युरोपसँग सहकार्य बढाउँदै क्यानडा

२०८३ असोज ०१ विहिवार
सारांश
  • कार्नीले क्यानडा र युरोपले खुला बजार, राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि आपसी सहकार्य बढाउनुपर्ने बताए । उनले आर्थिक सम्बन्धलाई दबाबका लागि प्रयोग गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै क्यानडा–युरोप सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखे ।

काठमाण्डौ, ०१ असोज । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली संघसँग क्यानडाको सम्बन्धलाई थप गहिरो र व्यापक बनाउने पक्षमा आफू रहेको बताएका छन् ।

 

युरोपेली संसद्मा सम्बोधन गर्दै उनले क्यानडा र युरोपबीचको सहकार्य कुनै अर्को शक्तिविरुद्धको ‘तेस्रो शक्ति समूह’ बनाउने उद्देश्यले नभएको स्पष्ट पारेका छन् ।

 

कार्नीले क्यानडा र युरोपले खुला बजार, राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि आपसी सहकार्य बढाउनुपर्ने बताए । उनले आर्थिक सम्बन्धलाई दबाबका लागि प्रयोग गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै क्यानडा–युरोप सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखे ।

 

युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डर लायनले यसअघि क्यानडालाई युरोपेली संघको पहिलो ‘सहयोगी सदस्य’ बनाउने प्रस्ताव अघि सारेकी थिइन् । कार्नीले प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिँदै यसको वास्तविक स्वरूप र विषयवस्तु क्यानडा र युरोपले मिलेर तय गर्ने बताएका छन् ।

 

तर कार्नीले क्यानडा पूर्ण रूपमा युरोपेली संघको सदस्य बन्न खोजिरहेको नभएको स्पष्ट पारे । उनका अनुसार प्रस्तावित सम्बन्धको उद्देश्य क्यानडाको सार्वभौमिकता कायम राख्दै व्यापार, सुरक्षा, महत्वपूर्ण खनिज, ऊर्जा, कृत्रिम बुद्धिमत्ता, अनुसन्धान र प्रविधिजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्नु हो ।

 

यस विषयमा क्यानडाको संसद्मा छलफल र मतदान हुने कार्नीले बताएका छन् । उनले अक्टोबरको अन्त्यतिर मोन्ट्रियलमा हुने क्यानडा–युरोपेली संघ शिखर बैठकमा प्रस्तावको विस्तृत स्वरूपबारे छलफल गरिने जानकारी दिए ।

 

क्यानडा र युरोपबीच सम्बन्ध विस्तारको प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि थप चर्चामा आएको छ । ट्रम्पले क्यानडालाई युरोपेली संघको ‘सहयोगी सदस्य’ बनाउने कदमलाई अमेरिकाविरुद्धको कदमका रूपमा लिएमा युरोपमाथि थप कडा महसुल लगाउन सक्ने चेतावनी दिएका छन् ।

 

युरोपेली संसद्का अध्यक्ष रोबर्टा मेत्सोलाले भने क्यानडासँग नयाँ ढंगको सहकार्यका विषयमा छलफल हुनु स्वाभाविक रहेको बताएकी छन् । उनले व्यापार, विद्यार्थी आदानप्रदान र अन्य क्षेत्रमा रहेको सम्बन्धलाई थप विस्तार गर्ने सम्भावना रहेको उल्लेख गरेकी छन् ।

 

क्यानडाले युरोपसँग सम्बन्ध सुदृढ गराउने प्रयास गरिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा युरोपको एसोसियटस सदस्य भएमा थप कर लगाउने चेतावनी दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार