निर्वाचनका लागि १९ अर्ब २१ करोड रुपैयाँ निकासा

२०८२ माघ ०७ बुधवार
सारांश
  • अर्थ मन्त्रालयले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन आवश्यक पर्ने थप बजेटका लागि समेत स्रोत व्यवस्थापनको गृहकार्य गरिरहेको जनाएको छ।

काठमाडौँ: आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सरकारले बजेट व्यवस्थापन र सुरक्षा तयारीलाई तीव्र बनाएको छ। अर्थ मन्त्रालयले निर्वाचन व्यवस्थापन र सुरक्षा निकायहरूको तयारीका लागि मंगलबारसम्म १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरिसकेको छ।

 

निर्वाचन आयोगले यस पटकको निर्वाचन सम्पन्न गर्न कुल २७ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ। सोही अनुमानका आधारमा अर्थ मन्त्रालयले पहिलो चरणमा सवा १९ अर्ब रुपैयाँ उपलब्ध गराएको हो। अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार, निकासा भएको रकममध्ये सबैभन्दा बढी गृह मन्त्रालयलाई १० अर्ब ३९ करोड रुपैयाँ दिइएको छ। त्यस्तै, निर्वाचन आयोगका लागि ६ अर्ब ७२ करोड र रक्षा मन्त्रालयका लागि १ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरिएको छ।

 

निर्वाचनको सुरक्षालाई चुस्त बनाउन सरकारले ठुलो संख्यामा सुरक्षा जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार यस पटक १ लाख ४७ हजार ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी) भर्ना गरिनेछ। उनीहरूको ४० दिनको पारिश्रमिक, पोसाक, रासन र यातायात खर्चका लागि मात्रै ९ अर्ब १५ करोड रुपैयाँ खर्च हुने प्रस्ताव गरिएको छ।

 

सुरक्षा परिचालनतर्फ नेपाली सेनाका ७९ हजार ७ सय २७, नेपाल प्रहरीका ७१ हजार ६ सय २०, सशस्त्र प्रहरीका ३५ हजार १ सय १६ र राष्ट्रिय अनुसन्धान विभागका १ हजार ९ सय जनशक्ति मैदानमा खटिनेछन्। यसका लागि नेपाल प्रहरीलाई ४ अर्ब २ करोड र नेपाली सेनालाई ३ अर्ब ४४ करोड रुपैयाँको बजेट प्रस्ताव गरिएको छ।

 

विगतको खर्च विवरणलाई हेर्दा, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा १८ अर्ब ५ करोड ४८ लाख रुपैयाँ निकासा भएकोमा करिब ९१ प्रतिशत अर्थात् १६ अर्ब ४९ करोड रुपैयाँ मात्र खर्च भएको थियो। त्यस्तै, २०७८/७९ को स्थानीय तह निर्वाचनमा १३ अर्ब ३१ करोड रुपैयाँ निकासा गरिएको थियो।

 

यस पटक सुरक्षा चुनौती र व्यवस्थापकीय खर्च बढेका कारण बजेटको आकार पनि केही वृद्धि भएको हो। अर्थ मन्त्रालयले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन आवश्यक पर्ने थप बजेटका लागि समेत स्रोत व्यवस्थापनको गृहकार्य गरिरहेको जनाएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध

मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।

थप समाचार