आर्थिक सर्वेक्षण: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने, सार्वजनिक वित्तका सूचक मिश्रित

२०८३ जेठ १३ बुधवार
सारांश
  • सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।

काठमाण्डौ, १३ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् ।

 

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यस्तो वृद्धिदर ४.४३ प्रतिशत थियो । बागमती र गण्डकी प्रदेशबाहेक अन्य सबै प्रदेशको आर्थिक वृद्धि राष्ट्रिय औसतभन्दा कम रहने अनुमान छ ।

 

सर्वेक्षणअनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ७६ प्रतिशत रहने अनुमान गरिएको छ । पछिल्लो दशकमा कृषि क्षेत्रको योगदान घट्दै गएको तथा सेवा क्षेत्रको हिस्सा बढ्दै गएको उल्लेख छ । प्राथमिक क्षेत्रको योगदान २४.४६ प्रतिशत, द्वितीयक क्षेत्रको १३.७३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६१.८१ प्रतिशत रहने अनुमान गरिएको छ ।

 

चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ४.५४ प्रतिशत रहने अनुमान गरिएको छ । कुल गार्हस्थ्य उत्पादन करिब ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान छ । यसमध्ये बागमती प्रदेशको योगदान सबैभन्दा बढी ३६.७ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४.२ प्रतिशत रहनेछ ।

 

अर्थतन्त्रमा उपभोगको हिस्सा उच्च देखिएको छ । कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अंश ९०.३ प्रतिशत रहने अनुमान गरिएको छ । निजी क्षेत्रको उपभोग हिस्सा ९१.२६ प्रतिशत, सरकारी क्षेत्रको ६.६२ प्रतिशत र गैरसरकारी क्षेत्रको २.१२ प्रतिशत रहने उल्लेख छ ।

 

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५ सय १३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५ सय ३५ डलर तथा प्रतिव्यक्ति राष्ट्रिय खर्चयोग्य आय २ हजार ४४ डलर पुग्ने अनुमान छ । बागमती प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा बढी २ हजार ६ सय ४४ डलर र मधेश प्रदेशको सबैभन्दा कम ९३४ डलर रहने उल्लेख गरिएको छ ।

 

सार्वजनिक वित्तका सूचक मिश्रित अवस्थामा देखिएका छन् । फागुनसम्म सङ्घीय खर्च १०.४ प्रतिशत र राजस्व ३.२ प्रतिशतले बढेको छ । यस अवधिमा सङ्घीय सरकारको वित्त सन्तुलन ५८ अर्ब १ करोड रुपैयाँ घाटामा रहेको छ भने प्राथमिक सन्तुलन ९ अर्ब ३९ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

 

आर्थिक वर्ष २०८१/८२ मा सङ्घीय इकाइको एकीकृत राजस्व सङ्कलन १२ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । यसमध्ये सङ्घको हिस्सा ९२.१ प्रतिशत र प्रदेश तथा स्थानीय तहको हिस्सा ७.९ प्रतिशत रहेको छ । एकीकृत खर्च १७ खर्ब ७५ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

 

फागुनसम्म नेपालको कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । कुल ऋणमध्ये आन्तरिक ऋण ४६.८ प्रतिशत र बाह्य ऋण ५३.२ प्रतिशत रहेको छ । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा सार्वजनिक ऋण ४३.६ प्रतिशत पुगेको छ ।

 

त्यस्तै मुद्रास्फीति नियन्त्रणभित्र रहेको उल्लेख गर्दै फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति २.१३ प्रतिशत कायम भएको जनाइएको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो मुद्रास्फीति ४.७२ प्रतिशत थियो ।

 

वित्तीय पहुँच विस्तार हुँदै गएको छ । फागुनसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप खाताको सङ्ख्या ६ करोड २० लाखभन्दा बढी पुगेको छ भने कर्जा खाताको सङ्ख्या २० लाख ४० हजार नाघेको छ । मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ९४ लाख र इन्टरनेट बैंकिङ प्रयोगकर्ता २३ लाख ७४ हजार पुगेका छन् ।

 

निक्षेप वृद्धि भए पनि निजी क्षेत्रतर्फ कर्जा प्रवाह सुस्त देखिएको छ । फागुनसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ६.६४ प्रतिशतले बढेर ७७ खर्ब ४५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ भने निजी क्षेत्रमा गएको कर्जा ४.४ प्रतिशतले बढेर ५७ खर्ब ४१ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

 

डिजिटल भुक्तानी प्रणालीमा उल्लेख्य वृद्धि भएको छ । क्यूआरमार्फत हुने कारोबार १ खर्ब २५ अर्ब रुपैयाँ नाघेको छ । नेप्से परिसूचक २८२०.४५ बिन्दुमा पुगेको छ भने कुल बजार पुँजीकरण ४७ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ । डिम्याट खाता खोल्नेको सङ्ख्या ७६ लाख ३९ हजार पुगेको छ ।

 

फागुनसम्म कुल व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । निर्यातको हिस्सा कुल वैदेशिक व्यापारमा १२.९ प्रतिशत पुगेको छ । विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले बढेर १४ खर्ब ४९ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । विप्रेषण वृद्धिका कारण शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब रुपैयाँ बचतमा रहेको छ भने चालु खाता पनि बचतमा रहेको छ ।

 

विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । फागुनसम्म यस्तो सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ, जुन १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको जनाइएको छ ।

 

सामाजिक क्षेत्रका सूचकमा पनि सुधार देखिएको छ । निरपेक्ष गरिबी २०.२७ प्रतिशत र बहुआयामिक गरिबी १७.४ प्रतिशतमा झरेको छ । कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत २१ सुपरजोन, २०६ जोन, १ हजार ६ सय ९९ ब्लक र ९ हजार ३ सय ९३ पकेट सञ्चालनमा रहेका छन् । कृषियोग्य जमिनको ४४.६ प्रतिशत र सिँचाइयोग्य जमिनको ६२.६ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ ।

 

नेपालको कुल भूभागमध्ये ४६.०८ प्रतिशत क्षेत्र वनले ढाकिएको छ । भूमि सुधारअन्तर्गत १३५ मालपोत कार्यालयमा अनलाइन प्रणाली लागू गरिएको छ । फागुनसम्म ३२ हजार ३ सय २५ सहकारी संस्थामा १ करोड १ लाख सदस्य आबद्ध भएका छन् । सहकारीमार्फत १० खर्ब २९ अर्ब रुपैयाँ बचत परिचालन भएको छ ।

 

उद्योग विभाग र लगानी बोर्डमार्फत फागुनसम्म ४ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । कुल उद्योग लगानी स्वीकृति ५४ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षमा थप ९२१ उद्योग दर्ता भएका छन् । कुल उद्योग सङ्ख्या ११ हजार १ सय ४० पुगेको छ । ती उद्योगबाट करिब ७ लाख ८५ हजार रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । पेट्रोलियम पदार्थको खपत घट्दै गएको छ । फागुनसम्म पेट्रोल आयात १० प्रतिशत र डिजेल आयात ९.९ प्रतिशतले घटेको छ ।

 

पर्यटन क्षेत्र पुनरुत्थानको क्रममा रहेको उल्लेख गर्दै सन् २०२५ मा ११ लाख ६२ हजार पर्यटक नेपाल आएको जनाइएको छ । पर्यटकको औसत बसाइ अवधि १६.३४ दिन पुगेको छ । त्यसैगरी, देशभर ३५ विमानस्थल सञ्चालनमा छन् भने ३२ अन्तर्राष्ट्रिय र २० आन्तरिक वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् ।

 

फागुनसम्म ९९.१ प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच पुगेको छ । कुल जडित विद्युत क्षमता ४ हजार १ सय ५ मेगावाट पुगेको छ । यसमध्ये जलविद्युतको हिस्सा ३ हजार ७ सय ९८ मेगावाट रहेको छ । भारततर्फ २ हजार ९ सय १८ गिगावाट घण्टा विद्युत निर्यात गरिएको छ ।

 

देशभर सडक सञ्जाल १ लाख ४ हजार ९ सय ६ किलोमिटर पुगेको छ । मोबाइल टेलिफोन ग्राहक घनत्व १०३.२ पुगेको छ भने डिजिटल टेलिभिजन पहुँच ८२ प्रतिशत घरधुरीमा पुगेको छ ।

 

सरकारी स्वास्थ्य संस्थाको सङ्ख्या ८ हजार ९ सय ७६ पुगेको छ । मातृ मृत्युदर प्रति लाख जीवित जन्ममा १५१ मा झरेको छ भने शिशु मृत्युदर प्रति हजारमा २७ रहेको छ । स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा विस्तार भएको छ । यस कार्यक्रममा २१ लाख ४८ हजारभन्दा बढी नागरिक आबद्ध भएका छन् ।

 

नेपालमा हालसम्म २२ हजार ३ सय ५ औषधि ब्रान्ड दर्ता भएका छन् । तीमध्ये १३ हजार ५ सय ९४ स्वदेशी ब्रान्ड रहेका छन् । फागुनसम्म आधारभूत खानेपानीको पहुँच ९७ प्रतिशत जनसङ्ख्यामा पुगेको छ भने सुरक्षित खानेपानीको पहुँच २९ प्रतिशतमा सीमित रहेको छ ।

 

शिक्षातर्फ आधारभूत तहको खुद भर्नादर ९७.८ प्रतिशत र माध्यमिक तहको ५१.६ प्रतिशत पुगेको छ । मानव विकास सूचकाङ्क ०.६२२ पुगेको छ भने नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ । त्यस्तै सामाजिक सुरक्षा भत्ता पाउनेको सङ्ख्या ३६ लाख ४१ हजार पुगेको छ । फागुनसम्म श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या ६९ लाख नाघेको छ । चालु वर्षमा मात्रै २ लाख ७३ हजार नयाँ र २ लाख ५१ हजार पुनः श्रम स्वीकृति जारी गरिएको छ ।

 

जलवायु परिवर्तन न्यूनीकरणका लागि कार्बन व्यापारबाट नेपालले हालसम्म करिब ३.६ करोड अमेरिकी डलर आम्दानी गरेको छ । दिगो विकास लक्ष्य सूचकाङ्कमा नेपाल १६७ राष्ट्रमध्ये ८५ औँ स्थानमा रहेको छ । दिगो विकास लक्ष्य हासिल गर्न आगामी वर्षहरूमा वार्षिक ७ खर्ब ५५ अर्ब रुपैयाँ थप लगानी आवश्यक पर्ने सर्वेक्षणले देखाएको छ । सन् २०२५ मा सम्पन्न सार्वभौम कर्जा मूल्याङ्कनमा नेपालको अवस्था 'बीबी माइनस' स्थिर दृष्टिकोणसहित कायम रहेको उल्लेख गर्दै यसले लगानीकर्तामा सकारात्मक सन्देश दिएको सरकारको दाबी छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार