य कायम गर्नु हो । जीवनको पूर्णता केवल बाहिर फैलिनुमा होइन; बाहिरबाट प्राप्त अनुभवलाई चिन्तन र चेतनबोधमा रूपान्तरण गर्दै फेरि आफूभित्र फर्किन सक्नुमा पनि छ ।

 

विडम्बना के छ भने, हामीसँग सूचना दिनप्रतिदिन बढ्दै जान्छ, तर त्यससँगै आत्मबोध भने अनिवार्य रूपमा बढ्दैन । हामी संसारका बारेमा धेरै जान्न सक्छौँ, तर आफूभित्र के भइरहेको छ भन्ने कुरा बुझ्न नसक्न सक्छौँ । यसरी संसारसँग निरन्तर जोडिँदै जाँदा मानिस विस्तारै आफ्नै भावना, आवश्यकता, मौनता र वास्तविक पहिचानबाट टाढिँदै जान सक्छ । त्यसैले समस्या वाह्य सुचनाको विस्तार (Exposure) हुनु होइन; समस्या Exposure माथि चेतनाको नियन्त्रण नहुनु हो ।

 

मानिस संसारमा सक्रिय रहँदै पनि आफ्नै चेतनाको स्वामी बन्न सकेमा राहुको विस्तार र केतुको अन्तर्मुखी यात्राले एकअर्कालाई पूरक बनाउँछन् । किनकि जीवनको पूर्णता केवल बाहिर फैलिनुमा होइन; बाहिरबाट प्राप्त अनुभवलाई चिन्तन र चेतना मा रूपान्तरण गर्दै फेरि आफूभित्र फर्किन सक्नुमा पनि छ । ती दुवै यात्रालाई सचेत रूपमा हेर्ने, बुझ्ने र सही दिशा दिने चेतना नै कृष्ण अर्थात् अहम्को प्रतीकात्मक अर्थ हो । कृष्ण यहाँ केवल बाहिरी पात्र वा धार्मिक प्रतीक मात्र होइनन्; राहुको बाह्यमुखी विस्तार र केतुको अन्तर्मुखी यात्रालाई साक्षीभावले हेर्ने द्रष्टा का रूपमा पनि बुझ्न सकिन्छ।

 

आखिर को हुन त कृष्ण ; अहम्‌भित्रको द्रष्टा (Witness):

 

“भगवान् अहम्‌मा आश्रित छन्” भन्नुको अर्थ भगवान्‌को अस्तित्व मानिसको अहम्‌ले निर्माण गर्छ भन्ने होइन; बरु भगवानको अनुभूति गर्ने केन्द्र स्वयं मानिसको चेतना हो भन्ने दार्शनिक संकेत हो । हामी भगवानलाई मन्दिर, मूर्ति, तीर्थ वा विभिन्न प्रतीकमार्फत खोज्न सक्छौँ, तर अन्ततः त्यसको अनुभूति गर्ने स्थान आफ्नै अन्तरचेतना हो । कृष्णको बाल्यलीलामा माटो खाएको प्रसंगमा उहाँको मुखभित्र सम्पूर्ण ब्रह्माण्ड देखिएको प्रतीकलाई यही दृष्टिले हेर्दा, बाहिर देखिने सम्पूर्ण संसार र त्यसलाई अनुभूति गर्ने “म” बीचको सम्बन्धतर्फ संकेत गरेको देखिन्छ । ब्रह्माण्ड लाई बुझ्ने क्रममा हामी बाहिरी संसार, विज्ञान, ज्ञान र सूचनाको खोजमा धेरै अगाडि बढ्न सक्छौँ, तर त्यसलाई अनुभव गर्ने आफ्नै अस्तित्वलाई बिर्सियौँ भने खोज अधुरो रहन सक्छ । त्यसैले प्रश्न केवल “ब्रह्माण्ड कहाँ छ?” भन्ने होइन, “यो ब्रह्माण्डलाई अनुभव गर्ने ‘म’ को हुँ ?” भन्ने पनि हो। बाहिरी खोजले संसारको स्वरूप देखाउन सक्छ भने आन्तरिक अनुभूतिले त्यस संसारलाई देख्ने चेतनासँग परिचित गराउँछ । यहीँ कृष्णको प्रतीक अझ गहिरो हुन्छ । भगवान्‌लाई बाहिर खोज्दै शुरु भएको यात्रा अन्ततः आफूभित्र फर्किनुपर्ने आत्मबोध को यात्रा बन्न पुग्छ ।

 

क) कालिय नागमाथि कृष्णको नृत्य ,चेतनाको विजय :
ज्योतिषीय प्रतीकमा राहु र केतुलाई एउटै सर्पका दुई ध्रुवका रूपमा बुझिन्छ । कृष्णलिलामा  कालिय नागमाथि कृष्णको नृत्य अझ रोचक छ । "कालिय नागको कथा छ । श्रीमद्भागवतमा वर्णित कृष्णलीलाअनुसार, वृन्दावनको यमुना नदीमा कालिय नामको अत्यन्त विषालु नाग बसेको थियो । उसको विषका कारण यमुनाको पानी दूषित भएको थियो र वरिपरिको वातावरणसमेत प्रभावित भएको मानिन्छ । मानिस तथा पशुपंक्षीहरू त्यस क्षेत्रमा जान डराउँथे । एक दिन बालकृष्ण आफ्ना साथीहरूसँग खेल्ने क्रममा यमुनाको किनारमा पुगे । खेल्दाखेल्दै बल यमुनामा खसेपछि कृष्ण नदीमा पसे र कालिय बसेको स्थानतर्फ अघि बढे ।

 

कृष्ण यमुनामा प्रवेश गरेपछि कालिय नाग क्रोधित भएर बाहिर आयो र कृष्णलाई आफ्नो फणले बेर्न खोज्यो । केही समय कृष्ण कालियको बन्धनमा परेजस्तो देखिए । तर त्यसपछि कृष्णले आफूलाई मुक्त गर्दै कालियका अनेक फणमाथि चढेर नृत्य गर्न थाले । कृष्णको भार र नृत्यको प्रभावले कालिय कमजोर हुँदै गयो । कालियका पत्नीहरू, अर्थात् नागपत्नीहरूले, कृष्णसँग प्रार्थना गर्दै कालियको जीवनको रक्षा गर्न आग्रह गरे । अन्ततः कृष्णले कालियलाई यमुना छोडेर अन्यत्र जान आदेश दिए । कालियले कृष्णको आज्ञा स्वीकार गर्‍यो र आफ्नो परिवारसहित यमुना छोड्यो ।"

 

यस कथाको बाहिरी रूप एउटा विषालु नागमाथि बालकृष्णको विजय हो । यसलाई चेतनाको विजय (Victory of Consciousness) को गहिरो प्रतीकका रूपमा हेर्न सकिन्छ । कृष्णले कालियलाई केवल मार्दैनन्, वशमा ल्याउँछन् (Subdue)। यसको मनोवैज्ञानिक अर्थ मानिसभित्र उत्पन्न हुने इच्छा, भावना, क्रोध, भय र आवेग (Impulse) लाई नष्ट गर्नु होइन, तिनलाई चेतनाको नियन्त्रणमा ल्याउनु हो । इच्छा उठ्न सक्छ, क्रोध आउन सक्छ, भय जाग्न सक्छ, आवेग पैदा हुन सक्छ—तर त्यसको पछाडि अचेतन रूपमा बगिरहनु आवश्यक छैन । जब मानिस आफूभित्र उठिरहेका यी गतिविधिलाई केही दूरीबाट हेर्न सक्षम हुन्छ, तब उसमा द्रष्टाको अवस्था विकसित हुन थाल्छ । यही दूरीले प्रतिक्रिया र निर्णयबीच चेतनाको स्थान बनाउँछ । त्यसैले कालियमाथि कृष्णको नृत्यलाई चेतनापूर्वक नियन्त्रणको रूपकका रूपमा बुझ्न सकिन्छ ।

 

ख) अहम्‌भित्रको द्रष्टा (Witness):
कृष्णलाई केवल बाहिरको पौराणिक पात्र वा ऐतिहासिक व्यक्तित्वका रूपमा मात्र हेर्दा उहाँका कथा एउटा विशेष समय र स्थानमा घटेका धार्मिक प्रसंगजस्ता देखिन्छन् । तर तिनै कथालाई मानिसको चेतना र आत्मबोधको दृष्टिले हेर्ने हो भने, त्यसमा आजको मानिसको भित्री जीवनसँग समेत जोडिने गहिरो अर्थ देखिन थाल्छ ।

 

बालकृष्णका अनेक बाललीलामध्ये एउटा सुन्दर प्रसंग छ । कृष्णले माटो खानुभयो भन्ने कुरा साथीहरूले यशोदामातासँग गएर सुनाए । यशोदाले कृष्णलाई सोध्दा उहाँले माटो नखाएको भन्नुभयो । तर साथीहरूले जिद्दी गरेपछि यशोदाले कृष्णलाई मुख खोल्न लगाउनुभयो । कृष्णले मुख खोल्दा यशोदाले त्यहाँ केवल माटो देखिनन्; सम्पूर्ण ब्रह्माण्ड, आकाश, पृथ्वी, नदी, पर्वत र आफूलाई समेत देखिन् । बालकको मुखभित्र सम्पूर्ण जगत् देखिएको यो प्रसंगलाई धार्मिक चमत्कारका रूपमा मात्र होइन, अनुभूति गर्ने ‘म’ र अनुभूत भइरहेको ब्रह्माण्डबीचको सम्बन्धको प्रतीकका रूपमा पनि पढ्न सकिन्छ ।

 

हामी बाहिरी संसारलाई हेर्छौँ, मानिसहरूलाई चिन्छौँ, वस्तुहरूलाई अनुभव गर्छौँ, सूचना ग्रहण गर्छौँ, विचार बनाउँछौँ र त्यसका आधारमा निर्णय गर्छौँ । अत: आजको मानिस जति जगतसङ्ग, राष्ट्र , समाज वा परिवारसङ्ग असन्तुष्ट छ, त्यो भन्दा बढी आफैसङ्ग असन्तुष्ट छ । तर यी सबै अनुभव भइरहेका छन् भन्ने कुरा थाहा पाउने ‘म’ को हो ? यही प्रश्नले मानिसलाई बाहिरी संसारबाट भित्री चेतनातर्फ फर्काउँछ ।

 

यहीँ कृष्णको अर्को प्रतीकात्मक अर्थ खुल्छ । अहम्‌को वृत्तमा कृष्ण त्यस्तो द्रष्टा हुन्, जसले आफ्नै विचार, भावना, इच्छा र कर्मलाई तिनैसङ्ग पूर्ण रूपमा तादात्म्य नगरी हेर्न सक्छ । विचार आयो, तर म विचार मात्र होइन । क्रोध उठ्यो, तर म क्रोध मात्र होइन । डर पैदा भयो, तर म डर मात्र होइन, इच्छा जाग्यो, तर म इच्छा मात्र होइन । “म मेरो विचार होइन, म त विचारलाई देख्ने द्रष्टा हुँ ।” जब मानिस आफ्ना विचार र भावनालाई नै आफ्नो सम्पूर्ण अस्तित्व ठान्न छोडेर तिनलाई हेर्न थाल्छ, तब आफूभित्र एउटा सूक्ष्म दूरी जन्मिन्छ । यही दूरीमा चेतनबोध विकसित हुन्छ । र यही चेतनबोधले प्रतिक्रिया र निर्णयबीच एउटा महत्वपूर्ण ठाउँ बनाउँछ ।

 

ग) गोपिनीहरूको प्रेम,  बाहिरको खोजबाट भित्री अनुभूतितर्फ:
कृष्णको कथा केवल युद्ध, नीति वा दर्शनको कथा होइन; उहाँसङ्ग जोडिएको प्रेमको संसार पनि उत्तिकै गहिरो छ । गोपिनीहरू, राधा र मीराका प्रसंगलाई बाहिरी प्रेमकथाका रूपमा मात्र हेर्दा एउटा अर्थ आउँछ; तर तिनलाई आध्यात्मिक र दार्शनिक दृष्टिले हेर्दा यी प्रसंगहरू बाहिरको खोजबाट आन्तरिक अनुभूतितर्फ जाने यात्राका प्रतीक जस्ता देखिन्छन् ।


