राष्ट्रिय उद्योगलाई पुनर्जीवन दिन थालेको प्रधानमन्त्री शाहको दाबी, पाँच संस्थामा सुधारका संकेत

२३ श्रावण, २०८३, शनिवार
सारांश
  • प्रधानमन्त्री शाहले नियत सफा राखेर जिम्मेवारीप्रति इमानदार हुँदै कानुनको कार्यान्वयन र निरन्तर समन्वय गर्न सके चुनौतीपूर्ण अवस्थामा रहेका उद्योगमा समेत सुधार सम्भव हुने बताएका छन् ।

काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहले लामो समयदेखि बन्द रहेका, घाटामा सञ्चालन भइरहेका र समस्याग्रस्त राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउने सरकारको प्रयासबाट सकारात्मक परिणाम देखिन थालेको बताएका छन् ।

 

प्रधानमन्त्री शाहले नियत सफा राखेर जिम्मेवारीप्रति इमानदार हुँदै कानुनको कार्यान्वयन र निरन्तर समन्वय गर्न सके चुनौतीपूर्ण अवस्थामा रहेका उद्योगमा समेत सुधार सम्भव हुने बताएका छन् ।

उनका अनुसार सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः जीवन्त बनाउने विषयलाई प्राथमिकतामा राख्दै सहजीकरण, उत्प्रेरणा र समन्वयमा जोड दिँदै आएको छ। यही प्रयासका कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेको उनको भनाइ छ ।

 

नेपाल औषधि लिमिटेडमा सुधार

वर्षौँदेखि घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको प्रधानमन्त्री शाहले बताएका छन्। विश्व स्वास्थ्य सङ्गठनको औषधि उत्पादनसम्बन्धी गुणस्तरीय मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा वृद्धि भएको र गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा कमाएको उनले उल्लेख गरेका छन्। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ।

 

सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअनुसार आगामी तीन वर्षमा नेपाल औषधि लिमिटेडबाट ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ। यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारका औषधिको उत्पादन तयारी अन्तिम चरणमा पुगेको छ। हाल लिमिटेडले ११ प्रकारका औषधि उत्पादन गर्दै आएको छ।

 

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। परीक्षण उत्पादनपछि उद्योग नेपाल सरकारले नै सञ्चालन गर्ने तयारी गरेको छ। तान मर्मत गरेपछि परीक्षण उत्पादन सुरु भएको र केही मात्रामा कपडा उत्पादनसमेत सुरु भइसकेको प्रधानमन्त्री शाहले बताएका छन् ।

 

नेपाल वायुसेवा निगमको आम्दानी बढेको दाबी

नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको जनाइएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो । सो अवधिमा निगमका जहाजको सिट उपयोग दर ८६ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ६ प्रतिशत बढी हो । जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋणको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्तासमेत यही अवधिमा भुक्तानी गरिएको प्रधानमन्त्री शाहले बताएका छन् ।

 

दुग्ध विकास संस्थानमा बक्यौता भुक्तानीलाई प्राथमिकता

दुग्ध विकास संस्थानले किसानलाई दिन बाँकी रकम भुक्तानीलाई प्राथमिकतामा राख्दै भुक्तानीको अवधि घटाएको जनाएको छ। यसअघि आठ महिनासम्म पुग्ने भुक्तानी चक्रलाई घटाएर दुईदेखि तीन महिनामा ल्याइएको छ । यसका लागि करिब ७२ करोड रुपैयाँको भुक्तानी चक्रलाई ३५ करोड रुपैयाँमा झारिएको जनाइएको छ। किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ थप प्रोत्साहन रकमसमेत उपलब्ध गराइएको छ ।

सुधारका प्रयास सुरु भएपछि संस्थानको दैनिक बिक्री ३५ प्रतिशतले बढेको र औसत दैनिक आम्दानी ६० लाख रुपैयाँबाट बढेर ९० लाख रुपैयाँ पुगेको प्रधानमन्त्री शाहले बताएका छन् । कानुनविपरीत विगतदेखि कर्मचारीलाई दिइँदै आएको घ्यू र दूधको सुविधा कटौती गरेर वार्षिक करिब ३ करोड रुपैयाँ बचत गरिएको जनाइएको छ । दुग्ध विकास संस्थानले चाँडै खाडी मुलुकमा घ्यू, चीनमा नौनी र छुर्पी निर्यात गर्ने तयारी गरिरहेको छ। नगरकोट केन्द्रबाट चीज उत्पादनसमेत पुनः सुरु गर्ने तयारी भइरहेको छ।

 

सिंहदरबार वैद्यखानामा औषधि उत्पादन वृद्धि

सरकार गठन भएपछि सिंहदरबार वैद्यखाना विकास समितिले ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारमा बिक्री गरेको प्रधानमन्त्री शाहले बताएका छन् । गत आर्थिक वर्षमा वैद्यखानाको औषधि कारोबार करिब १३ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी हो । हाल वैद्यखानाले निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा काम गरिरहेको छ। हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेका छन् भने चालु आर्थिक वर्षमा १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ । चालु आर्थिक वर्षमा धुलो र गोली औषधि उत्पादनमा औषधि उत्पादनसम्बन्धी गुणस्तरीय मापदण्ड हासिल गर्ने तथा जडीबुटी र औषधिजन्य कच्चा पदार्थ प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्यसमेत राखिएको छ।

 

प्रधानमन्त्री शाहले इमानदारिता र देशप्रतिको समर्पण कायम राख्न सके समस्याग्रस्त अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योगमा समेत नयाँ जीवन भर्न सकिने विश्वास व्यक्त गरेका छन् । उनले देशमा उत्पादन बढाएर आत्मनिर्भर बन्ने अभियानमा सबैको रचनात्मक साथ, सहयोग र विश्वास आवश्यक रहेको बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार