७ दिनभित्र जग्गा खाली गर्न त्रिविको चेतावनी, अटेर गरे बल प्रयोग

११ मार्ग, २०८३
सारांश
  • त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेको अतिक्रमित जग्गा खाली गर्न अनधिकृत रूपमा भोगचलन गर्दै आएका संघसंस्था, निकाय तथा व्यक्तिलाई सात दिनको समयसीमा दिएको छ।

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेको अतिक्रमित जग्गा खाली गर्न अनधिकृत रूपमा भोगचलन गर्दै आएका संघसंस्था, निकाय तथा व्यक्तिलाई सात दिनको समयसीमा दिएको छ।

 

यसअघि ३५ दिने सार्वजनिक सूचना जारी गर्दा पनि जग्गा फिर्ता नभएपछि विश्वविद्यालयले पुनः पत्राचार गर्दै जग्गा खाली गर्न ताकेता गरेको हो।

 

त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको २०८१ सालको प्रतिवेदनमा अतिक्रमण भएको उल्लेख गरिएका तथा अन्य अनधिकृत रूपमा प्रयोग भइरहेका जग्गा खाली गरी विश्वविद्यालयलाई फिर्ता गर्न पत्राचार गरिएको रजिस्ट्रार रविन्द्र शिवाकोटीले जानकारी दिए।

 

उनका अनुसार सरकारी निकायसँग समन्वय गरेर जग्गा प्रयोग गरिरहेका संस्थाहरूको हकमा भने छलफल गरी कानुनी सम्झौताको प्रक्रिया अघि बढाइनेछ।

 

त्रिविले दिएको सातदिने समयसीमा आगामी सोमबारदेखि पूरा हुनेछ। उक्त अवधिभित्र पनि जग्गा खाली नगरे सरकारको सहयोगमा अतिक्रमण हटाउने तयारी गरिएको विश्वविद्यालयका पदाधिकारीले बताएका छन्। शिक्षा तथा खेलकुदमन्त्री एवं सहकुलपति सस्मित पोखरेलले समेत अतिक्रमित जग्गा खाली गराएर विवरण उपलब्ध गराउन निर्देशन दिएका छन्।

 

त्रिवि सामान्य प्रशासन महाशाखाले विश्वविद्यालयको मूल गेटअगाडि रहेको पेट्रोल पम्प, बागबानी, नर्सरी र राधास्वामी सत्संग केन्द्रलाई सात दिनभित्र जग्गा खाली गर्न पत्राचार गरेको छ।

 

महाशाखाका उपप्रशासक भोजकुमार बस्नेतका अनुसार यसअघि ३५ दिने सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गर्ने संस्थाहरूलाई आवश्यक परे बल प्रयोग गरेर भए पनि हटाउने तयारी गरिएको छ। गत वैशाख पहिलो साता महाशाखाले जग्गा खाली गरी फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेको थियो।

 

त्रिविका कर्मचारी तथा प्राध्यापक संघलाई प्रयोग गर्न दिइएको जग्गा भाडामा लगाएर पेट्रोल पम्प सञ्चालन गरिएको छ। त्यस्तै, केही स्थानमा नर्सरी तथा होटलसमेत सञ्चालनमा छन्। राधास्वामी सत्संग केन्द्रले पनि विश्वविद्यालयको जग्गा प्रयोग गर्दै आएको छ।

 

यद्यपि, त्रिविले आफ्नो जग्गा प्रयोग गरिरहेका सबै संस्था तथा निकायलाई हटाउने योजना भने बनाएको छैन। त्रिवि क्रिकेट रंगशाला, ल्याबोरेटरी स्कुल, राष्ट्रिय आविष्कार केन्द्र, काठमाडौं अनुसन्धान तथा शिक्षा केन्द्र (केसीआरई) र कीर्तिपुर नगरपालिकासँग छलफल गरी कानुनी सम्झौतामार्फत जग्गा प्रयोग गर्न दिने तयारी विश्वविद्यालयको छ।

 

हाल करिब दुई दर्जन संघसंस्था, निकाय तथा व्यक्तिले त्रिभुवन विश्वविद्यालयको जग्गा भोगचलन गर्दै आएका छन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार