दक्षिण एसियाली महिला कलाकारको नारीबाद सम्बन्धि प्रदर्शनी काठमाडौँमा
२०८१ माघ १० विहिबार
- ‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एशियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एशियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
काठमाडौँ : दक्षिण एसियाली महिला कलाकारको नारीबाद सम्बन्धि वृहत् कला प्रदर्शनी आयोजना हुने भएको छ । यही जनवरी २५ देखि काठमाडौँमा सुरु हुने प्रदर्शनीमा दक्षिण एसियाका दशजना महिला कलाकारले आफ्ना सृजना प्रदर्शन गर्नेछन् ।
‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एशियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एशियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
प्रदर्शनीले पितृसत्तात्मक संरचना, परम्परागत सोच र लैंगिक राजनीति जस्ता विषय सम्बोधन गर्ने डा.लोखन्डावाले बताइन् । प्रदर्शनीमा राखिएका सृजना सर्वसाधारणले तीन महिनासम्म अवलोकन गर्न सक्नेछन् ।
तारागाउँ नेक्स्टको आयोजना र सराफ फाउन्डेसनको सहकार्यमा काठमाडौँको बौद्धस्थित तारागाँउ सांस्कृतिक केन्द्रमा हुने कार्यक्रम डा.अर्शिया लोखन्डवालाको परिकल्पनामा आयोजना हुन लागेको हो ।
‘म नेपालसँग लामो समयदेखि परिचित छु, यहाँको समाज र महिलाको अवस्थाबारे पनि केही जानकारी छ, त्यसैले नेपालमा यसप्रकारको प्रदर्शनी आयोजना गर्न खोजिरहेकी थिए, धेरै वर्ष अगाडि आउँदा जीवित देवी कुमारीको दर्शनपछि यस विषयमा प्रदर्शनी गर्नुपर्छ भन्ने लागेको थियो’, उनले भनिन् ।
दक्षिण एसियामा महिलालाई हेर्ने दृष्टिकोण धार्मिक, सामाजिक र राजनीतिक रुपमा धेरै समानता रहेको उल्लेख गर्दै उनले सबै मुलुकका कलाकारलाई एकै थलोमा ल्याउनका लागि नेपाल उपयुक्त थलो समेत बताइन् ।
प्रदर्शनीको औपचारिक उदघाटन अघि जनवरी २३ मा ‘डिकोलोनाइजिङ द फेमिनः आर्ट, एजेन्सी एण्ड जेन्डर्ड पोलिटिक्स इन साउथ एसिया’ शीर्षकमा छलफल आयोजना हुनेछ ।
प्रदर्शनीमा भारतका चार, नेपालका तीन र श्रीलंका, पाकिस्तान र बंगलादेशका एक÷एक महिला कलाकारका सृजना रहनेछन् ।
आयोजकका अनुसार भारतीय कलाकारहरु अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला, नेपाली कलाकार अश्मिना रञ्जित, विधाता केसी र उमा बिष्टासँगै श्रीलंकाकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बंगलादेशकी तायबा बेगम लिपीका सृजना प्रदर्शनीमा रहनेछन् ।
सबै कलाकारहरूले कलामार्फत पारम्परिक लैंगिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र समाजिक संरचनाहरूको प्रभाव उजागर गर्ने प्रयास गर्नेछन् ।
‘प्रदर्शनीले दक्षिण एसियाली महिला कलाकारको शक्तिलाई उजागर गर्नेछ’, उनले भनिन्, ‘कलामार्फत गहिरो गरी समाजमा व्याप्त पितृसत्तात्मक संरचनाहरूको विरोध र सोचमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’
नेपालको महिला अधिकारसँग सम्बन्धित मुद्दालाई दक्षिण एशियाली देशका महिला अधिकारका विषयसँग सम्बन्धित संघर्षहरूसँग जोड्ने प्रयास स्वरूप प्रदर्शनी आयोजना गरिएको सराफ फाउन्डेशन तथा तारागाउँ नेक्स्टकी संस्थापक निर्देशक नमिता साराफको भनाइ छ ।
प्रदर्शनीले महिलाको सम्मानसँगै दमनकारी दक्षिण एसियाली समाजको गहिरो र जटिल संरचनाको विश्लेषण गर्ने जनाइएको छ । शिल्पकला, फोटोग्राफी, इन्स्टलेसन, भिडियो र प्रदर्शनीमार्फत कलाकारले महिलाको जीवनको कथालाई उजागर गर्ने आयोजकको भनाइ छ ।
प्रदर्शनीमा विभिन्न समकालीन मुद्दाहरूलाई अन्वेषण गर्ने सृजना समेत समावेश छन् । पुष्पमाला एनको ‘अभेगा– द प्यासन (२०१२)’ ले रामायणका महिलाका पात्रहरूको पारम्परिक चित्रणलाई चुनौती दिँदै उनीहरूको सशक्त पक्षबारे उजागर गर्नेछ ।
अश्मिना रञ्जितको ‘सीता ! द आइडियल वाइफ (२०२५)’ ले महिलाको अधिकार र स्वतन्त्रता खोस्ने हिन्दू परम्पराअनुसारको विवाहमा गरिने ‘कन्यादान’ प्रथाको आलोचना गर्नेछ ।
त्यस्तै, तायबा बेगम लिपीले आफ्ना सृजनामा विवाहको जटिलता र हिंसात्मक प्रवृत्तिलाई चित्रित गर्दैछिन् । उमा बिष्टले छाउपडी प्रथाको आलोचना गर्दै नेपाली महिलाका संघर्षलाई प्रस्तुत गर्ने जनाइएको छ ।
विधता केसीले कलामार्फत महिलालाई आफ्ना आकांक्षा व्यक्त गर्न र समाजका अपेक्षालाई चुनौती दिनेछिन् । अनिता दुबे, नाइजा खान र अनोली पेरेराले आफ्नो कलामार्फत महिला सशक्तीकरण र स्वतन्त्रताका विषय उठन गर्नेछन् ।
प्रदर्शनीको औपचारिक उद्घाटनका दिन कलाकार अश्मिना रञ्जितको विशेष प्रस्तुति रहनेछ भने यही जनवरी २५ दिउँसो ३ बजे कलाकारले काम र अनुभव सुनाउने कार्यक्रम रहेको आयोजकको भनाइ छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।