माओवादीसँग पार्टी एकताको विपक्षमा झलनाथ, पदाधिकारीलाई पठाएको पत्रमा के भने ?

२०८२ असोज २६ आइतवार
सारांश
  • श्रीमतीको उपचारका लागि भारतको दिल्लीमा रहेका खनालले पार्टी एकीकरण गर्ने मौसम नभएको बताएका छन् । जारी रहेको पार्टी बैठकमा एकताबारे छलफल र गृहकार्य समेत भइरहेको अवस्थामा खनालले भारतबाट पदाधिकारीहरूलाई पत्र लेख्दै आफ्नो धारणा पठाएका हुन् ।

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पार्टी एकताको विपक्षमा उभिएका छन् । अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग तत्काल एकता गरेर अगाडी बढ्नुपर्ने आन्तरिक तयारी गरेपछि माओवादीसँगको एकता स्वीकार्य नभएको भन्दै फरक मत सार्वजनिक गरेका हुन् ।

 

श्रीमतीको उपचारका लागि भारतको दिल्लीमा रहेका खनालले पार्टी एकीकरण गर्ने मौसम नभएको बताएका छन् । जारी रहेको पार्टी बैठकमा एकताबारे छलफल र गृहकार्य समेत भइरहेको अवस्थामा खनालले भारतबाट पदाधिकारीहरूलाई पत्र लेख्दै आफ्नो धारणा पठाएका हुन् ।

 

झलनाथ खनालको पत्र :

कुबेलाको सहनाई नबजाऔ । एउटा सशक्त क्रान्तिकारी पार्टी बनाउने मार्गमा अघि बढौं ॥

प्रिय कमरेडहरू तथा आदरणीय दिदीबहिनी तथा दाजुभाईहरू ।

 

गत २३-२४ भदौको घटनापछि म म्याडम रविलक्ष्मी चित्रकारको उपचारको निम्ति भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा छु । देशको राजनीतिक स्थितिमा यस बीचमा निकै ठूलो परिवर्तन भएको छ । २३ गतेको जेन्जी आन्दोलन र २४ गते विध्वंशकारीहरुले गरेको महाविध्वंश पछि ओली सरकार विघठित हुन पुग्यो । अहिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएको छ र संसद विघठन गरी प्रतिनिधि सभाको नयाँ निर्वाचनको घोषणा भएको छ । त्यस घोषणा सँगै अब सिङ्गो मुलुकको राजनीति आगामी निर्वाचनतिर केन्द्रित हुँदै गएको छ ।

 

युवाहरूको जबरजस्त प्रदर्शन र त्यसपछि मुलुकको राजनीतिमा आएको परिवर्तनहरुले हाम्रो मुलुकको समग्र राजनीतिमा उथलपुथल, विभाजन, पुनर्गठन र रूपान्तरणको प्रक्रियालाई गति प्रदान गरेको छ । यो नै अहिलेको मुख्य प्रवृति बनेको छ । स्मरण रहोस् मैले नयाँ वर्षको सन्देशमा नै यो वर्षलाई पुनर्गठन र रूपान्तरणको वर्ष बनाउन आह्वान गरेको थिएँ । समयले हामीलाई ठिक त्यही ठाउँमा ल्याइ पुयाएको छ ।

 

युवा आन्दोलनको विस्फोटन उनीहरूको फगत आवेग वा बाह्य शक्तिको षड्यन्त्र मात्र होइन । दुई तिहाई बहुमत भएको संसद विघठन भएदेखि मुलुकलाई नेतृत्व गर्दै आएका र सत्तामा बसेका पार्टीहरूको मुख्य नेतृत्वको घनघोर असफलता पनि हो । यो नै मुख्य र निर्णायक कुरा हो । त्यसले मुलुकलाई यो दुःखद अवस्थामा ल्याइ पुयाएको छ । हाम्रो पार्टी लगायत यस बीचमा सत्तामा रहेका र सत्तामा सहभागी भएका सबै पार्टीका नेतृत्वले मुलुकलाई सही दिशा दिन नसकेकोमा उनीहरुले जिम्मेवारी लिनैपर्छ । मुलुकलाई सही दिशा दिने भनेको राजनीतिले र आजको अवस्थामा राजनीतिक पार्टीले नै हो । हामी अहिले बहुदलीय प्रणालीमा छौं । दलबाहेक कसैले पनि जनता र मुलुकलाई सही बाटो देखाउन संभब हुदैन । त्यस माथि वामपन्थी दलले नै आम जनता र राष्ट्रलाई सहि मार्ग देखाउनुपर्ने हो । तर दक्षिणपन्थीहरूका पछि लागेर हाम्रो पार्टीको नेतृत्वसहित अन्य वामपन्थी नेतृत्वहरू समेतले मुलुकको चौतर्फी सामाजिक-आर्थिक रूपान्तरण र राष्ट्रियतालाई सुदृढ गर्ने कार्यभारलाई छोडेर यथास्थितिवादको मार्गमा हिँडेपछि र बिदेशीहरुसँग अपमानपूर्ण सन्धी र सझौता गर्न थालेपछि मुलुक भयावह संकटमा जानु र विदेशीहरूको क्रिडास्थल बन्तु अनुवार्य नै थियो । अहिले त्यही नै भइरहेको छ ।

 

अब देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ । तपाईं हामी देखिरहेका छौं । हरेक साना ठूला पार्टीहरुमा र खुद जेन्जी समूहमा समेत उथलपुथल र विभाजन भइरहेका छन । त्यसले गर्दा सबैतिर सर्वत्र पुनर्गठन र रूपान्तरणको माग उठिरहेको छ । यो युगको माग हो, यो समयको माग हो, यो जनताको माग हो र यो सिंगो राष्ट्रको माग समेत हो । यो फगत पुस्ताबादको माग होइन, सबै पुस्ताको क्रान्तिकारी पुनर्गठन र रुपान्तरणको माग हो । त्यसलाई अस्वीकार गरेर कोही अघि जान सक्दैन । कमरेडहरू यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोहि पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरुलाइ पार्ने दिशामा नलागौँ । सबभन्दा पहिले हाम्रो ४ वर्षे विद्रोहको यात्राको निर्मम समीक्षा गरौं । ठिक बेठिक के गयौ, दूध र पानी छुट्याऔं ।

 

हामीले नवौं राष्ट्रिय महाअधिवेशनदेखि नै उठाएको युवा आवाज र कार्यविधिको कुरालाई ध्यान दिऔं । हाम्रै पार्टी भित्रका युवाहरूको आवाज अनुरूप समेत पार्टीलाई सहि वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तका आधारमा पुनर्गठन गरौं, पार्टीलाई आमूल परिवर्तनकारी र नेपाली विशेषताको सामजवादका निम्ति दृढ संकल्पित पार्टीमा रूपान्तरण गरौं, यही दिशाका आधारमा सकेसम्म सबै क्रान्तिकारी कम्युनिष्ट, वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिहरुलाई गोलबन्द गरौं। एउटा बृहत राष्ट्रिय मोर्चाको निर्माण गरौं र प्रतिनिधि सभाको निर्वाचनको तयारीमा बृहत् योजनाका साथ अघि बढौं । मेरो विचारमा आजको सहि मार्ग यहि हो । कुबेलाको सहनाई बजाउनतिर कोहि पनि लागौं । सिंगो पार्टीलाई एकताबद्ध बनाएर पुरगठन र रुपान्तरणको ऐतिहासिक मार्गतिर अघि बढौं ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार