बालेनको भारत भ्रमणले नेपालको शिर झुकाएको एमाले महासचिवको टिप्पणी

११ मार्ग, २०८३
सारांश
  • नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहको हालै सम्पन्न भारत भ्रमण नेपालको राष्ट्रिय हित र सरोकारका विषयमा उपलब्धिमूलक हुन नसकेको टिप्पणी गरेका छन्।

काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहको हालै सम्पन्न भारत भ्रमण नेपालको राष्ट्रिय हित र सरोकारका विषयमा उपलब्धिमूलक हुन नसकेको टिप्पणी गरेका छन्।

 

प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय स्वाभिमान, सीमा विवाद र राष्ट्रिय हितका विषयमा ठोस उपलब्धि हासिल हुन नसकेको आरोप लगाए।

 

उनले प्रधानमन्त्रीको भारत भ्रमणले नेपालीलाई लज्जित बनाएको टिप्पणी गर्दै विगतमा राष्ट्रियताको विषयमा चर्को अभिव्यक्ति दिने प्रधानमन्त्रीले भ्रमणका क्रममा नेपालको सीमा विवादसमेत प्रभावकारी रूपमा उठाउन नसकेको बताए।

 

पोखरेलले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणले हामी सबैलाई लज्जित बनाएको छ। काठमाडौं महानगरपालिकाको कार्यालयमा ग्रेटर नेपालको नक्सा राखेर नेताहरूमाथि व्यङ्ग्य गर्नुहुन्थ्यो। हरेक भ्रमणमा उहाँले अर्ती उपदेश दिनुहुन्थ्यो। अस्ति उहाँ भारत भ्रमणमा जानुभयो। नेपालका हित र सरोकारका विषयमा केही कुरा राख्न सक्नुभएन।’

 

उनले लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत सीमा विवादका विषयमा भ्रमणका क्रममा छलफल नभएको भन्दै असन्तुष्टि जनाए। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले समेत ती विषय भ्रमणको एजेन्डामा नरहेको बताएको उनको भनाइ थियो।

 

नेपाल–भारत सम्बन्ध पुनरावलोकनका लागि एमाले नेतृत्वको सरकारका समयमा गठन भएको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतले बुझ्न नमानेको अवस्थामा प्रधानमन्त्रीले त्यसलाई स्वीकार गर्न र कार्यान्वयनमा लैजान आग्रह गर्न नसकेको पनि उनले बताए।

 

त्यस्तै, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित हवाई रुटको विषयमा समेत भारत भ्रमणबाट ठोस सहमति हुन नसकेको पोखरेलको आरोप छ।

 

उनले हवाई रुटको समस्या समाधान नभए भविष्यमा उडानको उचाइसम्बन्धी विषयले समेत नेपाली विमानस्थलको सञ्चालनमा कठिनाइ सिर्जना गर्न सक्ने बताए।

 

भारत भ्रमणका क्रममा दुई खर्ब रुपैयाँभन्दा बढी ऋण प्राप्तिलाई उपलब्धिका रूपमा प्रस्तुत गरिएकोप्रति पनि पोखरेलले प्रश्न उठाए। विगतमा ऋणले देश डुबाएको भन्दै आलोचना गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू अहिले ऋण प्राप्तिलाई उपलब्धि भन्न थालेको उनको टिप्पणी थियो।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार