बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
१४ भाद्र, २०८३, आइतवार
- विदुर पुगेपछि अर्थमन्त्री वाग्लेले नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘राहत तथा उद्धार कमाण्ड पोस्ट’को निरीक्षण गर्दै उद्धार तथा राहत वितरणका क्रममा भइरहेका कामबारे जानकारी लिनुभयो।
नुवाकोट: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा पुगेर स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ। उहाँ शनिबार बिहानै नुवाकोटको सदरमुकाम विदुर पुग्नुभएको थियो।
विदुर पुगेपछि अर्थमन्त्री वाग्लेले नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘राहत तथा उद्धार कमाण्ड पोस्ट’को निरीक्षण गर्दै उद्धार तथा राहत वितरणका क्रममा भइरहेका कामबारे जानकारी लिनुभयो।
सो क्रममा उद्धार कार्यको नेतृत्व गरिरहनुभएका नेपाली सेनाका उपरथी रञ्जित थापाले बाढीपीडितको उद्धार तथा राहतमा प्रभावकारी रूपमा काम भइरहेको जानकारी दिनुभयो। उहाँले हराइरहेका मानिसहरूको जीवितै उद्धारलाई पहिलो प्राथमिकतामा राखेर बुधबारदेखि नै काम भइरहेको र शनिबारसम्म आइपुग्दा विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका मानिसहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो।
उद्धारसँगै विस्थापितहरूका लागि अस्थायी बसोबास, खाद्यान्न तथा अन्य राहत सामग्री वितरणको काम पनि केन्द्रबाट भइरहेको उहाँले जानकारी दिनुभयो। सोही क्रममा उहाँले बाढीग्रस्त क्षेत्रमा तत्काल ‘बेलिब्रिज’ आवश्यक रहेको बताउनुभयो।
अर्थमन्त्री डा. वाग्लेले उद्धार, उपचार र पुनर्स्थापनामा सरकारबाट पूर्ण साथ र सहयोग रहने भन्दै कुनै पनि कुराको अभाव महसुस नगर्न र कुनै पनि खालको सहयोगका लागि निर्धक्क भएर समयमै भन्न नेपाली सेनालाई आग्रह गर्नुभयो।
त्यसपछि अर्थमन्त्री वाग्लेले नेपाली सेनाको गौथली ब्यारेकमा रहेको हवाई उद्धार केन्द्र तथा राहत सामग्री सङ्कलन एवं वितरण केन्द्रको निरीक्षण गर्नुभयो। उहाँले उद्धार केन्द्रमा आफन्तजनको खोजी गर्दै आउनुभएका पीडित परिवारजनलाई भेटेर उनीहरूका समस्या पनि सुन्नुभयो।
नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा आफ्ना परिवारका सदस्य फसेको भन्दै उनीहरूको उद्धारका लागि परिवारजनले अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गराएका थिए। सो क्रममा अर्थमन्त्रीले नेपाली सेनाबाट भएको ब्रिफिङ उद्धृत गर्दै सुरुङमा फसेका नागरिकको उद्धार उच्च प्राथमिकतामा रहेको भन्दै परिवारजनलाई उद्धार हुने कुरामा नेपाली सेना र अन्य सुरक्षाकर्मीमाथि विश्वास गर्न आग्रह गर्नुभयो।
त्यसपछि अर्थमन्त्री वाग्ले बाढीले ध्वस्त भएको ढुङ्गे बजार पुग्नुभयो। त्यहाँ भइरहेको उद्धार कार्यको अवलोकन गर्दै उहाँले पीडित परिवारसँग क्षतिको अवस्था तथा सरकारले गर्नुपर्ने कामबारे सुझाव लिनुभयो।
तत्पश्चात् उहाँ बाढीले क्षतिग्रस्त बनाएको ऐतिहासिक देवीघाट बजार पुग्नुभयो। त्यहाँ उहाँले बाढीबाट भएको क्षतिको अवलोकन गर्दै पीडामा रहेका स्थानीयवासीलाई भेटेर सरकार साथमा रहेको ढाडस दिनुभयो। सरकारले हराएका आफन्तको खोजी, राहत, उपचार र पुनर्स्थापनामा कुनै कसर बाँकी नराखेको र आगामी दिनमा पनि नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसपछि उहाँले गल्छी–रसुवागढी सडकखण्डअन्तर्गत देवीघाट र जिलिङ जोड्ने क्षतिग्रस्त पक्की पुल क्षेत्रको अवलोकन गर्नुभयो। उहाँले तल्लो पिपलटारस्थित आयुर्वेदिक केन्द्र र चन्द्रज्योति स्कुलमा रहेको होल्डिङ सेन्टर पुगेर देवीघाट बजारबाट उद्धार गरिएका स्थानीयवासीलाई भेटी उनीहरूका समस्या सुन्नुभयो।
बाढीमा बग्दै गरेको अवस्थामा उद्धार गरिएका स्थानीयवासीसँग भेटघाट गर्दै अर्थमन्त्री वाग्लेले उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो। उहाँले थप स्वास्थ्य लाभको कामना गर्दै सरकारले उचित पुनर्स्थापना गर्ने बताउनुभयो। साथै, स्वास्थ्य उपचारमा खटिएको सशस्त्र प्रहरीको चिकित्सक टोलीसँग भेट गरी स्रोतसाधनको उपलब्धताबारे पनि जानकारी लिनुभयो।
त्यसपछि अर्थमन्त्री डा. वाग्ले र सञ्चारमन्त्री डा. बिक्रम तिमल्सिनाले नुवाकोटका जनप्रतिनिधि तथा राजनीतिक दलका नेतृत्वसँग विपद्पछिको उद्धार, राहत, उपचार र पुनर्स्थापनाको समन्वयका विषयमा छलफल गर्नुभयो।
जिल्ला समन्वय समितिको हलमा अर्थमन्त्रीको पहलमा बोलाइएको छलफलमा उहाँले केन्द्र सरकारबाट कुनै पनि खालको स्रोतको अभाव नहुने स्पष्ट पार्दै सबै जना एकजुट भएर विपद्पछिको प्रतिकार्यमा लाग्न आग्रह गर्नुभयो। केन्द्र सरकारले सबैखाले स्रोत र साधन उपलब्ध गराउने भन्दै उहाँले आर्थिक स्रोतको अभाव हुन्छ कि भनेर नसोची जनतालाई विपद्मा कुनै पनि कुराको अभाव नहुने गरी काम गर्न आग्रह गर्नुभयो।
दिनभरको उद्धार, राहत र पुनर्स्थापना कार्यको अन्तिम सुरक्षा ब्रिफिङ हुने नेपाली सेनाको विदुर कमाण्ड सेन्टरमा पुगेर अर्थमन्त्री वाग्लेले विपद्पछिको उद्धारमा खटिनुभएका गृहमन्त्री सुदन गुरुङ, सञ्चारमन्त्री बिक्रम तिमल्सिना तथा नेपाली सेनाका उच्च अधिकारीहरूको ब्रिफिङ सुन्नुभयो।
ब्रिफिङअनुसार अहिले जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ। साथै, नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले मृतकका शव सङ्कलन तथा राहत वितरणलाई तीव्रता दिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।