सिन्धुली सडक मर्मतका लागि जापानले दिने २.८ अर्ब जापानी येन अनुदान स्वीकार गर्ने सरकारको निर्णय

२०८२ श्रावण १५ बिहिवार
सारांश
  • साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

काठमाडौँ, १५ श्रावण । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनःस्थापना तथा मर्मतका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

 

साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

 

साथै, उनले बैठकले नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार पदमा ध्रुवराज भट्टराई, तनहुँलाई नियुक्त गर्ने, राष्ट्रिय युवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने र नेपाली सेनातर्फ एकजना सहायक रथीको उपरथी पदमा र छ जना प्रमुख सेनानीहरूको महासेनानी पदमा बढुवा गर्ने, साथै, छ जना महासेनानीहरूको सरुवा गर्ने निर्णय गरेको पनि जानकारी दिएका छन् ।

 

यस्ता छन्, साउन १२ गतेको मन्त्रिपरिषद् बैठकको निर्ण:

 

१. बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनःस्थापनाको लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने,

 

२. रानी-जमरा कुलरिया सिँचाइ आयोजना– तेस्रो चरणका लागि विश्व बैंक समूहको अन्तराष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १३७ मिलियन अमेरिकी डलर (करिब १८ अर्ब ९२ करोड नेपाली रुपियाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने,

 

३. विधुत् वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाको लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने ८६.७ मिलियन अमेरिकी डलर बराबरको 'शर्टर मेच्युरिटी लोन' तथा ३३.३ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण गरी जम्मा १२० मिलियन अमेरिकी डलर (करिब १६ अर्ब ७४ करोड नेपाली रुपियाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने,

 

४. उर्जा वितरण सबलीकरण कार्यक्रमको लागि जर्मन सरकारले प्रदान गर्ने २० मिलियन युरो बराबरको अनुदान सहायता स्वीकार गर्ने,

 

५. राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानलगायत निकायका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्ने सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेश गर्न श्री रामु प्रसाद डोटेल, पर्वतको संयोजकत्वमा, श्री रमेश प्रसाद शिवाकोटी, दोलखा र श्री चण्डी प्रसाद घिमिरे, ललितपुर सदस्य रहनेगरी कार्यदल गठन गर्ने,

 

६. नेपाल–भारत पारवहन सन्धि, २०२३ को प्रोटोकलमा संशोधन गर्ने सम्बन्धी 'लेटर अफ एक्सचेन्ज' स्वीकृत गर्ने र उक्त एल.ओ.ईमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने,

 

७. २०८२ भदौ २३ देखि २५ गतेसम्म पेरिसमा आयोजना हुने 'ईन्टरनेशनल फोरम अन पम्प्ड स्टोरेज हाईड्रोपावर'  कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री माननीय दिपक खड्कालाई सहभागी हुन स्वीकृति दिने,

 

८. २०८२ भदौ २ देखि १३ गतेसम्म संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्कमा आयोजना हुने 'मरिन बायोडाइभर्सिटी अफ एरियाज बियोण्ड नेशनल जुरिडिक्शन (बी.बी.एन.जे.) प्रिपरेटोरी कमिशन' को दोस्रो सत्रको बैठकमा नेपालको तर्फबाट सहभागिता जनाउनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव श्री पाराश्वर ढुङ्गानालाई स्वीकृति दिने,

 

९. न्याय सेवा आयोगको सिफारिसअनुसार सर्वोच्च अदालतका सहरजिस्ट्रार श्री मानबहादुर कार्कीलाई नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा नियुक्त गरी सर्वोच्च अदालतको रजिस्ट्रार पदमा पदस्थापन गर्ने,

 

१०. न्याय सेवा आयोगको सिफारिसअनुसार सर्वोच्च अदालतका रजिस्ट्रार श्री विमल पौडेललाई नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार पदमा बढुवा नियुक्त गर्ने,

 

११. २०८२ साउन १३ देखि १५ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने 'केयर अफ साउथ एसिया प्रोजेक्ट कम्प्लिशन एण्ड डिसेमिनेशन वर्कशप' सम्बन्धी कार्यक्रममा गृह मन्त्रालयका सचिव श्री गोकर्णमणि दुवाडीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने,

 

१२. २०८२ साउन १८ देखि २३ गतेसम्म 'थर्ड युनाईटेड नेशन्स कन्फेरेन्स अन ल्याण्डलक्ड डेभलोपिङ कन्ट्रिज' मा सहभागी हुन सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको नेतृत्वमा तुर्कमेनिस्तानको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र उक्त भ्रमण स्वीकृत गर्ने,

 

१३. नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार पदमा श्री ध्रुवराज भट्टराईलाई नियुक्त गर्ने,

 

१४. राष्ट्रिय युवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने,

 

१५. नेपाली सेनातर्फ एकजना सहायक रथीको उपरथी पदमा र छ जना प्रमुख सेनानीहरूको महासेनानी पदमा बढुवा गर्ने, साथै, छ जना महासेनानीहरूको सरुवा गर्ने,

 

१६. कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अवस्थित आरोहणका लागि खुला गरिएका ९७ वटा हिमालहरूमा लाग्ने सलामी रकम आ.व. २०८२/८३ र आ.व. २०८३/८४ दुई आर्थिक वर्षका लागि पर्यटन ऐन, २०३५ को दफा ३६ तथा पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ को नियम ३२ को देहाय (ख) बमोजिम पूर्णरूपमा छुट दिने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने,

 

१७. भक्तपुर क्यान्सर अस्पताल विकास समिति (गठन) आदेश, २०७७ को दफा ९ को उपदफा (२) बमोजिम डा. उज्जवल चालिसे, कास्कीलाई भक्तपुर क्यान्सर अस्पताल विकास समितिको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने,

 

१८. न्याय सेवा आयोगको सिफारिस बमोजिम सहन्यायाधिवक्ता श्री सूर्यराज दाहालको नायवमहान्यायाधिवक्ता पदमा बढुवा गरी वेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगको सचिव पदमा पदस्थापन गर्ने र वेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगका सचिव श्री खेमराज ज्ञवालीको महान्यायाधिवक्ताको कार्यालयको नायबमहान्यायाधिवक्ता पदमा सरुवा गर्ने ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार