सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रु’, प्रधानमन्त्रीले बाँडे खुशी

२०८१ माघ ११ शुक्रवार
सारांश
  • अस्वस्थ्यका कारण भौतिक रुपमा उपस्थित हुन नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारबाटै भर्चुअलरुपमा सुरुङको उदघाटन गरे ।

बुटवल :  निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । अस्वस्थ्यका कारण भौतिक रुपमा उपस्थित हुन नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारबाटै भर्चुअलरुपमा सुरुङको उदघाटन गरे ।


राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन उक्त सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम भएसँग स्थानीयबासी उत्साहित भएका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले अब नेपाल दुर्गमबाट सुगम देशको रुपमा जाँदै गरेको बताए ।


‘यो खुसी तपाईं हामी सबैको खुसी हो । रुपन्देही र पाल्पाका जनताका लागि थप ठूलो खुसीको कुरा हो । यो हामी सबैको सफलता हो, यस्तै सफलताहरु जोडेर देशलाई सफल बनाउन सकिन्छ । यो सरकार स्थायित्व र बिकासका लागि बनेको छ,’ प्रधानमन्त्री ओलीले भने ।


मुख्य सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य लगायत उपस्थित रहेको थियो । 


सुरुङमार्गका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रूपमा बोलपत्र आह्वान गरी  सुरुङमार्ग निर्माण ठेक्का लगाएको थियो । 


सुरुङभित्र केही समस्या आए निस्कन मिल्नेगरी तीनवटा बाइपास बनाइएको छ । तेस्रो र पहिलो बाइपास को ‘ब्रेक थ्रु’ भदौ तथा असोजमा भएकामा दोस्रो बाइपासको ब्रेक थ्रु गत पुस ७ गते भएको हो । यहाँ पहिलो बाइपासको लम्बाइ एक सय ५१ मिटर,  दोस्रोको लम्बाइ एक सय ६१ मिटर र तेस्रोको एक सय ३० मिटर छ ।


पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न हुनेछ ।


विस २०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भएपनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरूङ खन्न थालेको हो ।  सुरूङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत सहज हुनेछ ।

 

 

 


 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार