युक्रेन युद्धदेखि होर्मुज जलमार्गसम्म : ट्रम्प र सीबीच के–के विषयमा भयो छलफल ?
३ मार्ग, २०८३
- भेटवार्ताको सुरुवातमै ट्रम्पले व्यापार, होर्मुज जलमार्ग, इरानको आणविक कार्यक्रम र रुस-युक्रेन युद्धलगायतका विषयमा चीनसँग सहकार्य गर्ने प्रस्ताव राखेका थिए ।
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले दुई नेताबीचको बैठक सकिएको जनाएको छ ।
भेटवार्ताको सुरुवातमै ट्रम्पले व्यापार, होर्मुज जलमार्ग, इरानको आणविक कार्यक्रम र रुस-युक्रेन युद्धलगायतका विषयमा चीनसँग सहकार्य गर्ने प्रस्ताव राखेका थिए ।
होर्मुज जलमार्ग र इरानको आणविक कार्यक्रम
ट्रम्पले अमेरिका र चीन दुवै होर्मुज जलमार्गबाट ऊर्जा आपूर्ति निर्बाध रूपमा सञ्चालन हुनुपर्ने पक्षमा रहेको बताए । त्यस्तै, इरानसँग आणविक हतियार हुन नहुने विषयमा पनि दुवै देशको समान धारणा रहेको उनको भनाइ थियो ।
‘हामी दुवै यस विषयमा निकै दृढ छौँ,’ ट्रम्पले भने ।
रुस-युक्रेन युद्ध अन्त्य गर्ने विषय
रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिका र चीन दुवैले सहयोग गर्न चाहेको ट्रम्पले बताए । उनका अनुसार उक्त युद्धमा प्रत्येक महिना करिब २५ हजार सैनिकको ज्यान गइरहेको छ । उनले युद्ध अन्त्यका लागि दुवै देशले भूमिका खेल्न सक्ने धारणा राखेका थिए ।
व्यापार र भन्सार शुल्क
ट्रम्पले चीनसँग भएको ‘३० फर ३०’ सम्झौताको पनि चर्चा गरे । उक्त सम्झौताअन्तर्गत दुवै पक्षले करिब ३०–३० अर्ब डलर बराबरको भन्सार शुल्क घटाउनुपर्ने व्यवस्था रहेको उनले बताए ।
ट्रम्पले यस सम्झौताबाट अमेरिकी किसानहरूलाई फाइदा पुगेको दाबी गर्दै चीनलाई उनीहरूका लागि थप कदम चाल्न आग्रह गर्ने बताए ।
सीसँगको व्यक्तिगत सम्बन्धबारे ट्रम्प
ट्रम्पले राष्ट्रपति सीसँग आफ्नो व्यक्तिगत सम्बन्ध निकै राम्रो रहेको बताए । ‘मलाई लाग्छ, जबसम्म तपाईं र म जिम्मेवारीमा रहन्छौँ, हामीबीच कहिल्यै समस्या हुनेछैन,’ उनले भने ।
चीन-अमेरिका सम्बन्ध सुधार्ने सीको प्रतिबद्धता
चिनियाँ राष्ट्रपति सीले चीन-अमेरिका सम्बन्धलाई सही दिशामा अघि बढाइराख्न ट्रम्पसँग मिलेर काम गर्न आफू तयार रहेको बताएका छन् ।
रोयटर्सका अनुसार सीले दुई देशबीचको सम्बन्ध समग्रमा स्थिर र सुधारोन्मुख रहेको बताए । उनले आपसी सम्मान, निष्पक्षता र पारस्परिकताका आधारमा दुई देशको सम्बन्धलाई नयाँ स्वरूप दिइएको पनि उल्लेख गरे ।
सीले दुवै नेताले रणनीतिक स्थिरतासहितको रचनात्मक चीन-अमेरिका सम्बन्धको नयाँ परिभाषा स्थापित गरेको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।