मस्कले किन भने 'प्रिय प्रधानमन्त्री अम्बानी' ?

२४ असोज, २०८३
सारांश
  • अमेरिकी अर्बपति एलोन मस्कले भारतमा आफ्नो उपग्रहमा आधारित इन्टरनेट सेवा स्टारलिङ्क सञ्चालनको अनुमति नपाएको विषयलाई लिएर भारतीय उद्योगपति मुकेश अम्बानीमाथि व्यङ्ग्य गरेका छन् ।

काठमाण्डौ, २४ असोज । अमेरिकी अर्बपति एलोन मस्कले भारतमा आफ्नो उपग्रहमा आधारित इन्टरनेट सेवा स्टारलिङ्क सञ्चालनको अनुमति नपाएको विषयलाई लिएर भारतीय उद्योगपति मुकेश अम्बानीमाथि व्यङ्ग्य गरेका छन् ।

 

मस्कले सामाजिक सञ्जालमा ‘प्रिय प्रधानमन्त्री अम्बानी’ भन्दै भारतमा अम्बानीको प्रभाव आफूले अनुमान गरेभन्दा बढी रहेको टिप्पणी गरेका छन् । उनले भारतमा इन्टरनेट सेवा विस्तार गर्न विदेशी कम्पनीलाई पनि प्रतिस्पर्धाको समान अवसर दिनुपर्ने बताएका छन् ।

 

मस्कका अनुसार स्टारलिङ्कले विगत पाँच वर्षदेखि भारतीय सरकारका कानुन र आवश्यक सर्त पालना गर्दै आएको छ । विश्वका १६५ भन्दा बढी देशमा सेवा सञ्चालनको अनुमति पाइसकेको कम्पनीले भारतमा भने अझै अनुमति नपाएको भन्दै उनले प्रश्न उठाएका छन् ।

 

मस्कले भारतका दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच विस्तार गर्न स्टारलिङ्कले सहयोग गर्न सक्ने बताएका छन् । इन्टरनेटको अभावमा बालबालिका शिक्षाबाट वञ्चित हुने र साना व्यवसायीले आफ्ना उत्पादन विश्व बजारमा पुर्‍याउन नसक्ने उनको भनाइ छ ।

 

मस्कले भनेका थिए- '‘आदरणीय प्रधानमन्त्री अम्बानीजी, भारतको वास्तविक मालिक तपाईं नै हुनुहुन्छ भन्ने कुरा बुझ्न नसकेकोमा कृपया मेरो गल्ती क्षमा गर्नुहोस् । स्पष्ट छ, तपाईं भारतका महान् जनतामाझ आफ्नो एकाधिकार र फाइदा कायम राख्न चाहनुहुन्छ । तर पनि, के तपाईं स्टारलिङ्कलाई भारतमा प्रतिस्पर्धा गर्ने अनुमति दिने विषयमा विचार गर्न सक्नुहुन्छ ? विश्वका अन्य देशहरूमा जस्तै भारतमा पनि इन्टरनेटको पहुँच नभएका धेरै क्षेत्र छन् । यसका कारण बालबालिका शिक्षाबाट वञ्चित भइरहेका छन् र साना व्यवसायीले आफ्ना सामान विश्व बजारमा बेच्ने अवसर पाउन सकेका छैनन् । स्टारलिङ्कले उनीहरूको जीवनस्तर सुधार्न सक्छ ।’

 

यसअघि भारतीय कांग्रेसका नेता राहुल गान्धीले मस्कको टिप्पणीमा प्रतिक्रिया दिँदै भारतमा स्वागत रहेको बताएका थिए । त्यसपछि मस्कले धन्यवाद दिँदै भारतमा देखिएको अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए ।

 

भारत सरकारले भने उपग्रहमा आधारित सञ्चार सेवासम्बन्धी नियम सबै कम्पनीका लागि समान रहेको स्पष्ट पारेको छ । स्टारलिङ्कको प्रवेश रोक्न भेदभाव गरिएको भन्ने आरोप सरकारले अस्वीकार गरेको छ ।

 

स्टारलिङ्कले भारतमा सेवा विस्तारका लागि रिलायन्स जियो र भारती एयरटेलसँग प्रारम्भिक समझदारी गरिसकेको छ । त्यस्तै, महाराष्ट्र, गुजरात र मेघालय राज्य सरकारसँग पनि सेवा सञ्चालनसम्बन्धी आशयपत्रमा हस्ताक्षर गरेको विवरणमा उल्लेख छ ।

 

भारतमा स्टारलिङ्कको सेवा सञ्चालनको अनुमति र बजार प्रतिस्पर्धालाई लिएर मस्क तथा भारतीय उद्योगीबीचको विवाद थप चर्चामा आएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अर्बपतिहरूको सन्तान मोह

सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।

थप समाचार