कामु प्रधानन्यायाधीश मल्लको अभिव्यक्ति: कार्यपालिका र न्यायपालिकाबीच द्वन्द बढ्ने संकेत !

२०८३ वैशाख २७ आइतवार
सारांश
  • कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन दिवसको अवसरमा शनिबार कार्यपालिका र व्यवस्थापिकाको कार्यशैलीप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेपछि नयाँ बहस शुरु भएको छ ।

काठमाण्डौ, २७ वैशाख । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन दिवसको अवसरमा शनिबार कार्यपालिका र व्यवस्थापिकाको कार्यशैलीप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेपछि नयाँ बहस शुरु भएको छ ।

 

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमै उनले न्यायपालिका माथि दबाब सिर्जना गर्ने प्रयास भइरहेको संकेत गर्दै संविधानवाद, विधिको शासन र न्यायपालिकाको स्वतन्त्रता संकटमा पर्न सक्ने चेतावनी दिएकी थिइन् ।

 

उनको अभिव्यक्तिलाई पछिल्लो प्रधानन्यायाधीश सिफारिस प्रक्रियासँग जोडेर पनि हेरिएको छ । संवैधानिक परिषद्ले केही दिनअघि वरिष्ठताको सूचीमा चौथो स्थानमा रहेका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि न्यायालयभित्र र बाहिर बहस चर्किएको थियो । कामु प्रधानन्यायाधीश मल्लसहित तीन वरिष्ठ न्यायाधीशलाई पछि पारिएको भन्दै न्याय क्षेत्रभित्र असन्तोष देखिएको छ ।

 

नेपालको न्यायीक इतिहासमै पहिलोपटक वरिष्ठता मिचिएको आरोप लागिरहेका बेला मल्लको अभिव्यक्ति अझ अर्थपूर्ण रूपमा हेरिएको छ । उनले प्रत्यक्ष रूपमा नाम नलिए पनि राज्यका शक्तिकेन्द्रहरूले न्यायपालिकालाई 'आज्ञाकारी संस्था' बनाउने प्रयास भइरहेको हो कि भन्ने प्रश्न उठाएकी छन् ।

 

यति मात्र होइन, उनले संविधान र संवैधानिक नैतिकताभन्दा माथि कोही पनि हुन नसक्ने उल्लेख गर्दै अधिकार र कानुनको प्रयोगको नाममा न्यायपालिकाको स्वतन्त्रता कमजोर पार्ने प्रयास भइरहेको हो कि भन्ने चिन्ता व्यक्त गरिन् र न्यायलाई निष्पक्ष संस्थाको सट्टा व्यक्तिगत वा राजनीतिक स्वार्थ जोगाउने माध्यम बनाउन खोजिएको संकेत पनि गरिन् ।

 

मल्लले विधि र संवैधानिक परम्परा तोडेर गरिने निर्णयले निङ्कुशताको संकेत दिने टिप्पणी गर्दै 'एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिँदैन' भन्ने अभिव्यक्ति दिदै आफुलाई प्रधानन्यायाधीशमा सिफारिस नगरिएको प्रति संकेत गरेकी थिइन् ।

 

उनले न्यायाधीशहरूलाई दबाब र त्रासबाट मुक्त भएर काम गर्न आग्रह गर्दै दुई तिहाइ सरकारको डर वा महाअभियोगको त्रासबाट नडराउन खुला आह्वानसमेत गरिन् ।

 

साथै उनले कार्यक्रममा उपस्थित रहेका सभामुख डिपी अर्यालको न्यायपालिका पनि 'सरकारको स्पिरिट' मा चल्न सक्ने अभिव्यक्ति दिएको प्रसङ्ग उल्लेख गर्दै मल्लले न्यायपालिका संविधानको भावना अनुसार चल्नुपर्ने बताइन् । उनले सरकारको गतिसँगै न्यायपालिका चल्न सक्ने भए पनि त्यसका लागि न्यायालयलाई स्रोत र साधनले सक्षम बनाउनुपर्ने उनको भनाइ थियो ।

 

उनले आफ्नो जीवनभर विभेद र अन्यायविरुद्ध सङ्घर्ष गरेको उल्लेख गर्दै अझै लडाइँ बाँकी रहेको बताएर उनले कार्यपालिकासँगको द्वन्द अझ बढ्ने संकेत समेत गरेकी छन् । उनले संविधानवाद, विधिको शासन, नागरिक अधिकार र न्यायपालिकाको स्वतन्त्रता जोगाउन नागरिक समाज, नेपाल बार, सञ्चारमाध्यम र सबै सरोकारवालालाई एकजुट हुन अपिल गरिन् ।

 

मल्लको यो भाषणलाई धेरैले सामान्य औपचारिक मन्तव्यभन्दा फरक र राजनीतिक तथा संवैधानिक सन्देशका रूपमा व्याख्या गरेका छन् । विशेषगरी प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठता क्रम मिचिएको विवादपछि आएको यो अभिव्यक्तिले न्यायपालिका र कार्यपालिकाबीचको सम्बन्धलाई लिएर नयाँ बहस सुरु गराएको छ र यसले कार्यपालिका र न्यायपालिकाबीच नयाँ द्वन्दको बिजारोपण भएको रुपमा विश्लेषण गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार