अमेरिका र इरानबीच दुई साताको युद्धविराम, रोकियो युद्ध

२०८२ चैत्र २५ बुधवार
सारांश
  • अमेरिका र इरानबीच करिब ४० दिनदेखि जारी युद्धपछि अन्ततः दुई साताका लागि युद्धविराम गर्ने सहमति भएको छ ।

 

एजेन्सी, २५ चैत्र । अमेरिका र इरानबीच करिब ४० दिनदेखि जारी युद्धपछि अन्ततः दुई साताका लागि युद्धविराम गर्ने सहमति भएको छ ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र त्यहाँका सेना प्रमुखको आग्रहपछि यस्तो निर्णय गरिएको बताएका छन् । युद्धविरामअघि उनले इरानलाई कडा चेतावनी दिँदै होर्मुज जलडमरूबाट जहाजको सुरक्षित आवागमन नभए गम्भीर परिणाम भोग्नुपर्ने बताएका थिए ।

 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पाकिस्तानको मध्यस्थता र अन्तिम समयमा चीनको पहलपछि यो सहमति सम्भव भएको हो । पाकिस्तानले अघि सारेको दुई साताको युद्धविराम प्रस्ताव इरानले स्वीकार गरेको जनाइएको छ ।

 

सम्झौताअनुसार अमेरिका र उसका सहयोगी इजरायलले आक्रमण रोक्नेछन् भने इरानले पनि आफ्ना सैन्य गतिविधि स्थगित गर्नेछ । यस अवधिमा होर्मुज जलडमरू हुँदै तेल, ग्यास तथा अन्य जहाजको सुरक्षित आवागमन इरानी सेनाको सहयोगमा सुनिश्चित गरिनेछ ।

 

यो युद्धविराम लेबनान लगायतका क्षेत्रमा पनि लागू हुने बताइएको छ । साथै, आगामी अप्रिल १० मा पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच औपचारिक वार्ता सुरु हुने तय भएको छ ।

 

युद्धविराम घोषणा भएको करिब दुई घण्टापछि इरानका सर्वोच्च नेताले सबै सैन्य इकाइलाई तत्काल गोलीबारी रोक्न निर्देशन दिएका छन् । सरकारी सञ्चारमाध्यममार्फत जारी वक्तव्यमा सबै सुरक्षा निकायलाई आदेश कडाइका साथ पालना गर्न भनिएको छ । यद्यपि, इरानले यो युद्धको पूर्ण अन्त्य नभई अस्थायी व्यवस्था मात्र भएको स्पष्ट पारेको छ ।

 

उता, अमेरिकी पक्षले पनि इरानविरुद्धका आफ्ना सबै आक्रामक सैन्य कारबाही रोकिएको जनाएको छ । तर सुरक्षा र प्रतिरक्षासम्बन्धी गतिविधि भने जारी रहने बताइएको छ ।

 

इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि युद्धविरामको पुष्टि गर्दै पाकिस्तानको भूमिकाको प्रशंसा गरेका छन् । उनले आक्रमण रोकिएमा इरानले पनि आफ्नो प्रतिरक्षात्मक कदम स्थगित गर्ने बताएका छन् ।

 

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अप्रिल १० मा इस्लामाबादमा दुवै पक्षलाई आमनेसामने वार्ताका लागि निमन्त्रणा गरिएको जानकारी दिएका छन् ।

 

उनका अनुसार उक्त वार्ताको उद्देश्य दीर्घकालीन समाधान खोज्नु हो । पाकिस्तानले यस पहलबाट क्षेत्रीय शान्ति र स्थायित्वमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार