गाजामा युद्धविराम पछि दुवै पक्षका बन्दीहरुको मुक्तिको प्रक्रिया सुरु
२०८२ असोज २५ शनिवार
- गाजामा इजरायल र हमासबीच सहमति अनुसारको युद्धविराम शुक्रबारदेखि लागू भएको छ ।
एजेन्सी, २५ असोज । गाजामा इजरायल र हमासबीच सहमति अनुसारको युद्धविराम शुक्रबारदेखि लागू भएको छ । युद्धविराम लागू भएपछि इजरायली सेनाले गाजा क्षेत्रमा रहेका आफ्ना फौजलाई सहमत तैनाथी रेखासम्म फिर्ता गरेको इजरायली सेनाले जनाएको छ ।
इजरायली सेनाको विज्ञप्तिमा भनिएको छ, “सैनिकहरू नयाँ तैनाथी रेखा अनुसारका स्थानहरूमा पुनःस्थित हुँदैछन् । दक्षिण कमाण्डअन्तर्गतका फौजहरू अझै पनि क्षेत्रमा तैनाथ छन् र तत्कालीन खतरा हटाउने कार्य जारी रहनेछ ।”
अमेरिकी मध्यस्थतामा भएको यो सम्झौताअनुसार, हमासको नियन्त्रणमा रहेका बन्दीहरुको मुक्तिका लागि ७२ घण्टे समयावधि सुरु भएको छ । पहिलो चरणमा इजरायलले झण्डै २ हजार प्यालेस्टिनी कैदी र बन्दीलाई रिहा गर्नेछ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टेलिभिजन सम्बोधनमा भने, “हाम्रा सैनिकहरू अझै पनि गाजाको भीत्रि भागमा रहनेछन् र नियन्त्रणका क्षेत्रहरूमा दबाब कायम राख्नेछन् । यो सम्झौताको अर्को चरणका लागि तयारी जारी रहनेछ ।” उनका अनुसार आगामी दिनमा २० जना जीवित बन्दीलाई रिहा गरिनेछ भने २८ जना मृतकका शव हस्तान्तरण गरिनेछ । उनले थपे, “हमासलाई निशस्त्र पारिनेछ र गाजालाई सैन्यरहित क्षेत्र बनाइनेछ । यदि यी लक्ष्यहरू सजिलै प्राप्त भएनन् भने कठिन तरिकाले पूरा गरिनेछ ।”
हमास–नियन्त्रित आन्तरिक प्रशासनले पनि युद्धविराम लागू भएपछि इजरायली सेनाले फिर्ता गरेका क्षेत्रहरूमा आफ्ना सुरक्षाबल तैनाथ गर्ने जनाएको छ । उक्त प्रशासनले विज्ञप्तिमा भनेको छ, “यो तैनाथी सार्वजनिक शान्ति पुनःस्थापना गर्ने र दुई वर्ष लामो युद्धले सिर्जना गरेको अव्यवस्था नियन्त्रण गर्ने उद्देश्यले गरिएको हो ।”
यसले प्यालेस्टिनी जनतालाई युद्ध अन्त्य भएकोमा बधाई दिँदै सुरक्षाबलसँग सहयोग गर्न र सुरक्षा निर्देशनहरू पालना गर्न अनुरोध गरेको छ । हमास–नियन्त्रित गाजा मिडिया अफिसका अनुसार इजरायली सेनाले गत दुई वर्षमा गाजाका ६७० भन्दा बढी विद्यालय ध्वस्त पारेका छन् । जसमा १३ हजार ५०० भन्दा बढी विद्यार्थीको मृत्यु भएको छ ।
त्यसैगरी, ६०० दिनभन्दा बढी समयदेखि सीमा नाका बन्द हुँदा सहायता आपूर्ति रोकिएको र करिब २० लाख प्यालेस्टिनी जबरजस्ती विस्थापित भएका छन् । प्रारम्भिक अनुमानअनुसार गाजाको प्रमुख आर्थिक क्षेत्रहरूमा करिब ७० अर्ब अमेरिकी डलरभन्दा बढी क्षति पुगेको छ ।
शुक्रबार नै हमास र अन्य दुई फिलिस्तिनी समूहहरूले संयुक्त विज्ञप्ति जारी गर्दै गाजामाथि कुनै पनि “विदेशी संरक्षकत्व” अस्वीकार गर्ने बताएका छन् । उनीहरूले गाजाको शासन व्यवस्थालाई पूर्ण रूपमा आन्तरिक प्यालेस्टिनी विषय रहेको स्पष्ट पारेका छन् ।
गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली आक्रमण सुरु भएको सन् २०२३ अक्टोबर ७ देखि हालसम्म ६७ हजार २११ प्यालेस्टिनी मारिएका छन् र १ लाख ६९ हजार ९६१ जना घाइते भएका छन् । इजरायल र हमासबीच तीन दिनको गहन वार्तापछि मिस्र, कतार, टर्की र अमेरिकाको मध्यस्थतामा बिहीबार युद्धविराम सम्झौता भएको हो ।
सम्झौताको पहिलो चरणमा इजरायली फौज गाजा सिटी, उत्तर गाजा, राफा र खान युनिस क्षेत्रबाट फिर्ता हुने, पाँचवटा सीमा नाका मानवीय सहायता प्रवेशका लागि खोलिने, र बन्दी तथा कैदीहरूको अदलाबदल हुने व्यवस्था गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।