नासाको भ्वाएजर–१ यान पृथ्वीबाट एक प्रकाश दिनको दूरीमा, ४९ वर्षदेखि अन्तरिक्ष यात्रामा
३ मार्ग, २०८३
- अमेरिकी अन्तरिक्ष निकाय नासाले सन् १९७७ मा प्रक्षेपण गरेको अन्तरिक्ष यान भ्वाएजर–१ पृथ्वीबाट करिब २५ अर्ब ९० करोड किलोमिटर टाढा पुगेको छ ।
काठमाण्डौ, ०३ मङ्सिर । अमेरिकी अन्तरिक्ष निकाय नासाले सन् १९७७ मा प्रक्षेपण गरेको अन्तरिक्ष यान भ्वाएजर–१ पृथ्वीबाट करिब २५ अर्ब ९० करोड किलोमिटर टाढा पुगेको छ । यो दूरीलाई एक प्रकाश दिन भनिन्छ । मानव निर्मित कुनै पनि वस्तु अहिलेसम्म यति टाढा पुगेको छैन ।
प्रकाशले २४ घण्टामा पार गर्ने दूरीलाई एक प्रकाश दिन भनिन्छ । भ्वाएजर–१ यति टाढा पुगेपछि पृथ्वीबाट पठाइएको रेडियो सन्देश त्यहाँ पुग्न करिब २४ घण्टा लाग्छ । त्यहाँबाट जवाफ आउन पनि उत्तिकै समय लाग्ने भएकाले एउटा सन्देश आदानप्रदान गर्न करिब दुई दिन लाग्छ ।
सन् १९७७ सेप्टेम्बरमा चार वर्षे अभियानका लागि प्रक्षेपण गरिएको भ्वाएजर–१ ले सन् १९९८ मा नासाकै पायोनियर–१० लाई उछिन्दै मानव निर्मित सबैभन्दा टाढा पुगेको वस्तुको कीर्तिमान बनाएको थियो । यसको जुम्ल्याहा यान भ्वाएजर–२ पनि अन्तरिक्ष यात्रामा छ । दुवै यानले आफ्नो निर्धारित अवधि पार गरिसकेका छन् र अहिले सूर्यको प्रभाव क्षेत्रभन्दा बाहिर ताराहरूबीचको अन्तरिक्षको अध्ययन गरिरहेका छन् । भ्वाएजर–१ सन् २०१२ र भ्वाएजर–२ सन् २०१८ मा सूर्यको चुम्बकीय प्रभाव क्षेत्र हेलियोस्फियर पार गरेर बाहिरिएका थिए ।
लामो समयदेखि सञ्चालनमा रहेका यी यानलाई सक्रिय राख्न नासाले विद्युत् खपत घटाउने उपाय अपनाउँदै आएको छ । भ्वाएजर–१ का १० वैज्ञानिक उपकरणमध्ये अहिले दुईवटा मात्र सञ्चालनमा छन् । नासाले अनावश्यक उपकरण बन्द गर्ने, विद्युत् व्यवस्थापन परिवर्तन गर्ने र तापक्रम नियन्त्रण गरेर यानको सञ्चालन अवधि लम्ब्याइरहेको छ । यसको अभियान सञ्चालन गर्न करिब १० जनाको टोली सक्रिय रहेको छ ।
तर, यानको विद्युत् उत्पादन क्षमता घट्दै गएकाले सन् २०२९ सम्म भ्वाएजर–१ सँगको सम्पर्क टुट्न सक्ने अनुमान गरिएको छ । यसको जुम्ल्याहा यान भ्वाएजर–२ सँगको सम्पर्क पनि सन् २०३१ सम्ममा बन्द हुन सक्ने बताइएको छ ।
सन् २०२४ मा कम्प्युटरको एउटा चिपमा समस्या आएपछि नासाका वैज्ञानिकले पृथ्वीबाटै निर्देशन पठाएर यानलाई पुनः नियमित अवस्थामा फर्काएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।