क्युबासँग तनाव बढ्दै जादा क्यारिबियन सागरमा पुग्यो अमेरिकी युद्धपोत ‘युएसएस निमिट्ज’
२०८३ जेठ ०७ विहिवार
- अमेरिकी विमानवाहक युद्धपोत ‘युएसएस निमिट्ज’ आफ्नो आक्रमण समूहसहित क्यारिबियन सागर क्षेत्रमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
एजेन्सी, ०७ जेठ । अमेरिका र क्युबाबीच बढ्दो तनावका बीच सैन्य गतिविधि पनि तीव्र बनेको छ । अमेरिकी विमानवाहक युद्धपोत ‘युएसएस निमिट्ज’ आफ्नो आक्रमण समूहसहित क्यारिबियन सागर क्षेत्रमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यो तैनाथी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाविरुद्ध कडा अभिव्यक्ति दिन थालेपछि भएको हो । अमेरिकी प्रशासनले क्षेत्रीय सैन्य उपस्थिति थप बलियो बनाउन युद्धपोत पठाइएको जनाएको छ । अमेरिकी नौसेनाको उक्त शक्तिशाली आक्रमण समूहमा लडाकु विमान, विद्युतीय युद्ध प्रणालीयुक्त विमान तथा सहयोगी हवाई साधनहरू समावेश रहेका छन् । साथै विनाशकारी युद्धपोत र इन्धन आपूर्ति जहाज पनि समूहसँगै रहेका छन् ।
अमेरिकी दक्षिणी कमान्डले ‘युएसएस निमिट्ज’ ले ताइवान जलडमरूमध्यदेखि अरब सागर क्षेत्रसम्म विभिन्न अभियानमा आफ्नो युद्ध क्षमता प्रदर्शन गरिसकेको जनाएको छ । सन् १९७५ मा सेवामा आएको यो विमानवाहक युद्धपोतले हालै ब्राजिलको रियो दि जेनेरियो तटमा ब्राजिली नौसेनासँग संयुक्त अभ्यास समेत गरेको थियो ।
यसबीच ट्रम्प प्रशासनले क्युबामाथि थप दबाब बढाएको छ । अमेरिकी न्याय विभागले क्युबाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध सन् १९९६ मा अन्तर्राष्ट्रिय जलक्षेत्रमा दुई नागरिक विमान खसालिएको घटनासम्बन्धी हत्या तथा अन्य अपराधका औपचारिक आरोप लगाएको छ । उक्त घटनामा चार जनाको मृत्यु भएको थियो ।
राष्ट्रपति ट्रम्पले यसलाई क्युबा–अमेरिकी समुदायका लागि महत्वपूर्ण क्षण भएको बताएका छन् । उनले क्युबाबाट अमेरिका पुगेका र आफ्ना परिवारसँग भेट्न पुनः क्युबा जान चाहने नागरिकका लागि पनि यो ठूलो विषय भएको बताएका छन् ।
यता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले स्पेनी भाषामा क्युबाली जनताका नाममा सन्देश जारी गर्दै क्युबाको कम्युनिष्ट सरकारलाई विधुत् संकट र आर्थिक समस्याका लागि जिम्मेवार ठहर गरेका छन् । उनले अमेरिकाको इन्धन नाकाबन्दी नीतिको समेत समर्थन गरेका छन् ।
अमेरिकी गुप्तचर संस्था सिआइएका निर्देशक जोन राटक्लिफले हालै क्युबाली अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । उनले वार्ताको ढोका सधैँ खुला नरहने चेतावनी दिएपछि कूटनीतिक क्षेत्रमा थप तनाव बढेको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।