वृन्दावनको एउटा साँझ कल्पना गरौँ । कृष्णको बाँसुरी बज्छ । त्यो धुन सुनेपछि गोपिनीहरू आफ्नो दैनिक काम, घर–व्यवहार र सामाजिक सीमालाई केही समयका लागि बिर्सेर कृष्णतर्फ आकर्षित हुन्छन् । बाहिरबाट हेर्दा उनीहरू कृष्णलाई भेट्न दौडिरहेका छन् । तर भित्री अर्थमा त्यो यात्रा केवल कृष्णतर्फको यात्रा होइन, आफूभित्रको अधुरोपनबाट पूर्णताको खोजीतर्फको यात्रा पनि हो ।

 

रासलीलाको प्रसंगमा हरेक गोपिनीले कृष्णसँग आफूलाई विशेष रूपमा जोडिएको अनुभूति गर्छिन् । यसलाई प्रतीकात्मक रूपमा हेर्दा एउटा रोचक प्रश्न उठ्छ । कृष्ण एउटै छन्, तर प्रत्येक हृदयमा उहाँको अनुभूति कसरी यति व्यक्तिगत हुन्छ ?


सायद यहीँ भगवत् अनुभूतिको अर्को आयाम खुल्छ । बाहिर कृष्ण एउटै रूप हुन्, तर भित्र प्रत्येक चेतनाले कृष्णलाई आफ्नो अनुभव, प्रेम, भक्ति र आत्मबोधअनुसार अनुभूति गर्छ । त्यसैले रासलीलालाई केवल बाहिरी नृत्यका रूपमा होइन, चेतना र चेतनाबीचको आन्तरिक नृत्यका रूपमा पनि पढ्न सकिन्छ ।

 

घ) राधा-कृष्णको एकत्व ,  बाहिरी सम्बन्धबाट आन्तरिक अनुभूतितर्फ:
राधा-कृष्णको प्रसंगमा प्रचलित एउटा सुन्दर कथन छ । राधाले कृष्णसँग सोध्छिन् - “हामी दुईजनाले विवाह किन गरेनौँ?” कृष्णको उत्तरका रूपमा भनिन्छ “विवाह दुई जनाबीचमा हुन्छ, हामी त एक हौँ ।” यसलाई ऐतिहासिक संवादको प्रमाणका रूपमा भन्दा प्रेम र आध्यात्मिक एकत्वको प्रतीकात्मक अभिव्यक्तिका रूपमा हेर्दा यसको दार्शनिक अर्थ अझ गहिरो हुन्छ ।

 

विवाह दुई व्यक्तिबीचको सम्बन्ध हो; तर एकत्वमा ‘म’ र ‘तिमी’बीचको दूरी नै प्रश्न बन्न पुग्छ । प्रेमको चरम अवस्था केवल दुई व्यक्तिको सम्बन्ध होइन, दुई अस्तित्वबीचको सीमाना पातलिँदै गएको अनुभूति पनि हुन सक्छ । यहीँबाट प्रेम सम्बन्धभन्दा माथि उठेर भगवत् अनुभूति को दिशातर्फ जान सक्छ । राधा–कृष्णको सम्बन्धलाई पनि यही एकत्वको प्रतीकका रूपमा व्याख्या गर्न सकिन्छ । प्रेमको चरम अवस्थामा ‘म’ र ‘तिमी’बीचको दूरी विस्तारै कम हुँदै जान्छ । राधासँग जोडिएको “हामी त एक हौँ” भन्ने भावलाई सम्बन्धको सामान्य परिभाषाभन्दा माथि उठाएर हेर्दा, त्यो दुई अलग अस्तित्वबीचको दूरी हराउँदै जाने एकत्वको अनुभूति बन्न पुग्छ ।

 

यहाँ प्रेम केवल दुई व्यक्तिबीचको सम्बन्ध रहँदैन; त्यो आफ्नै अस्तित्वको सीमाना विस्तार हुँदै गएको अनुभूति बन्न पुग्छ । ‘म’ र ‘तिमी’को भिन्नता कायम रहँदारहँदै पनि अनुभूतिको तहमा दूरी घट्दै जान्छ । यहीँबाट प्रेम सम्बन्धभन्दा माथि उठेर आन्तरिक अनुभूति बन्न थाल्छ । यस दृष्टिले राधा र कृष्णलाई केवल दुई पात्रका रूपमा मात्र हेर्नुभन्दा खोज्ने चेतना र अनुभूत हुने चेतनाबीचको सम्बन्धका रूपमा पनि पढ्न सकिन्छ । बाहिरबाट हेर्दा राधा कृष्णलाई खोजिरहेकी छिन्; भित्रबाट हेर्दा त्यो खोज आफैँभित्रको पूर्णताको खोज हो ।

