काठमाडौं महानगरपालिकाले सुरु गर्यो ‘रिचार्ज काठमाडौं’ अभियान, १३८ वटा रिचार्ज पिट बनाइने
८ मार्ग, २०८३
- अभियान उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री श्रेष्ठले जमिन पुनःभरण कार्यक्रम काठमाडौंको मौलिक स्वरूप संरक्षणका लागि महत्वपूर्ण रहेको बताए ।
काठमाडौं: काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तन कार्य सप्ताहको अवसर पारेर जमिन पुनःभरण (रिचार्ज काठमाडौं) अभियान सुरु गरेको छ ।
सोमबार राष्ट्रिय सभा गृह परिसरबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले रिचार्ज पिटमा पानी हालेर अभियानको सुरुवात गरेका हुन् ।
अभियान उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री श्रेष्ठले जमिन पुनःभरण कार्यक्रम काठमाडौंको मौलिक स्वरूप संरक्षणका लागि महत्वपूर्ण रहेको बताए । रैथाने बोटबिरुवा, प्राणी तथा चराचुरुङ्गीको संरक्षण, रैथाने बालीको उपलब्धता, नदी किनाराको हरियाली तथा हिटी र राजकुलो प्रणालीको विकासका लागि जमिन पुनःभरण दिगो उपाय भएको उनको भनाइ थियो ।
उनले संघ र प्रदेश सरकारबाट स्रोत उपलब्ध गराउने तथा महानगरपालिकाले प्राविधिक सहयोगमार्फत प्रणाली विकास गर्न सके दिगो नतिजा हासिल गर्न सकिने बताए ।
बागमती प्रदेशका मुख्यमन्त्री थापाले काठमाडौं महानगरपालिकाले सुरु गरेको अभियानले देशभर जलवायु अनुकूलन तथा पानी पुनःभरणको अभियान विस्तार हुने अपेक्षा व्यक्त गरे ।
काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले पानीको अभावका समस्या बढ्दै गएकाले अब छलफलमा मात्र सीमित नभई व्यवहारमै जमिन पुनःभरणको काम थाल्नुपर्ने बताइन् ।
‘अब गरौँला, कसले के भन्छ, हेरौँला भन्ने समय छैन । पानी नहुँदाका समस्या व्यक्तिव्यक्तिले भोग्नुपर्ने हुन थालेको छ । त्यसैले विचार विमर्शभन्दा काम नै थालेर आफ्नै घरमा जमिन पुनःभरण थालेका छौँ,’ उनले भनिन् ।
उनले महानगरपालिका कार्यालय, वडा कार्यालय तथा विद्यालयहरूमा पनि पुनःभरण प्रणाली निर्माण गरिने जानकारी दिइन् । सरकारी कार्यालयहरूले स्थान उपलब्ध गराए महानगरपालिकाले रिचार्ज प्रणाली निर्माण गरिदिने उनको भनाइ थियो ।
डंगोलले यो अभियान कार्यवाहक प्रमुखको हैसियतमा मात्र नभई साझा पृथ्वीको जिम्मेवार नागरिकका रूपमा सुरु गरिएको पनि बताइन् ।
महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईका अनुसार रिचार्ज प्रणाली निर्माणका लागि गत वर्ष एक करोड रुपैयाँ विनियोजन गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियामार्फत करिब ८० लाख रुपैयाँमा निर्माण पक्षसँग सम्झौता भएको उनले जानकारी दिए । उक्त योजनाअन्तर्गत मागका आधारमा सरकारी कार्यालय तथा सरकारी जग्गामा रिचार्ज प्रणाली निर्माण गरिनेछ ।
राईका अनुसार रिचार्ज पिट निर्माणका लागि २० फिट गहिरो र २ फिट ६ इन्चदेखि ४ फिटसम्म व्यास भएको खाल्डो खनिनेछ । खाल्डोको तल्लो ९ फिट भागमा ढुङ्गा, त्यस माथिको ७ फिट भागमा २० देखि ४० एमएमका गिट्टी, एक फिट भागमा बालुवा राखिनेछ । त्यसपछि पानी छान्न जिओटेक्सटाइल कपडा राखेर माथिल्लो तीन फिट भाग खाली छाडिने र अन्त्यमा कभर लगाइनेछ ।
महानगरपालिकाले यस योजनाअन्तर्गत २ फिट ६ इन्च, ३ फिट र ४ फिट व्यासका ४६/४६ वटा गरी कुल १३८ वटा रिचार्ज पिट निर्माण गर्ने लक्ष्य राखेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
जनकपुरधामदेखि अयोध्यासम्म हवाई सेवा सुरु हुनुपर्छ : मुख्यमन्त्री सरोज कुमार यादव
-
सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द भए मधेस आन्दोलित हुन्छ : सांसद झा
-
स्वर्णिम र शिशिरसँगको फोटो शेयर गर्दै प्रधानमन्त्री शाहले भने- निकै मिहिनेती मान्छेहरू !
-
वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
काठमाडौं महानगरपालिकाले सुरु गर्यो ‘रिचार्ज काठमाडौं’ अभियान, १३८ वटा रिचार्ज पिट बनाइने
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।