 

ङ) मीरा-गोपालको खोजीबाट आत्मिक अनुभूतिसम्म:
मीरा कृष्ण अर्थात् गोपालको खोजीमा यति गहिरिएर लागिन् कि उनको भक्ति संसारका सामान्य मापदण्डबाट बुझ्न कठिन भयो । संसारले उनलाई पागलसम्म भन्यो, तर उनको खोज रोकिएन । बाहिरको मूर्ति, मन्दिर र कृष्णको रूपबाट शुरु भएको उनको भक्ति क्रमशः हृदयभित्रको अनुभूतिमा गहिरिँदै गयो । यसलाई एउटा आध्यात्मिक यात्राका रूपमा हेर्दा: पहिले मानिस भगवानलाई खोज्छ, त्यसपछि भगवानको अनुभूति खोज्छ, र अन्ततः आफूभित्र त्यो अनुभूति गर्ने चेतनालाई चिन्न थाल्छ । त्यसैले गोपिनीको कृष्णप्रतिको प्रेम, राधाको एकत्व र मीराको भक्ति तीनवटा अलग कथा मात्र होइनन्; तिनलाई एउटै भित्री यात्राका तीन अभिव्यक्तिका रूपमा पनि पढ्न सकिन्छ ।

 

यस अर्थमा कृष्णलाई बाहिर खोज्दै शुरु भएको यात्रा अन्ततः आफ्नै अन्तरचेतनामा पुगेर गहिरो हुन्छ । कृष्णलाई बाहिर खोज्दा हामी एउटा रूप, प्रतिमा वा कथा भेट्न सक्छौँ; आफूभित्र खोज्दा त्यही कृष्ण चेतना, प्रेम, करुणा, सत्य, विवेक र आत्मबोध का रूपमा अनुभूत हुन सक्छन् । सायद यही कारण कृष्णको बाँसुरीको कथा पनि यति सुन्दर छ । बाँसुरी आफैँभित्र केही राख्दैन, त्यसैले त्यसबाट संगीत निस्कन्छ । मानिस पनि जब आफ्नो ‘म’ को कठोरता केही क्षण खाली गर्न सक्छ, तब भित्रको मौनतामा एउटा फरक धुन सुनिन थाल्छ । त्यो धुन बाहिरबाट आएको कृष्णको आवाज हो कि आफ्नै अन्तरचेतनाबाट उठेको अनुभूति—त्यो प्रश्न प्रत्येक मानिसले आफैँभित्र खोज्नुपर्ने हुन्छ ।

 

च) गोपिनीहरूको रास ,भगवानसङ्गको नृत्य र आफैँभित्रको नृत्य:
ब्रजका गोपिनीहरू भगवान् कृष्णलाई घेरेर नृत्यरत रहेको दृश्य श्रीकृष्ण कथामृतको सबैभन्दा रोचक र भावपूर्ण पक्षमध्ये एक हो । नृत्यको हरेक क्षण, हरेक ताल र हरेक भावमा गोपिनीहरूले आफूलाई कृष्णमा समाहित भएको अनुभूति गर्दथे । बाहिरबाट हेर्दा त्यो भगवान् कृष्ण र गोपिनीहरूबीचको नृत्य हो; तर यसको भित्री अर्थलाई हेर्ने हो भने त्यो आफैँभित्रको नृत्य पनि हुन सक्छ ।

 

भगवानसङ्ग नृत्यरत हुनु भनेको अन्ततः आफैँसँग नृत्यरत हुनु हो । जहाँ बाहिरी ‘म’ र भित्री चेतनाबीचको दूरी क्रमशः घट्दै जान्छ । रासलीलालाई यही दृष्टिले हेर्दा कृष्ण कुनै बाहिरी पात्र मात्र रहँदैनन्; उनी प्रत्येक व्यक्तिको चेतनाभित्र अनुभूत हुन सक्ने प्रेम, आनन्द, एकत्व र जागृत चेतनाका प्रतीक बन्न पुग्छन् ।

 

यसै सन्दर्भमा प्रसिद्ध लेखक ग्यारी जुकाभ (Gary Zukav) ले आफ्नो पुस्तक 'The Dancing Wu Li Masters' मा भगवान् कृष्णका लीला–प्रसङ्ग र जगतबोधमा अहम्‌को महत्त्वलाई सुन्दर ढङ्गले प्रस्तुत गरेका छन् । दार्शनिक चिन्तक एवंम विश्लेषक अरुण सुवेदीको माया तथा लीला मा उद्धृत सन्दर्भअनुसार, जगतको प्रतीति अहम्‌को उपस्थितिले मात्र सम्भव हुने र अहम्‌रहित जगत् सम्भव नहुने पूर्वीय दर्शनको सारतत्त्वलाई जुकाभका विचारसँग जोडेर व्याख्या गरिएको छ । त्यहाँ अझ अगाडि आधुनिक क्वान्टम भौतिकशास्त्र र सापेक्षतावाद ले समेत पर्यवेक्षक, अनुभूति र जगतबोधसङ्ग सम्बन्धित यस्ता प्रश्नहरूलाई नयाँ ढङ्गबाट उठाएको प्रसङ्ग प्रस्तुत गरिएको छ ।

 

यसलाई पूर्वीय दर्शनका निष्कर्षलाई आधुनिक विज्ञानले हुबहु प्रमाणित गरिसकेको अर्थमा भन्दा, दर्शन र विज्ञानबीचको एउटा रोचक संवादका रूपमा बुझ्नु उपयुक्त हुन्छ । पूर्वीय दर्शनले उठाएको प्रश्न हो । जगतको अनुभूति गर्ने ‘म’ को स्थान कहाँ छ ? आधुनिक विज्ञानले पनि पर्यवेक्षक, मापन र वास्तविकतासम्बन्धी आफ्नै गहिरा प्रश्नहरू उठाएको छ । क्षेत्र र विधि फरक भए पनि दुवैले हामीलाई एउटा साझा जिज्ञासतर्फ लैजान सक्छन् । हामीले बुझिरहेको जगत् र त्यसलाई बुझ्ने चेतनाबीचको सम्बन्ध आखिर के हो ?

 

यही प्रश्नबाट फेरि हाम्रो यात्रा अहम्‌को वृत्तमा फर्किन्छ । जगतको रहस्य खोज्दै जाँदा अन्ततः हामी आफैँलाई प्रश्न गर्न पुग्छौँ “म को हुँ ?” यही प्रश्नमा आएर अहम्‌को वृत्त र कृष्णको प्रतीकात्मक अर्थ फेरि जोडिन्छ । राहुले मानिसलाई बाहिर लैजान्छ । अनुभव, इच्छा, ज्ञान र विस्तारतर्फ । केतुले भित्र फर्काउँछ, विरक्ति, आत्मनिरीक्षण र अन्तरबोध तर्फ। र कृष्ण त्यही द्रष्टा हुन्, जसले यी दुवै यात्रालाई देख्न सक्छन् ।

 

त्यसैले कृष्णलाई बाहिर खोज्दा दूरी देखिन सक्छ; आफूभित्र खोज्दा एकत्वको अनुभूति शुरु हुन सक्छ । बाहिरको कृष्ण रूप हुन्; भित्रको कृष्ण अनुभूति । बाहिरको कृष्ण कथा हुन्; भित्रको कृष्ण चेतना । सायद यही कारण राधा-कृष्णको एकत्व, गोपिनीहरूको रास र मीराको भक्ति एउटै गहिरो प्रश्नतर्फ फर्किन्छन् “भगवान् कहाँ छन् ?” र अन्ततः त्यो प्रश्न अर्को प्रश्नमा रूपान्तरण हुन सक्छ । “भगवान्को अनुभूति गर्ने चेतना को हो ?” यहीँबाट बाहिरी खोज भित्री यात्रामा बदलिन्छ । पहिले मानिस भगवानलाई खोज्छ । त्यसपछि भगवानको अनुभूति खोज्छ । र अन्ततः आफूभित्र त्यो अनुभूति गर्ने चेतनालाई चिन्न थाल्छ ।

 

त्यसैले गोपिनीको प्रेम, राधाको एकत्व र मीराको भक्ति तीनवटा अलग प्रसंग मात्र होइनन्; तिनलाई एउटै आन्तरिक यात्राका फरक अभिव्यक्तिका रूपमा पनि पढ्न सकिन्छ ।

 

अन्तिम :
कृष्णलाई बाहिर खोज्दा हामी एउटा रूप, प्रतिमा वा कथा भेट्न खोज्छौँ । तर आफूभित्र खोज्दा त्यही कृष्णलाई चेतना, प्रेम, करुणा, सत्य, विवेक र आत्मबोध का रूपमा अनुभूति गर्न थाल्छौँ । यही अर्थमा कृष्ण जन्माष्टमी केवल कृष्णको जन्म सम्झने दिन मात्र होइन; आफूभित्रको चेतना, प्रेम, विवेक र सत्यलाई जागृत गर्ने अवसर पनि हो । कृष्णलाई बाहिर खोजौँ, पूजा गरौँ, सम्झौँ, तर त्यही खोजीको अन्तिम यात्रा आफूभित्र पनि गरौँ । किनकि ज्ञान बढ्दैमा चेतना बढ्छ भन्ने हुँदैन । सूचना बढ्दैमा विवेक बढ्छ भन्ने हुँदैन । बाहिरी संसारसँगको सम्पर्क बढ्दैमा आफूलाई बुझ्ने क्षमता पनि बढ्छ भन्ने हुँदैन ।

 

आज हामीसँग सूचना अत्यधिक छ। इन्टरनेट, सामाजिक सञ्जाल, उपकरण र प्रविधि ले संसारलाई हाम्रो हातभित्र ल्याइदिएका छन् । तर सूचना आफैँमा समाधान होइन । सूचना सही ढङ्गले छनोट, प्रशोधन, व्यवस्थापन र प्रयोग गर्ने चेतना भए मात्र त्यसले ज्ञान, विवेक र जीवनमा मूल्य अभिवृद्धि गर्न सक्छ । हाम्रो हातमा अत्याधुनिक हार्डवेयर छ, तर त्यसलाई सही दिशामा चलाउने सफ्टवेयर: चेतना कस्तो छ ? समस्या सूचना धेरै हुनु मात्र होइन; सूचनालाई कसरी ग्रहण गर्ने, केलाई स्वीकार गर्ने, केलाई अस्वीकार गर्ने र त्यसलाई कसरी जीवनमा रूपान्तरण गर्ने भन्ने चेतना कमजोर हुनु पनि हो ।

 

यहीँ फेरि कृष्णको प्रतीकात्मक अर्थ प्रासङ्गिक हुन्छ । राहुले बाहिर लैजान्छ, केतुले भित्र फर्काउँछ, र कृष्ण त्यो सम्पूर्ण यात्रालाई देख्ने द्रष्टा हुन् । अत: हामीलाई संसारबाट अलग हुने होइन; संसारसँग जोडिँदा पनि आफूभित्रको चेतना नहराउने कला सिक्न आवश्यक छ । बाह्य सम्पर्क बढाउँदै चेतनबोध पनि बढाउनु, सूचना बढाउँदै प्रज्ञा पनि बढाउनु, र प्रविधि बढाउँदै चेतना पनि बढाउनु, सायद आजको समयको वास्तविक आवश्यकता यही हो । किनकि सूचनाको सिकार समाज बन्न सक्छ, तर चेतनाले सूचनालाई साधन बनाउन सक्छ ।

 

अन्तत: प्रश्न कृष्ण बाहिर छन् कि भित्र भन्ने मात्र होइन । प्रश्न त हामीभित्र कृष्णलाई अनुभूति गर्ने चेतना कति जागृत छ ? सायद कृष्णको सबैभन्दा गहिरो खोजी भनेकै आफूभित्रको ‘म’ लाई बुझ्ने खोजी हो । आफू आफैँभित्रको अर्थ र महत्त्व बुझौँ, कृष्णलाई बाहिर मात्र नखोजौँ । दृश्य होइन द्रष्टा बनौं । श्रीकृष्ण जन्माष्टमीको शुभकामना !!!
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप लेखहरु